कस्तो त्याग र तपस्याले एउटा स्रष्टा
जन्मिन्छ, त्यो कुरा
सुनाउन श्री लीलबहादुर क्षत्रीज्यूको निबन्ध संस्मरण आदिको संग्रह सिमलको भुवा
(२००८) मा संकलित आफ्नै बारेमा निबन्धलाई स्रष्टाको अनुमति लिएर
यहाँ पुनः उद्धृत गर्न चाहन्छु। श्री अर्जुन पौडेलले अन्लिशिङ विदिन
शीर्षकमा यसको अनुवाद गरिसकेका छन्। नेपाल एकेेडेमीको अंग्रेजी जर्नल (जर्नल अव्
नेपाली लिट्ररेचर, आर्ट एण्ड कल्चर ८–२) को वर्तमान अंकमा सो
रचना प्रकाशित हुँदैछ।
गत दुई चार वर्षदेखि यता धेरैले मलाई
घचघच्याइरहन्छन् अब तपाईंले आफ्नो आत्मकथा लेख्नुपर्छ भनेर। अहिले पनि हाम्रो
ध्वनिका सम्पादक तथा प्रकाशक श्री पद्मधर पौडेल, डा. शान्ति थापा, भाइ उत्तम प्रधानले करकर गरिरहेका छन्, हाम्रो ध्वनि विशेषाङ्कको
निम्ति तपाईंले आफ्नैबारेमा केही लेख्नै पर्छ भनेर मलाई। तर आफ्नैबारेमा लेख्ने
काम ज्यादै कठिन लाग्छ। त्यसको सिलसिलामा मिलाउनै म सक्तिन। म सृजनशील साहित्य
लेख्ने मान्छे। अहिलेसम्म मैले पाँचवटा जति उपन्यास लेखेँः सयको छेउछाउ कथा नै
लेखियो। दुईसयभन्दा बढी निबन्ध, प्रबन्ध, संस्मरण, नियात्रादि लेखिए हुनन्।
प्रकाशित, मञ्चित, अप्रकाशित, सबै गरेर पन्ध्र बीसवटा
नाटक एकांकी पनि लेखिए। कविता र गीत लेख्ने शौक पनि थियो। झण्डै सयभन्दा बढी गीत
कवितादि लेखिए हुनन्। तर तिनमा धेरै जसोको जगेडा गरिएन र मसौदा बनाइएन। केही अझ
पनि डायरीका पातामा वा कुनै बेकामे कागजका टुक्रामा खोजे फेला पर्लान्। यता अरू
धेरैका कृतिमाथि सयभन्दा बढी भूमिका, शुभकामना, पत्रिकाको
सम्पादकीय आदि लेखिए। भूमिका पनि विभिन्न विधाका सामग्रीमाथि लेखेको छु— कथा, कविता, उपन्यास, नाटक, गीत, निबन्ध, प्रबन्ध, संस्मरण, भ्रमण, कहानी आदि। त्यो पनि केवल
नेपालीमा मात्र होइन, अंगे्रजी, हिन्दी, असमियामा पनि लेख्न बाध्य
भएको छु म। अ.गो.स.को ‘सम्मेलन’ भन्ने पत्रिका
तथा स्मृतिग्रन्थमा प्रधान सम्पादकको नाताले मैले लेखेका सम्पादकीय मात्रै पनि
भेला पारेर संकलन निकाल्ने हो भने नेपाली साहित्यको निम्ति त्यो अमूल्य निधि बन्ने
छ। हाल कोहिमा, नागालेण्डबाट
निस्कने पत्रिका ‘हाम्रो संस्कृति’ मा लेखेका सम्पादकीय पनि
पठनीय तथा मननीय छन्।
झण्डै आठ वर्ष जस्तो आकाशवाणी गुवाहाटीमा पनि
मैले कार्यक्रम सञ्चालनको काम गरेँ र त्यहाँ प्रसार हुने नेपाली कार्यक्रमको
निम्ति अनगन्ती, नाटक, रूपक, वार्ता, कथा, गिती नाटिका र विविध
सामग्री लेखियो। त्यसको छुट्टै इतिहास छ। आवश्यकताले गर्दा शिशुहरूको निम्ति मैले
पाठयपुस्तक पनि लेखेको छु र अनुवाद पनि गरेको छु।
यसरी धेरै कुरा नै लेखियो। तर आफ्नैबारेमा
लेख्ने जाँगर ममा कहिलें पलाएन। त्यसको सिलसिला नै कहिलै मिलाउन सकिनँ। अवश्य मेरा
विविध, निबन्ध, कथा, उपन्यास, संस्मरण, मेरा जीवनका झाँकीहरू
प्रतिबिम्बित भएका छन्। ती सामग्रीभित्र मेरा जीवनका धेरै अंशहरू फेला पर्छन्।
कसैले ती सबै सामग्री बटुलेर मथ्ने हो भने मेरो जीवन–गाथा र कथाका सार तत्व स्वतः फेला
पर्न सक्छन्। तर त्यसको निम्ति लगन र परिश्रम चाहिन्छ।
‘झ्याउरे पार्टीमा लाग्दा’ भन्ने निबन्धमा मैले रेडियोमा काम गर्दाका अनुभवहरू सँगेटेको छु। त्यस्तै
पाठशाला पढ्दाको मेरो बाल्य जीवनको झाँकी— ‘मेरो दृष्टिमा गोर्खा पाठशालाको सेरोफेरा’, भन्ने निबन्धमा फेला पर्छ। यहाँसम्म कि मेरो
हास्य–व्यंग्य निबन्ध
खेलकुदभित्र पनि केही सुझबुझसित चियाउने व्यक्तिले मेरो लुकेको बाल्यकाल चियाउन
सक्छ।
मेरा कथा ‘अविस्मरणीय मैती देवी’ भित्र पनि मेरो
किशोरावस्थातिर बढ्दै गएको बाल्यकालले कताकति चियाउन खोज्दछ। म नाटकको रहरभित्र
कसरी मख्खिँदै अघि बढेँ, त्यो कुरा जान्न ‘घुर्मैलो सम्झनाभित्र मेरो नाटय यात्रा’ भन्ने मेरो निबन्ध पढ्दा हुन्छ। मेरो पछिल्लो उपन्यास प्रतिध्वनिहरू
विस्मृतिका— मा त असमको, विशेषत् गुवाहाटी र शिलाङको
विस्तृत रूपमा फैलिएको सामाजिक ऐनाभित्र मेरो जीवनको स्वरूप धेरै नै देखा पर्छ।
अवश्य यो उपन्यास हो जहाँ सत्य र यथार्थसित कल्पना जोडिएको छ र मस्तिष्करूपी
मदानीले मथेर मात्र मेरो जीवनको यथार्थसार झक्न सकिन्छ।
‘स्थायीवास’ कथा मेरो आफ्नै
पुर्ख्याैली व्यथा हो भने हुन्छ। मैले जीवनमा धेरै ठाउँ बास बनाउने कल्पना गरेँ।
धेरै ठाउँ जमीन पनि लिएँ, तर एउटा निवास थलो अझ बनाउन सकको छैन र पिताजीले छोडेर गएको उही जीर्ण
कुटीरमै छु र मेरा सन्तति पनि त्यहीँ अटाएका छन्। यहाँ, यस गल्लीमा वर्षामा बाढी
आउँदा पानीले घर डुब्छ। मैले जगेरेका पूर्वाेत्तर भारतीय नेपाली साहित्य–संस्कृतिका दस्तावेज जोगाउन
मलाई हम्मे पर्छ र यसै पीरले मेरो आयु क्षीण पार्दछ। यो गल्लीभित्र मेरो कुटीरमा
मलाई भेट्न सानातिनादेखि लिएर धेरै ठूला बडा व्यक्ति आउँछन्। राजनैतिक नेतादेखि
लिएर, ठूला साहित्यिक, पत्रकार, सामाजिक कार्यकर्ता, चलचित्र निर्देशक, अभिनेता, अभिनेत्री आदि आउँछन्। कोही
रहरले आउँछन्, कोही करले
आउँछन्, कोही साहित्य–तीर्थ भनेर आउँछन्, कोही चौबाटोमै छ घर त्यही
बाटो जाँदा पसेर जाउँ न भनेर आउँछन्, कोही केही पाउन आउँछन्, कोही दिएर पनि जान्छन्।
यहाँ मूर्धन्य साहित्यकार तथा शिक्षाविद डा.
ईश्वर बराल आए, नेपाली भाषा
साहित्यका संरक्षक शिखर पुरुष कमल दीक्षित आए। अप्राप्य चिन्तक व्यक्तित्व मदनमणि
दीक्षित आए, आयामबाट फड्केर
सम्पूर्ण लीला देखाइसकेका डा. इन्द्रबहादुर राई आए। महाकवि र पूर्व सिक्किम विधान
सभाका अध्यक्ष तुलसीराम कश्यप, महाकवि मोहन दुखुन, डा. वासुदेव त्रिपाठी, प्रा. ठाकुरप्रसाद पराजुली, घनश्याम कँडेल, डा. गणेश भण्डारी, प्रा. रामलाल अधिकारीजस्ता
शिक्षाविद आए। मन्त्री आए, विधायक र सांसद आए। पूर्व मूख्यमन्त्री आए, विधान सभाका अध्यक्ष पनि आए। पूर्वाेत्तर भारतका
नेपाली साहित्यिक हस्ती कहलाउन खोज्ने ता प्राय नै आएका छन्।
यस्ता विभूतिहरू यो गल्लीमा पस्ता म लाजले
पानी हुन्छु। लाज पचाउन उही युधिष्ठिरको कथा सुनाउने गर्छु। युधिष्ठिरलाई सोझै
विमानमा स्वर्ग लागेपछि उनले आफ्ना भाइ, भतिजा, पत्नीको खोजी
गरे। धर्मराजले विचारे आखिर अश्वत्थामा हतोहत काण्डमा युधिष्ठिरबाट पनि सानो पाप त
भएकै छ र यिनले पनि नर्कमा पुग्नसम्म त पर्छ नै। मौका यही हो भनेर नर्कमा आफ्नो
पाप भोग्दै गरेका भाइ पत्नी भए ठाउँ पुर्याए। नर्कको वीभत्स रूप
देखेपछि असह्य भएर उनले फर्कने आग्रह गरे। वास्तवमा त्यतिमै उनको सानो पाप कटनी
भइहालेको थियो। त्यस्तै तपाईहरूको पनि जीवनमा सानो तिनो पाप केही भए, यो गल्लीमा पसिसकेपछि त्यो
काटियो र तपाईंहरू निख्खर हुनुभो। उनीहरू हाँस्दछन्। कतिले मेरो मन राख्न
भनिटोपल्छन्— ‘‘अरे लीलबहादुरजी
तपाईं बसेको यो गल्लीको माटो पनि शिरोधार्य छ।’’
अब आजसम्म एउटा निवास थलो निर्माण नहुनुमा मै
जिम्मेवार छु। धेरजसो मेरो लेखक व्यक्तित्व, सहित्यिक व्यक्तित्व, सामाजिक व्यक्तित्व जिम्मेवार छ। म घरभित्र रहँदा, जहिले पनि कागज र कलम लिएर
झोक्रिएको हुन्छु। घन्टौँ, दिनौँ, महिनौँ, झोक्रिँदा पनि लेखाइ तुरिँदैन।
लेखाइमा अलि ढिलै छु म। बिसाउँदै लेख्दै गर्छु। मुड पनि पर्खनु पर्छ मैले। बसाइँ
जस्तो सानो उपन्यास समाप्त पार्न पनि झण्डै दुई वर्ष लाग्यो मलाई। महिनौँ बिसायो, लेख्यो, फेरि बिसायो। त्यसबाहेक
लेखाइको क्रम पनि कहिले टुंगिदैन। आज कसैको भूमिका, भोलि संस्मरण, पर्सी शुभेच्छा, कुनै स्मृति–ग्रन्थ वा पत्रिकालाई रचना ... यो क्रम अनन्त
बगिरहन्छ।
घरबाट बाहिर निस्केपछि शुरु हुन्छ सामाजिक
यात्रा, साहित्यिक
यात्रा, कहिले गोष्ठी, कहिले जयन्ती, कहिले समारोह, कहिले बैठक। कहिले विशिष्ट
अतिथि, कहिले सभाध्यक्ष, कहिले निर्दिष्ट वक्ता। ओहो
मैले जीवनलाई कसरी अनेकौँ बकम्फुसे कुरामा अल्झाउँदै आएको रहेछु। धेरैले समाज सेवा, साहित्य सेवाभित्र पनि आफ्नो
वैभव सम्पन्नतालाई मियो बनाएको हुँदोरहेछ। म भने त्यसै मख्ख परेको हुँदोरहेछु।
मलाई अरूले बिचरा सम्झेर औँलामा नचाउँदा रहेछन् र मबाट सक्दो काम
लिँदारहेछन्।
लेख्नमा पनि आफ्ना सबै चाहिँदा पूर्ति गरेर
मात्र लेखन कार्यतिर लाग्दा रहेछन् अरूहरू। म चाहिँ लेख्नैको निम्ति लेख्दोरहेछु।
अनि नलेखी बस्नै नसक्ने भइसकेछु।
अनि के को बास, के को गाँस। घर न घाट, बास न गाँस भइसकेछ म र मेरो
परिवार।
आफ्नो बारेमा लेख्न वा आत्मकथा लेख्न जीवनमा
केही उतारचढाव पनि हुनुपर्दाेरहेछ। केही विशेष घटनाहरू पनि चाहिने रहेछन्। मेरो
जीवन त अति सहज सरल, फेददेखि
टुप्पैसम्म एकनास सलल बितेर गएको छ। के लेख्नु? म कुनै राजनीतिक नेता भएको भए, राजनीतिका दाउ पेच, कुटनैतिक लडाइँका कुरा
लेख्न सक्ने थिएँ। तर राजनीतिदेखि टाढै रहेँ। यता कुनै ठूलो व्यवसायी वा उद्योगपति
भएको भएपनि ऐश्वर्य, वैभव वा
व्यापारिक छल प्रपञ्चका कुरा लेख्दा हुन्थ्यो। भएन, सैनिकै भएर युद्धमा परेको भएपनि युद्ध
विभीषिकाका अनेकौँ घटनाहरू रोचक बन्ने थिए। त्यस्तो केही छैन। एउटा शिक्षकको सादा–सीधा जीवन।
म एउटा प्रहरीको छोरो। पिताजी असम पुलिसमा
भर्ना हुनुभएको थियो गुवाहाटीमा सन् १९२६ तिर हो क्यार? म पुलिस लाइनमा जन्मेँ। आमा
भन्नु हुन्थ्यो छोरो भएको खुशीमा अन्न प्रासनको दिन छरछिमेकीलाई राम्रै भोज दिने
विचारले पिताजीले एउटा खशी पाल्नु भएको थियो रे। पिताजीलाई ज्योतिष शास्त्रमाथि
ठूलो विश्वास। कुनै एक ज्योतिषीले भनिदिएछन्— चार वर्षको उमेरमा जीवनलाई नै खत्रा पुग्ने छोराको ठूलो खट्को छ। त्यो खट्को
टर्यो भने जीवन राम्रै बित्नेछ। यो कुराले माता पितालाई ठूलो चिन्ता पर्यो। अनि
के को पास्नी? बेचिदिनु भएछ
खशी पिताजीले।
ज्योतिषको सत्यता हो या संयोग , नभन्दै चार वर्षको हुँदा म
सिकिस्त विरामी भएँछु। पिठयुँमा ठूलो खटिरा भएछ जसको टाटो अझ छँदैछ। कुनै निजी
चिकित्सकले सानो टीनको पाताजस्तो अस्त्रले त्यो घाउ काटेर कोठै रक्ताम्य भएको म
अलिअलि सम्झन सक्छु। आजभन्दा सत्तरी बहत्तर वर्ष अघिको शल्य चिकित्सा, त्यो पनि एक जना अनभिज्ञ
डाक्टरको हातबाट। म हुरुक्क भएँ। प्राण झण्डै फुत्केको। जे होस् बाँच्नु रहेछ
बाँचेँ।
पुलिस लाइनको फेमिली क्वारटरमा भएको
बाल्यकालमा धेरै नारीहरूको मायामा म हुर्कें। एकजना सिपाही गोपीचन्द मगरकी पत्नीले
त मलाई हुरुक्कै गर्थिन् रे। त्यसैले मलाई हुर्काउन आमालाई उति गाह्रो भएन।
त्यसबेलाको नेपाली मानसिकता त्यस्तो हो वा
वर्णमा म अलि साँवलै भएर हो, चिनामा न्वारन गर्ने पण्डितले मेरो नाउँ लीलबहादुर वा लेखबहादुर राखिदिए पनि
माता पिताले मेरो बोलाउने नाउँ ‘काले’ राखिदिएका थिए।
स्थान, काल, व्यक्ति, परिस्थिति अनुरूप यो नाउँले
पनि पछि विकास पाउँदै गएको छ। केही समयको निम्ति मेरो पितृथलो पहाड पुग्दा मेरी
हजुर आमाले मलाई मायाले ‘काला’ भनेर बोलाउनु
हुन्थ्यो। मेरा छिमेकी हितैषि अनेपालीहरू ‘कालू’ भन्ने गर्थे।
पछि अलि ठूलो हुँदै गएर हाईस्कूल पढ्ने भएपछि मेरा केही बिहारी मित्रहरू मान गरेर ‘कालू बाबू’ भन्ने गर्थे, कतिले ‘काली बाबू’ पनि भन्दथिए।
पाठशालामा, तर यो बोलाउने नाउँ ‘काले’ ले कहिले प्रवेश पाएन।
नाउँ लीलबहादुर क्षत्री लेखाइएको थियो र यही नाउँ प्रचलित भयो। मेरा सहपाठी बाल
साथीहरू ‘लिले’ भनेर हपार्थे।
लीलबहादुरको केही अर्थ नलाग्ने भएर हो वा कसो, मेरो नाउँ लेख्दा धेरैले
भूल गर्थे, अझ गर्छन्।
कसैले नीलबहादुर लेख्छन्, कसैले लीलाबहादुर अनि धेरै
जसोले नै लालबहादुर लेखिदिन्छन्। यसरी नाउँमा भूल गरिदिँदा मलाई निकै चित्त
दुख्थ्यो। कटन महाविद्यालयमा पढ्दा इतिहासका एकजना प्राध्यापक थिए। उनी श्रेणीमा
प्रवेश गरेपछि छात्रको उपस्थिति लिँदा खाता हेरेर क्रमसंख्या पुकार्दै जान्थे र
मेरो नम्बरमा आइपुगेपछि एकछिन अड्दथिए र लालबहादुर चेत्री भन्ने गर्थे। एकदिन मैले
श्रेणीमै आपत्ति दर्साएँ— ‘मेरो नाउँ लालबहादुर होइन’ ‘लीलबहादुर’ हो सार।’
उत्तरमा उनले हाँसेर भने— ‘गुलाब, गुलाबै हुन्छ चाहे जुनसुकै
नाउँले त्यसलाई पुकारियोस्।’
‘अब त्यसको केही उत्तर थियो त मसित?’ अवश्य, त्यसपछि भने
उनले उपस्थिति लिँदा नाउँ बोलाउन छोडे।
पाँच वर्षको उमेर हुँदा मैले पिताजीबाट घरैमा
नागरी (नेपाली) पढेँ। कपुरी ‘क’ पेट फार्यो ‘ख’ को ढाँचामा, पुस्तक थियो ‘ठूलो वर्णमाला।’ त्यो पुस्तकले मलाई धेरै
कुरा सिकायो। त्यसैबाट ‘सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी’, भन्ने स्तोत्र सिकेँ। ‘काटी दैंत्य अनेक् असुरका शीर् मुण्डमाला धरी’, भन्ने कालीको श्लोक पनि सिकेँ। अझ कण्ठस्थ भन्न
आउँछ। पिताजीबाट एक महिना नागरी सिक्दा साउँ अक्षर चिन्ने भएँ। नाउँ लेख्न र पढ्न
सक्ने भएँ। शब्द र वाक्य रचना गर्न सक्ने भएँ। अनि संयुक्त अक्षरको पनि केही ज्ञान
भयो।
पिताजीको स्थानान्तरण शिलाङमा भयो। म शिलाङ
पुगेर जेलरोड बंगाली हाईस्कूलमा ‘क’ श्रेणीमा भर्ना
भएँ र दोस्रो श्रेणीसम्म चार वर्ष त्यही स्कूलमा रहेँ।
घरभित्र नेपाली भाषा, ठेट नेपाली संस्कृति, नेपाली परिवेश। अनि पाठशालामा बंगाली भाषा, बंगाली संस्कृति, बंगाली परिवेश। मेरो स्थिति न घोडाको थियो, न गधाको। माझको खच्चर रूप
थियो। मेरो। तर नेपाली आखिर मातृ संस्कृति नै भयो। त्यसको प्रवलता छँदै थियो।
त्यसैले स्कूलमा शिक्षकहरूले केही गाउँन लाउँदा नेपाली गीत नै गाइदिन्थेँ म। सारा
स्कूलमा म नै एकजना नेपाली छात्र थिएँ तर आफू छुट्टै नेपाली भएकोमा तघुताभासले
मलाई कहिले सताएन, वरञ्च सदैव गौरव–वोध नै भयो।
बडो विकट परिस्थितिको समय थियो त्यो। एकातिर
जर्मनी नात्सेहरूको मै ठूलो, मै बुद्धिमान्को घमण्ड, अर्कातिर त्यस घमण्डलाई तोड्ने मैत्री गुटको तत्परता। दोस्रो विश्व युद्धका
बादलहरू मडारिन थालेका थिए। मेघको गर्जन सुनिन थालेको थियो। सन् १९४२ को माझामाझी
त युद्धले भीषण रूप लियो। जापानीहरू कोहिमासम्मै आइपुगे।
यता भारत स्वाधीनता संग्रामको विगुल पनि
चर्कै स्वरमा बज्न थाल्यो। देशबाहिर नेताजी सुभासको भारतीय राष्ट्रिय सैनिकको विगुल, अनि देशभित्र बापुजीको
असहयोग आन्दोलनको विगुल अहिंसाभित्रै धेरै हिंसात्मक घटना, दुर्घटना, मारकाट। स्कूल कलेजहरू बन्द
प्रायः भए। ठाउँ–ठाउँ बम्बारीबाट
बाँच्न बाटोमुनि खाल्डो खनिन थाल्यो। सुरक्षाको खोजीमा पिताजीले हामीलाई आफ्नै
पितृथलो पहाड पुर्याउनु भो।
पहाड, स्वच्छ, शान्त, स्थिर– झण्डै एउटा गहिरो
गुफाभित्र पसेर बसेको अनुभूति। न युद्धको हलचल थाह पाइन्छ न आन्दोलनको स्वरूप
बुझन्छ। बेला बेला उटपटाङ्ग हावा–हल्लाहरू सुनिन्छन्, लौ यसो भो रे, उसो भो रे।
त्यसबेला न रेडियो न टेलिफोनको योगायोग। न यातायातको व्यवस्था, न संचारको कुनै माध्यम। सात–आठ वर्षको उमेरमा झण्डै सात
आठ महिना पहाडको बसाइले मेरो ठूलो खति के भो भने झण्डै दुई श्रेणी स्कूलको
शिक्षामा पछि धकेलिनु पर्यो।
पहाडले मलाई तर धेरै कुरा दिएको छ। सबैभन्दा
ठूलो कुरा दिएको छ त्यहाँको प्राकृतिक दृश्यको रिमरिम सम्झना मेरो मानसपटमा अमेटरूपले
बसेको छ। जसले मलाई धेरै कुरा लेख्ने प्रेरणा दिइरहन्छः जीवन–यात्राको कन्टकमय पथमा
बढ्ने प्रेरणा दिइरहन्छ।
पहाडको मेरो छोटो बसाइभित्र बाल्यकालमा मैले
हलो जोत्न, धान काट्न, नामला बाट्न आदि अनेक कुरा
सिक्ने चेष्टा गरेँ— रहरले, अनि गोठालो भएर वस्तु हेर्न
र घाँस काट्न सिकेँ— करले। अवश्य, त्यसबेलाका दौँतरी साथीसित
लागेर खोप्पी खेल्न, डण्डीवियो खेल्न
भने मलाई आएन। सानैदेखि खेलकूदमा कमै रुचि थियो तर घरभित्र खेलिने केरम, चेस, भने खेल्थेँ र ससाना
प्रतियोगितामा पनि भाग लिन्थेँ।
मलाई नाच्न, गाउन, चित्र बनाउन, जुनसुकै
बाद्ययन्त्र बजाउन अभिनय गर्न सबै कुरा जान्ने चाह थियो तर पारंगत कुनै कुरामा
भइएन र प्राथमिक ज्ञानसम्म भयो।
एकचोटि गोठमा गाई दुहुन काका आउन ढिलो गर्नु
भो। मैले मौकाको लाभ उठाउन चाहेँ। दुधेरो लिएर तैयार भएँ दुहुन र बाछो छोडिदिएँ।
दूध पग्रेपछि बाछो तानेर किलामा बाँध्न खोज्छु बूताले भ्याए पो? बल्तल्ल बाँधेँ। गाई दुहुन
खोज्दा किन दिन्छ र गाईले दूध मलाई? पछि काकाको खप्की मात्र खानु पर्यो।
अवश्य, गाई दुुहुने रहर पछि शिलाङमा, छैटौँ सातौँ श्रेणीमा पढ्दा ताक मैले मेटेँ। गाई पालेका थिए। म गोठालासित
लागेर गाई दुहुन्थेँ, घाँस दाना
गर्थें। विदाको समयमा शरहदेखि बाहिर साथीहरूसित घाँस काट्न, दाउरा खोज्न पनि जाने
गर्थें र शिलाङ, सुइ सुइ हावामा
सुसेेल्ने सल्लाका रूखहरूको देश। सिम्टा बटुल्न हामी जान्थ्यौँ जो हिउँदमा आगो
ताप्न काम दिन्छ। अवश्य यी काम गराइमा धेरजसो मेरो रहर थियो अनि थियो माता पितालाई
सहयोग पुर्याउने भावना। कर केही थिएन।
छ सात महिना बाल्यकालको पहाड बसाइले मलाई
सबैभन्दा ठूलो कुरो दियो, त्यहाँ मैले देेखेको दुःख भोगाइ, गरिबी, अशिक्षा, कुशिक्षा, त्यहाँको सम्पूर्ण परिवेश र
पृष्ठभूमिको घुर्मैलो सम्झना जो मैले आफ्नो मानस–पटमा बोकेर गएँ र धेरै वर्षपछि ज्ञानको विकास
हुँदै जाँदा कलेजको छात्र–जीवनमा मैले लेखेको उपन्यास बसाइँलाई त्यो रिमरिम सम्झनाको पृष्ठभूमि र
परिवेशले ठूलो सघाउ पुगेको छ। त्यहाँको आइतबारे हाट पनि सत्य हो, बाघे डाँडो पनि सत्य हो, रोटे पीङ पनि सत्य हो, रागे भीर पनि केवल प्रयोग र
नाउँ भिन्न छन्। बैदार, मुखिया, नन्द्े, बुधे सबै सामान्य रूपमा
फेला पर्ने नै पात्र हुन्, तर मेरो कथाको यथार्थ पात्र होइनन् ती। ‘बसाइँको कथा सम्पूर्ण मैले बुनेको हो— मेरो आफ्नै कल्पना, जसलाई एउटा फ्रेम अड्कल गरेर त्यसभित्र सिलसिलाबद्ध तरिकामा प्रस्तुत गरियो।
अवश्य त्यो कल्पना, त्यसताक मैले
त्यहाँ देखेको जीवनको यथार्थतामाथि टेकिएको छ। त्यसैले त्यो कथा तत्कालीक नेपाली
पहाडे जीवनको यथार्थ सत्य हो। सामान्यरूपमा धेरैलाई प्रतिनिधित्व गर्ने घटना। भाषा
र सम्वादमा मैले त्यसबेला सुनेको बोलेको सम्झनाको आधार छ र पहाडबाट शिलाङ वा गुवाहाटी
आउ–जाउ गर्ने
व्यक्तिहरूले बोलेको भाषा, सम्वाद, ढप–ढाँचाबाट पनि मैले सघाउ
पाएको छु।
समयको नापो जीवनका घटना र गरिएका कार्यहरू
हुन्। समयलाई जीवनमा घटेका घटना र कामले नापेर हेर्नुपर्छ। पहाडमा मेरो छ महिनाको
बसाइभित्र छ वर्षको अनुभव, नेपाली जीवनको यथार्थ सत्य र तथ्य, कथा र व्यथाको रिमरिम सम्झना स्मृतिभित्र संगेटेर म फर्कें शिलाङ पुनः पढाइ
अघि बढाउन र शिलाङको गोर्खा पाठशालामा भर्ना भएँ। त्यहाँ नेपाली माध्यमबाट छैटौँ
श्रेणीसम्म पढाइ हुन्थ्यो। फेदमा बंगाली माध्यम पढेको पनि लाभै भो। पछि बंगाली
साहित्यका धेरै कृति पढ्न सक्षम भएँ र बंगाली साहित्यले मलाई निकै आकर्षित पार्यो।
शरदचन्द्र र बिङ्कम चन्द्रका उपन्यास त प्रायजसो बंगालीमै पढेँ र अझ पनि पढ्ने
गर्छु। बंगाली पढाइले अर्काे लाभ के भो भने लिपि प्रायः एकै हुनाले पछि गएर असमीया
लेख्नपढ्न सजिलो भो। असमीया माध्यममा शिक्षा पाउने सुविधा नपाए पनि त्यस भाषामा
राम्रै दखल भो मेरो र पत्रिकाको निम्ति केही लेख पनि लेखेको छु र अनुवाद कार्य पनि
गरेको छु। गोर्खा पाठशालामा माध्यमिक स्तरसम्म पढेपछि शिलाङ सरकारी हाईस्कूलबाट
अंग्रेजी माध्यममा मैले प्रवेशिका पास गरेँ।
असममा गुवाहाटीको कटन कलेज एकमात्र सरकारी
महाविद्यालय थियो, जहाँ पढ्न पाउनु
ठूलो सौभाग्यको कुरो मानिन्थ्यो र असमका विभिन्न ठाउँबाट यहाँ पढ्न आउन छात्रहरू
लालायित रहन्थे। शिलाङमा दुई दुईवटा मिशनका राम्रा कलेज थिए, तै पनि अलि हुने खाने र
मेधावी छात्र कटनमा पढ्न आउँदथिए।
म साथीहरूबाट कटनको प्रशंसा सुन्ने गर्थें, तर गुवाहाटी छात्रवासमा
बसेर कटन् कलेज पढ्न सम्भवै थिएन मेरो निम्ति। पिताजी त्यसबेला सबइन्सपेक्टर
हुनुहुन्थ्यो अनि जहान ठूलो थियो। खर्च कसरी पुर्याउने?
तर संयोग पर्यो, भनौँ भाग्य खुल्यो।
पिताजीको गुवाहाटीमा स्थानान्तर भयो, इन्सपेक्टरमा पदोन्नति भएर मैले घरैबाट धाएर गुवाहाटी कटन कलेजमा पढ्न सक्ने
भएँ। छात्रावासमा बस्नु पर्ने भएन।
कटन महाविद्यालयबाट स्नातक भइयो, गुवाहाटी
विश्वविद्यालयबाटै स्नातकोत्तरको पढाइ समाप्त गरियो। रेडियोमा काम गरियो, महाविद्यालयमा शिक्षण पेशा
अँगालेर तेत्तीस वर्ष कटाइयो। आफ्नो समयमा विवाह भो र पारिवारिक जीवनका पनि
पँैतालीस वसन्त र पैँतालीस शिशिर पार भएर गए। फुर्सदमा समाज सेवा, साहित्य सेवा भनेरै
गाउँठाउँ डुलियो। यी सबै कुरामा नुतनत्व पो के छ र?
एउटा कुराको सौक थियो मलाई सानैदेखि। किताब
पत्र–पत्रिका, दस्तावेज आदि सञ्चय गरेर
राख्ने। शिलाङमा म सातआठ श्रेणी पढ्दासम्म नेपाली सिपाहीका छोराछोरी कोही स्कूल
पढ्न जाँदैन थिए। खेलेर डुलेरै समय बिताउँदथिए। मैले तीमध्ये निकैलाई घरमा भेला
पारेर पढाउन थालेँ। त्यसले केही मलाई आर्थिक लाभ पनि हुन्थ्यो र तिनको कल्याण पनि।
मैले ‘लील संग्रह
शिक्षा’ भनेर एउटा आफ्नो
निजी संस्था बनाएको थिएँ र त्यसै अन्तर्गत किताब, पत्र पत्रिकाको क्रम विषय मिलाएर राख्ने गर्थें।
मसित पढ्न आउने केटाकेटीलाई फर्काउने सर्तमा ती किताब पढ्न दिन्थेँ। तिनै
केटाकेटीलाई लिएर तिहारमा देउसी भैलो र फागु पूर्णेमा होली खेल्ने खेलाउने गर्थें।
मेरो सबै कार्यमा तिनै केटाकेटी सम्बल थिए।
पछि जीवनले परिपक्वता लाभ गरेपछि पनि
बूढापाका तथा मेरा दौतरीहरूको एउटा दल मेरो पछि थियो। जसलाई लिएर गुवाहाटीमा पहिलो
भानु जयन्ती पालन गरेर यसको प्रथा बसाइयो। नाटक गरियो, देउसी भैलो खेलियो र अन्य
धेरै सामाजिक तथा साहित्यिक कार्यक्रम गरियो। किताब, पत्रपत्रिका सञ्चय गर्ने बानी पनि छुटेको छैन, तर सुव्यवस्था पुर्याउन
कहिले सकिएन।
अब एउटा कुरा भन्न मन लागेको छ। मलाई धेरैले
सोध्ने गर्छन्— ‘‘लेख्ने प्रेरणा
तिमी कहाँबाट पाउँछौँ?’’ भनेर। यसको उत्तर म दिन सक्तिनँ। मलाई केले लेख्ने प्रेरणा दियो, उल्लेखनीय त्यस्तो केही
सम्झना हुँदैन।
राम्रो लेखक बन्न वा राम्रो कृति दिन, कुनै बाहिरी प्रेरणाले
मात्र पुग्दैन भन्ने लाग्छ मलाई। राम्रो लेखक बन्न अलिकति प्राकृतिक अवदान पनि
भएकै हुनुपर्छ जसरी राम्रो गिताङ्गेलाई स्वर त प्रकृतिले नै दिएको हुन्छ। लेख्न त
सबै लेख्छन्— तर सबै
रविन्द्र ठाकुर वा शरत चन्द्र, देवकोटा वा प्रेमचन्द्र, सेक्सपियर वा इलियट् टाल्सटाय वा गोर्की बन्न सक्तैनन्। म भित्र पनि केही त
प्राकृतिक अवदान अवश्य छ र त लेख्न जाँगर चल्छ। अब प्रेरणाकै कुरा गरौँ भने त मेरो
घरको नेपाली परिवेश र माता पिता नै हुन्। जसले नेपालीमा केही लेख्न प्रेरित पार्यो।
पिताजी लय हालेर श्लोक गाउनु हुन्थ्यो जुन लय मैले पनि टिपेको छु। आमा संगिनी
भन्नुहुन्थ्यो जो सुनेर म कहिले अघाइनँ। अँ, सातौँ श्रेणीमा पढ्दै गर्दा मैले लेखेको पहिलो अप्रकाशित उपन्यास ‘विरह’ लेख्न भने एकजना असमीया
सिपाही भवितचन्द्र कोलिताले केही प्रेरणा दिएका हुन्। त्यो शिलाङ हुँदैको कुरो हो।
त्यो पहिलो उपन्यास त्यति सफल त भएन र छापिएन पनि, तर पछि गएर उपन्यासको बाटोमा अघि बढ्न भने
निश्चय नै प्रेरित भएँ।
यहाँ बसाइँको प्रथम संस्करण प्रकाशनको
सिलसिलामा मेरा मित्र सी. बी. गुरुङले लेखेका दुईकुरा सम्झन पुग्छु म जहाँ उनले
लेखेका छन्— ‘लेखकलाई
लेख्नैमा आनन्द आउँछ, उनले के लेखे , वा त्यसलाई कसरी प्रकाशमा
ल्याउने , त्यतातिर उनीहरूको
ध्यान जाँदैन।’ कुरा सत्य हो।
कृति लेखेर मात्र हुँदैन। त्यसलाई उचित मूल्याङ्कन र उचित प्रकाशन पनि चाहिन्छ।
माल पाएर चाल पाउने व्यक्ति पनि हुनुपर्यो। यदि ‘बसाइँ’ले उचित स्थान, उचित व्यक्ति, उचित प्रकाशन, उचित पाठक फेला नपारेको भए
र गुवाहाटीको संकुचित घेरोभित्रै प्रकाश भएको भए यति चर्चित हुने थियो होला र?
भानुभक्तलाई, भानुभक्त देखाइदिने मोतीराम थिए। आज पनि
मोतिरामको अभावमा हाम्रा धेरै भानु रम्घा गाउँका घाँसीसितै गफ गर्दै हुनन्। हामीमा
उचाल्ने भन्दा थेचार्ने प्रवृत्ति धेर छ। प्रशंसाभन्दा बढी ईर्ष्यातिर हामीलाई आफ्नै
लघुताभासले धकेल्छ। यस्तै छ हाम्रो मानसिकता।
अब लेख्तै जाउँ भने यसतै बकमफुसे कुराले ठेली
भर्न सक्छु मः नलेखौँभन्दा केही पनि बिराम लाउन सकिन्छ।
ठिकै छ। जीवनमा बासको गतिलो प्रबन्ध नभए पनि
गाँसको निम्ति कहिले मलाई चिन्ता भएन। सपरिवार मलाई चाहिने आवश्यक अर्थको अभाव
कहिले भएन। आवश्यक खर्च पुगेकै छ, अनावश्यक खर्च म गर्दिनँ। अर्थशास्त्रको छात्र हुनाले मितव्ययिता छँदैछ। मैले
धेरैलाई दिएको छु मसित माग्ने धेरै छन्। अलि सोझो प्रकृतिका हुनाले कतिले ढाँटेर, छलेर पनि खाएका छन्, तर मैले कसैसित हात
पसार्नु परेको छैन।
दुई छोरालाई धन दिन नसके पनि जीवन धान सक्ने
प्रचुर योग्यता मैले दिएको छु। छोरीलाई पनि सबै प्रकारको तालिम र शिक्षा दिएको छु।
उसको बिहे भयो र पारिवारिक जीवन राम्रै छ। जुवाइँ डा. कमल छेत्री लगायत सम्पूर्ण
त्यो पारिवारिक सदस्य—
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग
भवेत।
— को सिद्धान्तलाई पछ्याउने
खालका अति कर्मठ, विशाल र उदार ह्रिदय भएका
छन्।
हामी पनि त्यही सिद्धान्त जीवनमा अँगालेर
सबैको कल्याण कामना गरौँ। सबैको भलो गरौँ। भलो गर्न नसके पनि अन्ततः कुभलो कसैको
नगरौँ, अनिष्ट नचिताउँ
यति नै हो।
------------------- 0 --------------------
No comments:
Post a Comment