About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, February 5, 2013

नेपाली समालोचनामा यस्तो ‘सङ्कथन विश्लेषण’ पद्धति नवीनतम् उपलब्धि हो

                                                       
प्रस्तुत अनुसन्धानमूलक कृतिबारे मैले भन्नु पर्ने छैन । तर डा. ज्ञानू पाण्डेसँगको पुरानो बाचा थियो— म एक पल्ट अवश्य पढ्ने छु । पढेपछि मलाई ज्ञान भयो— उहाँले यसरी नयाँ डिस्कोर्सलाई आधार बनाएर साहित्य विश्लेषण गर्ने प्रयत्न गर्नु भएको रहेछ । मेरो निम्ति यो एक ल्याण्डमार्क हो । यसका कारण छन्— नेपाली साहित्यमा नारी समालोचनाको उपस्थिति न्यून भएको इतिहासमा एक नारी स्रष्टाले लैङ्गिकता विषयक डिस्कोर्स रोजेकी छन् । यसको विषय नारीमा सीमित छैन, यो नारी–पुरुष दुवैको कुरा हो, परिवारको, समाजमा उनीहरूले खेल्ने भूमिकाको र ती भूमिकाले गरेका विभेदको । संस्कृतिले त्यो गर्‍यो गरायो । संस्कृति भनेको संस्कारगत मान्यता, सोच र व्यवहारको एक अविच्छिन्न परम्परा हो । यसको निर्माता कोही छैन, समय हो । त्यसले धेरै कुरा अलिखित रूपमै हाम्रो मस्तिष्कमा लेख्तै गयो । त्यसले गलत पनि लेख्यो । धेरै पुरुषले लेख्यो, आफ्नो पक्षमा लेख्यो र नारी भन्ने भिन्न अस्तित्वको निर्माण गर्‍यो । आज विज्ञहरूले त्यसै भनेका होइनन् Women are made not born.  त्यही थपिएको नारी विशेषता माथि निरूपण गरी त्यसमा अधिक भएका तत्व हटाएर एक उद्देश्यले यो कृति समतामूलक समाजको निर्माण गर्न तयार पारिएको हो । विषय रोज्नुभन्दा पनि त्यसको निस्पादन प्रक्रियाले यसतर्फ एक नयाँ ढोका खोलेको छ ।

वर्तमान विश्व साहित्य नै यसतर्फ छ । विश्वसमालोचनामा नारी साहित्य, (woman's literature)नारीवाद (feminine) लैङ्गिकता र यौनिकता (gender and sexuality)  स्ता विषयमा अपरिमित अध्ययन अनुसन्धान विश्लेषण भएका छन् । सिर्जना र समालोचना आएका छन् । हाम्रोमा यी विषयले भर्खरैदेखि विश्वविद्यालयस्तरको  पठनपाठनमा प्रवेश गरे तापनि साहित्यसिर्जना र समालोचनाको डिस्कोर्स (सङ्कथन) मा प्रवेश पाएका छैनन् । भर्खरै हाम्रो सोचाइको किनारामा मात्र ती आउँदैछन् । अनेक प्रकारका सचेतनतामूलक  विकासकेन्द्री संस्थाले ल्याएको नारीकेन्द्री चेतना, लैङ्गिकता विषयक ज्ञान, जागृति र व्यापक विश्वबाट उठेर आएका रूपान्तरणकारी सन्देश हाम्रो साहित्यमा प्रवेश गरेको भए तापनि नवीन चेतनाको दृष्टिले तिनको विश्लेषण र व्याख्या भएको छैन । किनभने हाम्रोमा साहित्यको व्याख्या विश्लेषणमा अन्तरविषयक (इन्टरसिप्लिनरी) ‘फोर्सेज’ लाई हेर्ने चलन छैन ।

डा. पाण्डेको प्रस्तुत अध्ययनमा त्यो प्रयत्न भएको छ त्यसैले मलाई यो एउटा ल्यान्डमार्क लागेको छ । यो कृतिलाई साहित्य समालोचनामा सीमित गर्न मिल्दैन । यसलाई साहित्य समालोचनाको सिद्धान्त भन्दा पर अर्काे समकालीन विश्लेषण पद्धतिले समेत हेर्नु पर्दछ । त्यो पद्धति हो क्रिटिकल डिस्कोर्स एनालिसिस (आलोचनात्मक सङ्कथन विश्लेषण) । यसले भन्छ— प्रत्येक पाठ/कृति एक प्रकारको डिस्कोर्स हो । डिस्कोर्स भन्नाले समाज चलाउने राजनीति, धर्म, अर्थतन्त्र, मानिसको सोचाइ, शैक्षिक स्तर सबै कुरा हो, समाजको सबै कुरा । हाम्रो सिर्जना पनि डिस्कोर्स (लेखिएको बोलिएको सामाजिक धारणाले, ती धारणा बनाउने तत्वले) ले निर्मित र नियन्त्रित हुन्छ । स्वास्नीमान्छेकी मैँयानानी र उसको लोग्ने र बिरालोकी छोरी पात्र स्मृतिका बीचको सोचाइमा आकाशपातालको जुन अन्तर छ, त्यो डिस्कोर्सबाट निर्मित हो । त्यसैले उनीहरू भन्दछन् reality itself in discourse  अर्थात हामीले भोग्ने जुन यथार्थता छ, त्यो नै डिस्कोर्स हो । हरेक युगको डिस्कोर्स फरक छ । प्रस्तुत अध्ययनलाई आकार दिने, नारीको स्थिति र गतिलाई अथ्र्याउने अर्थ, राजनीति, धर्म, कानून, आदिको दृष्टिले डा. पाण्डेले स्थितिको अवलोकन गरेकी छन् । त्यसरी एक प्रमुख समस्या, नारी स्वतन्त्रता भनौं, त्यसको मार्गमा रहेको लैङ्गिक असमानतालाई आधा शताब्दीको समयफलकमा राखेर त्यसमा आएको क्रमिक परिवर्तन र अबको दिशा देखाएकी छन् । त्यो देखाउने शक्ति ती चुनिएका कृतिमा छ, कृतिकारमा छ । यसरी पचास वर्षको समयावधि हेर्दा समस्याको अत्यन्तै व्यापक परिदृश्य आँखामा आउँछ । राजनीतिले, कानूनले, धर्मले रुढीगत मान्यताले जकडेको दृष्टिकोणलाई शिक्षाले परिवर्तित समय चेतनाले परिस्कार गर्दै समाजलाई फराक बनाउँदै ल्याएका दृश्य देखाएका छन् । त्यस्तो पद्धतिले एउटा समस्यालाई केलाउँछ, यहाँ लैङ्गिकताको समस्या त्यसले उत्तर दिने होइन, तर मानिसको (समाजको) दृष्टिकोण विस्तार गरिदिन्छ, कुरो बुझाउँछ । त्यसैले यस्तो सङ्कथन विश्लेषण के हो भन्ने सम्बन्धमा म एक परिभाषा उद्धृत गर्न चाहन्छु : सङ्कथन विश्लेषणले पाठकलाई एउटा पाठभित्र अथवा शब्दभित्र अन्तर्निहित लक्ष देखाइदिन्छ । यो प्रक्रिया एउटा समस्याको विनिर्माणिक पठन र व्याख्या हो ।



ठीक यसैगरी ऐतिहासिक प्रक्रियाले डा. पाण्डेले वर्तमानसम्मको लैङ्गिक स्थितिलाई आख्यानको ‘डेटा’ बाट प्रस्तुत गरेकी छन् । म नेपाली समालोचनामा प्रयुक्त यस नवीनतम जुक्तिको धेरै प्रशंसा गर्दछु ।
त्यति मात्र नभै विषयको प्रस्तुतिमा संरचनावादी शास्त्रीयता छोडेर विषयपरक शैलीको अनुशरण गरेकी छन् । जसले कृतिको पठनीयता डिग्री उच्च बनाएको छ ।

यहाँ रोजिएका कृति बाह्रवटा उपन्यास छन् । यो छनोटभित्र छ दशकको समय प्रतिध्वनित छ । नारी आख्यानकार उदाउनु भन्दा धेरै अघिका पुरुष लिखित उपन्यास, धेरै पछिका नारी लिखित उपन्यास समावेश छन् । यस छनोटले परोक्ष रूपले नेपाली आख्यानको विकासक्रम पनि देखाउँछ ।

यो नरनारीको स्रष्टाहरूको सङ्ख्याबाट हेरिएको अध्ययन होइन, त्यसैले यो चयन यादृच्छिक नभएर उद्देश्यपूर्ण छ । स्वास्नीमान्छेबाट थालेर अनावृतमा आइपुग्दा नेपाली समाजको परिवर्तन गति अत्यन्तै बेगवान् भइसकेको छ । नारी हरेक प्रकारका वञ्चनाको शिकार भएको कुरा समयले अवगत गराएको छ,  उनीहरू आफैले गरेका छन् । त्यसैले समाजले अत्यन्तै नराम्रो गरी जकडेको आवस्थामा नारीपक्षीय रचना पुरुषले गरे, कति कुरा प्राप्ति हुँदै आए तर फेरि नयाँ आवश्यकता चाहना स्वतन्त्र मार्गका खोजी थपिँदै गए । अहिले आएर हाम्रो सामूहिक यात्राको स्थिति र गन्तव्य के हो भन्ने कुरा नारी आफै पनि आवाज गर्न सक्ने भएकैले कलाको माध्यम गरेर इन्दिरा प्रसाई, पद्मावती, उन्नतिशिला, प्रभा कैनी, गीता केशरी उपस्थित छन् । प्रत्येक शीर्षक अघि भनेँ यहाँ परेको अनुसन्धेय कृति उद्देश्यमूलक छ । कुनैले नारी स्वतन्त्रताका वाधक तत्वतिर औल्याएका छन्, प्रायस: निसासिएको दाम्पत्य जीवनको विकल्प के होला, समाजलाई कसरी नारीको पूर्ण क्षितिज देखाइदिनु होला समानता प्राप्तिमा पुरुषको भूमिका के होला भन्ने देखाएका छन् । जीवन एक्लो होइन, सहयात्राको लडाई हो— कुनैमा विद्रोह छ, कुनैमा कम्प्रोमाइज, कुनैमा अन्य मार्ग छ तर धेरैमा चाहिँ पुरुषजाति प्रतिरोधी छ । समाजले, धर्मले परम्पराले कुदेर भरेको चेतनाभित्र नरनारी दुबै पर्ने भएकाले झट्ट हेर्दा यसको दोषी को हो भन्ने थाहा नहुँदा नहुँदै धेरै दु:खका समय गुज्रेका छन् । समाजको रुढ संरचना नबुझेरै पुरुष अन्यायकर्ता भएको छ ।

यस्तो जटील गढेर बसेको हाम्रो संस्कार, चेतना मानसिकता, मनोविज्ञान, धर्म सबै पुरुष प्रधानताबाट निसृत छन् । डा. पाण्डेको भूमिका (सैद्धान्तिक परिचय) खण्डले यो कृति तयारीमा आवश्यक परेको ज्ञान अध्ययन, अनुभव र परिश्रम सबै छर्लङ्ग पार्दछ । यसले देखाउँछ— नेपाली साहित्य समालोचनामा एक नवीन मार्ग हाम्रोमा आएको छ । आज विश्व साहित्यले  तयार गरेको एक नयाँ मार्ग हो— लैङ्गिकता । त्यसैलाई प्रयोग गरी अतीतको समाजमा त्यो विषयमा कहिले  कसरी कुरा उठ्यो भन्दै जाँदा स्वास्नीमान्छेमा पुगिएको हो ।
यस कृतिले अन्य अन्तरविषयक मार्गतिर प्रवेश गर्न पनि हामीलाई आह्वान गर्ला, कति हाम्रा कृतिलाई यिनै खाकाभित्र पारेर पढ्न सकिनेछ । यसका लागि साहित्यमा सङ्कथन विश्लेषणतिर लाग्ने बेला भएको छ ।

प्रस्तुत अध्ययनमा समाविष्ट हालको दशकका प्रकाशित खासगरी नारी स्रष्टाका आख्यानले अचानक दिशा परिवर्तनको बोध गराउँछन् । कति कुरा परम्परित समाजको लागि झट्का लाग्ने पनि छन् । यसमा जोडिएको अन्तरविषयक कृति प्रा. मोराशको सलिजो पनि प्रकाशित छ, तर डा. पाण्डेको दृष्टिकोण सकारात्मकतातिर छ । उग्र नारीवादले, तेस्रो लिङ्गीय धारले नारीलाई र पुरुषलाई पनि केही विद्रोह सिकाउँछ, अरू आत्म परित्यागको, कतिबेला आत्मविनाशको पनि मार्ग देखाउँछ । पुरुष प्रधानताबाट आजित भएका, मुक्तिकामीहरू आफूलाई त्यहीँ पुर्‍याएर नष्ट गर्दछन् । त्यस्तो चेतनाको लेखन र दृष्टिकोणले समालोचना पनि उठेको छ तर डा. पाण्डेको पोजिटिभिजम् अत्यन्तै प्रशंसनीय छ । निचोडमा— जीवन दुबै थरीको हो र बीचका रिक्तताहरू भरेर सहयात्रालाई सुन्दर पारौँ भन्ने छ । त्यसका लागि विवाह परिवार जस्ता ‘संस्थाहरू’ ध्वस्त पार्ने, तीमाथि अनास्था उत्पन्न गरी तीबाट पलायन हुने होइन, तिनलाई रिपेयर गरौँ, तिनमा देखिएका त्रुटीहरू सच्याऔँ, समाजलाई एक पुनरपरिभाषित गरौँ भन्ने छ ।

यस विश्लेषणले पोजिटिव, न्यू उमनलाई सघाउन र हाम्रा मूल्य मान्यताको पनि एकपल्ट ओभरहौल गर्न, पुनव्र्याख्या गरी सामाजिक बनाउने प्रेरणा दिन्छ । नरनारी दुबैले एउटा मध्यधारको निर्माण गरी समाज चलाउनु परेको छ । नेपाली साहित्य समालोचनामा अभिरुचि हुने सम्पूर्ण विज्ञजनहरूमा म डा. पाण्डेको यस उदाहरण्ीाय प्रयत्नको अध्ययन एवं विश्लेषण मनन गरी यस्ता अन्य प्रकारका अध्ययन मार्ग खोल्नको लागि हार्दिक अनुरोध गर्दछु र यो नवीन प्रयत्नको निमित्त समालोचकप्रति बधाई प्रकट गर्दछु ।

                                     
( नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा २०६९ साल मंसिरमा प्रकाशित कृति)


1 comment:

  1. हरि मानन्धर "विवश "February 5, 2013 at 9:31 AM

    मार्मिक छ सर ।

    ReplyDelete