About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Monday, May 14, 2012

युगकविका अमरविचारले प्रेरित हामी






(यस सिद्धिचरण शतवार्षिकी समारोह सभाका अध्यक्ष महोदय
श्री श्यामदास वैश्णवज्यू
श्री मदनमणी दीक्षितज्यू, आदरणीय गुरुआमा
श्री चित्तरञ्जन नेपालीज्यू
श्री कमलमणि दिक्षितज्यू
श्री रमा शर्माज्यू
श्री रोचक घिमिरेज्यू
श्री नगेन्द्रराज शर्माज्यू
श्री डा. कुमार कोइरालाज्यू
श्री नरेन्द्रबहादुर प्रधानज्यू
श्री माथवरसिंह बस्नेतज्यू
श्री प्रा. जंगब चौहानज्यू
 यहाँ उपस्थित सम्पूर्ण स्रष्टा, साहित्यकार,  श्रोता तथा भद्र महिला एवम् सज्जन बृन्द ।

हाम्रो समयमा युगकवि सिद्धिचरण श्रेष्ठका लयपूर्ण कविता मजस्ता सारालाई कण्ठै आउँथे । राष्ट्रिय भावका, प्रेमका, साश्वत सत्यका जुर्मुराउने कविता अति लोकप्रिय थिए । म पनि उहाँबाट आत्यन्तै प्रभावित थिएँ । कसरी यति सरल शब्दमा यस्तो सत्य प्रकट हुन्छ भन्ने लाग्थ्यो । नेपाली भाषाको त्यो लयात्मकता वा गेय शक्तिले तानिएको थिएँ । परिणास्वरूप २०३४ सालमै मैले उर्बसीको समीक्षा लेखेँ; लीलासिंह कर्माले उषामा (जनकपुरबाट) छापिदिए । नेपाली साहित्यमै सर्वाधिक कण्ठ गरिएका कविता र श्लोकमा कवि शिरोमणी लेखनाथका, सिद्धिचरण श्रेष्ठका, माधव घिमिरेका र महाकविका मात्र  होलान् जस्तो लाग्छ । सरल शब्दमा जीवन दर्शन र समयको आह्वानलाई त्यति तरल गेयात्मकताले भरेर कसैले लेखेन होला ।

मैले दुई कविता पनि लेखेँ । पछि सिद्धचरण प्रभाव काम हुँदै गयो । आज तपाईंहरू इतिहासभन्दा अग्ला स्रष्टाहरूको समुस्थितिमा, युगकविकै समकालीन, सहकर्मीहरूको सामुन्ने उभिएर उहाँ माथि यो विचार प्रस्तुत गर्ने अवसर पाउँदा म आफूलाई धन्य ठान्दछु । मदनमणि दीक्षित, चित्तरञ्जन नेपाली जस्ता इतिहासका उच्च स्तम्भहरूको सामुन्ने मेरो सिद्धिचरणप्रतिको  यो ज्ञान आन्यन्तै अधुरो र आंशिक लाग्दछ । तर पनि दाजु श्री तेजेश्वरबाबु, ग्वङ्ग्वको आग्रहको टार्न नसककोले म यहाँ उपस्थित भएको छु ।

मैले कवि सिद्धिचरणसँग राम्ररी नजिकिन पाइनँ  । आज यो विद्वत् समूह अघि नमन गर्दै आफ्ना शब्दहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु । मेरो जीवनमा यो ऐतिहासिक दिन सदा स्मरणीय रहने छ ।  )



समारोहमा पाठ गरिएको विचार पत्र 

बरु बाँच युवक दुई घडी मात्र,
चम्की उज्वल पारी समस्त ।

यी पङ्क्तिहरू युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताव्दी अघि रचिएका हुन् । त्यस बेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो अर्कातिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहरहरू उठेका थिए, त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो, देशको हृदयमा पीडा, विद्रोह र आन्दोलन उम्लिँदै थियो । त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकार विरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरू जन्मिए । सिद्धिचरण तीमध्ये एक हुन् । त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो । त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले ।

सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्— देशप्रेम, साहित्यप्रेम र विद्रोहात्मकता । उनी  नेपाली साहित्यमा स्वच्छन्दवादका अग्रणी हुन् ।

नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने शक्ति ता त्यो विद्रोही चेतना हो जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो । निरङ्कुशताका प्रतिरोधी भएकैले ९७ सालमा उनलाई लामो कारावास सजाय तोकियो । उनीमाथि मानवीय र दैवी विपत्ति थपिए । तर उनी झुकेनन् ।

त्यसकालका रचनामा कविको हृदय क्रान्तिको उद्घोष गर्दै विश्वकम्पित गराउने चेतना बोकेर जुर्मुराएको पाइन्छ । तर उनमा सदैव त्यही एक स्वरमात्र नभएर अन्य हाँसो रोदन पीडा र प्रेमले वशिभूत गराइएका क्षणमा पनि कविताहरू जन्मेका छन् । त्यहाँ छायावादी कलामा प्रकट प्रगतिशील ध्वनि पाइन्छन् ।
निरङ्कुशताविरुद्धको लडाइमा उनले अनेकौँ यातना पीडा र हन्डर थिए; कठोरताको वन्धन थियो, तिनको वेवास्ता गर्दै उनले स्वतन्त्रताको निम्ति बलिदान गर्न निरन्तर आह्वान गरे जसले अनेकलाई प्रेरित ग¥यो । त्यो एक सिङ्गै युगको पुनर्जागरण, पथप्रदर्शन र नवनिर्माणको निम्ति आह्वान थियो—

खोलनलाई जनको चाला, बोल्छु म डरको भाषा
रोक्दछ भन्दैमा वैभव पथ, के म नलेखुँ अव कविता !

कवि अदम्य उत्साहले र आत्मविश्वासले भरिएका छन्, कुनै शक्तिले वशीभूत गराउन सक्तैन । वैभवको पथ अवरुद्ध होस्, कुनै पर्वाह छैन, ‘जनको चाला खोल्न’ उनको निडर कलम अघि सर्छ । शुषुप्त जनचेतना जाग्रत गराउनेहरू (चार शहीद) भर्खरै फाँसीमा चढेका थिए । त्यसैबेला कविमा क्रान्तिकारी स्वर चर्किंदै गएको थियो ।

बोलिदे हे मेरो प्यारो हिमाल, विश्व थर्कोस, चूर्ण होस् वास्ता नराख
नासिने यो विश्वको गिन्ति छ के र ! उच्चताको स्वच्छताको श्रोत छोड

उच्च र स्वच्छ हुँ भनेर सगौरव अडिएको हिमालयलाई कविले चिरनिद्रामा बेस्सरी झट्कार्छन् । फेरि अर्को हुङ†कार गर्छन†—

ज्वाला दन्कोस दनदन यहाँ मृत्यु आई फुकेको
पापाचारी यदि छ त यहाँ माथ नै ताक्छु त्यसको ।

यसरी कुर्लंदाकुर्लंदै कविलाई नियतिले दण्डित गरेको छ । अग्निपरीक्षा लिएको छ आफ्नै हृदयको स्पन्दन अतीव प्रिय पुत्रको प्राण लिएर अनि उनको कवि अझ उग्र र दुर्दमनीय भएर गज्र्यो विश्वव्यथाको पीडा भएर—

आज नखाऔँ नसुतौँ सब मिली हडताल मचाऔँ
कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौँ ।

यो विधि (राणाकाल) को विरोधमा उर्लेको गर्जन थियो, चुनौती थियो । त्यसपछि अझ भीषण, बलीदानी संघर्षको लागि उद्यत भएको कवि हृदय बोल्छ—

भाग सवै जन दुर म बाट, या सब मिली मार मलाई
नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई ।

यसरी उनी एक क्रान्तिकारी शक्ति थिए उनका त्यस्ता स्वरहरु कोपिला, विम्बप्रतिबिम्बमा सङ्कलित छन् । फेरि उता उर्बशीमा पुग्दा उनै स्रष्टा सम्वेदनशील प्रणय कविको रूपमा असाध्यै नरम भएको पाउँछौँ । उर्बशी खण्डकाव्य महाभारतको एउटा कथालाई सूक्ष्माकारमा कुँदिएको सुन्दर मूर्ती हो । ९७ सालको त्रूmरताले उर्बशी जन्मायो । यद्यपि कारागारमै रच्न थालिएको उर्वशी २० वर्ष पछि मात्रै जगत्मा आयो ।

उर्बशीमा पार्थिव सुख र आध्यात्मिक सुख या अतीन्द्रीय प्रेमको द्वन्द्व छ र अन्त्यमा गएर पहिलोले हार्छ, त्यही हार उर्वशीको हार हो अनि कविको पनि । अर्जुन भएर उनले बोले—

स्वप्न पलाऊ स्वप्न पलाऊ, छरिता धार वहाई
कल्मस मनको सव पन्छाऊ, मोहन ज्ञान चुडाई

यस्तो चेतनाबाट शुरु गरेको जीवनयात्रा परिपक्व अवस्थामा पुग्दा कटु यथार्थले कविलाई अर्को भाषा बोल्न लगायो—

विपुल नपाउनुले यस्तो डामेको संसारमा
तिम्रो अर्जुनलाई नपाउनु होइन क्यै वात यहाँ
तिम्रा ती प्रति कदम अगाडि छन् लाखन फेरि कदम
सम्झी अव ता पाऊ उचाल छन् अझ विजय हजारन ।

यसरी सिद्धिचरण हरेक युगका लागि आशावादका प्रतीक हुन्, अनन्त प्रेरणाका स्रोत हुन् । उनलाई कुनै नैराश्यले वशिभूत गराएन । उनमा आशा छ, भविष्यप्रतिको निष्ठा छ र विश्वास संयम र धैर्य पनि ।

मानवता हो विस्तृत बन्नु हो, पशुता खुम्चिनु चाहिँ
देख्दा देख्दै शिखर उज्यालो किन म रुकूँ यो फेदीमा;

सिद्धिचरण श्रेष्ठको जीवन एउटा त्रिवेणी हो । उनले अन्धकार युगमा गाएको मानव स्वतन्त्रताको गीत उनले निरङ्कुशता विरुद्धको लडाइँमा अर्पेको जीवन र कलिलो नेपाली साहित्यलाई दिएको गौरवमय उचाई— एउटा जीवनमा त्योभन्दा बढी कति गर्न सकिन्छ र ? उनका कोपिलामा र मेरो प्रतिबिम्बिमा अत्यन्तै शक्तिशाली विद्रोह र आक्रोशका कविता छन् । उर्बसी (खण्डकाव्य) हो । कुहिरो र घाम (कवितासङ्ग्रह) मा उनलाई नेपाली सहित्यमा रोमान्टिक धाराका प्रवर्तक मध्येका एक भनिएको छ । उनका कृतिमा ज्यानमारा शैल, शवरी, मङ्गलमान, बाँचिरहेको आवाज, जूनकीरी, बालीवध, भीमसेन थापा हुन् । त्यस अतिरिक्त सिद्धिचरणका प्रतिनिधि कवितासङ्ग्रह, सिद्धिचरणका जेल संस्मरण आदि पर्दछन् । नेपाल भाषामा पनि सिस्वाँ, फुरवाँ लगायतका कृति प्रकाशित छन् । उनका चुनिएका कविता माधवलाल कर्माचार्यको सुन्दर अनुवादमा एयझक दथ क्ष्ममजष्अजबचबल क्जचभकतजब शीर्षकमा प्रकाशित छन् । उनी राष्ट्रियताको भावनाले उठेका स्वतन्त्रताप्रेमी योद्धा र अत्यन्तै सरल भाषामा कविता रच्ने कवि हुन् । उनका कविता सबै जीवनवादी, आशावादी, सुधारको, उत्थानको मुक्तिको उद्देश्यले रचित छन् ।

उनको मृत्युपश्चात प्रकाशित लघुकाव्य आँसुलाई यसरी चिनाइएको छ ः प्रकृति र विद्रोहको स्वरसन्धान गर्ने कविले आँसु काव्यमा विषादको गीत गाउन चाहेका छन् । समाजमा व्याप्त असमानता, कुरीति, गरीबी, शोषण, भ्रष्टता देखेर, वा धर्म र न्यायभूमिलाई पाप र पुण्यले आवाद गरिरहेको देखेर कवि समयप्रति आक्रोश व्यक्त गर्छन् र त्यसको विरोधमा उठ्छन् । सामाजिक वरिपेशमा कविले मानवतावादी स्वर उरालेका छन् । त्यसैगरी भीमसेन थापा एउटा राष्ट्रिय गाथा हो भने मङ्गलमान कृष्णचन्द्रसिंह प्रधानज्यूका शब्दमा एउटा मिथकीय चरित्रको जीवनगाथा हो । यसमा एउटा सामाजिक यथार्थ जातीय विभेद, केही परिवर्तनका चाहनाहरु, जनसमाजमा देखिएको अलिकति प्रगति अनि देशसँग गरिएको बलात्कार र तिनको विरोधमा लाग्ने धेरथोर नारा पनि हुन् मङ्गलमान ।

आजको सामाजिक यथार्थता बदलिएर किनारिएकापट्टि लाग्ने समय छ । यतिखेरको राजनीति, साहित्य, सबैकुरा पिछडिएका, किनारिएका, मार्जिनल पट्टि फर्केको छ । धेरै अघिको स्थितिबोध गराउने एक अछूत नेतालाई मिथकीय पात्र बनाएर मङ्गलमान रचेका छन् । तर यथार्थ पनि हो ।

वर्तमानको आवाज त्यसमा प्रतिध्वनित छ । तर आज पनि मङ्गलमानको भोगाइ दोहोरिएकै छ ः

माछो–माछो भ्यागुत्तो भो यत्न भयो व्यर्थ
देश मात्रै ठगिँदै गो लाखौँ लाखौँ पल्ट

यो शताव्दी लामो निरङ्कुशता विरुद्धमा धेरै सर्जकहरू लडे, अझै लड्दै छन् तर जागृतिकालमा परेका सिद्धिचरणको पुस्ताले खपेको कष्ट आज केहीसँग तुलना हुन सक्तैन । उनको सम्झना मात्रले सम्पूर्ण साहित्यको शिर गौरवले ठाडो हुन्छ । जबजब यो राष्ट्रमा अधिनायकताको कालो बादल मडारिन्छ तब हामीलाई उनै सिद्धिचरणको सम्झना हुन्छ ।

युगकविको अध्ययन विभिन्न दृष्टिकोणबाट हुँदैछ, हुनुपर्छ । सर्वप्रथम ता एक स्वप्नद्रष्टा जागरण अभियन्ता; त्यसको निमित्त उनले सुन्दर साहित्यको मार्ग लिए । नेपाली साहित्य स्वयम् आरम्भिककालको थियो, त्यसैलाई उठाए; आफ्नो मौलिकताले अलग्गै चिनिने मार्ग बनाए । उनको सरल गेय शैली तीभित्रको गम्भीरता  हजारौँ नेपालीले हृदयमा राखेका छन्; प्रेरित छन् ।  त्यसपछि साहित्यका अन्य विधाका स्रष्टा, राजनीतिककर्मी, समाजसेवी, उत्प्रेरक अनि अभियन्ता ।

आफ्नो समयका अनेक कर्मका अग्रणी सिद्धिचरणको नेपाली वाङ्मयका अनेक विशिष्ट सााधकहरूले  समाजसेवी, राजनीतिकर्मी समकालीनहरूले उच्च मूल्याङ्कन गरेका छन् । डा. तारानाथ शर्माका  शब्दमा— उनी अनन्य देशभक्त हुन्; गणेशबहादुर प्रसाईंका शब्दमा  शारदाकालीन नेपालको युगको ढुकढुकीलाई कवितामा प्रतिबिम्बित गर्ने र परिवर्तनको निर्भिक स्वर ओकल्न सक्ने त्यस समयका एकमात्र नेपाली कवि सिद्धिचरण श्रेष्ठभन्दा अर्काे  कोही छैन। श्यामदास वैष्णवले उनको पत्रकारिताको उच्च स्थान देखाएका छन्; सूर्यविक्रम ज्ञवालीले लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठलाई नेपाली कवितामा नयाँ मार्ग देखाउने दुई तारा भनेका छन्; आनन्ददेव भट्टले उनको क्रान्तिकारितालाई उच्च स्थानमा राखेका छन्, त्यसको पे्ररणा गणेशमासिंहको यस स्वीकारोक्तिले पुष्टि गर्दछः सिद्धिचरण म र म जस्ता युवाहरूको निम्ति एउटा ठूलो आदर्श हुनुहुन्थ्यो । जस्तो उहाँकै कविताको प्रेरणाले शहीद गंगालाल राजनीतिमा लागेका  थिए । उहाँको कविताको कारण म पनि राजनीतितिर  तानिएको थिएँ । र राणाविरोधी आन्दोलनमा समर्पित भएको थिएँ । त्यसोगरी श्यामप्रसादले उनलाई जनपक्षीय कवि भनेका छन्, भने ईश्वर बरालका शब्दमा प्रकृतिको सूक्ष्म निरीक्षण गरी उहाँले प्रकृतिमा  जीवन र मानववीचको उद्देश्य खोज्नु भएको छ ।

यस्ता सिद्धिचरणका प्रत्येक पक्षमा एक अनुसन्धान हुन सक्छ । कृतिको, जीवनको, नेपाली समाजलाई वाङ्मयलाई दिएका योगदानको तर यो सक्षिप्त चर्चामा यतिमै रोकिन उपयुक्त ठान्दछु  ।

उनी प्रेरणाका अनन्य स्रोत हुन् । तर उनको अझै समग्र मूल्याङ्कन भइसकेको छैन । उनका अप्रकाशित रचनाको खोजी र प्रकाशन गर्नु पर्ने, दुर्लभ र अप्राप्य कृतिको पुनर्मुद्रण गर्नु पर्ने, अझ अङ्ग्रेजी हिन्दीमा झैँ ‘सिद्धिचरण समग्र’ ऋयmउभितभ ध्यचपक या क्ष्ममष्अजबचबल मा निकाल्नु पर्ने, अझ त्योभन्दा ठूलो कुरा सिद्धिचरण माथि गम्भीर अध्ययन, समीक्षा, समालोचना र अनुसन्धान गर्नु गराउनु पर्ने । हाम्रा विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानले यसतर्फ अझै दृष्टि पु¥याउने छन् भन्ने लाग्छ । श्री रविचरण श्रेष्ठको यतिखेर एउटा कुरा भन्नु पर्दछ— जसले आफ्नो जीवनको सर्वस्व यो राष्ट्रलाई अर्पित ग¥यो, यो राष्ट्रले पनि तिनको केही ऋण तिर्नु पर्दछ । सिद्धिचरणलाई राम्ररी स्थापित गराउने दायित्व यो राष्ट्रको पनि हो ।

यता प्रा. माणिकलालको लेखमा सिद्धिचरण अङ्ग्रेजीका शिक्षक भएको उल्लेख छ, चीनमा  गएको बेला एक युवतीमाथि  अङ्ग्रेजीमा कविता लेखेको चर्चा छ र एकठाउँमा  भर्खरै टाल्सटायको अन्ना करेनिना (अङ्ग्रेजी अनुवाद) पढ्दै थिएँ लेख्नु भएको छ । नेपाली र नेपाल भाषामा विशिष्ट स्थान भएका सिद्धिचरणलाई अङ्ग्रेजीको पनि ज्ञान थियो ।  उनी अङ्ग्रेजी शिक्षक पनि भएका थिए ।

आज म तिनै सिद्धिचराको चम्कचम्क हे युवा शीर्षक कविताको अङ्ग्रेजी अनुवाद पाठ गरी यहीँ रोकिन चाहन्छु । यो माधवलाल कर्मचार्यद्वारा अनुदित ब् ज्बलमदययप या  क्ष्ममजष्अजबचबल।क ख्भचकभ  बाट उदघृत कविता हो ।  सिद्धिचरण सतवार्सिकीको अवसरमा यो कविता त्रिविको शिक्षा सङ्काय अन्तर्गत बीएड तेस्रो वर्षको अङ्ग्रेजी पाठ्यक्रममा समावेश गर्न सकिएकोमा कविप्रति एउटा ससानो सम्मान प्रकट भएको धारणा प्रकट गर्दै यहीँ रोकिन्छु ।


Shine, O Youth, Shine
Go on ahead, go on ahead, gather all your courage up,
Give not up your life in vain, making a coward of yourself;
It’s time to show the power of all the vigour you have:
Using all your force, beat and drive the foes away.
Shine, O youth, now, shine and shine,
        Swell your chest and march ahead.
Whip up courage in the hearts of one and all.
Mortal body you now have; make it immortal.
Life is brittle, not long-lasting; death is firm and sure.
Heaven’s gate is standing there - push and make your way.
        Shine, O youth, now, shine and shine.
May you not have to face the thousand hurdles step by step ‑
Stern thunderbolts striking along the way;
Have no fear, discharge your load,
Silence your foes for ever more.
        Shine, O youth, now, shine and shine.
Live on, O youth, your mere sweep of watch’s hand,
But shining, make everything brightly gleam;
What use to live a thousand years,
Making dark the days inside and out?
        Shine, O youth, now, shine and shine.
Pride you are precious for all the mundane world,
Sole vigour of riches and life ;
Hope you are for those in trouble,
Strong support for every human being.
Shine, O youth, now, shine and shine.
by Siddhicharan Shrestha (trans. Madhav Lal Karmacharya)
in A Handbook of Siddhicharan's Verse


सन्दर्भ स्रोतः बिमल भौकारजीद्वारा सम्पादित धुयेँत्रो द्वैमासिकको  युगकवि सिद्धिचरण विशेषाङ्क २०५६–५७, मेरिना स्मृतिद्वारा सम्पादित कलशको सिद्धिचरण विशेषांक २०६९ तथा सिद्धिचरणका कृति र विशेषांकहरू)

(२०६९ बैसाख ३०  गते शनिबार युगकवि सिद्धिचरण श्रेष्ठको स्वर्ण शताब्दीको अववसरमा साहित्य सम्मान सङ्गम भक्तपुर सिद्धि स्मृति प्रतिष्ठान, भेलुखेल, भक्तपुर र जिल्ला विकास समिति भक्तपुरद्वारा संयुक्त रूपमा  आयोजित हातेमालो जमर्काेमा प्रस्तुत विचारपत्र)

1 comment:

  1. good morning sir.This verse of siddhicharan reminds me the speech swami vivekananda delivered at the international religious conference,Chicago,representing India. "O Youth! You can do anything and everything. you can move the mountain and drain the ocean..."
    churamoni kandel
    pokhara

    ReplyDelete