__________ ____________ ____________
त्यो साँझ गुवाहाटीको मुटु नेपाली मन्दिर (पल्टनबजार) स्थित होटल अतिथिमा
अबेरसम्म बस्यौँ। युवराज शर्मा नामक नेपालीभाषी बन्धुले चलाएको त्यो अतिथिगृह
(होटल) सुन्दर थियो। वास्तवमै, हामी
अनेक चिन्तावार्तामा डुबेकै बेला त्यही भव्य महलको कुनाबाट भोजनको पनि वास्ना
छुट्न थाल्यो। मैले अस्ति नै भनेको थिएँ— हामी
सबै शाकाहारी छौँ, अझ मलाई त दुई पीस चपाती र
अलिकति साग वा एक ग्लास दूध भए पुग्छ। तर यहाँ सबैको लागि सुमधुर भोजन तयार थियो।
होटलको भव्यता अनुसारको जीरा राइस, पनीर,
दही, अनेक
व्यञ्जन थिए। हामीले इच्छामाफिक सेवन गर्यौँ, र असिम वार्ताहरू पिउने अझै तिर्खा हुँदाहुँदै रात चढ्न लागेकाले सम्झना
तस्वीरहरू खिचेर रातभरको लागि छुिट्टयौँ।
(भेलाको तस्वीर)
त्यहाँबाट छुटेर हाम्रो आवासगृह सिरोइ लिली पुगेपछि लबीमा बिसाएर फेरि खगेन
भाइसित बोलेँ, फेरि सलील भाइसित लामो बोलेँ।
उनी सिलाङमा मेरो उपस्थितिमा देवकोटा जयन्ती मनाउने प्रवन्ध मिलाएर दिल्ली
जाँदैछन्। उनी पूर्वीय सभ्यताको अन्य भाषामा अनुवादबारे छलफलमा भागलिन
त्यता जाँदै छन्। आजको यो अपूर्व भेटमा पूर्वीय सभ्यताको विषयमा पनि चर्चा
भयो। एउटा कृतिको दशवटा भाषामा अनुवाद प्रकाशनको प्रबन्ध गर्नु भनेको सानो कुरा होइन। उनी एक समर्पित औ त्यागी पुरुष हुन्।
प्रतिभावान् छन्, आर्य चेतनाप्रति निष्ठावान
पनि। अन्त्यमा उत्तरी भेगका शिक्षक रेवतीरमण सापकोटा यस भेटको अवसरप्रति धन्य
हुँदै एक असमिया कविता उपहार गरेर निस्किए, हामी
सुत्न गयौँ। सिरोइ लिलीको चौथो तलामा जान बिजुली भरेङ चड्यौँ।
२१ कार्तिक बिहिबार (६ नोवेम्बर २०१३)
सिरोइ लिलीमा ब्यूँझँदा अरूणिमाले शहर झलमल्ल थियो। मेरो फ्रिडम फ्रम द
पाष्टको पठन सकिएको छ। यसपछिको लागि माया एंगेलूको सिङगिङ एण्ड स्विङगिङ एण्ड गेटिङ मेरी लाइक क्रिश्मश बोकेको छु। अञ्जनाको पढ्ने किताब रबिन्द्र सिंहको आइ
टू ह्याड अ लभ स्टोरी छ, सेवाको
सिरिशको फूल र अर्चना उप्रेतीद्वारा सम्पादित टेलिङ अ टेल उनीहरू पढ्छन्, म फुर्सदमा लेख्छु, यहाँ
फोनहरू नभएको ठाउँमा जस्तो एकान्त हुन्छ कारण भारतको सिम र फोनको तालमेलमा वानी
पर्न हामीलाई समय लाग्छ। त्यहाँ कतैको कल आइजाइ पनि गर्दैन। फेरि हाम्रा सम्पर्क
नम्बर नै कति पो छन र ! केही दिनको यात्रामा त्यसै काम चलाउँ झैँ हुन्छ यद्यपि
बानी परिसकेका हामी यन्त्र नहुँदा बेलाबेलै सबै कुरा चँुडिएका झैँ हुन्छौँ। म आइ
टु ह्याड अ लभ स्टोरी तिर तानिएको छु—
पढ्नलाई होइन, तर हाम्रो पठन प्रक्रिया कता
जाँदैछ भन्ने कुरा संकेत गर्न।
अबको नयाँ पुस्ता अरविन्द आडिगा,
झुम्पा लाहिरी, शोभा डे,
रविन्द सिंह, विक्रम
शेठ, शशी थरुर, तर्ला दलाल, अनुराधा राम, किरण देसाइ, चित्र
वनर्जी जस्ता अंग्रेजी माध्यमका लेखकतिर छन्।
हिन्दी साहित्यका महादेवी वर्मा, राहुल
साङकृत्यायन, जे कृष्णमुर्ति, काका हाथरसी, निर्मल
बर्मा, रघुवीर सहाय, हजारीप्रसाद द्विवेदी, मैथिलीशरण
गुप्त, अमृता प्रितम, सुमित्रानन्दन पन्त जस्ता महान् स्रष्टाको नाम वर्तमान
पुस्ताका नेपाली पाठक लेखकलाई थाहा छैन। अघिको हाम्रो पुस्ता, अझ हाम्रो अग्रज पुस्ता हिन्दी बंगालीबाट अधिक प्रेरित
थियो। अबको प्रेरणास्रोत अंगे्रजीतिर सरेको छ। घरमा सेवा ऋचा नै यस्तो साहित्यका
अथक पाठक एवम् स्रष्टा भएकाले गर्दा अञ्जना पनि छोरीबाट प्रेरित भई ती पढ्छिन्।
दुई तीन वर्षदेखि नेपालमा भएका साहित्यिक सम्मेलनमा आउने भारतीय एवम् बंगलादेशी
स्रष्टा अंग्रेजी मााध्यममा लेख्नेहरू आउँछन्। जसलाई अघिल्लो नेपाली पुस्ताले
चिन्दैन। एउटा ठूलो अन्तराल बढिरहेको छ। त्यसो त यो ठिकै छ। यता आसामतिर पनि
अंग्रेजी पुस्ताको उदय हुन थालकेा हो कि। अघिको सिलाङ सम्मेलनमा गुवाहाटी आसामकी
अंग्रेजी साहित्य स्रष्टा मित्रा फुकोनसित भेट भएको थियो। दुई देश र साहित्यको
कुरा गर्यौँ। तपाईं ता गुवाहाटी नै बस्नु हुन्छ, त्यहाँ एक स्थापित नेपाली स्रष्टा हुनुहुन्छ, श्री लीलबहादुर क्षेत्री—
चिन्नुहुन्छ? मैले प्रश्न सोधेँ। उनले
प्रत्युत्तरमा बोलिन्— नाम सुनेकी छु तर भेट भएको
छैन।
पचास वर्षदेखि साहित्य साधनमा लीन
एक स्रष्टालाई उही काल र स्थानका निवासी अर्काे नवपुस्ताले नचिन्नु वा नभेट्नु
एउटा दुःख लाग्दो कुरा पनि थियो। त्यताका अनेक भाषाभाषीहरू सहकार्य पनि गर्दछन् तर
अंग्रेजी पुस्ताले अरूलाई चिन्दैन क्यार ! नेपालमा पनि यस्तै छ। आफ्नै धर्म
र गुणको अर्थात् अंग्रेजी माध्यम संचालक–प्रयोक्तासित
मात्र उनीहरू भिजेका छन्। फुकोनले मलाई भनिन्— यस आइ नो सम नेपाली लिट्रेचर। त्यो सुनेपछि ह्यावयु स्टडिड एनी? मैले सोधेँ। तब उनले भनिन्— आइ ह्याव गन् थ्रु मञ्जुश्री थापाज् ट्युटर अव्
हिष्टि्र।
‘ग्रेट’ मैले भनेँ तर प्रष्ट छ, उनलाई
नेपाली साहित्यमा सम, देवकोटा, लेखनाथ, भिक्षू
वा रिमाल को थिए, नेपाली र आसामी साहित्यको
उत्पत्ति विकास र वर्तमान कहाँ छ यस्तो कुरा थाहा छैन। उनले अरू पनि नेपाली–अंग्रेजी साहित्य पढ्लिन्। परत्तु नेपाली साहित्यको मर्म
ता उनको दृष्टिमा कहीँ देखिने छैन। यतिखेर आसामी बंगाली नेपाली आदि भाषाहरू एउटै
आँगनका भिन्न भिन्न बगैँचामा फुलिरहेका पुष्प हुन् तर त्यस तथ्यप्रति यो पुस्ता
अनभिज्ञ छ, अब हामीलाई केले जोड्ला? यसमा हाम्रो पनि त्रुटी छ कारण
हामी आफ्नो भाषमा मात्र बोल्यौँ। तर अरूको भाषामा अझ अंग्रेजीमा
बोलेका बोलाएका बुझाएका छैनौँ। कत्रो अभाव छ, कत्रो रिक्तता छ— हिष्टि्र अव् नेपाली
लिट्रेचर जस्तो कुनै एउटा कृति यो देशले जन्माउन सक्ने हो भने हामी सबैतिरका
नेपाली अलिक प्रकाशमा आउन सक्थ्यौँ कि। आफ्नो
भाषाले उत्पन्न गरेको प्रकाश औँसीको रातमा अत्यन्तै मलीन दीप झैँ छ। अरूहरू हजार
वाटको फ्लड लाइट बालेर हिँडेका छन्। यसरी अंग्रेजीले हामीलाई
लोभ्याइरहेको छ। यसैले नै हामीलाई ढुकढुक्याइ रहेछ। हामीलाई किच्तै मेट्तै थला
पार्दै घिसार्दै छ। हाम्रा निम्ति तेस्रो मार्ग छैन। त्यसमाथि पनि हाम्रो देशका
बुजु्रकहरूले नेपाली माध्यमको शिक्षा प्रणालीको अन्त्य गरी अंग्रेजीमा लाने निर्णय
गर्दैछन्। अबको हाम्रो स्थिति रङमा चोबिएको नीलो स्यालको कथा जस्तै हुनेछ। अघिल्लो
दशकमा एक भयङ्कर उत्तेजनाको विनाशक घोडामा चढ्नेहरूले संस्कृत माताको प्राण लिए, त्यस कर्मले हाम्रो सभ्यताको जरो छिनायो, अब आएर धुकधुकी मात्र बाँकी रहेको नेपाली भाषा पनि मेट्ने
उद्योगमा छन्। यसरी हामी आफ्नो
संस्कृति मेट्न उठेका छौँ। वास्तवमा देशको सभ्यता संस्कृतिमा डढेलो लगाएर विजातीय
शक्तिको विजारोपण गर्न समर्पित भएका अंग्रेजी तथा बोडिङ स्कूलहरू नै यो राष्ट्रको
मुटु बेचेर धनवान् हुँदैछन्। कुनै राष्ट्र विनाशको वा पतनको भीरबाट हाम्फाल्न
तत्पर अर्काे दृष्टान्त खोज्नु पर्दैन। हाम्रो दरिद्रताको कारण नेपाली होइन, अंग्रेजी हो। सम्पूर्ण अंग्रेजी माध्यमलाई निषेध गर्ने
हो भने नेपाली भाषा संस्कृति अझै सुदृढ हुने थियो तर नेपाली माध्यमलाई दोषारोपण
गर्दै आज तिनै राष्ट्रका ढुकढुकी विद्यालय बन्द गर्दैछन्, उल्टो छ, हास्यास्पद छ, विराम निको पार्नेतिर होइन उल्टै विरमीकै प्राण
खुस्काउने काम गर्दैछन्, अंग्रेजी विमार खन्याउँदै
छन्।
— — —
आज बिहान गुवाहाटीबाट शिलाङ हिँड्नु छ। त्यसको प्रवन्ध गर्न बिहानै डा. खगेन
भाइ पुगे। नजिकको पल्टनबजारमा निस्कियौँ। असङ्ख्य गाडी तत्पर थिए। एउटा सानो
सुमोमा बीचका चारसिट रिजर्व गर्यौँ— प्रतिव्यक्ति
डेढ सय पर्नेगरी तिरेर हामी तीन सुखपूर्वक बस्यौँ— आज चनाखो भै हेर्नुछ, सुन्नु
छ। यहाँबाट शिलाङ १०३ किमि छ, झण्डै झापा–फिदिम जतिकै। तर यो भाडा हामीलाई सत्य युगझैँ सस्तो लाग्यो। आफ्नो होटलमै सुमो पुर्याएर सामान राखी हामीले प्रस्थान गर्यौँ।
अघिल्लो शिलाङ यात्राको धूमिल
स्मृति अवशेष छ। उसबेला फागुन अन्तिम थियो क्यार— प्रकृति अलिकति उजाड हुन लागेको बेला भए पनि हरियालीले टम्मै ढाकिएका डाँडा र
ढिस्का देख्ता मलाई असाध्य ठूलो आनन्द लागेको थियो। आजको यात्रामा त्यसको विपरीत
कार्तिक महिनामा छौँ। प्रकृतिको आवरण यसपालि झन् सुन्दर एवम् अति मनोरम छ। यी
लर्केका बाँसझ्याङ,
भित्रभित्रै आकाश छुने सुपारीका लङ्गुरा बोट, हरिया न हरिया वनकेरा, वृक्ष र लहराले ढाकिएको पट्टेर जंगल, जंगल
भित्रभित्रै कताकति लुकेका काठ, बाँस र
चित्राका ससाना घर, बिस्तारै घुम्दैघुम्दै थाहा
नपाइने गरी चढेको मार्ग कम्ती आकर्षक छैन।
(वन्यताको एक चित्र)
तर यसपालि मार्ग विस्तार योजनाले गर्दा सम्पूर्ण भित्ताहरू फोरेर भत्काएर
धुलाम्मे, रातोमाटो उड्दै, कतै अलिकति पीच, कहीँ
गिटि, कहीँ अलकत्रा उम्लिरहेको, बाटामा दश हजार कर्मी थिए, औजारसँग लर्दै, एक्लै कस्सिएका, नाप्तै पैरो खसाउँदै, सोहोर्दै त्यस उसले यस पालि यो वन्य पृष्ठभूमिमा अर्कै कलारङ पोखिएजस्तो थियो।
तर यसपालिको उल्लेख्य कुरा चाहिँ हाम्रो ससानो कारको ड्राइभर थियो। त्यो अति
उत्तेजक परेको प्रचण्ड गतिमा
हाँक्ने केटो यस्तोमा कहिल्यै नचढिएको परेको थियो। जुँगा नपलाएको सानो कालो १३–१४ को होला, सहायक
पो हो कि भन्यौँ शुरुमा ता। गुवाहाटीमा स्टि्रङ समातेर जंगल पसेपछि मात्र पक्का
भयो आजको चालक यही रहेछ, एकछिन पछिदेखि लाग्न थाल्यो
यसले कतै खसाल्छ कि कुनै भित्तामा लगेर जोत्छ कि, त्यति असावधानीपूर्ण थियो त्यो हँकाइ। तर मार्ग वरिपरिको निसासिने सुन्दरता र
अनन्त फैलेका ती हरित डाँडा पाखाको मोहक आवरण निर्जनता जस्तो पनि थियो। त्यसले
हामी अलिक भुल्यौँ।
धेरै अघि बढेपछि एउटा चेक–पोइन्ट आयो। गाडी रोकेर त्यसमा खाँदिएर बसेका दुई जना
युवालाई पुलिसले पुछताछ गर्न थाल्यो, त्यसले
हामी डराएका थियौँ— आज अघिझैँ लेखनाथ पाठकजी
हुनुहुन्न, यहीँबाट फर्किनु पर्ने हो कि ! एकछिन
पुछताछ गरेपछि हाम्रो व्याकसीटमा खाँदिएर बसेका त्यो समूहका सातै जना युवालाई
पुलिसले ठानामा डाक्यो र एक आवेश सुनायो— आआफ्ना झोला लिएर तिमीहरू सबै यहाँ आओ।
विवश तिनीहरू पुलिस थानातिर पसे।
बाटाको छेउमै सुमो अडिएको थियो। ड्राइभरतिर हेर्दै अर्काे पुलिसले आदेश दियो— तिमी गाडि लिएर आफ्नो बाटो
चल।
ती सात युवकले निरीह मुख लगाउँदै
भने— हाम्रो भाडा फिर्ता?
तर पुलिसले ड्राइभरलाई हकार्दै
भन्यो— तँ चल्।
नभन्दै आधि खाली गाडी लिएर ऊ
चल्यो। युवकले भाडा पाएनन्।
अलि पर पुगेपछि खलासीलाई सोध्यौँ— किन यस्तो भयो भाइ?
तिनीहरू बंगलादेशी थिए, कुनै कागजपत्र परमिट बेगरका थिए त्यसैले।
त्यसो भए हाम्रोबारेमा नि त केही
खोजेनन्?
तपाईंहरू इण्डियनलाई केही पर्दैन।
(आपलोग तो इण्डियन है न?) यो एक स्मरणीय घटना थियो। त्यसो त हामीसँग विश्वविद्यालयले पठाएको निमन्त्रणा
पत्र थियो, आफ्ना
परिचयपत्र र आवश्यक परेमा पासपोर्ट थिए— तर
केही परेन, कसैले सोधन। अनेक घुम्तीमा
असाधारण गतिले हुर्याउँदै र फ्याँक्तै
साना केटाले हाँकिरह्यो। हेर्दाहेर्दै अब धेरै उचाइमा पुगियो, वृक्ष र वनस्पति बदलियो, बतास र प्रकाश बदलियो। त्यस मोहक स्थानको नाम बडापानी थियो।
बडापानीको अति निर्मल जलाशयको नजिक पुगेपछि सेतीको खोच जस्तो गहिरो गल्छी
माथिबाट पुल तर्यौँ। तल हेर्दा कहाली लाग्दो अँधेरी खोल्सो थियो। परन्तु पूल तरेर
पारिको जीपमा पुग्नासाथ हाम्रो गाडी रोकियो, त्यहाँबाट अघि जाने बाटो अवरुद्ध भइसकेको थियो। सयौँ गाडी अवरुद्ध थिए, ती प्रतीक्षामा थिए— सयौँ मानिसले बाटो ढाकिएको थियो। पुलिस थिए, जनसाधारण र यात्री थिए। बाटा डीलबाट आरम्भ भएको खचाखचदेखि तल्तिरको भीरमा पनि
केही झुण्डिएका थिए, निहुरेर तल हेरौँ जस्तो गर्दै
थिए। उनीहरूले भने— एउटा सुमो तल खस्यो, नदेखिने गरी जलाशयमा पस्यो कति जखम भयो थाहा छैन।
सुन्दा जिउ थरङ्ग भयो। यो नसे
केटाको भागमा परेको भए हामीलाई यहाँ यसैगरी खसाउँथ्यो होला, धन्य प्रभू ! आज तिमीले कसरी तर्कायौ।
एक घण्टा त्यहाँ रोकिएपछि बल्ल बाटो खुल्यो, हाम्रो मसिने ड्राइभरले अलिकति स्पीड घटायो तर हामी शहर
पुग्नै लागेका थियौँ, आजको संभावित दुर्घटना
टरिसकेको थियो।
शिलाङ शहर पुग्यौँ। मध्यान्ह दुई
बजे— आकाश झलमल्ल छ, घरैघरका सुन्दर लहर, माथिमाथि चढेका, तलतल बगेका, वन्य प्रदेशभित्र जस्तै हरिया च्यादर छाने, अग्ला गजूर ठडिएका, चिम्नि बोकेका बंगला, ठूलाठूला
धूपी वृक्षले ढाकिएको सेतो शहर, हरियो
शहर। माथिदेखि परसम्मै कति सुरिला सल्लाहरू माथि आकाश छोएर सुसाएका। त्यो दृश्यले,
अचानक ममता दिपविमको स्वर गुञ्जिएको सुनेँ—
सुरिलो रूख खल्लै हौ, खोजेको तिमीले कल्लाई हो,
सुसेली हाल्दै डाकेर बोलाको
तिमीले कल्लाई हो
आऊ है माया बस....
मेरो ह्रिदयमा प्रतिध्वनिमात्र लहराए, त्यहाँ गाउने आँट थिएन। सम्झनाको मायालु पनि त्यहाँ कतै थिएन। श्री लीलबहादुर
क्षेत्रीले ‘आफ्नै
बारेमा’ लेख्ता सम्झेका छन्— शिलाङ सुई सुई हावामा सुसेल्ने सल्लाको देश। त्यसरी
त्यहाँ आकाश छुने सल्लाहरू सुसाउँदैथिए।
शिलाङको बडाबजार मुन्तिर सुमो
स्टेन्डमा रोकियौँ। त्यहाँबाट इ. एफ. एल. विश्वविद्यालय कलेजमा फोन गयौँ, उताबाट दासजीको खबर आयो— तपाईंहरूलाई शिलाङमा स्वागत छ। यहाँब्ााट गाडी पठाउन शिलाङ बजार टाढा छ,
गाडी पठाउँदा धेरै समय लाग्ला। त्यहीँबाट ट्याक्सी लिएर
धानखेतस्थित फ्रुटगार्डेन भन्ने ठाउँमा पुग्नोस्, त्यहीँ एउटा अप्सरा नामको गेष्ट हाउस छ, त्यहाँ विश्राम गर्नु होला। भरे हामी स्वागतमा आउने छौँ। नभन्दै नजिकै उभिएका ट्याक्सीका
अनन्त लहरमध्ये एउटाले तत्काल सम्पर्क गर्यो। बाडेङ्ग नामको खासी युवा चालक रोजेर
हामी अघि बढ्यौँ। ऊ आधाउधी हिन्दी अंग्रेजीमा सम्वाद गर्न उत्सुक देखियो। शहरै शहर
एकछिन गुडेपछि विशाल चर्च, माथि
बिस्तारै उठेको पृथ्वी र त्यसको गहिराइमा लुकेको फ्रुटगार्डेन पुग्यौँ। माथितिर
हेर्दा आकाश छुने सल्ला सुसाउन लागे जस्ता देखिए।
आजै अलिकति समय बचाएर शिलाङको
दृश्यावलोकन गर्ने पनि इच्छा थियो। लगेज राखेपछि बांडेगले भन्यो— देअर आर मेनि इम्पोर्टेन्ट प्लेसेज फर साइट सिइङ सर ! उसले
तिनको नाम लियो। हामीलाई मन थियो ती सबै एकपल्ट हेरौँ। तर बाडेङ्गले भन्यो— चार बजे बन्द हुन्छ सबै त्यसकारण आज दुई तीनवटा मात्र
सकिएला। त्यतिमात्र भए पनि हेरौँ भन्ने भयो, अनि सफा र स्वच्छ बाटो पछ्याउँदै, चेरापुञ्जी रोडैरोड १२ किमी पर
पुगेर एउटा छोटी बजारमा बिसायौँ। त्यही नास्तापानी लियौँ र त्यही बजारको पछिल्तिर
भिरालोमा धेरै तलको कालो जंगलभित्र झरेर संरक्षित इलिफेन्ट फल्स हेर्न भ्यायौँ।
दिउँसै रात पर्ने जंगलभित्र तलातला परेर प्राचीन पत्थरमाथि छाँगोे उफ्रेको ख्याल
रमाइलो होइन। नभन्दै हात्तीको ढाडबाट सेतो छाँगो उफ्रेको। यस्ता रमाइला हाम्रो
देशमा लाखौँ होलान् तर त्यता हाम्रो दृष्टि पुगेको छैन। पोखराको डेभिड फल्स जस्ता कति
होलान्, ताप्लेजुङको फुँगफुँगे छाँगो
कसैले सुनेको छैन। फर्केर बजारमा आएपछि सेवाले खासी युवतीको वस्त्र–आभूषणमा एउटा तस्वीर लिइन्।
(सेवाछोरीको तस्वीर खासी ड्रेसमा)
त्यहाँबाट बाडेंगले हुर्याउँदै, वडाबजार
कटाउँदै, पुलिसबजार पर्तिर भित्रको वार्डस्
लेकमा पुर्यायो, त्यहाँ घुम्नेहरू डीलडीलमा थिए, सेता हाँसका लहर जलाशयमा तैरँदै थिए, वृक्षको छायाँ टल्किन छोडेको थियो। तर लेक हेर्दाहेर्दै
एकदम चिसो बतासले हामीलाई अधीर गरायो अनि अरू घुम्ने इच्छाहरू काटेर फ्रुटगार्डेन
फर्कियौँ, अप्सरा गेष्ट हाउसभित्र पस्यौँ।
हामीलाई तेस्रो तलामा रुम नं. ३०२ ले प्रतीक्षा गरिरहेको थियो। विशाल एउटा सिंगै
घरजत्रो कोठामा तीन वटा बेड, एथ्निक
बुट्टा भएका तन्नाले ढाकेका, सफा पार्केटिड फ्लोर,
टीभी टेलिफेन, सोफा,
टेवल, दराज
सबैसबै चित्ताकर्षक, त्यस्तै सुन्दर छ वाथरुम र
प्रशाधन केन्द्र। मैला लाग्छ कि भनी बिस्तारै गोडा पुछेर भित्र पस्यौँ। यो सुत्ने
बस्ने होइन, हेर्ने मात्र हो कि जस्तो
सुन्दर थियो। धेरै अग्लो बीस फीट माथि उभिएको सिलिङ कलात्मक वनाई आकासतिर खुलेको
थियो। विचित्र राम्रा वार्निस गरेका तखती ठोकिएको सिलिङमा एकातिर प्याक्सिग्लासको
छानाले गर्दा सबै आकाश भित्रै छिर्थ्यो।
हामी गलेका थियौँ तर पनि कुन सौभाग्यले आज यसरी हामीलाई यहाँ ल्यायो होला भनी
सोचेर म आनन्दित भएँ। अघि २००९ को शरदमा अञ्जना र म सानी छोरी (रिचा) यसैगरी
देहरादून र मुसुरी पुगेका थियौँ। नेपाल–भारत
लेखक सम्मेलनका संयोजक दाजु दुर्गाप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो। त्यो तीनदिने
साहित्यिक कार्यक्रमा भाग लिएर हरिद्वार, ऋषिकेश, दिल्ली (आगरा) घुम्दै आएका थियौँ। त्यसको चर्चा मैले सपना जस्तै
मुसुरीबिम्वमा शीर्षक निबन्धमा गरेको छु।
ती दिनमा सेवा छोरी अमेरिकामा
पढ्दै थिइन। झन्डै चार वर्ष छुिट्टएर बस्यौँ तर भाइ देवेन्द्र साथमा हुनाले
हामीलाई आनन्द थियो। त्यसको चार वर्ष पश्चात् यसपालि ठूली छोरी सेवा लिएर हामीलाई
पूर्वको शिलाङमा आउने संजोग पर्यो। यो पनि एक अन्तर्राष्टि्रय कार्यक्रमको
अवसरमा। दुई छोरीलाई भारतका दुई महत्वपूर्ण स्थानमा पुर्याउने संजोग मिलेकोमा
हामीलाई कत्रो आनन्द छ।
ऋचा छोरीले त्यस यात्रामा मुसुरी
डाँडामा पुगेर गढवाली वस्त्र आभूषणमा तस्वीर खिचाएकी थिइन। आज यहाँ दुवै छोरीलाई
सँगै राख्न चाहन्छु। नयाँ समयको भुमरीमा उडिरहेका दुवै छोरीका ती तस्वीर यहाँ
सम्भि्कन चाहन्छु।
यसबाट हामीलाई अव्यक्त आनन्द प्राप्त भएको छ। छोरीहरू त्यसमा सक्षम छन्— मैले आफू हिँडेको मार्गको उनीहरूलाई अलिकति अवलोकन
गराउन सकूँ भन्ने छ, म चाहन्छु उनीहरू पनि साहित्य
र सिर्जनामै समर्पित हउन्। तर उनीहरू भिन्न प्रकृतिको साहित्य संसारमा प्रवेश
गरेको देख्दैछु, त्यहाँबाट हेर्दा मेरो दुःखले
निर्मित साहित्य जगत् अदृश्य हुन्छ। कारण उनीहरूको मार्ग अलग्ग भइसकेको छ, समयले भिन्न पाठ पढाएको छ, स्वभावैले दृष्टिकोण अलग छ,
जीवनपद्धति पनि। अघिल्लो पुस्ता र हाम्रो बीचको रिक्तता यति ठूलो थिएन तर अब मेरो
र छोरीहरू बीचको अन्तर व्यापक भयो। ज्ञानका स्रोत, क्षेत्र र प्रयोजन अलग छन्। खानाहरू अलग भए, दृश्यहरू अलग भए, घरमा प्रयुक्त वस्तु र विचार
अलग भए। मैले काँजाले मोरेका ढुङ्ग्रा उचालेँ, ठूला ठेकीबाट मोही खन्याएँ, भड्डुमा
मकैका चामलको भात पकाएँ, ओधान
मुनिको भुङ्ग्रामा आलु पोलेँ... हामीले त्यसैगरी वाल्यकाल बितायौँ। हामीलाई सत्य
लाग्ने वस्तु र कार्य अर्कै थिए, ती आज
छैनन्। उनीहरूलाई सत्य लाग्ने वस्तु र विचारहरू देख्ता मलाई यता हाँस उठ्छ। हाम्रा
पालाका सत्यहरू उनीहरूको लागि दन्त्यकथा भएका छन्। कसरी बिहानै हामी एक बिटो दाउरा
खोज्न वा धान काट्न वन, जंगल पुग्थ्यौँ, कसरी खोला तर्थ्यौं, कसरी भकारो सोहर्थ्यौं, कसरी
खाना खाएर नाङ्गा खुट्टाले कटुसका काँडाहरू भाँच्दै जंगलैजंगल स्कूल पुग्थ्यौँ,
फर्केर बेलुकी गाईबाख्रा हुल्ने, ढोड बाल्ने, ढिकीमा घान लगाउने, हारका दाउरा ल्याउने यस्ता काम कति हुन्थे। एकछिन पनि
फुर्सद थिएन, ठूलाहरू तल्लीन भएर रातीसम्म
मधूरो उज्यालोमा डोरी दाम्ला बाट्थे, जाँतो
पिँध्थे, मकै छोडाउँथे। आजका नानीहरूको
लागि यस्ता कुरा कल्पनाझैँ अदृश्य छन्। उनीहरू अहिले हामीभन्दा व्यस्त छन्, राती दुईबजेसम्म पल्टिन नभ्याइ छन्, उनीहरूलाई कल्पनालोकले भुलाएर संसार नदेख्ने भएका छन्, कत्रो विडम्वना ! म भने एउटा मनले आफ्नै अतीत
खोजिरहेको छु, अर्काे मनले तिनलाई माया मार्न
सिक्तैछु किनकि त्यो संसार अब कदापि फर्किने छैन। सभ्यताको इतिहास यस्तै छ तर
वर्तमानको तीव्रता खपिनसक्नु भएर मलाई रिँगटा चलेको मात्र हो। मेरो मनमा सदैव
अतीतका ती सङ्ला ईवाँ–मिवाँ नदी र तलको गढी बजार
आइरहन्छ।
(नाम्रेकबाट देखिएकाे च्याङथापुको गढी र परिवेशको चित्र)
विशाल अप्सरामा बत्ती, पानी,
हिटर, ब्लाङ्केट
सबै कुरा जोडेर सहजताको अनुभूति गर्दागर्दै तलबाट डिनरको वासना छुट्यो, खबर आयो— एक जना पोखराका युवा अर्काे
खासी हिल्सका हिन्दी र नेपाली भाषामा सञ्चार गर्दै आवागमन गर्दछन्।
हामी डाइनिङ हलमा पस्यौँ— त्यो सानै थियो तर अति सुन्दर सजावटको, सलादहरू काटेर फूलबुट्टा बनाएर सिसाका टेबलमा तयार थिए।
तर खाना अत्यन्तै सादा– चपाती, राइस, दाल तथा शब्जी र अचार थियो। खाने
बेलामै परिचय गरागर गर्यौँ— प्रा.
डीबी पटनाइक, प्रा. जसवीर जैन मैले सुनेका
ठूलाठूला नामहरू हुन्। सत्तरी टेकेका यी विद्वान्–विदुषीसँग अरू पनि ठूला स्रष्टा
वा संगीतज्ञ, समालोचक र खासगरी
विश्वविद्यालयका प्राध्यापक–आलोचक
गरी त्यहाँ बीस जना थिए। त्यो समूहको उपस्थिति देखेर मलाई अपार हर्ष भयो। उनीहरू आफ्ना र अरूका कृतिका, वर्तमान चिन्तन प्रणालिका,
हाम्रो सभ्यताको दिशाकाबारेमा उच्च वार्ता गर्दथे।
नेपालबाट पुगेका हामीलाई पनि उनीहरूले ठूलो श्रद्धा र प्रेमले व्यवहार गरे। मैले
भनेँ— प्रोफेसर पटनाइक, तपाईंले
भारतीय चिन्तनपद्धतिमा रही पचास वर्षको अथक परिश्रमद्वारा भाषाविज्ञान र व्याकरणलाई अघि बढाउँदै कम्प्युटेशनल
लिङ्ग्विष्टिक्स् अझ मशिन ट्रान्सलेशनसम्म पुर्याउनु भयो। तपाईंको नाम पनि यस
सम्मेलनका प्रस्तोता (प्लेनरी स्पीकर) मा देखेर मैले पनि आउने आँट गरेको हुँ। नत्र
यो भिन्न विषय हो, भिन क्षेत्र नयाँ डिसिप्लिनको ‘निमोनिक्स’। के
तपाईंले धर्म परिवर्तन गर्नु भएको हो? म हाँसेँ। भाषा विज्ञानमा पचास वर्ष बिताएको विद्वान् भर्खरै पाश्चात्य जगत्मा खुलेको
ज्ञानको नवीनतम मार्ग ‘स्मृतिविज्ञान’ (निमोक्स) को विषेशज्ञ भएर आएको
देख्ता मलाई भएको आश्चर्य। समय कति बलवान् छ— अघि गरे— बुझेका सबै कुरा एकातिर
बिसाएर कुनै नवीन पथ अचानक अवलम्वन गर्नुपर्ने दिन आएको छ।
मेरो प्रत्युत्तरमा डा. पटनाइक
पनि हाँसे र आफूले चिनेका नेपाली विद्वान्को नाम सम्झे— प्रा. चुडामणि बन्धु, प्रा. योगेन्द्र यादव, प्रा. माधव पोखरेल। छेउमा बसेकी प्रा. जसवीर जैन थिइन्— बडो डोमिनेटिङ पर्शनालिटी भएकी, ड्याशिङ लेडी। अघि नेपालमा पनि गएकी
रहिछन्। मलाई थाहा भएन। सुनेको थिएँ, भेटेको
थिएन तर यसपालिको कार्यपत्र तयार हुने समयमा मात्रै उनको कल्चरल न्यारेटिब्स् शीर्षक
पुस्तक भृकुटीबाट किनी लगेको थिएँ, आज जुन
विषयज्ञानमा नेपालमा साउँअक्षर स्थापित गर्न म पनि प्रयत्न गर्दैछु त्यस विषयमा
भारतवर्षको विद्वत्वर्ग
दशकौँ अघि उठेर अन्तर्राष्टि्रय हाइटमा उभिएको देख्न सकिने भएका रहेछन्, सो कृति पढ्दा मलाई त्यस्तो लाग्यो। प्रथम परिचय र
खानपिनले तृप्त भई हामी जाडाले काम्दै कोठामा फर्कियौँ। हाम्रो निमित्त एउटा सिंगो
घर थियो, इथ्निक तन्ना माथि कम्बल बोकेर
तीन बेड प्रतीक्षामा थिए। तर जाडो अति थियो— भूइँ, भित्तो, प्रकाश, बतास सबैसबै नतात्ने गरी
चिसिएको जस्तो। वस्त्रहरू सबै पानीमा चोबेर राखिएका जस्ता थिए।
सबै कुराको प्रवन्ध गर्न निरीक्षण
गर्न प्रत्येक कोठामा गै तातोचिसोको ख्याल गर्ने आतिथेय अलङ्कार थिए— भर्खरका युवा, एफलूका
अध्यापक औ यस सम्मेलनका सहसंयोजक। उनैका निर्देशनमा सहायकले तातो पानीका थर्मस राखिदिए,
हिटर बाले, ब्ल्याङ्केट
बुझाए र गुडनाइट भए।
२२ कार्तिक शुक्रबार २०७० (८ नोवेम्बर २०१३)
के कसो पर्यो— राति अफैँ हिटर अफ भयो,
फेरि जोडिएन, ब्लाङकेट
अरू माग्ने सम्झना भएन, जाडाले निकै मुश्किल पार्यो।
मध्यरात देखि नै सम्पूर्ण परिवेश नै ओस भएर चिसिएको थियो, ढङ्ग नजानेर झण्डै
मरियो। त्यस्तो जाडो ता ४० वर्ष अघिको काठमाडौँमा सिरक किन्न नसकी हिँउद कटाउने
हुँदा खपेको थिएँ। भोलिपल्ट निकैबेर हिटर तापेपछि मात्रै शरीर सोझो भयो।
आज प्रथम दिवस उद्घाटनको लागि
छिट्टै तयारी थियो। नभन्दै ६.३० मै तयार भइसकेका थियौँ, आसामको वासनादार बेड टी कप हातमा लिएर हामी तल झर्यौँ। हाम्रो बास
शिलाङबजारमा थियो, कार्यक्रमस्थल झन्डै चालीस
किमि टाढा शिलाङको शिरतिर पर्ने पूर्वोत्तर पर्वतीय विश्वविद्यालय (नेहू) को
परिशरमा थियो। त्यसकारणले गर्दा शहरका तीनवटा गेष्ट हाउसबाट तीन गाडी सहभागी बोकेर
सात पन्ध्रमा वाहनहरू नेहुतिर लागे। पुरानो शहरबीचको साँघुरो मार्ग, सल्लाका वृक्ष मुनिबाट छिर्दै दम्स्याइलो उचाइतिर हेर्दै
हिँड्दा त्यहाँ पुग्न एक घण्टा लाग्यो। यस्तो जाडो छ ता पनि एक उचाइमा एउटा ससानो धानखेत पनि देखापर्यो।
कसरी यस्तो संभव छ? मेरो जिज्ञासा
यसै रह्यो।
माथि पुगेपछि सल्लेरीका बीचमा
निर्मित अनेक भवन छन्। उँभो हेर्दा आकाश सबै उदाङ्गो भएर सबैभन्दा नजिकै
ओर्लिंएजस्तो लाग्छ अथवा यो भूमि आकाशमा पुगेर ठोकिए जस्तो लाग्छ। त्यहाँ अतिथिका
स्वागतार्थीहरू शिक्षक विद्यार्थी अधिकारी लहरै उभिएका थिए। एफ्लूको आँगनमा कलिलो घाम चोबिएको बेला कतै सल्लाका बीचबाट पहेँला धर्का छिरेर
टाटेपाटे भाएको बेला मिलनको यो सुन्दर क्षण बडो हार्दिक लाग्दथ्यो। डाइरेक्टर
प्रा. कैलास बराल, श्रीमती प्रा. बराल तथा एफ्लु परिवार। नयाँ भेटको उत्सुकता, जिज्ञासा
र उत्साह थियो।
(सल्लेरीको चित्र)
एकछिन न्याना घाममा उभियौँ। अदुवा वास्ना आउने चिया खायौँ, दर्तामा एकछिन उभियौँ। त्यसपछि प्रोग्राम–बुक खोलेर हेरेपछि यस कार्यक्रमको व्यवस्थापन एवम् वि195र्त्वर्गको उपस्थितिबारे थाहा भयो। विशेषगरी उनीहरूको
सङ्क्षिप्त परिचयमा आफू पनि मिसिएको पाउँदा धेरै खुशी र आनन्द लाग्यो। त्यसो त
यसमा भारत बंगलादेश नेपाल गरी त्रिदेशीय उपस्थिति मात्र थियो, भूटान, पाकिस्तान
र श्रीलङ्का अनुपस्थित थिए। विदेशका केही शोधार्थी थिए तर उपस्थितहरू प्रतिष्ठित
चिन्तक–प्राध्यापक र गम्भीर
अनुशन्धाता अनि स्रष्टा थिए।
यो विशाल भारतका परिपक्व विद्वान्हरूको बीचमा हामी तीन नेपालीको
उपस्थितिले आत्मसम्मान एवम् गौरवको भाव उत्पन्न गर्यो। साथै एक किनारमा उभिएर
एकछिन् विशाल प्रज्ञा केन्द्रसँग जोडिन खोज्यौँ। मसिनो बोलिमा हामी पनि छौँ भन्न
खोज्यौँ। यता भारतीय नेपालीमा पनि आइवी राई, लीलबहादुर क्षेत्रीजस्ता टावरिंग फिगर अब कम्ती छन्, अघि थिए तर त्यसबेला उनीहरू भारतीय बन्न नसकी बितेर गए यद्यपि भारतीय
पहिचानको लडाइँमा उनीहरूको श्रम पसिनाको बीज रोपिएको छ। तर लामो दासता, गरीवीका कारण अशिक्षा र यायावरीय श्रमिकझैँ हिँड्ने नेपालीको
सानो सङ्ख्या मात्र सचेत छ, बल्ल
यतिबेला सगौरव त्यो उठ्तै छ, त्यसको
उपस्थिति संसद भवनसम्म, साहित्य आकादमीसम्म भएको
देखिन्छ।
यो चिनारीको समयमै मैले प्रोग्राम
बुक खोलेर हेरेँ। त्यहाँ तीन दिनका १५ सेसनमा १८० जना प्रस्तोता सहभागी छुट्याइएका थिए। प्रत्येक दिनका पाँच
सेसन औसतमा बीस कार्यपत्र र दुइवटा प्लेनरी, केही छोटा प्रवचन र सांस्कृतिक कार्यक्रम भए।
सेसनका चेअर र खासगरी प्लेनरी
बक्ताहरू चुनिएका व्यक्ति थिए। चिनिएका विशिष्ट विद्वान् थिए। जस्तै हैदरावादका प्रा. बेङकट राओ, दिल्लीका प्रा मकरन्द परान्जपे, बङलोरका प्रा. बी एन पटनाइक, राजस्थानकी
प्रा. जस्वीर जैन, प्रा. लीलाप्रसाद, बंगलादेशका प्रा. मस्बा कमल आदि। मलाई एउटा कुरा अनौठो
लाग्यो— ‘जसवीर’ र ‘प्रसाद’ पुरुष नाम होलान् भन्ने थियो ती ता महिला रहेछन्।
धेरै दिनपछि अर्को रोचक संस्मरण पस्किनु भएकोमा सरलाई हार्दिक धन्यवाद | भाग ६ आउला आउला जस्तो त लागेको थियो....अब भाग ७ को प्रतीक्षामा छु | अरुको चर्चा गर्दा गर्दै आफ्नो विगत जीवनको पनि आंशिक कथा व्यथाहरु मिठासपूर्ण तरीकाले प्रस्तुत गर्ने कलाको खूब कदर गर्दछु | यो भागमा नेपाली साहित्यप्रति नेपालीकै उदासीनता र नया पुस्ताको विमुखताको वर्णनले वास्तविक रुपको चित्रण गरेको छ |
ReplyDeletedhanya priya bhaai yo ta nirantar shrinkhala ho
ReplyDeleteaairahanechh
Awesome.........I enjoyed reading it.
ReplyDeleteVery touchy write up, sir. I enjoyed reading Inwa khola, Gadi Bazzar and Falaicha which are eternal images in my memory and buil up of personal culture. Really, gadi and "thule kharel" were synonymous to me. To come Gadi from Tembok is like to come Kathmandu from Jhapa now. Great creative sensibility and emotional intelligence you have sir.
ReplyDelete