काठमाडौँ (कास)— गोविन्दराज भट्टराई मूलतः अङ्ग्रेजी भाषा र अनुवाद साहित्यका प्रध्यापक हुन् । तर उनको चिनारी उपन्यासकार र समालोचकका रूपमा पनि उत्तिकै छ । मुगलान मणिपुरको चिठ्ठी सहित दर्जनौँ कृति प्रकाशन गरिसकेका उनले यसै महिना सुकरातको पाइलाको सिक्वेलको रूपमा सुकरातको डायरी उपन्यास बजारमा ल्याएका छन् ।
प्रश्न नं. १
श्रृङ्खला उपन्यास ल्याउनु भयो नि ?
उत्तरः
विश्वआख्यानमा यस्तो क्रमलेखनको धेरै प्रयोग भएको छ । फ्रान्सेली साहित्य यसको अग्रणी थियो । यता नेपालीमा भने ध्रुबचन्द्र गौतमको बाढी र घुर्मी, कृष्ण धरावासीको आधा बाटो र पाण्डुलिपिझैँ मेरा सुकरातका पाइला र सुकरातको डायरी क्रमलेखनका नमूना आख्यान हुन् । फरक के छ भने मेरो चाहिँ आख्यान आत्मजीवनीपरक होइन । नभए पनि प्रत्येक कृतिमा प्रच्छन्न रूपले लेखक नै हुन्छ वा उसको मान्छे ।
प्रश्न नं. २
यसको श्रङ्खला जारी रहला ?
उत्तरः
सयौँ श्रङ्खला लेखे पनि जीवनका अनुभूति अझै भन्न बाँकी रहने रहेछन् । अघिल्लोमा नसकेको कुरा अहिले भने जस्तो लाग्छ । फेरि यसपछि पनि श्रङ्खलाहरू हुन सक्छन् ।
प्रश्न नं. ३
अघिल्लो उपन्यास मृत्युको कथा र अहिलेको उपन्यास जीवनको कथा भन्नुभएको छ ।
उत्तरः
मेरा दुवै कृति जीवनवादी हुन् । जीवनकै कथा हुन् । अघिल्लोमा मृत्युका बीचमा जीवन थियो । यसमा जीवनको बीचमा जीवन छ ।
प्रश्न नं. ४
पछिल्लोमा धेरै नै शैलीगत प्रयोगहरू गर्नुभएको छ । साधारण पाठकले कसरी बुझ्ने ?
उत्तरः
यो तिनै पाठकका लागि हो, जसले यसभित्र प्रवेश गर्ने आकांक्षा राख्छन् र त्यो जगत्मा भ्रमण गर्ने गहिरो क्षमता राख्छन् । एउटै कृतिले सामान्य साक्षरदेखि बौद्धिक पाठकको सेवा गर्न सक्तैन ।
प्रश्न नं. ५
मुगलान जस्तो सजिलै बुझ्न सकिने यथार्थपरक उपन्यासको लेखक तपाईं आफूलाई अहिले बढी जटिल र बढी प्रयोगशील बनेको जस्तो लाग्दैन ? ( किनभने लेखक लीलबहादुर क्षेत्री समेतले उहाँको बसाई पछि फिल्ममा उतार्न सकिने अब्बल औपन्यासिक कृति भनेर तपाईंको मुगलान उपन्यासको नाम लिनुभएको छ ।
उत्तरः
यो प्रशङ्गलाई मैले पहिला पनि प्रष्ट पारेको छु कतै । मुनामदन र प्रमिथसमा कुन ठूलो भन्नुहुन्छ ? गुराँस फुल्ने मिल्के लेकको सौन्दर्य र सगरमाथा तुलनीय छैनन् । सरलता एउटा कुरा हो । विश्वमा सबैभन्दा कठिन र सर्वाेत्कृष्ट ठहरिएको आख्यान जेम्स ज्वाइसको युलिसिज हो । सरलता कहिल्यै सिर्जनाको मापदण्ड होइन । मुगलान ६ दिनमा लेखेँ, भावनाले लेखेँ । सुकरातको डायरी झण्डै ६ वर्ष लगाएर लेखेँ, मस्तिष्कले लेखेँ । मेरो उद्देश्य नेपाली आख्यान यहाँसम्म पुगेछ भन्ने सत्य देखाउनु पनि थियो ।
प्रश्न नं. ६
हामीकहाँ विशेषतः चैत–वैसाखमा साहित्यिक कृति प्रकाशन गर्ने होड चल्ने गरेको छ । के यो मदन पुरस्कार अथवा यस्तै मौसमी चर्चावाजीका लागि चलेको चलन हो ?
(अरूले कसो गर्दैछन् म भन्न सक्तिनँ) तर म ठान्छु— काम गर्दा वर्षाैंको तपस्या कुन दिनबाट, कुन महिनामा टुङ्गिन्छ त्यो क्याल्कुलेसनले हुने कुरा होहन । यस्तो कार्य घडीपला हेरेर गरिँदैन । प्रसवकाल पूरा भएपछि जन्मिन्छ, औँसीको रातमा हो कि पूर्णिमाको दिनमा म गन्दिनँ । मेरो ढोकाबाहिर समयले कसरी प्रतीक्षा गरिरहेको छ, म गणना गर्दिनँ । वर्षभरि लामा–छोटा रचना कृति आइरहन्छन्, त्यसको मुहूर्त हुँदैन । दुई दर्जन कृति नाघे होलान मलाई कुनौ फोस्रा चर्चा, हल्ला, प्रोपागन्डाको आवश्यकता परेन । म प्रत्येक सस्त्याइँको विरुद्ध रहेँ । कृति नै हिँडोस् वा उडोस् स्रष्टाको पैताला हिँडेको र उसको बोली उडेको सुहाउँदैन ।
कुनै सिर्जना पुरस्कारका लागि गरिँदैन । (त्यो केवल परिस्कारको लागि गरिन्छ)
प्रश्न नं. ७
तपाईं आफूलाई कुन हदसम्म समालोचक (आधा दर्जन समालोचना कृतिआएका आधारमा) र कुन हदसम्म उपन्यासकार (चारवटा उपन्यास आएपछि) ठान्नुहुन्छ ?
सष्टा एक प्रकाशकस्तम्भ हो, समालोचक त्यसको बाई–प्रोडक्ट मात्रै । म आफूभित्रको समालोचकको आह्वान सुन्दिनँ तर बाध्यताले मभित्रको आधी स्रष्टा समालोचक भइटोपलेको छ । त्यसलाई नटेरेको देखेपछि बेलाबेला मभित्रको समालोचक क्रूद्ध भएर उठ्छ जसले मेरो स्रष्टालाई अवरोध पु¥याउँछ, सिर्जनालाई बिलम्ब गराउँछ । तर म सधैँ अफूभित्र उभिन खोज्ने त्यो समालोचकलाई टाढा पन्छाउन खोज्छु । वास्तवम त्यो गहुँबारीभित्र पलाउने झार मात्र रहेछ । गहुँ काटिएपछि घरमा आउँछ । गहुँका भारी ढिकुटीमा पुग्छन् । झार खेतैमा मकाउँछ । सिर्जना कालातीत हुन्छ । तर समालोचना कालबद्ध; शेक्सपियरमाथि लेखिएका समालोचना थुपार्दा एउटा पर्वत बन्ला तर कसैको नाम कसैले सम्झिँदैन; शेक्सपियरका कृति भने बोटमा पाकेर झरेको फल उत्तम हुन्छ; ढुङ्गाले हानेर टाँगाले तानेर काँचै गेडा झार्नेहरू साहित्यकार होइनन् भन्ने ठान्दछु ।
समालोचना कालबद्ध अनुकृति मात्र हो । सिर्जनालाई बुझाउने बाटो चिनाउने मेलो हो तर नचिनाए पनि सिर्जनाको शाश्वतता त्यहीँ हुन्छ । त्यसर्थ म उक स्रष्टा हुँ । (मेरो सबै समालोचना कर्म पनि सिर्जनाकै स्वरूप हुन् भन्ने विश्वास गर्दछु । मेरो साहित्यिक जीवन सिर्जनाबाट आरम्भ भयो, सिर्जनामै अन्त्य हुने ।
प्रश्न नं. ८
सुकरातको डायरी बारे ?
उत्तरः
यसका दुई लक्ष्य छन्— समकालीन विश्वआख्यान कहाँ पुग्यो, नयाँ समयका नेपाली पाठक र स्रष्टालाई देखाउनु, अर्कातिर नेपाली आख्यानलाई विश्वआख्यानको कति नजिक पु¥याउन सकिन्छ, जाँच्न (त्यो देखाउनु) । म विश्वका पाठकलाई यो उपहार चढाउन चाहन्छु । यसको अङ्ग्रेजी अनुवाद आरम्भ भएको छ ।
(२०६९ साल बैशाख २९ गते शुक्रबारको कान्तिपुर (पृष्ठ ९) मा प्रकाशित । कोष्ठकभित्र दिइएका अंशहरू त्यसबेला छुटेका कुरा हुन्)
Bhattaraijyu ,hajurko man ko kura janera khusi lagyo.sukrat ko dairy padne pratikchama.
ReplyDeleteRohit Gautam