About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Friday, February 8, 2013

कर्णाली पारि— १



With campus chief Jagat Bahadur Singh Rawal, at his office, Tikapur Multiple Campus, Kailai

अघि बीपी कोइराला फाउण्डेशनद्वारा आयोजित नेपाल–भारत लेखक सम्मेलनमा भागलिन म सुदूर पश्चिमाञ्चलको धनगढी सम्म पुगेको थिएँ । सन् २००२ मा  आयोजित उक्त सम्मेलनमा आईवी राई, डीपी भण्डारी, कमल दीक्षित, मोहन कोइराला, तुलसी भट्टराई जस्ता साहित्यिक महारथीहरू सँगै यात्रा गर्ने अवसर मिलेको थियो । उता देहरादूनबाट मास्टर मित्रसेनका सुपुत्र दिग्विजय सिंह र भूपेन्द्र अधिकारी थिए । दुवै देशका राजदूतको उपस्थितिमा सञ्चालित सो द्विदिवसीय कार्यक्रममा  मैले  नेपाली साहित्यमा विद्युतीय माध्यमको प्रयोग शीर्षक कार्यपत्र प्रस्तुत गरेको थिएँ । उसबेलाको  विद्युतीय माध्यमको  अर्थ के लाग्दथ्यो भन्ने कुरा मेरो विश्वविद्यालयमा अग्निपूजा शीर्षक सङ्ग्रहमा सङ्कलित  उक्त निबन्धमा हेर्दा थाहा हुनेछ । यति कुरा भनौँ त्यसबेला मोबाइलसम्म आइपुगेको थिएन ।

आज त्यसको एक दशकपछि मलाई दोस्रो पल्ट सुदूर पश्चिमाञ्चल आउने संजोग मिलेको छ । अघिल्लो दिन मोरङ्स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा आयोजित अनुसशन्धान गोष्ठीमा कार्यपत्र प्रस्तुत गरी काठमाडौँ फर्केको थिएँ । त्यो ट्रान्जिटमा मात्र एकरात  बिताई माघ १३ गते बिहानै त्रिभुवन अएरपोर्टतिर लागेँ । आरडीका डा. प्रेम शर्माले मलाई वानेश्वरमा प्रतीक्षा गरिरहनुभएको थियो । रिपोर्टिङ टाइम अनुसार नौबजे हामी हवाइअड्डा पस्यौँ अर्थात् भाञ्जाले पु¥याए अनि कागजपत्र  सदर गरेर भित्र छि¥यौँ ।
त्यहाँदेखि प्रतीक्षा शुरु भयो— दश बज्यो अझ प्रतीक्षा, एघार बज्यो झन् प्रतीक्षा, बार बज्यो, एक बज्यो अनिश्चितकालीन  प्रतीक्षा, दुईबज्यो अझै प्रतीक्षा । पूर्वतिरको एक दुई ठाउँतिर उड्यो तर हुस्सुका कारणले पश्चिमको कुनै जहाज उडेन । धनगडी रद्ध ग¥यो ।  अब  नेपालगंज पनि त्यस्तै हुन्छ कि ! खानपिन छैन चिसो छ, भित्र डगडगी काम्दै बसेका छौँ ।  पानी खाँदै एउटा थिसिस   पल्टाएर बसेँ । त्यसैमा घोत्लिएर घोरिएर  पाँच घण्टा बिताएँ । २०० पृष्ठ रातो लाउन सकेँ होला । प्रतीक्षा गर्नु गाह्रो  भन्दा पनि ज्यादा चिन्ताको विषय हुन जान्छ । चार महिना अघिदखि तयारी गरेको अनुसन्धान विषयक कार्याशाला गोष्ठी छ त्यहाँ त्यति टाढाको टीकापुर कैलालीमा  । दुवै प्रस्तोता यतै छौँ । सुदूरपश्मिका अनेकौँ क्याम्पसको प्रतिनिधित्व गर्नेहरू अछाम, डोटी, बैतडी अनेकतिरबाट आजै आइसके भन्ने खबर आउन थाल्यो । हामी पुग्न  सकेनौँ भने क्याम्पसप्रमुख जगतबहादुरसिंह रावललाई कत्रो चिन्ता होला ।  संयोजक मिनबहादुर शाहीलाई, नाथुराम चौधरीलाई, बद्रीलाई भट्टराईलाई, समितिलाई, अरूलाई अनिश्चितिको चिन्ताले कति व्यग्र बनाएको परेको होला ।

हामीलाई भोक लागेको थियो । दुईप्रकारले  त्यो हरायो ।  एक त  त्यहाँ  स्टल राख्ने दोकानेहरू निर्लज्ज रूपले  ठगिरहेका देखेर, एक प्लष्टिक कप कफी चियाकै साठी रु. लिएको देखेर   रु १० को विस्कुटलाई  ५०  लिएको देखेर, सरकारको प्रत्यक्षतामै यो सार्वजानिक स्थानमा  विवश भएका अभर परेका  यात्रीलाई लुट्ने प्रवन्ध मिलाइदिएको देखेर; बेलाबेला जाँदै हेर्दे ग¥यौँ । एउटा स्याण्डविचको २४० देखियो, हामी  हेरेर मात्रै फर्कियौँ । पैसा तिर्न नसकेर होइन; यो देशमा अव्यवस्था र नैतिकपतनको संस्थागत रूप देखेर त्यो संस्थागत भ्रष्टारको परिणाम केकसो भएको होला भन्ने पिरले आज निराश भइसकेका थियौँ । प्रगतिको कारणले मानिसहरू  दण्डित भएको छ । एअरलाइन्सले खुवाइनु पर्न होइन ? पाँच छ  घण्टा  तिनले पनि निर्लज्ज भई  भोका मानिस थुनिराख्छन् ‘निर्लज्ज’ राम्रो शब्द होइन, तर आजको बिजोक सम्झेर यहाँ म त्यो प्रयोग गर्न बाध्य छु ।

बिहानदेखि आधाआधा घण्टामा ‘केही समय ढिला हुनेछ’ भन्ने उद्घोषण दोहो¥याउँछन् । तर यी मानिस    भोका र विवश छन् भन्ने ज्ञान किन हुँदैन ? कि उपयुक्त  मूल्यको खाने ठाउँ उपलब्ध गराइदिनु प¥यो ।  कि  एकघण्टा बाहिर गई नास्ता गरी आउन भन्नु प¥यो । विकट पहाड र मैदानले बनेको भूगोल छ, यहाँ हुस्सु, तुवाँलो, वर्षा, हुरीको  प्रकोप चक्रझैँ सदा घुमिरहन्छ । के जहाजमा उड्नेहरू सबै सम्पन्न, जतिपनि पैसा तिर्न सक्ने अथवा हुन्छन्; फेरि ती विवश र भोका यात्री ठगेको पैसा कसको गोजीमा पुग्छ ? मेरो मन अनेक प्रश्नले रन्थनियो । यो बुझ्ने प्रवन्धकहरूले  हाम्रा दुःखी यात्रीलाई वर्षाैंदेखि  कति मार्का परेको छ, त्यो किन बुझ्दैनन् ।  सारा अविवेकको राज छ । बिहान एककप चिया पिएर  घर छोडेदेखि गन्छु, छ घण्टा बितेछन् । बल्ल, अब प्लेन चल्छ भन्ने बुझेपछि एनाउन्स गरे ः  नेपालगन्ज जाने बुद्ध एअरका यात्री महानुभावले रिफ्रेशमेन्टको लागि  रिसेप्सन डेस्कमा सम्पर्क राख्नु होला ।

सुनेर हामी हुर्दुराउँदै त्यहाँ पुग्यौँ; ससाना कप चियाकफी र झन साना केकका डल्ला उपलब्ध गराए । खाइसक्न पाएका थियौँ थिएनौँ — नेपालगन्ज उड्ने  महानुभावहहरू गेटतिर   प्रस्थान गर्नुहोला भनेको सुनियो । केही  अघि उडान रद्ध भएका धनगडीका यात्रीले त्यो रिफ्रेशमेन्ट पनि पाएनन् । हाम्रो देशमा  ज्यादा अविवेक छ । अमानवीयता लाग्छ ।
à à
त्यसपछि हामी उड्यौँ । नेपालगन्ज पुग्दा चार बज्नै आँटेको थियो ।  त्यहाँ हाम्रो प्रतीक्षामा हामी जसरी नै
बिहानदेखि पर्खिरहेका  प्रेमप्रसाद भण्डारी र  नाथुराम चौधरी भेट्यौँ तर त्यहाँ कति पनि  नबिसाई हामी गाडी चढेर उड्यौँ । कोहलपुरमा हाम्रो चिया नास्ता भयो । बाहिर बिघ्नै चिसो छ । अर्ध  भिजिविलिटीमा धन्य प्लेन उड्दो रहेछ जस्तो पनि लाग्यो । त्यहाँबाट एक दशकअघि म गुडेको राजमार्गमा हामी बडो आन्दले पश्चिमतिर गुड्यौँ । आँखामा मधुरा अस्ताचलका घाम बेलाबेला ठोकिन्थे । जगतले हाँकेको सानो गाडी अत्यन्तै शक्तिशाली थियो ।

बिर्सिन लागेका दृश्य थिए एकदशक पछि फेरि आए । बर्दियाको    निकुञ्ज घना जङ्गल र पातलो  बस्तीको बफर जोन, फेरि घनाजङ्गल, अनेक चेकिङ र कर्णाली पुल; त्यस ऐतिहासिक पुलमा अघि पनि उभिएर फोटो खिचेका हौँ तर आज ती कोही छैनन् । आज सँगै हिँडेको साथी भोलि  अर्कैछ, यसरी सबैको जीवन मिल्नु र  छुट्नु निरन्तर रहेछ ।

कर्णाली तरेपछि गाडी बिसाएर होटल लुकतिर  पस्यौँ । प्रेमसरको पुरानो इष्ट । मैले पनि उसबेला बिसाएको बिहानको चिसापानी सम्झेँ । यो सन्ध्यामा साथीबाट यहाँ अलिकति विश्राम गरेर माछा सेवन गर्ने प्रस्ताव आयो । मैले  छोडेको, सार्वजातिक रूपले शाकाहारी    घोषणा गरेको हुँ तर सम्झेँ एकपल्ट     चीसापानीको सेवनले के गर्ला— यो  कुरा गोप्यै राख्तछु । नभन्दै चीसापानीको त्यो सन्ध्याको आहारले अतीतको सुन्दर एवम् तृप्तिकर बिहानी सम्झायो । यसरी हाम्रा इनिद्रयहरू एकपल्ट प्रलोभक तŒवहरूसँग सल्केपछि त्यो आगो निभाउन मुश्किल पर्नेरहेछ ।

हामी  टीकापुर पुग्दा रातै  परेको थियो ।  बजार सिरानको धेरै ठूलो र भव्य  सिद्धार्थ होटलमा पुगेर बस्यौँ । बासले हामीलाई  परिर्खरहेको रहेछ । यो हाम्रो पूर्वप्रवन्ध थियो ।

भोलिपल्ट १४ गते  बिहानै गोष्ठीको  उद्घाटन वा   आरम्भ भयो । टीकापुर बहुमुखी क्याम्पसको सेमिनार हलमा धेरै व्यवस्थित  सामग्री र साधनले परिपूर्ण  त्यो  गोष्ठीमा  बिहानभरि डा. प्रेम शर्माको गुणात्मक अनुसन्धान पद्धति (क्वालिटेटिव रिसर्च मेथोडोलोजी) शीर्षक कार्यपत्र भयो ।  त्यहाँको सहभागिता देखेर हामी छक्क प¥यौँ । बीसवटा क्याम्पसका प्रमुख विज्ञाहरू, विविध विषयका विद्वान् मैले सुदूर पश्चिममा यत्रो प्राज्ञिक समूह सहभागी हुन्छ जस्तो मानेको थिइनँ । विद्यावारिधियुक्त अनि  एमफिल गरेका, अरू नयाँ पुस्ताका  सबै जना जिज्ञासु र  सचेत थिए नयाँ ज्ञानको तिर्खाले यहाँ आएकाहरू । धेरै जसो स्नातक र कतिपय स्नातकोत्तरका क्याम्पसमा अध्ययन गर्नेहरूको उपस्थिति देख्ता मलाई लाग्यो अब काठमाडौँ मात्रै केन्द्र कहलिने छैन; आआफ्ना क्षेत्रका विषयबेत्ताहरू सर्वत्र बढेका छन् । आफ्नो ठाउँलाई बढाउने उठाउने चिन्तामा छन्, त्यहाँ बौद्धिक, प्राज्ञिक, उज्यालो पुगेको हेर्न चाहन्छन् । त्यसैले यहाँ यत्रो गोष्ठीको आयोजना भएको छ । यति गम्भीरतापूर्वक उनीहरू जुटेका छन् । यस्तो ऐतिहासिक सम्मेलनमा प्रमुख अतिथि बन्ने अवसर पाउँदा म आफूलाई भाग्यशाली ठान्दछु ।

दोस्रो सत्रमा मेरो कार्यपत्र थियो— वर्तमान शिक्षाप्रणालीमा  दार्शनिक आधारको खोजी र उत्तरआधुनिकता । यो मेरो अहिले सम्मकै लामो र बढी  परिश्रम गरेको कार्यपत्र थियो । विचमा  बिसाउँदै पाँच घण्टामा सम्पन्न भयो  । त्यो दिनका स्रोताका जिज्ञासा र टिप्पणीबाट म साँच्चै प्रभावित भएँ ।

मैले एउटा आश्चर्य प्रकट गरेँ— सर्वप्रथम उत्तरआधुनिकता विषयमा मैले काठमाडौँ उपन्यका बाहिर प्रस्तुत गरेको २०५९ साल थियो । नेपाल (राजकीय) प्रज्ञा–प्रतिष्ठानको आयोजना नेपाली आख्यानमा उत्तरआधुनिकता विषयमा म बोलेका थिएँ । त्यसको दशवर्ष पछि मात्र म त्यो विषय लिएर सुदूर पश्चिमअञ्चल आइपुगेँछु । यस यात्राले आफैँ पनि कुनै अर्थ बोक्ने छ ।

अघि नौलो थियो । श्रोता पाठक बढी आलोचक र प्रतिरोधी थिए । आज त्यो जङसूत्रात्मकता मत्थर हुँदै गएको छ, र नयाँ विचार स्वीकार्ने बुझ्नेहरू बढेका छन् । नत्र टीकापुरमा यस विषयले यत्रो आकर्षण उत्पन्न गर्ने थिएन । यति जिज्ञासा उठाउने थिएन । विश्वविद्यालय स्तरका अनेक पाठ्यक्रममा समावेश भएकोले, व्यापक विश्वमा पुग्ने अध्ययन गर्नेहरूको उर्वर मस्तिष्कमा यो विषयले छोइसकेकाले यसको महŒव बुझ्नेहरू यसतिर आकर्षित हुँदै गरेकाले नेपाली वाङ्मयमा दुई दशकभित्रमा  उत्तरआधुनिकता विषयमा लिखित कृतिका सङ्ख्या चार दर्जन नाघि सकेको छ ।

उत्तरआधुनिकता परिवर्तित समयको  सङ्केत, सोच, प्रक्रिया र स्वरूप हो । यसले  मानिसलाई अझ यान्त्रिक अझै  परावलम्बी र अझै हृदयसून्य पार्दैछ । यसलाई पूर्णरूपले यन्त्रमा चढेर उभ्याएकोले यसले टाइम र स्पेश (समय र आकाश) दुवै मेटिदिएकाले यो पृथ्वी नै नन्स्पेसमा परिणत हुँदैछ ।  एउटा मूल्यहीन भनौँ निरपेक्ष जगत्तिर हामी पनि  धस्रेको झैँ लाग्छ ।  तर अरू उपाय केही छ  त ? यो ग्लोबलताको विरोध गरेर त्यसको विकल्पमा बास बस्न जाने अर्काे ग्रहको बाटो खुलेको छ त ? त्यो अझसम्म छैन । कुनै देश वा संस्कृति भिन्न रहन सक्छ ? त्यसकारण हामी अस्तित्ववादीले जस्तै अनुभव गर्न थालेका छौँ । विश्व मूल्यरहिततातिर अझ  यान्त्रिकतातिर ढल्किँदैछ । हामी आफ्नो निर्णय गर्न स्वतन्त्र छौँ तर यही स्थिति रोज्न बाध्य छौँ; यहीँ बास बस्न पनि बाध्य छौँ । हाम्रा स्वतन्त्र रोजाइले पनि हामीलाई केवल परतन्त्रमा वा विवशतामा पु¥याएर  एक्ल्याउँदै रहेछ । मलाई यस्तो बोध हुन्छ ।

अधिनायकवाद अएउटा महाख्यान थियो । यता एउटा महाआख्यान ढालेर अलिक मुक्त भयौँ भन्ने ठान्दछौँ तर मानवजाति स्वयम्  झन् ठूलो र विश्वव्यापी  महाआख्यानभित्र थुनिदैछ । हामी  ग्रिनहाउसमा  पसेका छौँ । यथास्थितिवादीहरू  यो बुझ्दैनन र विरोध गरिहेर्छन् ।  तर आफू बाँचेको दिक्कालप्रति सचेत नहुन्जेल मात्र त्यस्तो आँट आइरहन्छ; बुझेपछि सबै शान्त हुनेछन् ।

प्रा. विद्यानाथ कोइरालाले प्रयोग गरेको  एक शब्द छ सोचान्तरण; वर्तमान विश्व परिस्थितिले सोचान्तरण उत्पन्न गरेको छ । मैले त्यसलाई ‘परिवर्तित आयाम’ भनेको छु । यसले उत्पन्न गरेका   विनिर्मित परिस्थिति, पात्र, प्रक्रिया र सोचको मूल्यको मापन चाहिँ व्यक्तिको धारणाको दृष्टिकोणको कुरा हो हामी अझै त्यता अभ्यस्त भइसकेका छैनाँै ।

एकातिर देशको अभाव गरिबी, अशिक्षा र प्रत्येक वर्ष भोगिने यो कृषि निर्भरताको समस्या उस्तै छ, दुर्गम पर्वतहरू त्यतिकै  कहालीलाग्दा छन्, उराठ मैदान पनि त्यस्तै छन्; अर्कातिर नेपाली संस्कृतिको एक अंशले कहाँ छोयो ! यतिखेर कर्णाली तरेर यी डरलाग्दा पहाडका  फेदमा बसी उत्तरआधुनिकतावादको कुरा गर्नु एउटा हास्यास्पद कर्म लाग्छ ।  तर    विश्वलाई निल्दै आएको यो अजिङ्गरको रूप कस्तो छ भन्ने कुरा थाहा हुनेले यसको कुरा नगरी पनि रहन नसकिने स्थिति रहेनछ । राम्रोको अथवा नराम्रोका पक्षमा  म यी कुरा गरिरहेको छैन, तीव्र गतिमा चलिरहेको यो विश्वबतासको स्वरूपको, त्यसले उडाउन सक्ने तŒवको  कुरा मात्र गर्न म  तत्पर भएको छ ।

जगत् परोक्ष सत्य (भर्चुअल रियालिटी)  ले ढाक्तै छ, हामी हेर्दैछौँ । क्षणभङ्गुर अतीत मूल्यप्रति भएर हामी नयाँमूल्यतिर  हाम्फाल्दैछौँ । यसले उत्पन्न गर्ने आनन्द र पीडा दुवैले  हामीलाई छेकिरहेको छ; हाम्रो समयले बोल्ने वा संचार गर्ने  भाषा बदलिएको छ,  अर्कै अधिभाषा     प्रयुक्त  हुँदैछ । अहिले पुरानो   पुस्ता त्यो पढ्न नसकेर निरक्षर रहेको छ, नयाँ पुस्ता त्यही भाषासित बोल्छ, त्यही माध्यमसित बोल्छ, आत्मसात, गर्छ, व्यक्तिवाद यसरी बढिरहेको छ । व्यक्तिवाद बढ्नु राम्रो होइन तर  प्रविधिले त्यसलाई अपरिहार्य बनाउँदो छ ।

अघि आधुनिककालको प्रभाव व्याप्त हुँदा मानिस एकपल्ट निसास्सिएका थिए ।  अहिलेको अर्थमा  केही महाख्यानहरू ढाल्न चाहेका थिए; ढाले पनि तर आज सर्वव्यापी उत्तरआधुनिकता उठेर विश्ववायुमण्डल नै ढाक्ने महाख्यान भएको छ । यो हाम्रै कार्यको परिणाम हो । प्रविधिलाई अघि लगाएर त्यसको  पछिपछि कुद्ने हुँदा मानिसले  भोग्नु परेको स्थिति हो । तर एउटा अद्भूत विश्व देख्न पाइएको छ; प्रत्येकपल आश्चर्य भोग्न पाइएको छ, यो ‘इलुजन’ पनि कति रोमाञ्चक भएको छ ।

उत्तरआधुनिकताको कल्पना गर्दा मेरो मन यस्तै कुराले भरिन्छ र हाम्रा शिक्षा, चिन्तन, विचार जगत्लाई पनि यही एकलतावादले ढाक्तैछ भन्ने तथ्य प्रकट  हुँदै जान्छ । अरू प्रकारका बहुल र विविधताको निम्ति आह्वान र पुकारा गर्देछौँ,  त्यसको प्राप्तिखातिर सङ्घर्षमा पनि छौँ परन्तु हामी चल्ने बोल्ने माध्यम, लक्ष प्राप्ति गर्ने साधन ता अन्य छैन अन्यत्र छैन ।

यो यतिखेरको प्रेडिकामेन्ट हो; अस्तित्ववादीले त्यो शब्द प्रयोग गर्दछन् । हामी ‘दशा’ भनौँ या लेखान्त । त्यसैले त्यहाँ शिक्षामा उत्तरआधुनिकताको चर्चा उठाएको छु, नेपालको सन्दर्भमा ती कुरा बोलेको छु । हाम्रा पाठ्यक्रम पल्टाएर बीसौँ शताब्दीले ल्याएका घटनाक्रियाविज्ञान, अस्तित्ववाद, आधुनिकतावाद र उत्तरआधुनिकतावादको चर्चा गरेको छु । यी कुराको चर्चाले, अनुपालकहरूको जीवन भिन्न वा सुखमय हुने होइन, तर ती समयप्रति सचेत हुन बाध्य हुनेछन् । अलिक ज्यादा चिन्तित हुने छन्, हामी पनि यो विश्वभुमरीमा परेछाँै भन्ठानी अलिक बेचैन हुनेछन् । तर अब उपाय छैन । स्वीकार्नु सिवाय अन्य मार्ग छैन ।

मेरो कार्यपत्रमा यस्तै कुरा थिए । डा. बद्री विनाडीले टिप्पणी गरे । अरू  जिज्ञासुले आफ्ना आशय र शंसय प्रकट गरे; कति प्रश्न र स्पष्टीकरणमा लिएर उभिए । तर  वातावरण अत्यन्तै प्रभावकारी सुन्दर र उत्साहपूर्ण थियो ।  ‘पोष्टमोडर्न’ ट्रेण्ड अनुसार एमफिल पिएचडीका शोध गरिसकेका वा क्रियाशील विद्वान् पनि थिए । स्नातक एवम् स्नातकोत्तर तहका  अध्यापकहरू युवा पुस्ताका यी मित्रहरू कम समयसचेत छैनन् । त्यो देखेर मलाई ढुक्क र आनन्द लाग्यो । अब नेपाली शिक्षाको जगमा केही परिवर्तन आउँछ कि ?
à à
दोस्रो दिन  बिहानै उठेर हामी बजारको शिरानसम्म पुग्यौँ । त्यहाँ श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजक समितिका कार्यालय स्थापना गरेर त्यसको तयारी गर्दैथिए । आध्यात्मिक आयोजकहरू हाम्रो स्वागतमा उपस्थित भए । टीकापुरमा राष्ट्रिय योग अनुसन्धान एवम्  आरोग्य केन्द्रको  स्थापनार्थ सहयोग सङ्कलन  गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको थियो । वाचन शिरोमणी दीनबन्धु अर्यालको तस्वीर राखेर एउटा राम्रो ब्रोशर–पर्चा प्रकाशित थियो ।

हामी निकैबेर बस्यौँ, वार्ता ग¥यौँ । यो राष्ट्रप्रेमीहरूले अध्यात्मिक जागरण ल्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रम देखेर मनमा अत्यधिक प्रशन्नता जागेर आयो । यस महायज्ञ आयोजनाको चार लक्ष अत्यन्तै प्रशंसनीय छन् ः
क) मानवमात्रमा धार्मिक भावनाको बढोत्तरी एवम् आध्यात्मिक उन्नयनमा योगदान पु¥याउने,
ख) यस क्षेत्रमा सबै तह र तप्काका मानिसहरूको सहभागिता जुटाउँदै सामाजिक एकता र सौहार्दताको वृद्धि गर्ने,
ग) ‘स्वस्थ नागरिकः समृद्ध देश’ भन्ने आदर्श भावलाई उल्लेखनीय ढङ्गले मूर्तरूप दिने र
घ) टीकापुर क्षेत्रलाई स्वास्थ्य पर्यटकीय स्थलका रूपमा रूपान्तरण गर्ने ।

अघिल्लो दिन म उत्तरआधुनिकता विषयमा कक्षा लिने  तयारीमा थिएँ । त्यसबेला म चिन्तामा पनि थिएँ । हाम्रो शिक्षाको  आधार के छ भनी  पाठ्यक्रम हेर्दा त्यहाँ बीसौँ शताब्दीमा विकसित पाश्चात्य जगत्का दर्शनहरू राखिएका छन् । हामी किन पराईको शिक्षा र सम्मतिले आफ्ना पूर्वीय सभ्यतामा हुर्केका विद्यार्थीको मस्तिष्क भर्दैछौँ भन्ने चिन्ता लाग्यो मलाई अलिक आश्चर्य लागेको थियो र म आफैँ यस्तो कार्यको नेतृत्व लिँदै हिँडेको छु भन्दा  मन अझ खिन्न भयो ।

ज्ञानविज्ञान सबैमा आयुर्वेद, योग, शिक्षा, अध्यात्म सबैमा एकपल्ट आफैँतिर फर्किनुपर्ने बेला छ । जगत् शुष्कताले भरिएको छ, केवल भौतिक उन्नतिमा यो अन्ध छ र  पूर्वी जगत्सँग भएको आध्यात्मिक प्रकाश पुञ्जलाई हामी सबै  मिलेर  धुमिल पार्दैछौँ ।

मलाई यस्तै अनुभव भएको थियो । मैले पूर्वीय चिन्तन परम्परा (२०६६) को सम्पादन गर्दा यही सोच्न थालेको थिएँ; गान्धी (२०६७) को अनुवादले त्यसलाई अझ बलियो बनाएको थियो भने हालै प्रकाशित विश्वविख्यात विद्वान्हरूको दृष्टिमा  हाम्रो पूर्वीय सभ्यता (२०६९)  को अनुवाद गरेपछि म पूर्णरूपले  विश्वस्त छु, मानव जीवन र समाज केवल दर्शन र विचारले सञ्चालित हुन्छ । हाम्रो दर्शनमा अध्यात्मिकता र धर्म अभिन्न छन् । आज सुष्क समाजमा  पूर्वीय ज्ञान, दर्शन र अध्यात्मको प्रकाश नपरेसम्म हाम्रो  आत्मिक उन्नति संभव हुने छैन । धरै वर्ष भारतवर्षमा योगको अभ्यास गरेका गुरु पृथ्वी रावलजीको यसमा ठूलो उत्साह देखियो । टीकापुरको आत्माबाट अध्यात्मिक सात्विकताको प्रशारण गर्ने उद्देश्यले टीकापुर योगाश्रम सक्रिय रहेको देख्ता अत्यन्तै ठूलो खुसी लाग्यो । पर्चाले आफ्नो स्थानको महत्तालाई स्पष्ट पार्दै वर्तमान जीवनमा सुखशान्ति स्थापित गर्ने प्रण यसरी गरेको छ ः

आज विकसित देशका मानिसहरू नेपाल र भारतजस्ता देशहरूतर्फ आनन्द, खुसी र शान्तिको उपाय प्राप्त हुन्छ कि भनी ठूलो आशाले हेरिरहेका छन् । यस तथ्यले के देखाउँछ भने भौतिक उन्नति  र सम्पन्नताले मात्र जीवनमा सुख–शान्ति प्राप्त हुन सक्दैन । यी कुराहरूको मूल स्रोत भनेको त शारीरिक र मानसिक स्वास्थता हो । शारीरिक र मानसिक स्वास्थताको प्राप्ती प्राचीन ऋषि–मुनिले निर्माण गरेको महाविज्ञान रूप योग विज्ञानको बाटो अनुसार चल्ने जीवनशैलीबाट प्राप्त हुन्छ । यस सत्यलाई मानिसले  धेरै लामो समयदेखि बिर्सिंदै आए पनि अब बिस्तारै यसको खोजीको प्रयास संसारभरि भैरहेको छ र योग महाविज्ञानको आवश्यकता पनि महत्तालाई बिस्तारै संसारका मानिसले महसुस गर्न थालेका छन् । यति महत्तायुक्त योग महाविज्ञानको अध्ययन, अनुसन्धान, शिक्षण, प्रशिक्षण आदिका लागि सर्वाधिक उपयुक्त स्थान भनेको हिमालयको काखमा  स्थित सुन्दर, शान्त र स्वस्थ देश नेपाल र नेपालमा  पनि सुन्दर सुुदूरपश्चिमाञ्चल  क्षेत्र हो भन्ने कुरा पौराणिक कालमा ऋषि–मुनिहरू  तपस्या गर्न यसै क्षेत्रमा आउने गरेका पौराणिक तथ्यदेखि आधुनिक युग खप्तड स्वामील पनि यसै क्षेत्रमा आएर तपस्या गरेबाट समेत पुष्टि हुन्छ । जैविक विविधताले युक्त, विविध जडीबुटीको प्रचुरताले भरिपूर्ण र शिवलोक कैलास पर्वतको शीलत हावाले सिञ्चित सुदूरपश्चिमाञ्चलको टीकापुर क्षेत्र नेपालभरिमै सबैभन्दा बढी स्वास्थ्यकर स्थापना भएको कुरा तात्कालीन राजा महेन्द्रबाट मुटुको बिरामी हुँदा यस ठाउँलाई देशको अस्थायी राजधानीको रूप प्रदान गरी राज्यको  शासन सञ्चालन गर्दै स्वास्थ्य लाभ गरिएको ऐतिहासिक घाटनाले प्रमाणित गर्दछ । यसै पृष्ठभूमिमा उभिएर टीकापुर नगरमा अन्तर्राष्ट्रिय पहिचान सहितको राष्ट्रिय योग अनुसन्धान एवम आरोग्य केन्द्रको स्थापना गरी योग महाविज्ञानशाला, प्राकृतिक चिकित्सालय, जडीबुटी प्रशोधनशाला जस्ता प्रतिष्ठानहरू सञ्चालन गरी सुखद, शान्त र आनन्दमय जीवन प्राप्तिका लागि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै यस नगरलाई स्वास्थ्य पर्यटकीय स्थालको रूपमा परिणत गर्ने महान् अभियानको शङ्खघोषको तयारी भैरहेको छ ।
à à
दोस्रो दिनको कार्यक्रममा बुटवलका डा. सुरेन्द्र गिरीको गुणात्मक विधिले गरिने शोधकार्यको  विषयमा  परिचय थियो । जवाहरलाल नेहरु विश्वविद्यालयका उत्पादन डा. गिरीमा गम्भीरता र वैद्धिक निष्ठा त्यतिकै देखियो । त्यसपछि सुदूर पश्चिमाञ्चलका रजिष्ट्रार डा. हेमराज पन्तज्यूले त्यो नवीन विश्वविद्यालय के कसो गर्दैछ भन्ने कुरा अवगत गराउनु भयो । एउटा नयाँ विश्वविद्यालयको शैशवकाल कति कोमल र कष्टकर हुन्छ भन्ने कुरा उहाँको प्रस्तुतिमा  बुझ्न पायौँ ।

तीन बजेतिर कार्यक्रम समापन भयो । अत्यन्तै  उच्च आकाङ्क्षा र सो अनुकूल प्रयत्नले मात्र यस्तो कार्यक्रम सम्पन्न हुन्छ । हालका वर्षमा यूजीसीले उच्च शिक्षामा गुणात्मकता भर्न प्रयत्न गर्दैछ । देशका अन्य क्याम्पसले गरेका केही यूजीसीमुखी कार्यक्रममा सहभागी हुने अवसर पनि पाएको थिएँ । यो हेर्दा विश्वविद्यालय संचालक यूजीसीमा केही नयाँ भिजन आएको पनि देख्न पाइन्छ । देशको शिक्षा प्रणाली ‘असबाफ’ गति र स्थितिमा  पुगेको समयमा केही कुरा यस विषयम बोल्नु पनि आवश्यक थियो ।
अपरान्हसम्ममा सबै कार्यक्रम सम्पन्न भए । टिप्पणी मन्तव्य ग¥यौँ, फोटा खिच्यौँ र टीकापुर बहुमुखी क्याम्पसको दृश्यको स्मरण गर्दै दक्षिणतिर लाग्यौँ । किनभने आयोजकवर्गले राखेको प्रस्ताव अनुसार हामी टीकापुरको दृश्यावलोकनतिर  लाग्यौँ । टीकापुर अत्यन्तै  फराक बाटा, चौडा सडक चोक र बजारले भरिन नसकेको सहर  रहेछ । लाग्छ अझैँ अनेकौँ वर्षसम्मको जनघनत्वलाई यसले सहजै समावेश गर्न सक्छ होला ।

बाटो ठूलो छ । एउटा नयाँ हाई वे पीचको प्रतीक्षा गर्दै  धुलाले गाला फुस्रा पारेर भारततिर कुधेको छ । तर कति फराक; शहर बन्न नसकेका, गाउँ भन्न नमिल्ने फराकफराक पातला घरहरू दोकानहरू कस्तो मौलिक विचित्रता छ । त्यो टीकापुर जाँदाजाँदा धेरै दक्षिण पुगेपछि टीकापुरको भव्य गार्डेन आयो ।

walking inside the garden 

गार्डेन भनौँ कि उद्यान; बगैँचा भनौँ कि पार्क । टिकट काटेर भित्र पसेपछि प्राकृतिक  जङ्गल भित्रभित्रै पस्ने, चितवन सफारीको भन्दा भिन्न, अत्यन्तै सुन्दर शितल रमणीय प्रदेश आयो । जङ्गलभित्रै बनिएका सफा बाटा, राम्रा फलामे बारहरू, ईंटा टेक्तै  अघि बढ्दा अनेक प्रजातिका आकाश छुने वृक्ष, तल फूलका विविध प्रजाति, दुवै र सदावहार ।  शिशिरका पात झरेर  बाटो  सरकसरक आवाज उत्पन्न गर्ने भएको थियो । फूलका  झ्याङ र   बोटहरू जाग्न  खोज्दै थिए । अलिकति कर्णालीको शाखा उर्लिएर नाचिरहेको; पिकनिक खानेहरू कसरी संसारै बिर्सेर त्यहाँ रमाइरहेका  थिए । ती भित्रभित्रै कुध्ने पैदल मार्ग सबै हिँड्दा ता दिन जान्छ होला तर त्यहाँ पार्कभित्र दुईवटा राजकीय विश्रामालय थिए ।

In front of the king's  bungalow, standing left to right: Prem Bhandari, Kedar Bhattarai, Gyanu Paudel,  Govinda Raj Bhattarai, Krishna Jaisi, Chhavilal Sharma

 काठले बनेका, भँुइतले, खरको छानाले छाएका, यस्तो कल्पना गर्दा चिसा सितल होलान् जस्तो लाग्दथ्यो । तर ती बन्द थिए । एउटा राजा महेन्द्रले स्वास्थ्य खराब भएको बेला आरोग्य प्राप्त गर्न बनाइएको; अर्काे वीरेन्द्र र ऐश्वर्यको नाम लिएर अज्ञात प्रतीक्षामा थियो । ती दुवै आरामगृह बन्द थिए । एक भयङ्कर सन्नाटाको मात्र सम्झना आउँथ्यो ।

घुम्दा दिनभरि लाग्दो हो । यता नदीतट छ,  उर्लिरहेको  लघु कर्नाली; उता  फलफुल बगान । माथि झुलिरहेका  सेता लङ्गूर, खैरा ढेडु, राता बाँदर आकाश ढाकेर गाइरहेका  चरा र मानिसको निरन्तर आवागमन । टहराभरि पिकनिक पकाउने, वासना चलाउने, खाने, नाच्ने, गाउनेका गोलो सानो होइन । तर पार्कलाई चढाउन हामीसित अरू समय थिएन ।

देशको अन्य भागमा अरू नगरपालिकामा यस्तो प्राकृतिक पार्क कतै छैन । निर्मित ससाना छन् । काठमाडौँ उपत्यका केही निर्मित भए पनि जनचापले ती अश्वस्थ्य भएका छन् ।

त्यसपछि धेरै डुलिसक्यौँ माथि आकाशदेखि ढेडू र बाँदर पिङ खेलेर र उफ्रेर खपिसक्नु छैन । केदारले भने— अब पूर्वसन्ध्याको चिसो बढ्न थाल्यो, सर धेरै हिँडिसक्नुभो फर्किऔँ होला ।

नभन्दै हामी फेरि आउने बाचा गर्दै फर्कियौँ ।

परन्तु हाम्रो बासस्थानमा होइन बाटैमा  पर्ने बनाना restaurant  मा ।
हामी बनाना पुग्यौँ । पहेँला पाकेका केराका कोसा जस्तो अक्षरमा लेखिएको बनाना रेष्टुरेन्ट विचित्रको थियो । आँगनतिर वरिपरि लोहोरे ढुङ्गा गाडेको, त्यहीँबाट फुत्तफुत्त केराका कोथा उम्रेर डेकोरेटिव् प्लान्टको शोभा दिन कलिला पात हल्लिरहेको त्यतिमात्र गर्दा पनि धेरै सुन्दर । उता गाउँघरमा हेर्छु केराको कत्रो विसम्भार छ; यता काठमाडौँमा हेर्छु— आफ्ना बगानका केराहरू शीतकालीन तुसारोले गर्दा ससाना कोथा पनि मरेर फुस्रै भएका छन् । टीकापुरको केरा बगान वरिपरि ससाना टहरा र झुप्राहरू थिए । मानिस बस्ने शेडहरू थिए । भित्रपट्टि एउटा किचनमा मानिस व्यस्त थिए । धुँवा निस्कँदै थियो; वासना उड्दै थियो ।

बनाना केराको मात्र विशेषताले युक्त ठाउँ थियो । भूइँमा चारैतिर केराका कोथाहरू  हुर्कंदै थिए । तर बाहिरै सजाइएका बाटुले टेवल वरिपरिका प्लाष्टिके कुर्सीमा बसेर भित्तामा टाँगिएको फ्लेक्समा फोटो हे¥यौं— केराको मोमो, प्यानकेक, परौठा, चिप्स, चिल्ली, लस्सी, पकौडा, अचार, वाइन... सबै जोड्दा पन्ध्र सोह्र आइटम थिए । आइटम सेवा प्रदान गर्न तत्परहरूलाई बोलएर केदारले भने— सबै थोक एकएक आइटम ल्याउनोस् दिदी ।

एकैछिनमा ती आउन थाले— नौला, विचित्रका, मीठा, स्वादीला । त्योभन्दा पनि  यसको परिकल्पनाकारलाई सम्झेर कम खुसी लागेन । एकएक आइटम चाखिसक्ता हामी टम्मै भयौँ । हामीले त केराको पाकेको फल, बुङ्गाको अचार र कोसाको तरकारी मात्र खाने गरेका हौँ । यो चिसामा वाइनलाई  छाडेर अरू सेटमा आउने सबै ताता आइटम सबै चाख्यौँ ।

हजारौँ वर्ष केरा  रोप्तै आउने समाजमा हुर्केका हौँ ।  तर यी परिकारको किन कसैले कल्पना गरेन होला ? यतिखेर मैले हिजो दिउँसो प्रवचन दिएको डेरिडाको ‘अनुपस्थिति’ र ‘उपस्थिति’ सम्झेँ । त्यो अनुपस्थिति वा रिक्तता भरेपछि उपस्थिति हुन्छ, प्रकट हुन्छ । त्यो प्रकट नै ज्ञान हो । केराको  प्यानकेक र मोमो उहिले पनि त्यही कोराभित्रै थियो । त्यो तर प्रकट माात्र नभएको । नयाँ ज्ञान यसरी खुल्छ, फेरि पनि अरू रिक्तता  बाँकी छन्, ती खुल्दै जानेछन् । यसरी सत्यको खोज र विज्ञानको आविष्कार कहिल्यै टुङ्गिने छैन । यसैलाई पूर्वमा उपनिषदले ‘नेतिनेति’ (नइति नइति)  यो अन्त्य होइन अझै छ, अझै छ, भन्यो, पश्चिमले पनि त्यहीँ पुगेर नो ट्रुथ इज फाइनल भन्यो, भन्दैछ ।

बनानाको चमत्कारलाई मैले डेरिडाको सत्य खोजीको र डिकन्स्ट्रकशनको  उदाहरण दिने निश्चय गरेँ । सत्य सधैँ हामीसँगै छ, बोकेर हिँडेका छौँ, तर थाहा छैन, त्यो अचानक कुनै समयमा कसैबाट खुल्ने रहेछ, त्यसैले अलिकति ज्ञान खोल्दछ फेरि अरू ता बाँकी अन्धकार नै रहने छन् । यो जीवन अनेक अन्धकार छिचोल्ने यात्रा रहेछ सधैँ आधि उज्यालो छ उता अँध्यारो, अनन्तको कोठामा  सुकरातले ठहरगर्न नसकेजस्तो । केराका पाउरोटी, खीर अथवा अन्य परिकार पनि बन्छ कि अनि मात्रै हामी सोच्न थाल्छौँ ।
कालु हमाल नायक व्यक्तिको परिकल्पनाले साकार रूप लिएको यस अभियानको नाम ‘एग्रो टुरिजम’ रखिएको रहेछ ।

त्यसो त देशमा यस्ता नयाँ काम  हुन थालेको खबर आउँदैछ— एलोभेराको झोल; बेलको सर्वत, ऐँसेलुको वाइन, चुत्राको सर्वत आदि उत्पादनको  हाम्रो देशमा फर्सी वा इस्कुसजस्ता पदार्थका, नास्पाति वा मेवाका परिकल्पनाकार पनि आउँछन् कि ? अझै मकै कोदाको केके बन्दो हो । कृष्ण पाउरोटीले बनाएको कोदाको पाउरोटी भने साँच्चै मीठो छ है, मैले सोचेको पनि थिएन ।

हामी त ससानो बनानामा पुगेछौँ । झन्झटपुरमा चाहिँ यो भन्दा ठूलो, रमाइलो र बनानाको बगानभित्र बनाना चमत्कार छ भन्ने सुनाए । त्यहाँ खाने प्लेटदेखि माथिको छाना पनि बनानाकै छ भने— तर झन्झटपुर जान सकिएन । चिसो थियो । साँझ पर्न लागेको थियो । झन्झटको डिग्री उच्च भइसकेको थियो । उता टीकापुर महोत्सवमा पनि घुम्न सकिएला कि भन्ने आशा थियो त्यसैले हामी फेरि बाटो लाग्यौँ ।
यस्तो प्रकारको पहिलो प्रस्तुतिलाई क्रिएटिव ओरिजिनल एण्ड अफोर्डेबल (रचनात्मक, मौलिक एवम् सुपथ मूल्यमा उपलब्ध) भनिएको छ तर ससानो चारपाने पर्चामा भाषिक अशुद्धि भरमार छन्, पढ्नै नसकिने वाक्य छन् । यी हेर्दा परिकल्पनाकारले केराको महत्व बुझे तर मुख्य कुरा मानिसलाई उपयुक्त भाषामा बुझाउन सकेनन् भन्ने लाग्छ । त्यो प्रष्ट छ किनभने कुनै पनि भाषाले र माध्यमले मात्र हाम्रा आविष्कारलाई वा परिकल्पनालाई उपभोक्ता समक्ष पु¥याउँछ । त्यहाँ भने थुप्रै अस्पष्टता छन्, अङ्ग्रेजी–नेपाली मिसाउने भएर यो पर्चा अनुपयोगी भएको छ । बनानालाई म  एउटा राम्रो, शुद्ध भाषामा लेखिएको रङ्गीन आइटमको सचित्र साहितको ब्रोशर छाप्ने सल्लाह दिन्छु । किनभने हाम्रा नयाँ सोच वा आविष्कार वा  उत्पादनलाई विज्ञापनले, माध्यमले, भाषाले उपयुक्त ठाउँमा पु¥याउन जान्नु पर्दछ ।

ब्रोशरले परिकल्पनाकारलाई यसरी चिनाएको छः सुदूरपश्चिमअञ्चलको दुर्गम ठाउँ टीकापुरबाट  Carrier   शुरु गरेको कृषि स्नातक व्यक्तिको  २६ वर्षको अवधिमा  आफ्नो देश, सामाजिक परिस्थिति, संभाव्यता, अनुकूल, प्रतिकुलका बीचमा  उब्जेको एउटा  vision  हो । हाम्रो एउटा सानो टिम छ । जसको सहयोग नपाएको भएमा यस भिजन बन्न त के सोच्न पनि सकिने थिएन । हाम्रो ग्रुप तपाईंहरू सम्मुख प्रस्तुत छ । यसलाई एकचोटि मौका  उपलब्ध गराई सहयोगको अनुरोध छ ।
हामी कति अगाडि बढ्छौँ । त्यो तपाईंहरूको सुझावमा निर्भर छ, धन्यवाद ।

यसरी यो पर्चामा सुझावको लागि पनि आह्वान गरिएकाले म यहाँ एउटा सुझाव प्रस्तुत गर्दछु ।   (करीअर career  भन्नुपर्ने क्यारिअर carrier  छ; परिकल्पना सबैले बुझ्थे होला तर vision  छ । टीकापुरका भाषाविद्को यस पर्चातिर ध्यान जानेछ भन्ने अपेक्षा गर्दछु । त्यसका साथै त्यहाँ टाँसिएका उक्तिहरू नेपाली भाषमा भइदिए मात्रै अझ धेरै सान्दर्भिक र उपयोगी लाग्नेछन् ।

à à
त्यहाँबाट बनानाले टम्मै अघाएपछि केदारले मोटरसाइकल उडाए ।  पीच हुने तयारीमा पुगेको राजमार्गमा कुइरीमण्डल उठ्यो । अव महोत्सव जाने समय थिएन । हामी हुत्तिएर सिद्धार्थ पुग्यौँ । अरू सबै त्यहीँ प्रतीक्षामा थिए ।

आज बनानाले म तृप्त छु । खानु पर्ने छैन । भट्टराई भाइलाई एक थर्मस तातो पानी मगाए पुग्छ होला । फेरि प्याकिङ पनि गरिराख्नु पर्ला । भोलि बिहान पाँचैबजे नेपालगंज ताकेर उड्नु छ । बाटामा कर्णाली किनारको मीठो सिरेटो होला, मानोरम दृश्य होलान्, अस्तिको सन्ध्यामा आउँदा घना जङ्गलबाट तर्सिंदै उफ्रेर बाटो काटन खोज्ने स्याल र फ्याउरा भटिए, एउटा ठूलो कालेज पनि झोडीभित्र नतपसेको थियो । त्यसैगरी कोहलपुर चोकमा १२ वर्ष अघि एउटा लस्सी व्यापारी नाचेको सम्झिन्छु— कुन्ती मोक्तानको गीतको भाकामा म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर... ।  आज त्यो छैन होला, ती मान्छे   बसेभन्दा अग्ला माटाका गाग्रा छैनन् होला, तिनका घाँटीमा लाल मफ्लर पनि छैनन् होला कारण यस्तो ठिहीमा कसले शरबत पार्ने गर्छ, कसले पिइदिन्छ ? बरु नेपालगंजबाट समयमा जहाज नउडेर आज पनि धोका हुन्छ कि ? हामी प्रकृतिकै नियन्त्रणमा छौँ  । उनकै प्रेम पिएर, प्रकोप सहेर, उज्यालो हेरेर केही अस्थिर र डरलाग्दा तमासा हेरिबस्छौँ । जहाजमा उड्नु पनि प्रकृति माताले अनुमति  दिएपछि गरिने खेल मात्र रहेछ । त्यसपछि टीकापुर बहुमुखी क्याम्पसद्वारा आयोजित दुई दिने गोष्ठीमा आउने अनेक  सहभागी मित्रलाई सम्झँदै म शान्त भएँ ।

  धेरै जना ता स्वभावैले टीकापुर बहुमुखी क्याम्पसकै सहभागी थिए । अरू सहभागी क्याम्पसहरू लमही बहुमुखी क्याम्पस, बबई बहुमुखी क्याम्पस, सीताराम क्याम्पस, जगन्नाथ बहुमुखी क्याम्पस, डोटी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, घोडाघोडी बहुमुखी क्याम्पस,  सिद्धानाथ बहुमुखी क्याम्पस, वागेश्वरी बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, अरुणोदय ऊ.मा.वि.,  अछाम बहुमुखी क्याम्पसबाट थिए । यी विविध क्याम्पसको प्रतिनिधित्व गर्ने अध्यापनकहरूको नाम यस प्रकार छः  चक्रबहादुर भण्डारी, गणेशप्रसाद न्यौपाने, गोविन्दसिंह साउद, प्रताप  लम्साल, चेतराज ओझा, गिरिराज कडायत, डा. पदमराज जोशी, लोकबहादुर विष्ट, गणेशदत्त लेखक, अवेन्द्रराज जोशी, ध्रुबबहादुर रावल, बद्री शर्मा बिनाडी, ज्ञानेन्द्र केसी, रामप्रसाद वितारी, डा. सुरेन्द्र गिरी, धनकृष्ण उपाध्याय, धवीन्द्र रावल, कष्णप्रसाद जैसी, कृष्णप्रसाद अधिकारी, लय खतिवडा, जगत्बहादुर सिंह रावल, बालकुमार चैधरी, ज्ञानु राज पौडेल, नाथुराम चौधरी, देवराज जोशी, छबि शर्मा, विनोद कुमार खड्का  दिनेशराज जोशी, छबी शर्मा,  डम्बरसिंह बोहोरा, ध्रुबकुमार अधिकारी, तिलकदेव गिरी, शङ्करप्रसाद शर्मा, कृष्णसिंह साउद, आत्माराम अधिकारी, धनबहादुर साही, केदार भट्टराई, लालसिंह कार्की, मीनबहादुर साही, प्रेमप्रसाद भण्डारी, लालजंग भण्डारी । 

यसरी टीकापुर बहुमुखी क्याम्पसको रिसर्च एण्ड कोअर्डिनेशन सव कमिटिद्वारा आयोजित बौद्धिक समाज (लर्नेड सोसाइटीको सक्रियतामा सम्पन्न) क्षेत्रीय सम्मेलनमा उपस्थित भएर हस्ताक्षर गर्ने ४२ जनामध्ये छ जना इमेल आइडीरहीत थिए भने सेमिनारमा २ जना महिला सहभागी देखिएका थिए तर हस्ताक्षर फाइलमा ती नाम देखिएनन् । यी तथ्यले धेरै कुरा बताउनेछन् । 

टीकापुरबारे सुनेको मात्र थिएँ । एउटा व्यवस्थित र परियोजना ‘प्लानिङ’ अनुसारको शहर छ भन्ने सुनेको थिएँ । राजा महेन्द्रले प्रकाशमा ल्याउन खोजेर पूर्वाधार खिचेको ठाउँ भन्ने सुनेको  पनि थिएँ । तर नदेखेसम्म मनको भूगोल र यथार्थबीच भ्रान्ति हुने रहेछ । मैले  कार्यपत्रको शिरमा ‘कैलाली बहुमुखी क्याम्पस टीकापुरको लागि’  भनी लेखेकोे थिएँ । उता पुगेपछि मात्रा थाहा भयो— टीकापुर बहुमुखी क्याम्पस कैलाली रहेछ । 

अघि म डीन कार्यलयमा हुँदा टीकापुरमा एक क्याम्पस स्वीकृतिको लागि  अभाव आवेदकहरू पनि आएका थिए । ती यसपालि देखिएनन् । अघि धनगढी— महेन्द्रनगर पुगेँ, यता नेपालगंज ओर्लिए तर टीकापुर छेलिएकै रहेछ । कर्णाली तरेपछि लङ्की पुगेर सिधै दक्षिण झर्ने धुले राजमार्गाले एकैछिनमा  टीकापुर पु¥याउने रहेछ; त्यही राजमार्गाले भारतीय सीमा जोड्ने योजना साकार पार्दै रहेछ । 

यसपालि टीकापुर बहुमुखी क्याम्पसको निमन्त्रणालाई म ठूलो  संयोग ठान्दछु .

बेलुका  पुग्यौँ मात्र । जुनेली भए पनि धुमिल थियो । निर्माणाधीन मार्गको धूलो र डोजरका डाम थिए । बिजुली नभएको बेला पातला बस्तीमा टीकापुर देखिएन होला । 

different participants standing in front of Tikapur Multiple campus, Kailali


भोलिपल्ट बिहान उठेर हामी सरासर टीकापुर बहुमुखी क्याम्पस कैलालीतिर पुग्यौँ चिया नास्तालाई  उतै निमन्त्रणा थियो । बिहानको पातलो हुस्सुमा अत्यन्तै उदात्त फाँट, सबैतिर विशाल चौरी, आँखाले देखिएसम्म नठोकिने मैदानको सामुन्ने  आकाश छोएर उभिएको प्रवेशद्वार आधुनिक शैलीमा बनेका भवनहरू उज्याला गुलाबीमा पहेँला चन्दनका धर्काजस्ता ओढेर सामुन्ने उभिएका देखिए । बिस्तारै हिँड्दै गयौँ । साँगुरा सडक र सीमित क्षेत्रफलमा बनेका  भवनबाट निसास्सिँदै निस्कनेहरू कतिका लागि टीकापुर बहुमुखी क्याम्पसको अनन्त विस्तृतिमा फैलेको  जमीन, खेल मैदान र त्यहाँ बनेका शिक्षालय देख्ता आश्चर्य लाग्दो छ । टीकापुर विकाश समितिको कत्रो परिकल्पनाले सयौँ बिघा जग्गा एउटा शिक्षालयलाई छुट्याउने दूरदर्शन प्राप्त भयो होला । यहाँका शिक्षाप्रेमीलाई अनेकबार प्रणाम छ । मैले पूर्वमा फिदिमदेखि तल सुरुङ्गा, सुकुना, इटहरी, लाहान, चितवन, पोखरा हेर्दै आएको छु । निजी भनौँ वा सामूदायिक क्याम्पसले यो राष्ट्रको  सम्पूर्ण भार जिम्मा बोकेको लाग्छ । त्रिविलाई  आफ्नै अव्यवस्थाले निलेको छ; त्रिविले राम्रो बाटो लिनसके, राजनीतिक भागबण्डा हुनसके र गुण्डागर्दीबाट मुक्त हुने, अरूलाई सुमार्ग दिने क्षमता विकाश गर्न सके यी अरू क्याम्पसले यो देशलाई  कहाँ पु¥याउँथे होला । 

छोटो समयमा छिटो प्रगति गर्ने अवसर र सम्पदाको मालिक टीकापुर बहुमुखी क्याम्पस देखेर म हर्षित भएँ । भौतिक चरणभन्दा माथि उठेर यो प्राज्ञिक वौद्धिक सम्पर्क   थलोको रूपमा उठ्न खोजेको देखेर झन्  खुसी भएँ । एकदिन यो विश्वविद्यालयमा परिणत हुनेछ । सुदूर पश्चिमाञ्चल विकासक्षेत्रको विश्वविद्यालय  किन यहाँ स्थापित हुन सकेन, किन यस केन्द्रमा नगरेर महाकाली धारमा पुगे होलान् म छक्क पर्छु । शायद राजनीतिका जोरलाठा चलेको बेला होला; शायद टीकापुर हारेर थला परेको बेला थियो होला । 
 

माघ १७, २०६९
टीकापुरबाट फर्केपछि

1 comment:

  1. ज्ञानवर्धक.... राम्रो र गहन चिंतन
    होमबहादुर छेत्री

    ReplyDelete