About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, April 26, 2012

स्रष्टा भनेको अनन्तकालसम्मको प्रकाशस्तम्भ हो; समालोचक त्यही उज्यालोले हेर्छ



१. समालोचनाको साथसाथै यहाँ उपन्यासलेखनमा पनि प्रवृत्त हुनुहुन्छ । यहाँको सुकरातका पाइला नेपाली उपन्यास जगत्मा निकै नै वजनदार कृति मानिन्छ र चर्चित कृति पनि हो । समालोचकले आफ्नै उपन्यासमा अरूको उपन्यासमा खोजेको पूर्णता प्रतिपादित गर्न सक्दो रहेछ त ?

उत्तर ः

प्रधान सम्पादक महोदय, सर्वप्रथम यसरी एउटा भिन्न प्रकृतिको सम्वादमा प्रवेश गर्ने अवसर दिनु भएकोमा समकालीन साहित्यप्रति धन्यवाद प्रकट गर्दछु । टाढाको साहित्यिक यात्राबाट फर्केको लगत्तै दशै तिहारको एकान्तिक शान्तिमा बसिरहेको बेला यस्ता प्रश्नहरू प्राप्त भएकाले मलाई अत्यन्तै आनन्द लागेको छ । म भित्रको स्रष्टा कुनै समालोचकसित बसेर केही बोल्न खोजिरहेको समयमा यस्ता आनन्दकर प्रश्न आउँदा म अधिक प्रशन्न छु । यो पहारिलो शारदी याममा प्रकृतिको काखमा अवस्थित कीर्तिपुरको ट्याङ्लाफाँटबाट एकेडेमीतिर हेर्दै यी उत्तर लेख्न बसेको छु । 

सर्वप्रथम ता मेरो साहित्यिक जीवन उपन्यासबाटै आरम्भ भएको हो । २०३१ सालमा मुगलान प्रकाशित भएको हो । पछि आएर २०३४ सालमा साझा प्रकाशनबाट मणिपुरको चिठ्ठी प्रकाशित भयो । त्यसबेला समालोचना सुनेको मात्र थिएँ । कृष्णचन्द्रसिंह प्रधान र टाढाबाट तानाशर्मा जान्दथेँ । अरू पनि कति पढिहेरेँ तर समालोचना र जीवनको कुनै सम्बन्ध नभएझैँ निरस लाग्थ्यो । ती समालोचनाहरू कृतिका पानामा पसेर जीवनलाई नछोई त्यहीँबाट पाखा निस्कन्थे । समाजमा सुनिएको कोलाहल तिनले सुन्दैनथे । त्यसैले त्यो क्षेत्रमा प्रवेश गरिन; त्यसैले आफ्नो समालोचना कार्य धेरै पछि मात्र आरम्भ भएको हो । त्यसो भएता पनि त्यस रिक्त अन्तरालमा उपन्यासलाई धेरै गति दिन सकिन । तीन दशक पछिको हो मेरो तेस्रो उपन्यास सुकरातका पाइला । 

हो सुकरातका पाइला यो दशकको वहुपठित र वहुचर्चित मध्येको एक आख्यान हो भनेर म पनि स्वीकार्दछु । नत्र प्रकाशनको आठवर्ष भित्र सुकरातका पाइलाका पात्र परिवेश र कथानकलाई कहीँ जोड्दै कहीँ भत्काउँदै थप्तै चारवटा प्रतिआख्यान कसरी लेखिँदा हुन् ती; लेखिएका छन् । धनराज गिरीको अनन्त पाइलामा मेरो सुकरात, सोफिया र अनन्तलाई चितवनमा पु¥याइएको छ, भूमिराज वस्ताकोटीको निर्माेचनमा सुकरात र अनन्तलाई पोखरा पु¥याइएको छ, धर्मेन्द्रविक्रम नेम्वाङको रातो बाघमा अनन्त एउटा लिम्बू पात्र भएर पाँचथर पुगेको छ । त्यहाँ सोफिया र सुकरातहरूका झल्का छन् । उपेन्द्र भट्टराईले ‘अनन्त’ मा सुकरात र अनन्तहरूलाई फेरि काठमाडौँमा अवतरण गराएका छन् । अनन्त पाइला र निर्माेचन प्रकाशित छन्; रातो बाघ र अनन्त तयारीमा छन् । अझ पाँचौँ उपन्यास छ कलानिधि दाहालको प्रकाशोन्मुख अरस्तुदेखि बङ्करसम्म त्यसमा पनि धेरै मात्रामा सुकरातका पाइलाको प्रतिध्वनि र तुलनीय स्थिति छ । नेपाली साहित्यमा एउटा कृतिले युवा स्रष्टा÷पाठकमा पारेको प्रभावकै परिणाम मेरा पात्र, परिवेश कथांश यसरी वहुगुणा हुँदैछन् । त्यतिमात्र होइन, बलराम अधिकारीले गरेको सुकरातका पाइलाको अनुवाद सोक्रटेसेज फुटस्टेप्स् अङ्ग्रेजी शिक्षा विभाग (त्रिवि) अन्तर्गत स्नातकोत्तर तहको पाठ्यक्रममा सन्दर्भ सामग्री भएको छ । ईटहरीका कुमुद अधिकारीले नयाँ अनन्तका कथा लेखेर गरिमामा छपाएका छन; यसमाथि कविता लेख्नेहरू चितवनका भूपिन व्याकूल लगायतका अरू धेरै स्रष्टा छन् । अझै डा. दीपक खड्का र वशन्त आचार्यको समूहले यसको सिरियल फिल्माङ्कन गर्दैछन्, अनुवन्ध नै भइसकेको छ । मलाई यसबाट प्राप्त हुने आनन्द असीम लाग्छ । नेपाली साहित्यको इतिहासमा एउटा उपन्यासले प्राप्त गर्ने सफलता योभन्दा ठूलो के होला जस्तो पनि लाग्छ । 

यसैकारणले हो कि सर्वप्रथम ता मेरो भित्री मनले म समालोचक हुइन, स्रष्टा नै हुँ भनिरहन्छ । त्यसो भनेता पनि आफू समालोचक पनि भइसके हुँला र यस्ता कुरा उठेको बेला म तीप्रति पनि सजग भएको हुँला । 
तपाईंले मभित्रको समालोचक र उपन्यासकार एउटै व्यक्ति हो भन्ठानी प्रश्न गर्नुभयो, तर मलाई लागिरहन्छ ती अलग अलग हुन् । म जव उपन्यास लेखनमा अथवा अन्य सिर्जनात्मक कार्यमा उत्रिन्छु, त्यसबेला म भित्रको सचेत समालोचक अदृश्य हुन्छ र मौन बस्छ । मलाई पनि मनमनमा म मूलतः म एक स्रष्टा हुँ, मैले गरेका समीक्षा, समालोचना, अनुवाद आदि सिर्जना मार्गमा पर्ने वाइप्रोडक्ट (उपोत्पादन) मात्र हुन् जस्तो लाग्छ । त्यस्तो लाग्ने भएकाले मेरो सर्जक व्यक्तित्वले अरूलाई धेरै टेर्दैन, म अर्कै हुँ भन्दछ अनि स्वतन्त्र र निर्वाध भएर समालोचकले जति भने पनि नसुनी चल्न चाहन्छ । 

विश्वसाहित्यमा धेरै व्यक्तिका यस्ता द्वैध स्थिति छन् । म एक भएको छु । 

तर यस्तो भने पनि त्यो समालोचक ता स्रष्टाको छेउमै ढुकिरहन्छ । किनभने व्यक्तिमा भएको विश्लेषणात्मक शक्तिले समालोचक बनिन्छ । कल्पना, शिल्प र सिर्जनात्मक शक्तिले आख्यानकार वा स्रष्टा । वौद्धिकता र भावनात्मकता क्रमशः तिनमा प्रधान भूमिका खेल्छन् । यिनमा फरक के छ भने कोही केवल समालोचक रहेछ भने ऊ स्रष्टा हुन सक्तैन । तर अर्कातिर ऊ स्रष्टा रहेछ भने ठान्नुहोस्, उभित्र समालोचक स्वतः उपस्थित छ तर त्यो कहिले प्रकट हुन्छ भाषामा कतिमा हुँदैन । एउटा कृतिका आवश्यक गुण दोषको तौल गर्न नसक्नेले, समयको आह्वान बुझ्न असमर्थले सिर्जना गर्न पनि सक्तैन । बरु सर्जकभित्र एक समालोचक पनि घुलित स्वरूपमा हुन्छ ।  स्रष्टालाई आफ्नै मनको समालोचकले निर्देषित गरिरहेको हुन्छ । वास्तवमा सबै कुरा त समालोचकले वा समालोचनाले नै नियन्त्रित गर्ने हो । तर सिर्जना चाहिँ मुक्तान्त भई एक्लै नाच्न उफ्रिन खोज्दो रहेछ । एउटा दृष्टान्त सम्झिन्छु— ससाना नानीहरू घर आँगन हुँदै अलिक पर पुग्न थालेपछि पनि कतै ठोकिएला लड्ला भन्ने डरले परैबाट अभिभावकहरू हेरिरहन्छन् । ठिक त्यस्तै हो । स्रष्टा उन्मुक्त बनेर उफ्रिन खोज्छ; समालोचक ढुकिरहन्छ; यसरी उफ्रिँदा यो पछारिएला कि भन्ने डर हुन्छ होला त्यो अभिभावक बन्न चाहने समालोचकलाई । 

‘खोजेको पूर्णता’ पनि बडो भ्रामक छ अर्थात् यो अत्यन्तै सापेक्षित कुरा हो रहेछ । प्रत्येक खोज्नेका दृष्टिकोण र खोजाइ फरक हुन्छन् । दृष्टिकोण विभिन्नताले हामी विशेषित हुने भएकाले गर्दा एउटाको खोजाई अर्कासँग नमिल्ने पनि भइरहन्छ । त्यस्तै हो, उपन्यास भनेको चरित्र, कथानक, परिवेश, थिम र सन्देशले निर्मित पथमा चल्ने एक वाहन हो । ती सबै मिलेर पनि वाहन कहिले अनाकर्षक हुन्छ— गति नदिने, फ्याङ्ग्रे र कवाडी दर्जाको । यानका सबै पुर्जा छन्, चलायमान पनि छ तर त्यो आकर्षक र यात्रा गरौँ लाग्ने छैन । उपन्यास पनि त्यस्तै हो । सबै अङ्गहरू छन् तर तिनको संयोजनमा सङ्गती (हार्माेनि) र सौन्दर्य छैन । त्यसमा पठनीयता अहिलेको शास्त्रले भनेको ‘रिडेबिलिटी’ नै न्यून छ, अझ कुनैमा शून्य हुन्छ । नेपाली साहित्यमा त्यस्ता प्रयत्नको कमी छैन । किन लेख्नु त्यस्ता उपन्यास ? तर लेख्नेहरू जानून । मलाई त्यो प्रयत्न व्यर्थ लाग्छ ।

मभित्र एक समालोचकको बास भएकाले मेरो स्रष्टालाई एउटा फाइदा भयो— कुन अङ्गको संरचना र वाहन क्षमता कस्तो हुनुपर्छ, कसरी सबै बीचको सन्तुलन र संगति स्थापित हुन्छ भन्ने विषयमा ऊ सचेत हुन्छ । सबै कुरा भाषाले, भाषामा, भाषाकै लागि निस्पादन गरिएको एक खेल हो । त्यसकारणले भाषाको आवरणमा के कस्ता जादु सम्भव छन्; त्यो के कसरी सुन्दर वा सटीक हुन सक्छ भन्ने कुरामा मलाई आफ्नो समालोचकले सचेत बनाइ रहेको हुन्छ । 

उपन्यास निर्माणको क्रममा बेलाबेलै सोध्न पाइने अभिभावक पनि छेउमै हुने भएकाले कतिपल्ट म पनि त्यसलाई प्रश्न गरिरहन्छु त्यसैले म ठान्दछु आफ्नो कृतिलाई पूर्णता दिन सकेँ हुँला, त्यसप्रति पूर्ण न्याय गरेँ हुँला । तर त्यसो भएता पनि म ठान्दछु साँच्चै लेखकले समालोचकलाई त्यत्रो महङ्खव दिनु आवश्यक छैन । तर त्यसमा एउटा खतरा छ । यस सम्बनधमा प्रसिद्ध अमेरिकी आख्यानकार विलियम फौकनरको भनाइ मननीय छ ः सर्जक÷कलाकारसँग समालोचकले बोलेको कुरा सुन्ने फुर्सद हुँदैन । जो लेखक बन्न चाहन्छन् तिनीहरू समालोचना पढ्छन्; जो लेख्न चाहन्छन् तिनीहरूसँग समालोचना पढ्ने समय हुँदैन ।  

२) समालोचनाको अभ्यास भइसकेको प्रबुद्ध समालोचकले उपन्यासलाई कत्तिको समात्न सक्दो रहेछ त ?

उत्तर ः

यस सम्बन्धमा मैले यो अनुभव गरेँ— त्यसलाई राम्ररी समात्न सक्छ । उपन्यासकारलाई पूर्ण स्वतन्त्रता दिनु पर्छ । अथवा दिनु पनि पर्दैन । मनमा उपन्यासकार अथवा कुनै पनि स्रष्टा चटपटाउन थालेपछि अरू शक्ति आफैँ डराउँछन्, चूप लाग्छन्, मलाई त्यस्तै लाग्छ । त्यो शक्ति नै सिर्जनाको शक्ति हो । त्यसैले म भन्दै आएको छु सिर्जना (आख्यानकारिता) चाहिँ स्वस्फुर्तता र अन्तरप्रेरणाले ज्यादा सञ्चालित हुन्छ, तर समालोचना भनेको वाह्य परिवेशले उत्प्रेरित एक आज्ञापालक मात्र हो । उसले आफैँ आफ्नो मार्ग खन्न नसक्ने भएकाले ज्यादाजसो अरूका ट्र्याकमा दौडिन्छ त्यसैले समालोचनाका प्रकाण्ड पारखीहरू पनि सिर्जना गर्न असमर्थ हुन्छन्; हाम्रोमा उपन्यास लेख्न अर्थात् कुनै सिर्जना गर्नै नसक्ने समालोचकहरू ज्यादा छन् । यो एक विडम्बना हो, तिनीहरू असल पाठक मात्र भइदिए राम्रो हुन्थ्यो होला । अनुभवविनाको उपदेशको भर हुँदैन । 

फेरि त्यो उपन्यासलाई समात्ने कुरा कस्तो हो भने समालोचकले एकातिर उपन्यासकारलाई नियन्त्रित गर्न खोज्छ— यसरी लेख्ता राम्रो हुन्छ, यसरी पात्र उठून, यस्तो परिवेश हओस्, यस्ता लेखन शैलीहरू प्रयोगमा छन्, अन्त्य यस्तो हुनुपर्छ, तिम्रो कृतिबाट यतिबेला समयले यस्तो अपेक्षा गरिरहेको छ भनेर सचेत गराउँछ । तर अर्कातिर त्यो सचेतता एक प्रकारले अवरोधन पनि हो । स्वतन्त्रता माथि बाधा हो, अझ आरोपित चेतना पनि हो, गुरुले दिएको उपदेशझैँ कतिबेला अप्रियकर ठानिने कुरा पनि । त्यो मान्नोस नमान्नोस् खुसी तर अर्कातिर समालोचकले उपन्यासकारलाई अनन्त सम्भावना देखाइरहन सक्छ— तपाईं जीवनीपरक लेख्ने ? जेराल्ड डरेल पढनुहोस्, तपाई साइन्स फिक्सन लेख्ने ? जर्ज अर्वेलको ज्ञढडद्ध अथवा एल्डौस हक्स्लेको ब्रेभ न्यू वल्र्ड पढ्नोस, तपाईं साइबर पड्क फिक्सन लेख्ने ? विलियम गिव्सनको भर्चुअल लाइट पढ्नोस । अथवा टङ्क चौँलागाईको जिरो कटेज पढ्नोस । यथार्थवादी लेख्ने ? चाल्स डिकेन्सको ब्लीक हाउस पढ्नोस । यौनभित्र पस्ने ? डिएच लरेन्सको सन्स एन्ड लभर्स अथवा वीपी कोइरालाको सुम्निमा पढ्नोस् । इतिहासमा जाने ? विलियम गोल्डिङको दि इन्हेरिटर्स अथवा डाइमन शमसेरको सेतो बाघ पढ्नोस । नारीतिर फर्किने ? एलिस वाकरको द कलर पर्पल पढ्नोस । एउटा नवीन प्रयोगमा जाने ? हार्पर लीको टु किल अ मकिङ बर्ड पढ्नोस; प्रयोगात्मक उपन्यास लेख्ने ? जेम्स ज्वाइसको युलिसिज पढ्नोस् । पूर्वीय चिन्तनको महानता र ऐतिहासिकतामा जाने ? मदनमणि दीक्षितको माधवी र विनोदप्रसाद धितालको योजनगन्धा पढ्नुहोस् । विश्वप्रसिद्ध आख्यानकारहरू वाल्जाक, फ्लूबेर, हेस्से, मार्केज, काफ्का पढ्नोस् । समालोचकको मन मुक्तान्त पथ हो । त्यसलाई हजार बाटा थाहा हुन्छ । शैली, विषयवस्तु; आदि मध्य, अन्त्य, उद्देश्य आख्यानका अनेक प्रकृति सबै कुरा थाहा हुन्छ । त्यो उदारताको ढोका खोलेर समालोचकले स्रष्टालाई आह्वान गर्न सक्छ, आफूतिर लोभ्याउन सक्छ । तर एउटा प्रमुख भेद के छ भने समालोचक डिलमा बसेर यसरी उफ्रिनु, यसरी हातगोडा चलाउनू भनी सिकाउने व्यक्ति हो, आख्यानकार कुनै निर्देशन विना पनि आफैँ पानीमा हाम्फालेर पौडेर वारिपारि गर्ने व्यक्ति । गतवर्ष उपन्यासको पाण्डुलिपि लिएर सुदुर पश्चिमाञ्चलका एकजना स्रष्टा मेरोमा आए, मैले पढेर हेरे— अत्यन्तै राम्रो छ । यति राम्रो उपन्यास कसरी लेखे होलान्, केबाट प्ररणा लिए होलान् भनी मैले सोधेँ— तपाईंले कुनकुन सिद्धान्त पढ्नु भएको छ; उपन्यास पढ्नु भएको छ ? उनले उत्तर दिए— पाठ्यक्रममा परेबाहेकको कुनै कृति पढेको छैन । त्यसबेला मलाई स्रष्टा र समालोचकका बीचको अन्तर थाहा भयो । अनि मलाई केनेथ टाइन्ले भनेको कुराले छोयो ः एउटा समालोचक त्यस्तो व्यक्ति हो जसलाई बाटो थाहा हुन्छ तर त्यसमा गाडी कुधाउन सक्क्तैन । 

सिद्धान्त कण्ठ गर्नेहरू हजार छन् तर सिद्धान्तले लेखाउँदैन, दृष्टान्तले देखाउने हजार छन्, त्यसले झन् लेखाउँदैन । ती कुरामा अभिमान गर्नु भनेको अध्यापकले पाल्ने विधाज्ञानको अहंकार जस्तो मात्र हो सिर्जना शक्तिको होइन । सिर्जना त अतुलनीय अन्तरचेतनाको प्रकाशन र शक्तिको परिणाम हो । 

मेरो समालोचक उपन्यास सिर्जनाको घरीमा कहिले लुक्यो, कहिले निधायो, थाहा नपाएझैँ ग¥यो । त्यसैबेला मैले सिध्याएँ । तर उसले थाहा नपाई अत्यन्तै गहिरो प्रभाव पारेर जाँदो रहेछ । मेरो समालोचकले केही रुसी, केही फ्रान्सेली र केही ल्याटिन अमेरिकी उपन्यास पढेको थिएन भने, ग्रिसेली पुराकथाको ज्ञान थिएन भने सुकरातका पाइलाले यस्तो आकार लिने थिएन । त्यसमा पनि आफ्नै अग्रजहरू बीपी, लैनसिंह, पारिजात, लीलबहादुर, रमेश विकल, आईबी, धु्रवचन्द्र अनेकौँको हंसले मलाई छोइरहेको हुनसक्छ । नत्रभए यसमा मास्तिष्क तर्क दर्शन र आख्यानका केही समाकालीन विश्वकलाले यहाँ प्रवेश पाउने थिएनन् होला । ती सबैको ध्वनिले यो बनियो नत्र यसमा पनि मुगलान जस्तै केही भौतिक जीवनका, पार्थिव वेदनाका, भावनाका कुरामा रमाइरहन्थेँ होला । 

अज्ञानतामा लेख्ता एक आनन्द छ, सचेततामा लेख्ता अर्कै चुनौति । समालोचक सचेतक मात्र हो, लेखक होइन । समालोचना धेरै सहजै उत्पन्न हुन्छ । प्राचीन ग्रिसेली दार्शनिक जेक्सिसले भनेका छन्— सिर्जना शिल्पभन्दा समालोचना धेरै सजिलो गरी खनिन्छ (क्रिटिसिजम् कम्स् इजिअर द्यान् क्राफ्टम्यान्सिप) । यो सत्य हो । त्यसैले स्रष्टा थोरै छन्, तिनीहरूलाई मुडक्याउने, ठोक्ने, तान्ने, फकाउने धेरै छन् । किन होला प्रशंसकहरू अत्यन्तै थोरै छन् । 

मेरो स्रष्टा धेरै उन्मुक्त र अटेर थियो । तथापि अहिले मलाई लाग्छ— कुनै समालोचकले ठूलो खोट लगाउन नसक्ने हओस भन्नेमा अति सचेत पनि । कहिले चिन्तित पनि । त्यो चिन्ताको दबाई थियो समालोचकले बुझेका अनेक सफल उपन्यासको चित्र । 

मलाई लाग्छ मेरो समालोचकले म सन्तुष्ट नहुइन्जेल संकेत गरिरह्यो । यसरी ज्ञानले निर्देशित हुनु भनेको नराम्रो पनि हो, एक प्रकारले दासत्व पनि तर दुखको कुरा छ— अब आएर म यी ज्ञानहरू नभएको रित्तो र सङ्लो हुन सक्तिन । ती ज्ञानहरू फुकाल्न सक्तिन; प्रदूषित छु त्यसैले मेरो कृति त्यसले रङ्गिन वाध्य छ । अब म मुगलान जस्तो मास्टरपिस रच्न सक्तिन म त्यसबेला ज्ञानरहीत र निर्दाेष र केवल आवेशले अथवा मोहले किचिएको बालक थिएँ । आज पनि पाठक भन्छन् अब तँ मुगलान जस्तो लेख्न सक्तैनस् । आजको मेरो आख्यानकारिता ज्ञानको लेप ज्यादा पस्यो होला । त्यो भनेको चेतनाको शहरीकरण सारांशमा, अभावमा, निर्दाेष भावमा वस्त्र आभूषण फाटेर देखिएको नग्नता र अत्याधुनिक चेतनाद्वारा वस्त्रशिल्पीले मिलाएर च्यातेको वस्त्रबाट देखिएको नग्नता तुलनीय छ ।

त्यसो त बनमा फुलेको र बगैँचाको पुष्पमा कत्रो फरक छ ! बगैँचामा सरेर फुुल्न थालेपछि त्यो वन्य हुन सक्तैन क्यार । म पनि त्यसरी अप्रभावित हुन सक्तिन अब । मैले त्यो सहज र प्राकृतिक गाउँ छोडेर कृत्रिम शहर भित्र पस्न थालेको छु । आज म प्रार्थना गर्छु, प्रभू ! म यहाँका कुनै घुमाउरा गल्लीमा नहराऊँ । म पुरानो गाउँ छोडेर यो महानगर पसेको छु । 

३) तपाईंको उपन्यासकारलाई तपाईंकै समालोचकले छेउमा बसेर कति निर्देशन दियो ? अनुभव सुखद वा अर्कै प्रकारको ?

उत्तर ः

मैले स्वीकारेँ— यसको संरचना, हार्माेनि र लय पक्रिन, विश्वउपन्यासको छायाँ मनमा बोकेर कल्पिन, सचेतताका सारा उपायहरू उसले (आफ्नो समालोचकले) मलाई देखाइरह्यो । सुकरातका पाइलाको सिर्जनाकालमा मैले सचेततापूर्वक २० पटकभन्दा बढी पुनरलेखन गरेँ । यो तीन वर्षको सचेत प्रयत्न हो, र सुरुको खेस्रा ३० पृष्ठबाट गर्दै लाँदा पछि दुई सय बीस पुग्यो । यसबाट प्रष्ट हुन्छ यो लेखन आँधीजस्तो थिएन । मुगलान जस्तै पहिलो हस्तलिपि साफी नगरी इगल ब्रान्ड नोटबुक प्रेसमा पुगेको कुरा थिएन । सुकरातका पाइलाको क्राफ्टले र विचारले मलाई कसरी रित्यायो ! प्रत्येक पात्रसँग यसरी बोलेँ त्यसरी कोहीसँग मेरो संवाद भएको छैन । तिनको दुखसुखले म यति सम्वेदित भएँ— दशवर्षे जनयुद्धकालमा पनि मलाई त्यस्तो भएन होला । अझै ती पात्र मेरो साथमा छन् । सधैँ त्यस्तै रहनेछन् । दिनमा एकपल्ट प्रत्येकलाई सम्झिन्छु । खासगरी अनन्तलाई, सोफिया, पूर्णिमा र सुकरातलाई, भक्तमान र चित्राखरलाई झन् कसरी भुल्नु ?

मेरो समालोचकले बेलाबेला भन्दथ्यो— यसको अन्त्यको भयानकता मोडिदिए हुँदैन, यस्तो नराखे हुँदैन ? पछि कति पाठकले पनि भने । तर यति ध्यानले पूर्ण समर्पणले कलाको सिर्जनामा म समर्पित भएको छु । कुनै उत्तेजनाले होइन, आवेशमा होइन, तीनवर्षको रातदिन छ यसमा, पसिना र विचार छ यसमा, तिमी समालोचक भै म स्रष्टाको कर्ममाथि प्रश्न उठाउने तिमी को हौ ? मेरो उपन्यासकारले भन्यो । मैले मरेर उपन्यास लेखेँ, म सबै रितिएको जस्तो भएको छु । उपन्यास सिर्जना गर्दा उत्पन्न हुने तनाव र चिन्ता त्यो होसियारी र त्यो अपेक्षा तिमीलाई केही थाहा छैन । अर्काले सिर्जना गरेको वस्तुमाथि प्रश्न उठाउने तिमी को हौ ? त्यसबेला मैले टाइन ड्यालीले बोलेको सम्झेँ— समालोचक भनेको एउटा त्यस्तो व्यक्ति हो जो वास्तवमा कहिल्यै युद्धभूमिमा प्रवेश गर्दैन, तर युद्धपश्चात पाखा निस्केर घाइतेहरूमाथि नै गोली हान्दै अघि बढ्छ ।  मलाई उचित लाग्यो तीनवर्षको युद्ध मैदानबाट म घाइते नै फर्किरहेको थिएँ । त्यो तीन वर्षे लडाई एक उपन्यास पूरा गर्ने थियो । तीन दिन पढेर समालोचकहरूले जब टिप्पणी गर्छन् त्यो मैलाई गोली ताकेको होइन ? तर युद्धमैदानमा होस् या युद्धेतर कालमा मेरो उपन्यासकारले कुनै निर्देशन मानेन, कसैको मानेन, किनभने मैले एउटा उपन्यासको आवरणमा एक युग चित्रण गर्नु थियो । दशवर्षे माओवादी युद्धले र त्यसको प्रतिकार— प्रयत्नले कत्रो ध्वंस र विनाश ग¥यो, देखाउनु थियो । आतङ्क र भयले हाम्रो सभ्यता कहाँ पुग्छ देखाउँनु थियो । निरङ्कुशता र बन्दुकको राज्यमा के हुन्छ त्यो देखाउनु थियो । त्यो विद्रुपता, त्यो अनुशासनहीनता, कानून व्यवस्थाको अन्त्य, लूटपाट, हत्या, आतङ्क, भय शाषित चरम स्थिति— त्यो देखाउनु थियो । सम्पूर्ण बौद्धिक खासगरी लेखक स्रष्टा पत्रकारमाथि परेको भयाघातको मात्रा देखाउनु थियो । जोन्सले भनेका छन्— द फस्र्ट क्याजल्टि ह्वेन वार कम्स इज ट्रुथ अर्थात्, युद्धको समयमा सबैभन्दा बढी हताहत हुने कुरा नै सत्य हो; कसरी सत्यको हत्या हुन्छ त्यो देखाउनु थियो ।

लाग्छ मैले देखाएँ । त्यो कालावधि देखाउने अरू केही उपन्यास छन् कथा र कविता छन्, नाटक पनि छन्, तर सुकरातका पाइलाको तुलना कुनैसित पनि हुन सक्तैन । त्यस हरर भित्र एउटा यस्तो जीवन दर्शन छ, जसले मानिसलाई मुक्तिको खोजी गर्न सिकाउँछ, जसले स्वतन्त्रताको मूल्य कत्रो हुन्छ त्यो देखाउँछ, जसले निरङ्कुशता कसरी सधैँ ध्वंश मार्गमा चल्दो रहेछ भन्ने देखाउँछ । विश्व साहित्यमा जति ठूला युद्ध र ध्वंश भए, त्यति ठूला, अमर कृति जन्मिएका छन् कस्तो परस्परविरोध ।

त्यसबेला मलाई सत्य हताहत भएको छ भन्ने चेतनाले निर्देशित ग¥यो । त्यस अनुभवलाई कलाले लेख्न मलाई कुनै समालोचकले आह््राएर हुँदैनथ्यो, सिकाएर हुँदैनथ्यो । त्यो लेख्न मभित्रको निर्दाेषता अधि लाग्यो त्यो अनुभव कस्तो हुँदो रहेछ भने विलियम ब्लेकको इनोसेन्स एन्ड एक्स्पीरिअन्स (निर्दोषिता औ अनुभूति) कविता जस्तो । अज्ञानतामा एउटा निर्दाेषितापूर्ण आनन्दको स्थिति छ; अनुभवमा त्यो समाप्त हुन्छ त्यसको सट्टा अनुभव प्राप्त हुन्छ तर त्यो कौमार्य गुमाएर प्राप्त भएको जस्तै आनन्द हो । 

४) तपाईंका उपन्यासबारे भएका प्रतिक्रिया÷समालोचनाबाट कति सन्तुष्ट हुनुहुन्छ ?

उत्तर ः

अघि भनेजस्तो हो, युद्ध मैदानबाट घाइते शरीर लिएर पाखा आएँ अनि उनीहरू शुटिङ गर्दै मतिर बढे । तर म ती प्रतिकृया र समालोचनाबाट अत्यन्तै सन्तुष्ट छु मलाई प्रशंसा–प्रेम छैन, निन्दा–भय पनि छैन । बरु यसलाई भित्री आँखाले बुझ्ने थोरै भए नबुझी लेख्ने मात्र बढे । बुझ्न सक्ने पनि समयले नै जन्माउछ । समय लाग्छ अझै सात्र्र कामु बेके वा मदनमणि बुझ्ने कति छन् र त्यसैले ती सदा नवीन र रहस्यपूर्ण छन् । मेरो सुकरातको पाइलाको शरीर राष्ट्रले भोगेको कोलाहलपूर्ण स्थितिको चित्रले निर्मित छ परन्तु यसको आत्मा गम्भीर दर्शनले निर्मित छ । तर यसको शरीरमा दृश्यमान अरू धेरै धेरै आवरण छन् । वाह्य तह छिचोलेर दर्शनसम्म नपुग्दा पनि हुन्छ । सर्वप्रथम ता त्यहाँ देखिएका नरसंहारका चित्र छन; ती निरंकुशतन्त्रको प्रयोगले के सम्म गर्दछ भन्ने प्रमाण हुन् । मानिसलाई कसरी पशुवत व्यवहार गरिन्छ भन्ने प्रमाण मात्र हुन् तर अधिनायकवादका समर्थकहरूलाई यस उपन्यासले दिएको सन्देश अप्रियकर थियो, सधैँ हुनेछ । उनीहरू बोलिहेरे, विरोध प्रकट गरिहेरे । कतिले यो उपन्यासै होइन भन्ने प्रमाणित पनि गरे । विवेक हुनेहरू सत्य बोल्न डराउने समय थियो । धेरै लेखिए, चर्चा आलोचना भए । उदारवादी समालोचकले आक्रमण गरेको भए म दुखित हुन्थँे, एकलतावादी अधिनायक कलमहरूले ज्यादा आवाज निकाले त्यसमा मैले केही कुनै आश्चर्य मानिन किनकि त्यो उनीहरूको राजनीतिक धर्म थियो; साहित्यिक थिएन । ती झ्यालखानाबाट बोल्नेहरू थिए । त्यस्तो बोलीको साहित्यमा दीर्घकालीन प्रभाव हुँदैन । त्यस्तालाई म समालोचक मान्दिन । मलाई छुँदैन । कसैलाई छुँदैन । साहित्य कलाले जीवनका सबै पक्ष देख्न बोल्न, देखाउन पाउनु पर्छ । को हो साहित्यको बाटो निर्धारण गर्ने ? मेरो समालोचक त्यति क्रूर छैन । ऊ ता एउटा सर्जकझैँ सहानुभूतिले भरिएको छ; मानवतावादी छ । मेरो समालोचक अरूकोसँग मिल्दैन । मेरो समालोचकको धर्म भिन्न दर्शनले निर्मित छ । यसले भन्ने गर्छ— शितल वर्षा झैँ समालोचना पनि हितकर हुनुपर्छ यसले उसका (मानिसका अर्थात् श्रष्टाका) जरालाई बाधा नपु¥याई उसको अभिवृद्धिको सम्पोषक हुनुपर्छ ।  

५) यो वा त्यो पुगेन भन्ने तपाईंको समालोचकको के मत छ ?

उत्तर ः 

मानव जीवनको लक्ष्य भौतिक उपलब्धीमा टुङ्गिन्छ भन्ने विश्वास गर्नेहरूको लागि, राजनीति निर्देशित ‘साहित्य’ लेख्नेहरूका लागि यसको गम्भीर सन्देश नसुनिन सक्छ; अस्वीकार्य हुनु स्वाभाविक छ र मानव मस्तिष्क स्वतन्त्र हुनु अहितकार छ त्यो राज्य नियन्त्रित हुनुपर्छ भन्ने मित्रहरूले यसमा अधिक त्रुटि देखे, अपूर्णता देखे, विपरीतता देखे, मानिसको जीवन हुलमा धपाइएको पशुप्राणी हो केवल भन्नेहरूले यस कृतिलाई उपन्यासै होइन भन्ने प्रमाणित गरे । तर पनि मलाई आश्चर्य भएन । अन्यत्र पनि यस्तो घटना भएको छ । 

कसैको आभिमत छ— हामीले यत्रो क्रान्ति ग¥यौँ तर त्यसको उपलब्धी यहाँ देखाइएन अर्थात् युद्धप्रति वितृष्णा देखाइयो त्यसको सट्टा प्रशंसा हुनुपथ्र्याे । कसैले आफ्नो गम्भीर ज्ञान देखाउँदै भने— यसको अन्त्य भएन यो सर्वनाशक भयो । कतिले भने— यो जीवन विरोधी भयो । यसले युवा पुस्तालाई आत्महत्या गर्न सिकाउँछ । तर यी आवरण थिए । उनीहरूको दर्शनमा कला र साहित्यका अनिर्देशित स्वरूप निषेधित छन् यसका अनन्तरूप निशिद्ध छन् । बद्ध शैलीले जीवन बाँधेर निर्देशन लेख्नेहरू थिए । प्रायः सबै राजनीतिक भाषामा, लेखनमा, चिन्तनमा सुकरातका पाइलाको असफलताको चर्चा भयो । यसमध्ये अग्रपङ्तिका ‘समालोचक’ लाई एउटा राष्ट्रिय पुरस्कार प्रदान गरियो । अधिनायकता प्रेमीहरू उठेपछि स्वतन्त्र साहित्यकारको उपस्थिति हास्यास्पद हुँदोरहेछ । अन्य साहित्यमा पनि यस्तो भएको छ । लेख्नु बिडम्बना जस्तो । तर मलाई त्यस्तोले छुँदैन; त्यसैले छोएन र उपन्यासको आवरणमा त्रासद कालखण्डको अभिलेखन प्रस्तुत गरेँ । उनीहरू युद्धलाई जीवनको पहिलो र अन्तिम लक्ष भन्दछन् । म शान्तिलाई । म एक प्यासिभिष्ट हुँ शान्तिकामी । मेरो कानमा मार्टिन लुथर किङ्को बोली अर्थात् युद्ध ठूलो विमार हो त्यसले मानवतालाई पिरोलि रहन्छ (वार इज अ प्लेग द्याट क्यान् अफ्लिक्ट ह्युम्यानिटि) गुञ्जिरहन्छ । विश्वसाहित्यमा आएका ठूलाठूला माष्टरपिस हेरौँ, खासगरी युद्ध उपन्यास । जोजेफ हेलरको क्याच द्दद्द अथवा अर्नेस्ट हेमिङ्वेको फेरवेल टु आम्ज । बोरिस पाष्टरनाकको डाक्टर झिभागो वा टाल्सटायको वार एन्ड पिस, सिग्फ्रिड स्यासूनको मेम्वायर्य अव् एन इन्फ्यान्ट्रि अफिसर अथवा नर्मन मेलरको द न्याकेड एन्ड द डेड त्यहाँ युद्धजन्य त्रासदी र नग्नता कस्तो छ ? एउटा कलाकारले त्यस्ता विद्रषता छोपेर केवल आशावादीताको वा विजयको वा सफलताको अभिनय गर्न सक्छ ? हामी भन्छौँ ब्रह्मले देखेको, स्वतन्त्र स्रष्टाले त्यही गर्छ । हाम्रोमा धेरै स्रष्टा स्वतन्त्र छैनन् तर परतन्त्रताका गीत लेखिरहन्छन् ।  

राजनीतिक दलमा हुने असहिष्णुता डरलाग्दो रोग हो । यसले स्रष्टाको मनोवल क्षीण गराउने प्रयत्न गर्छ; दुरुत्साहित गर्ने प्रयत्न गर्छ । तर मलाई केहीले छोएन । सिर्जना राजनीति जस्तो तत्कालै फल लाग्ने बृक्ष होइन । कहिलेकाहीँ मृत्यु पर्यन्त प्रतीक्षा गर्दा पनि त्यो फल (यश) ओझेल परिरहेकै हुनसक्छ । राजनीति छ महिने बाली हो तुरुन्त पाक्छ टिप्यो, खायो । मैले सम्झेँ उनीहरूको निहितार्थ प्रष्ट छ— ती साहित्यकार होइनन्, बोलिरहुन् । मानिसका अधिनायक इच्छाहरू जब बन्दुकसँगै नाच्न थाल्छन् तब मानिसको गति के हुन्छ ! मेरो उपन्यास त्यसैको दृष्टान्त हो । 

मलाई त्यसले केही गरेन । त्यसले रामराजा पन्त स्मृति पुरस्कार दिलायो अर्काे वर्ष दीप गोविन्द स्मृति सम्मान ल्यायो, अर्काे वर्ष अनुवाद भयो, चौथो वर्ष पाठ्यक्रममा लाग्यो । अर्को वर्ष लहरै अरू प्रतिआख्यान लेखिन छापिन थाले । यस्ता सफलताले मलाई अर्काे उपन्यास लेख्न उत्प्रेरित ग¥यो । 

अनि मैले आफैँ भित्रको समालोचकलाई एक मुड्की हानेँ; अघि रुसको यात्रामा हुँदा मस्को सहरमा ब्यूँझेर एक मधयरात पहिले मुड्की आफैँलाई हानेको थिएँ डा. ध्रुवचन्द्र गौतमको उपस्थितिमा । त्यो कुरा उनको यात्रा संस्मरण रुसतिर रुमलिँदा (२०६७) मा समावेश छ । आज दोस्रो मुड्की हानेपछि बोलेँ— तैले गर्दा मेरो सिर्जना ओझेल परिरहेको छ । अनि त्यो समालोचकलाई फेरि उठ्न नसक्ने गरी दुत्कारे ः (जँ सिबेलिअसका शव्दमा) समालोचकले भनेको कुरातिर ध्यानै नदिनू । यो स्मरण रहोस— कुनै समालोचकको सम्मानमा कहीँ पनि एउटा सालिकको निर्माण भएको छैन ।   


६) अर्को उपन्यास लेख्दै हो कि ? उपन्यास तयार छ ? नाम ? विषय ? 

उत्तर ः

तीन दशकसम्म उपयुक्त दिन आउला कि भनी प्रतीक्षा गरिरहेको मभित्रको उपन्यासकारलाई त्यस घटनाले एकपल्ट झकझक्याएर व्यूँझायो । म भित्रैदेखि ब्यूँझिएँ; अर्काका उपन्यास पढाउँदा र पढ्दापढ्दा ढल्किन लागेको जीवन जुर्मुराउँदै म भित्रैदेखि ब्यूँझिएँ । अनि जुरुक्क उठेर लेख्न थालेँ । मैले २०६४ सालदेखि अर्काे उपन्यास लेख्न थालेर तीनवर्षमा पूरा गरेँ । यतिखेर त्यसको परिमार्जनमा छु । खार्र्दैछु, माझ्दैछु, सकेसम्म यसलाई टल्काउन चाहन्छु । 

यसको प्रशोधन र परिस्कारमा लागेको दोस्रोवर्षमा छु । यो मेरो जीवनको सर्वाधिक सन्तुष्टि दिने सिर्जना हो । म यस्तो कृति रच्न सकौँला भन्ने लागेको थिएन तर सकेँ । आफैँ पढ्छु र पूर्ण तृप्तिले मलाई छोपेको ठान्छु यद्यपि यो पनि समालोचकको दृष्टिभनदा टाढा हुनेछैन । 

यो उपन्यास मेरो तर्फबाट तयार छ । अब केही हितैषीलाई निरूपणको लागि दिन्छु । यो २०६८ साल भरिमा प्रकाशित हुनेछ । 

मेरो आगामि उपन्यासको नाम हो सुकरातको डायरी । 

यसको विषय ता के भनौँ हाम्रो जीवनको एक पक्ष हो । पछि पठनपछि नै विषयवस्तु सार्वजनिक हुनेछ । केही पात्र यसमा पनि अघिल्लोबाट आएका छन्— सुकरात, नीलिमा र अनन्तहरू; यसको विषय पनि आख्यान नै हो । पात्रहरू समकालीन विश्वसँगको वार्तामा छन् र यहाँ सिर्जना र कलाको बृत्त छ । यो अर्काे प्रकारको जीवन हो । जीवनलाई अर्काे पक्ष (फसेट) बाट म हेर्दैछु । 

७) अहिले आएर उत्तआधुनिकता थालमा खन्याएको चियाभैं सेलाएका हो कि, अघिल्लो समयको तात्तातो चर्चाको तुलनामा ?

उत्तर ः

मेरो जीवनका दुईदशक (२०४८ सालको कविता अङ्क १४६ देखि) उत्तरआधुनिकतालाई अर्पण गरिसकेको छु । अघिल्लो एक दशक यसको प्रारम्भिक अर्थबोधमा बित्यो भने पछिल्लो दशकमा यसले उत्पन्न गरेको हलचल, समर्थन र प्रतिरोधका स्कूलहरू यथास्थितिका झटारा र नयाँ समयका निर्भिक अठोटहरू देख्यौँ, भोग्यौँ । 

यो सेलाएको छैन । यो कैयौँ वर्ष सेलाउने विषय होइन । सेलाउनु पर्ने कारण छैन । समयले हामीलाई सामयिक उद्वोधनको लागि आह्वान गरेको छ । यति कुरा सबिस्तार बुझाउन रोकिएको मात्र हुँ । यो सम्पूर्ण विचारको, दृष्टिकोणको, अभ्यासको आयाम परिवर्तनको कुरा हो । अझ लेखनको, चिन्तनको, समस्त सोच र जीवनशैलीकै विश्वपरिस्थितिले ल्याएको परिवर्तन सँग चल्ने कि यथास्थितिमा रमाउने भन्ने कुरा हो; परिवर्तनको आग्रह स्वीकार्ने कि जडताले सदा जीवन घेर्ने भन्ने निर्णयहरूका बीचको एक चुनौति हो । तर अब हाम्रो शैक्षिक प्राज्ञिक परिवेशमा पनि उत्तरआधुनिक चेतना ता राम्ररी स्थापित भइसक्यो । यसका विज्ञहरू व्याख्याताहरू जन्मिए, शिक्षक र नयाँ पाठक जन्मिए । यसका कुशल प्रतिरोधीहरू पनि जन्मिए यस विषयका दुईदर्जन कृति प्रकाशित भए, अनेक अनुसन्धान भए, पठनपाठनमा प्रवेश छ, विभिन्न महादेशका नेपाली साहित्यका साधक चिन्तकले उत्तरआधुनिक समालोचनाबाट नवीन आलोक ग्रहण गरे, गर्दैछन्, अनेक गोष्ठी र प्रकाशन भए, हुँदैछन्; खासगरी भृकुटीको वृहत् उत्तरआधुनिकता विशेषाङ्क जस्तो ग्रन्थलाई नेपाली वाङ्मयमा एक ल्यान्डमार्क मान्नु पर्दछ । नेपाली वाङ्मयमा उत्तरआधुनिकता सोच कहाँ पुगेको छ, त्यसले छर्लङ्ग पारेको छ ।  

नयाँ विचारको स्थापनाकालमा ज्यादै प्रतिरोध आए । जगत्मा जहाँ पनि पहिले पनि नयाँ विचारले प्रतिरोध नखपेको कहाँ छ र ? विज्ञानमाथि, प्रयोगशालामा प्रमाणित परिणाम माथि पनि अविश्वास हुन्छ; त्यो अस्वीकृत भएको छ । नवीन सत्यमाथिको विश्वासभन्दा अन्धविश्वास बलियो हुन्छ; जगतको यसरी क्रमिक विकास भएको छ । विचार त अर्कै कुरा भयो । यो इन्द्रियगोचर छैन, सूक्ष्म चेतनाको तहमा मात्र यसको विश्लेषण हुन्छ । त्यो स्वाभाविक थियो । यो विश्ववतास्को समर्थन गर्न होस् या विरोध गर्न केही कुरा बुझ्नु आवश्यक हुनजान्छ । त्यसले केही समय लिएको मात्र हो । 

अहिले उत्तरआधुनिकता पूर्णरूपले स्थापित भएको समय छ । खासगरी प्राज्ञिक कृयाकलापका क्षेत्रमा, विश्वविद्यालयमा सबै विभाग र विषयमा यसले प्रवेश गरेको छ । अरू कला साहित्यका क्षेत्रहरूमा यसको अभ्यास भएकै छ । नेपालको पुरानो पुस्ताका समालोचकले नै यो आयाम परिवर्तन स्वीकारेका छन् । प्रा. केशव सुवेदीको उत्तरवर्ती कालखण्डका नाटकको विश्लेषण, प्रा. मोहनराज शर्माको समालोचनामा उत्तरआधुनिक पाठकमैत्री दृष्टिकोण अग्रगामि संकेत प्रयत्न हुन् । डा. खेम दाहाल पनि परवर्ती आख्यानको मसालोचनामा पसेका छन्, प्रा. टङ्कप्रसाद न्यौपाने एथ्निक पट्टि छन् । त्रियासी वर्षको उमेरमा बेलायत पुगेर आएपछि कृष्णचन्द्रसिंह प्रधानले पनि डायास्पोरा माथि लेखेर प्रकाशित गरेका थिए । प्रा. अभि सुवेदीको उदारताले धरैलाई दीक्षित गरेको छ ।  

हाम्रा समालोचकलाई यसले नयाँ पथ खोलिदियो । नयाँ दृष्टिले विश्लेषण गर्नु पर्ने कृति आउन थालेपछि द्रष्टाको पनि पृष्ठभूमि बदलिनु पर्दाेरहेछ भन्ने भयो । नेपालमा समालोचक र स्रष्टा दुवैको दृष्टि पारस्परिक रूपले वदलिँदै आएको छ । मैले आफ्ना प्रकाशन मार्फत् सातवटा नयाँ उत्तरआधुनिक समालोचना पद्धतिको आधारभूत परिचय प्रस्तुत गरेँ । अरू कति मित्रले पनि अनुसमर्थन गर्दै सहकार्यमा साथ दिए यस लामो परिवर्तन यात्रामा प्रा. कृष्ण गौतमको ठूलो योगदान छ । नयाँ समालोचना पद्धतिले अभिघात सिद्धान्त, साइबर सिद्धान्त, परिवृत्तीय सिद्धान्त, जनजातीय सिद्धान्त ल्याएको छ । हाम्रा समालोचकले ती पक्रिन थालेका छन् । डा. लक्ष्मणप्रसाद गौतमले नेपाली समालोचनामा विश्लेषण गरेको उत्तरआधुनिकता, डा. कुमारप्रसाद कोइरालाले त्यस आधारमा विश्लेषण गरेको नेपाली आख्यानकारिता, डा. ज्ञानु पाण्डेले त्यस दृष्टिले हेरेको नारीवादले महत्वपूर्ण भूमिका खेल्ने छन् । डा. सञ्जीव उप्रेतीको सिद्धान्त विश्लेषण आधारको पनि ठूलो महŒव छ । त्यतिमात्र होइन युवा पुस्ताले पनि उत्तरआधुनिकताका शाखा समालोचना पक्रेर ग्रन्थका नाम राखेका छन्, काम थालेका छन्— नेत्र एटमको डायास्पोरातिरको प्रवेश, डा. तारालाल श्रेष्ठको सवाल्टर्न विश्लेषण— यसरी धेरै नयाँ पुस्ताले प्रवेश गरेका छन् । नयाँ पुस्ताका धर्मेन्द्र विक्रम नेम्वाङको सामान्य बहुरङ्गवाद एउटा ट्राभलिङ फिलोसोफीको परिकल्पना एक उल्लेख्य कर्म हो । 

त्यतिमात्र होइन वर्तमान दशकमा साहित्य रचना र विश्लेषणका अनेक नवीन दृष्टिकोण आउँदैछन् । यसमा देशभित्रका साथै अनेक डायास्पोराका नेपाली प्रयत्नको हामीले नजिकबाट अध्ययन गर्नु पर्छ, तिनको ख्याल गर्नु पर्छ । त्यस्तो दिशा परिवर्तनको संकेत मध्ये (क) विश्वासदीप तिगेला आदिको प्रयत्नले सम्पन्न अनलाइन कविता प्रतियोगिता (ख) नेपाली साहित्यमा सञ्चालित तीन दर्जनभन्दा बढी साहित्यिक वेब साइटहरू (ग) हङकङ डायास्पोराबाट उठेको देश सुब्बाको भयवाद, दीपा राईको अर्धवृत्त, त्यहीँका टंक साम्बहाम्फे आदिका रेखा कविता (घ) बेलायती डायास्पोराबाट रक्ष राई र मिजास तेम्बेको नवचेतनाग्रह (प्रस्तावित) विचार दर्शन र डायास्पोरा साहित्य सिद्धान्त (ङ) अमेरिकाबाट होम सुवेदीको डायास्पोरिक समालोचना आधार (च) नवलपरासीको जीवन युगीनको सिर्जनामा मध्यविन्दुको अवधारणा, (छ) दार्जीलिङबाट मनप्रसाद सुब्बा र रेमिका थापाको किनारिकृतहरूको परिचय लेखन आदि हेर्दा यी ससाना कुरा लाग्लान्, तर नेपाली साहित्यलाई यिनैले गति दिँदै छन् रिनन्तरता र नवीनता थप्तै छन् । 

यो स्थापनाले गर्दा अलिक ढुक्क भएर अरूले पनि यो जिम्मेदारी लिएको देखेर मैले एकछिन आफ्नो समयलाई अझै दिघो कार्यतिर लगानी गरेको मात्र हुँ । यी विविध दिशातिर जानेबाटा नखुलेको भए नेपाली समालोचना कुण्ठित र हास्यास्पद हुन्थ्यो होला । यो जड र रुढ हुन्थ्यो । यो गतिहीन हुन्थ्यो । त त्यो त्यसरी रोकिएन । हाम्रो नयाँ पुस्ता आज विविध पथमा छन् । अध्येताहरू अरूतिर लागेका छन् । भर्खरैको कुरा हो— एथ्निक स्टडिज विश्लेषणको एक अपरिहार्य हाँगो खुल्यो, क्वीअर थ्योरी खुल्यो, यतिखेर म युद्धसाहित्यमाथि विश्लेषण गर्दैछु । वाममार्गी राजनीतिले लगाएको एकद्वारे नीतिका अनुपालकहरूले पनि थाहा पाए साहित्यिक विश्वतिर फर्कने अनेक द्वार रहेछन् । ग्लोबल विश्वका ती प्रवेशद्वार एवम् निर्गमनद्वारलाई हामीले नियमन गर्न सक्ने छैनौँ । यी स्वतन्त्र मार्ग हुन्, स्वतन्त्रताका मार्ग हुन् । अझै त्यसको प्रतिरोधमा पनि कोही छन् । परन्तु तिनको साहित्यिक सिद्धान्तले र भावनाले केवल राजनीतिक अनुसासन बोल्छ । समयले तिनीहरूलाई पनि अवज्ञा गर्दैछ । किनकि समयले मानिसलाई, उसका कर्मलाई अनगिन्ति वर्गमा विभाजित गरिदिएको छ । त्यसै अनुरूप साहित्य रच्ने र विश्लेषण गर्ने विधा र हाँगाहरू अनन्त रूपले फैलँदै छन् । पुराना भाडाकुँडा समयले आफै थान्को लाउने छ ।

आज सुदूर जिल्लामा पनि उत्तरआधुनिकताको चिन्तन व्याख्या विमर्शवेगर साहित्यिक वार्ता पूरा हुन छाडेको छ । गत जेठमा सुर्खेतमा भएको सात दिने गोष्ठी होस वा नेपालगञ्जको अथवा हालै इलामले दिएको विमर्श (प्रकाशन) वा पोखरा र विराटनगरका विश्लेषण वार्तामा । त्यहाँ चल्ने यिनै विषय छन् । काठमाडौँ त झन् नवीन विषयको खोजीमा उम्लिरहेको छ । दार्जिलिङ, सिक्किम, आसाम हुँदै वाह्य विश्वमा निस्कन्छु— यही नवीन चेतनाको बृत्तमा छ— नेपाली साहित्य होस, अन्य कला सङ्गीत होस् यही बृत्तमा छ । 

यतिखेर म एकछिन बिसाएर उत्तरआधुनिकता विषयक दुइवटा कृति प्रकाशनको अन्तिम तयारीमा लागेको छु । पहिलो हो समयवोध र उत्तरआधुनिकता । यसमा नित्सेदेखि गायत्री स्पिभाक सम्मका २४ जना चिन्तकले कसरी विद्यमान सिद्धान्तमा परिवर्तन गर्न खोजे, कसरी भाषा, मनोविज्ञान, दर्शन लगायत सबै सबै विधामा बहुल विचारले प्रवेश पायो, आज कसरी ती व्याप्त छन्, कसरी उनीहरूले माक्र्सेली सिद्धान्तलाई रुढीवादमा परिणत हुनबाट जोगाउने प्रयत्न गर्दै छन्, उनीहरूले कसरी विद्यमान विचारमा परिमार्जन प्रस्ताव ल्याए, कसरी तिनमा भएको संसोधन प्रस्तावनाले÷प्रयत्नले आज उत्तरमाक्र्सवादमा रूपान्तरित भयो, त्यो देखाउने छ । यद्यपि जडताप्रेमीहरू त्यसको पनि अवज्ञा गर्न सक्छन् भन्ने गहिरो शैद्धान्तिक आधारको चर्चा गरेको छु । एकसय पचास पृष्ठको यो कृति प्रेसमा पठाउन केही समय लागेको हो । 

अझ उत्तरआधुनिकता विषयक अर्काे वृहत् आकारको (हजार पृष्ठ जतिको) एक ग्रन्थको अन्तिम तयारी गर्दैछु । यसमा मेरो उत्तआधुनिक विमर्श (२०६४) मा भएका सातवटा समालोचकीय विभाजन (साइवर जगत्, इलेक्ट्रोनिक माध्यम, डायास्पोरा, प्ररिवृत्त (इकोसाहित्य), युद्ध साहित्य र अभिघात सिद्धान्त, नयाँ विश्वआख्यान, विश्वकला र अनुवाद) यथावत हुनेछन्; अरू तीनवटा थपेर नेपाली समालोचना र लेखन चिन्तनका दश शाखाको परिचय र प्रयोग प्रस्तुत गरेको छु । उत्तरआधुनिक आयाममा थपिने तŒवहरूमा ‘पहिचान’ एक प्रमुख शाखा हुनेछ । यो कुरा जनजातीयता, अल्पसङ्ख्यक, किनारिएकासित जोडिएको छ । एथ्निक स्टडिजले छाताको काम गर्दछ । नेपाली साहित्यमा यस अन्तर्गत लिखित एक विशाल भण्डार छ, यथास्थितिवादी कुनै समालोचनाले यो पद्धति देख्न सक्तैन र उसले त्यस्तो सिर्जनामाथि न्याय गर्न पनि सक्तैन । त्यो साहित्यलाई चिनाउन मैले एथ्निक क्रिटिसिजमको सिद्धान्त र व्यवहारलाई सर्वप्रथम चिनाएको÷बुझाउने प्रयत्न गरेको छु । यसमा भूपाल राईका, श्रवण मुकारुङका कविता, धर्मेन्द्र विक्रमको उपन्यास, अभय श्रेष्ठका कथा, झमक घिमिरेका व्यक्तिवृत्त... यस्ता धेरै उदाहरण रहेका छन् । जसको यस दृष्टिले मात्र समालोचना गर्न सक्छन् । अझ समृद्धि खरेल (२००७) को दलित पहिचान र प्रतिरोध पढेपछि लाग्नेछ— हाम्रो समाजको एउटा पक्षले कत्रो वञ्चना भोगेको छ सधैँ । त्यो किनारिकृत वर्गलाई हाम्रो रुढ समालोचनाले देख्तैन । मैले जागत्को ध्यान त्यहाँ त्यता तानेको छु । हालैमाात्र विभाजनमा परेका परिवृत्तीय (इको) समालोचना जस्ता शाखा भित्र अझै अरू प्रशाखा पलाएका छन् । ती अरू सिद्धान्तसँग जोडिएर प्रतिच्छेदित (क्रसकटिङ) सम्बन्धमा मात्र बुझिने भएका छन् । जस्तै ‘इकोलोजी’ (पर्यावरण) ले स्थान र स्थानीयताको कुरा गर्छ तर साइबर जगत्ले स्थान मेटेर हाम्रो जीवन अस्थानिक एवम् स्थानरहीत बनाउँदै छ, त्यसको कुरा गर्छ । यसरी यी दुई अवधारणा कहाँ कहाँ मिल्छन्, कहाँ छुट्टिन्छन्— आज स्पेश (परिवेश) भनेको के हो, भूगोल कता पुग्यो र प्लेस (स्थान) भनेको के हो ? यिनको निर्णय गर्ने समय आएको छ । यस्ता पृष्ठभूमिमा बाँचेको जीवन र रचेको साहित्यलाई कसरी व्याख्या विश्लेषण गर्ने ? त्यसतिर मैले प्रवेश गरेको छु । यी दुई भेट हुने छुट्टिने अवधारणालाई चिनाउन ‘स्पेसल क्रिटिसिजम्’ जन्मेको छ । यसमा अरू पनि समालोचनाका नवीन शाखा प्रशाखा छुट्तैछन् । कति मूर्त जीवन जगत्का छन्, कति अमूर्ततताका छन् । नयाँ उठेका, समालोचनात्मक स्वर र प्रवृत्तिहरूको पनि उठान र परिचय प्रस्तुत गर्नेछु । यसरी मेरो उत्तरआधुनिक आयाम नेपाली समालोचना र विश्वविचारबीचको एक नवीनतम साँघु हुनेछ । ती सिद्धान्तको परिचय विश्वसाहित्यबाट आएको छ, प्रयोग नेपाली साहित्यबाट । जस्तो कि नेपाली नारीवादको नयाँ दृष्टिकोण प्रस्तुत गर्न झमक घिमिरे, पद्मावती सिंह समावेश गरेको छु । जनजातीय दृष्टिकोणको विश्लेषणमा पुष्प थाम्सुहाङ, प्रकाश आङदेम्वेहरू, टंक वनेमहरू हुनेछन् । अहिलेसम्म यसमा ९४ शीर्षकले आफ्नो स्थान सुरक्षित राखेका छन् । यो मेरा अघिल्ला प्रयत्नको निरन्तरता हुनेछ । यो नवीन समालोचना सिद्धान्ततिरको अर्काे प्रवेशविन्दु हुनेछ । यसको नाम उत्तरआधुनिक आयाम राखिएको छ । 

८) उत्तरआधुनिकताका मित्र बढी भए कि शत्रु ? बुझेर नबुझेर ? तपाईंको विवेचना ? तपाईंका उपन्यासमा तपाईंकै उत्तरआुधनिक समालोचकले के, कति र कस्तो उत्तरआधुनिकता देख्छ ? 

उत्तर ः

सर्वप्रथम त म यो प्रश्नको संशोधन गर्न चाहन्छु । उत्तरआधुनिकता भनेको वहुलतापूर्ण स्थितिको, मान्यताको सिद्धान्त हो । यसले वहुल समाजको उपस्थितिलाई पूर्वाधार मान्दछ । यसले विविधतामा विश्वास गर्दछ । अनेक अस्तित्व स्वीकार्छ, नयाँ अस्तित्वको पनि खोजि गरिरहन्छ । त्यसकारणले यसले अघिका सत्य हेर्ने, बुझ्ने, विश्लेषण गर्ने ढाँचाहरूमाथि पनि पुनरदृष्टि लगाउँछ; करेक्सन गर्दछ । वर्तमान समाज र बचाई दिनदिनै त्यसरी बदलिरहेको हो र हाम्रा सत्य विश्लेषणका आधार पनि त्यही अनुरूप बदलिरहन्छन् । सर्वप्रथम ता यसले ‘सत्य’ कि ‘असत्य’ ‘कालो’ कि ‘सेतो’, ‘नारी’ कि ‘पुरुष’ ‘काँचो’ कि ‘पाकेको’ जस्ता हाम्रा धारणाले बनाएका सत्य विश्लेषण गर्ने द्विचरतावोधक पदहरूलाई यथासम्भव विस्थापित गर्दछ । अहिले हेर्दाहेर्दै हाम्रा ‘महिला’ कि ‘पुरुष’ भन्ने महलहरू अमान्य भएका छन्; ‘विवाहित’ कि ‘अविवाहित’ पनि त्यस्तै परिमार्जनमा परेका छन् । ‘लैनो’ कि ‘थारो’ का बीचमा अरू कति स्थिति अपरिभाषित छन् ! अघि भने ‘शत्रु’ ‘मित्रु’ यो द्विचर विभाजन पुरानो सस्यूरका पालाको भाषाविज्ञानबाट प्रवेश भएको कुरा हो । जगत् केवल दुई चिरामा बुझिन्छ भन्ने भ्रान्ति । यो माक्र्सेलीले बढी चलाउने हतियार हो । ‘धनी’ कि ‘गरीव’; ‘पूँजीपति’ कि ‘मजदूर’ भने जस्तो हो । अझ उनीहरूले विभाजन गरेको साहित्य कोटी ‘प्रगतिशील’ कि ‘यथास्थितिवादी’ सर्वाधिक हास्यास्पद कुरा हो । समयले ल्याएका अनन्त स्वरूप कहाँ पुगे र त्यस्तो डग्मा रहिरह्यो । यस्ता द्विचरता भित्रका त्यसले छोपेका अनन्त प्रकृति, त्यहाँका निरन्तरता र तरलता र मेट्ने छुट्टिने बनिने रूपहरू बिर्सिने भएकाले रुढ सिद्धान्तले समकालीन यथार्थ बुझ्दैन, बुझाउँदैन । त्यसैले मैले यस ग्रन्थमा लेखनका र समालोचनाका अनेक विविध स्वरूप र सिद्धान्तलाई प्रस्तुत गर्न खोजेको हुँ । हाम्रो समयको रूपान्तरणकारी परिवर्तनमा पनि यही विविधता र वहुलताको नाराले मानिससको हृदय जितेको हो । हालै नयाँ स्वरूपको राजनीतिमा प्रवेश ग¥यौँ भन्ने ढुक्क पनि यही मान्यताले दिएको हो । त्यसकारणले ‘शत्रु’ कि ‘मित्रु’ जस्तो कोटीकरणलाई पनि भत्काएर ‘अति मित्र’ ‘पूर्ण मित्र’ ‘अर्ध मित्र’, ‘पौने मित्र’ ‘तटस्थ’, ‘अमित्र’ गरेर धेरै प्रकारले पुरानो कोटीकरणमा परिमार्जन गर्नुपर्ने दिन आएको छ । नत्र सत्य निरुपण गर्ने हाम्रो दृष्टिकोण पनि सदा स्थिर रहने छ । यसको तर्क हो, जगत् अनि यसलाई हेर्ने मान्यता निर्विकल्प छैन । अनेक आंसिकताहरूको योगले पूर्ण अर्थ वोक्तछ । परम्परालाई यसरी अर्काे कोण बाट हेरौँ, मानिएको सत्यलाई अन्य स्वरूपले पनि हेरौँ भन्ने आग्रह हो । अन्य स्वरूप मान्य हुन सक्छन् नहुन पनि सक्छन् तर अनेक दृष्टिकोण राख्न पाउने अधिकारको रक्षा गरौँ, अनेकताको रक्षा गरौँ भनिएको हो । यहाँ एउटा विचारको उच्छेदन गर्नु वा त्यसलाई मास्नु भनेको होइन, त्यसो गर्नु भनेको पनि वायोडाइभर्सिटीमा एउटा प्रजाति लोप हुनु वा गराउनु जस्तै हो । 

त्यसकारणले उत्तरआधुनिकताका सबै मित्र नै मित्र छन् । नत्र यो यति व्यापक हुने थिएन । यसले कोही शत्रु जन्माउन सक्तैन । आवश्यकता पनि छैन विविध विचारको संरक्षण गर्ने शक्तिले शत्रु देख्तैन, जन्माउँदैन तथापि अर्काे एउटा पाटो छ— यसको यथास्थितिवादी मित्रहरूसँग बारम्बार भेट भइरहन्छ । संरचनावादीसँग भेट भइरहन्छ । ती पनि मित्र हुन् किनभने तिनीहरू आफ्नो विषयभन्दा ज्यादा उत्तरआधुनिकताकै चिन्तनले गलेका हुन्छन् । रातोदिन मेरो चिन्तामा हुनेहरू सबभन्दा नजिकका मित्र हुन् । मनु मञ्जिलको एउटा कवितामा भने जस्तै । 

मकै भाँचेपछि ढोड मकाउन पनि निकै समय लाग्छ । नेपालमा त्यो स्थिति छ । पुरानो नाभो विचार पनि पलाइहाल्न खोज्छ तर सक्तैन । अब अर्काे बालीको मौसम लागिसक्यो । कोही अझै नाभोमाथि मलपानी गर्दैछन् । त्यसैले होला पाश्चात्य जगत्मा संरचनावादलाई एक प्रकारको रुढाीवाद भनेका छन् । यो जडतामा परिणत भइरहेको छ । 

तर हामीले यस्तो स्थितिको चिन्ता गर्नु पर्दैन । सबै काम समयले गर्छ । प्रत्येक साल जङ्गलमा पसेर सउरका बोक्रा कसले उक्काएर झार्छ ? बासको ताँमाबाट खवटा कसले खुस्काउँछ ? आफैँ प्रकृतिले । उत्तरआधुनिकता यस्तो नियमित परिवर्तनमा, क्रमिकतामा, निरन्तरतामा, नवीनतामा विश्वास गर्दछ, त्यसउसले जगत् यो तीब्र गतिको पछि छ, स्थिरता पूजकहरूको समय समाप्त भइसकेको छ । 

त्यसो भएता पनि अझै एकथरीहरू यथास्थितिका प्रशंसक छन् । उनीहरूलाई उत्तरआधुनिकता अप्रिय लाग्नु आश्चर्य होइन, अनिवार्यता हो । त्यसो गरेर उनीहरू समयसँग आफैँ विदा माग्दैछन् । तर म भनिरहेको छु आउनुहोस यो परिवर्तनशील समयभरि एकछिन सहयात्रा गरौँ । फेरि त्यसपछि ता आ–आफ्नो मार्ग छँदैछ । 
मेरो उपन्यासमा मैले उत्तरआधुनिकता देखिदिनोस भन्नु पनि भएन । त्यसरी भनाउन पनि चाहन्न । भन्नु आवश्यक पनि छैन । म त्यस्तो जडविन्दुमा रमाउन चाहन्न । फेरि कुनै कृतिले सिद्धान्तको भार बोकेर आउँछ भने ठान्नोस्, त्यसले आफ्नो काल आफैँ ल्यायो; त्यो कालले सिद्धान्तको निर्माता÷व्याख्यातालाई पनि खाइदिन्छ । प्रत्येक द्रष्टाले आफ्नो दर्शनले हेरोस, जीवन दृष्टिले बुझोस् भइहाल्छ । म ता भन्छु— यो कतिको नेपाली उपन्यास छ, त्यसको जोखाना हेरिदिनोस् । यो मलाई लागेसम्म गहिरो छ । सतहमा केवल युद्ध तज्जन्य हतासा र जीवन अस्तित्व माथिको चिन्तन छ । पात्र पश्चिम फर्किन्छ, पूर्व फर्किन्छ जगत्को नश्वरता हेर्छ, निरन्तरता हेर्छ । जीवनको महत्व अनन्त देख्छ, क्षणभङ्गुर देख्छ । यो स्तर बुझ्न कतिलाई गारो छ । तर सतह बुझिने छ । कथा सरल छ । प्रेम छ, युद्ध छ, आकाङ्क्षा छन्, मनोवल छ, विकृति छन्, कुण्ठा छ, उद्धेलन छ र अन्त्यमा निराशा छ; स्वविवेकमा मानिसले आफ्नो भाग्यको निर्णय गर्नु परेको छ अनि अनन्तले आत्महत्या ग¥यो कि गरेन भन्नै नसकिने स्थिति–रहस्य छ । यो अनिर्णित कला हो । साँच्चो कला सधैँ मुक्तान्त हुन्छ । थप्न घटाउन सकिने जीवन अँध्यारो उज्यालो सबै छ, हेरेको देखिन्छ भन्ने हो । देखिएजति बुझिन्छ भन्ने हो । धेरैले समीक्षा गरेका छन्— प्रा. अभि सुवेदी, मोहनराज शर्मा, लक्ष्मणप्रसाद गौतम, कुमार कोइराला, ज्ञानु पाण्डेहरूले हेरेको दृष्टिमा म सन्तुष्ट छु । सबैको योगले यो उत्तरआधुनिक प्रमाणित छ । समकालीन विश्वको कुनै एक सफल आख्यानझैँ छ यो अङ्ग्रेजीमा लेखेको भए खालिद हुसेनीको द काइट रनरलाई जित्ने थियो होला । अझै त्यहाँ के कति दर्शनका झिल्काको अर्थ बुझ्न समय लाग्न सक्छ । पाठकहरू त्यसतिर भिजेको पनि हुनुपर्दछ, नत्र यो पाटो छेलिन्छ । 

मेरो प्रयत्न उपन्यासमा उत्तरआधुनिक सिद्धान्त प्रदर्शन गर्नु थिएन । कलाले सिद्धान्तलाई कतिको छोप्न सक्छु भन्ने प्रयत्न थियो । त्यो यथासम्भव गरेँ । तीन घुम्तीमा कही पनि फ्राइड अथवा युँग छैनन् । त्यसको लागि आख्यान सिर्जनाका स्वैरकल्पना लगायतका नवीन अरू केही टेक्निक आएका छन् । यसको भ्रमपूर्ण यथार्थता एक प्रायोजित सर्वोपरी कला हो । यो कृति नै प्रयोग उपन्यासको एक स्वरूप हो ।
यसको लागि विश्वमा उठेका केही नयाँ विश्वाससँग खेलेँ । तर हेर्नेले मेरा सबै प्रयत्न देख्ने छैन । आफ्नो संज्ञानले भेटेभरीको मात्र देख्छ । 

९) समकालीन नेपाली साहित्यमा उपन्यासलेखनबारे यहाँको धारणा ? 

उत्तर ः

यो अत्यन्तै खुला, मुक्तान्त प्रश्न भयो । लेखन, प्रकाशन, पठन, प्रवृत्ति, धार, दिशा, अनुवाद कुनै कुराले छेकेन । जता गए पनि हुने जस्तो देखियो ।

उपन्यास लेखनको वर्तमान स्थितिप्रति म अत्यन्तै सन्तुष्ट छु । यसको कारण प्रष्ट छ समसामयिक लेखनमा परम्पराभन्दा अत्यन्तै भिन्न प्रकृतिका, आयामका, दर्शनका नेपाली जीवनलाई विविधपक्षबाट उद्घाटित गर्ने विविध प्रयोगका उपन्यास एकैचोटि, ठूलो सङ्ख्यामा आएका छन् अझ आउँदैछन् । लेखनको स्तर भिन्न र अभिरुचिकर हुँदैछ, लेखकको क्षेत्र सीमाहीन भूगोल हुँदैछ । नारी आए, बालबालिका आए मातृभाषामा लेख्ने आए, अङ्ग्रेजीमा सिधै लेख्ने आए, अनुवाद गराउने आए । सबैभन्दा ठूलो सङ्ख्यामा पाठक बढेको छ । राम्रो आख्यानले बजार पक्रिन थाले । संस्करणहरू आउन थाले । इलेक्ट्रोनिक संस्कृतिको यत्रो प्रभावमा पनि पढ्ने संस्कृति झन बढेको छ । वर्तमान विश्वसाहित्य आख्यानतिर छ; अधिकांश पुरस्कार आख्यानमै छन्, पाठक पनि त्यतै । मैले यो कुरा २०६७ पौष २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत गरेको नेपाली आख्यानमा समकालीन चेतना शीर्षक कार्यपत्रमा प्रष्ट पारेको छु । यो धेरै मात्रामा आख्यानले गर्दा हो, यद्यपि नेपाली साहित्यकै सर्वाङ्गीण स्तर धेरै माथि उठेको छ । सर्वाङ्गीण भन्नाले लेखन, प्रकाशन, वितरण, विमर्श, सबैकुरा ।

मैले उपन्यास लेख्न थाल्दा पठनीय राम्रा उपन्यासको सङ्ख्या १०–१५ मात्र थियो । आज रुपमतीदेखि लिएर कर्णाली ब्लूजभित्रका पठनीय कृति छान्दा पनि २०० नाघ्यो होला । अबको ती विविध क्षेत्रका, व्यक्तिका, थिमका, शैलीका छन्, पाठकले पढ्न पाउँछ । अब नेपाली आख्यानले विविध रुची र स्तरका पाठकलाई सन्तुष्टि प्रदान गर्न थालेको छ । यस कर्ममा वर्तमान दशक झन ज्यादा समर्पित भएर लागेको छ । यसको एक कारण के छ भने साहित्य लेखन पनि तीब्र प्रतिष्पर्धामा छ । यसको कारण छ, हाम्रा नयाँ पाठक कतिपय एसियाली र अरू विश्वस्तरका बेष्टसेलर अनि विशिष्ट क्लासिक आख्यान कृतिबारे तुरुन्त सूचना प्राप्त गर्दछन्, अङ्ग्रेजी माध्यममा उपलब्ध हुनासाथ पढिहाल्छन् । पत्रिकामा आउने बुक रिभ्यूबाट थाहा हुन्छ । रत्न पुस्तक, मन्डला, एकता, एजुकेशनल अझ ठमेलको पिल्ग्रिम्स जस्ता बुकशपतिर हेर्दा हुन्छ । त्यो विशाल अङ्ग्रेजी पुस्तकको भण्डार, ती क्रेता पाठक— त्यो पनि समकालीन नेपाली उपन्यासको एक पक्ष हो । त्यताबाट पनि हामी प्रभावित छौँ । 

मेरो एउटै चिन्ता छ । व्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रयत्न कसैले नगरोस । विश्व नयाँ उदारवादले सिञ्चित छ; यो तानाशाहीको निर्मूल भैरहेको दशक छ । पूर्वी युरोपसमम भयो; पहरो जस्तो अरबमा आगो सल्कको छ । फेरि कुनै व्यक्ति अथवा पार्टि अधिनायक इच्छा बोकेर सत्तातिर अघि नबढोस् मानिसलाई स्वप्न बगैँचातिरको यात्रामा नलैजाओस धेरै भो युटोपियामा बनेको त्यो महल पनि सर्वत्र ढलिसक्यो । हाम्रोले यो कति थाम्छ र ?

राजनीतिले जीवन प्रभावित हुन्छ । लेखन पनि हुन्छ । त्यसो त सच्चा स्रष्टा सधैँ स्वतन्त्र र अप्रभावित आफैँ आफ्नो विचारको निरङ्कुश वा नियन्त्रक सञ्चालक पनि हुन्छ । परन्तु साहित्यभन्दा राजनीतिक आकाङ्क्षा ठूलो भनेर बन्दुक छेउमा उभिन थालेपछि धेरैले त्यसैको गीत गाउँन थाल्छन् । नारा र घोषणापत्र लेख्तछन्— उपन्यासमा, कथामा, नाटकमा । त्यसरी साहित्य मारिन्छ । यस्तो स्थिति नेपालले अत्यधिक मात्रामा भोगेको छ । अझैँ पनि एकथरी छन् जसले घोषणपत्रमा रङरोगन गरेर अत्तर छर्केर साहित्यमा बिक्रि गर्दछन् । यो दासत्वको खेतीले साहित्यलाई मार्छ, साहित्यकारलाई पनि । यो सर्वाधिक ठूलो चिन्ता हो । यस्तो स्थिति नआओस भन्नका लागि बहुल विचार, बहुल कला, बहुल प्रतिभा, चिन्तन दर्शन, भाषा, संस्कृति सारालाई स्वतन्त्रता उपभोग गर्ने वातावरण चाहिन्छ । मानवको लागि यो परिस्थिले प्रकृतिको वायो–डाइभर्सिटिको काम गर्छ । 

यतिबेला साहित्यकारका कर्तव्य दुईवटा हुन्छन्— सर्वसत्तावादले अतीतमा कति स्रष्टा चिन्तक विचारकलाई समाप्त पा¥यो; बँचेकाहरूले कसरी कुन त्रासमा लेखे— त्यो कुरा हाम्रा स्रष्टालाई बुझाइदिनु पर्दछ । दोस्रो कुरा अधिनायकवादले जुन कुरालाई साहित्य संस्कृति भनी प्रचार ग¥यो ती सत्ताहरू पतन भएपछि ती नाम निशाना नरहने गरी कुन माटामा बिलाए त्यो खरानीको डङ्गुर पनि देखाइदिनु पर्दछ । त्यो कुरा नयाँ समयलाई पनि पढाउनु पर्दछ । यसले गर्दा अमर साहित्य र भ्रमिकताको बीचको भेद हरेक पाठकलाई, हरेक साधकलाई थाहा हुन जान्छ; हुनुपर्छ । 
साहित्यकारको कर्तव्य हरेक निरङ्कुशताको विरोधमा उभिनु हो— र अनिर्देशित सिर्जना गरिरहनु हो । अभिव्यक्ति स्वतन्त्रतालाई स्वतस्फूर्त र निर्वाध हुर्काउने वातावरणको लागि लड्नू हो । राजनीतिले साहित्यलाई अनुगामि ठान्नु हुँदैन; साहित्यकार सबैभन्दा ठूला, माथि, अमर र युगानुयुगको मानवकल्याणका स्वप्नद्रष्टा हुन् । 

यस्तोमा साहित्यकारको हस्तक्षेप कहाँनेर हुन्छ भने आफ्नो स्वतन्त्र विचारमाथि अन्यको हस्तक्षेपको प्रतिरोध गर्नु; त्यतिबेला साहित्यकार केवल कला साधक मात्र होइन ऊ एउटा सचेत विचारक पनि हो विचारको संरक्षक पनि । उसले व्यक्तिसत्तालाई स्वायत्त राख्न सिक्नुपर्छ, सक्नुपर्छ, क्षणिक नारा र युगान्तकारी सत्यकलाको बीचमा हुने भेदहरू उसले थाहा पाउनु पर्छ । 

नेपाली साहित्यमा अधिकांश रचना निर्देशित छन् । त्यो दलीय साहित्य हो; विचारलेपन हो; वा त्यसको विज्ञापन हो; अघि लेखिने प्रशस्तीगान जस्तै कुरा हो । ती व्यक्तिगत हुन्थे यी दल–पुजामा हुन्छन् । त्यहाँ व्यक्तिसत्ताको अस्तित्व नभएर निर्देशकको मात्र हुन्छ । साहित्यको खोलमा ती सर्वाधिक उत्पादन हुने, सर्वाधिक नपढिने उत्पादन हुन् । समयले त्यसलाई मेटिरहेको हुन्छ । पूर्व प्रायोजित संरचनामा शव्दहरू भरिएता पनि कलारहितताले यो अनाकर्षक हुन्छ र कल्पनाले सत्यहरू उदघटित हुने संभावना हुँदैन । यो तात्कालिक तुष्टि र प्राप्तिको माध्यम हुनसक्छ तर मानिसले साहित्यमा कालातीत सन्देश, शक्ति सौन्दर्य र जीवन्तता खोज्दछ । 

मैले पढेजति साहित्यमा एकथरीले यही साश्वत मूल्यको लागि लेखेका छन् । इतिहासले मेट्न नसक्ने कालातीत सैन्दर्य र सन्देशको लागि रचेका छन् । त्यतिले मात्र पुग्दैन युगीन सत्यप्रति निष्ठावान भएर लेखेका छन् । नेपाली साहित्यमा पढिने भनेको त्यस्तै अनिर्देशित र स्वस्फूर्त र विविधतापूर्ण कृति नै हुन् । प्रायोजितहरू पनि बलात् पढिएलान वा पढाइएलान् तर त्यसको साहित्यमा कुनै प्रयोजन छैन, कुनै महङ्खव छैन, त्यसले कुनै योगदान पु¥याउँदैन । त्यस्ता कृति इतिहासको बतासले उडाउने सुकेका पात मात्र हुन् । 

यसै सन्दर्भमा एउटा कुरा थप्न चाहन्छु— सबै सिर्जनाको आधार दर्शनले छोएको हुन्छ; हुनुपर्छ; साहित्यकारले यो सृष्टि र मानवको कसरी व्याख्या गर्दछ, कसरी बुझेको छ, उसको संज्ञान के कस्तो छ, त्यसले लेखनमा गहिरो प्रभाव पार्दछ । सिर्जना भनेको केवल दैनन्दिन, केवल पार्थिव, केवल तात्कालिक होइन । स्रष्टाको ध्यान भौतिकतामा ज्यादा गढेछ भने उसले लामो बाटो देख्ने क्षमता पनि गुमाउँछ । ऊ समाजको एक भोक्ता भएर पनि उसको द्रष्टाले एउटा भिन्न र स्थिर मूल्यको आध्यात्मिक जस्तो दर्शनले भिजेको जगत् पनि चिनेको बुझेको हुुनुपर्छ । ठूला स्रष्टामा दैवी झिल्का र प्रकृतिको वरदान प्राप्त हुने त्यसै होइन । उनीहरूको ध्यान टाढाको अगम्यतातिर पनि हुन्छ । बाल्जाकका ह्युगोका उपन्यास हेरौँ; टाल्सटायका; हार्डीका र हेस्सेका हेरौँ । 

१०) तपाईं लेख्नुहुन्छ, किन ? सम्पन्नता, ख्याति, अमरत्व ? (स्वान्तसुखाय वा पाठकका लागि, क्रान्तिका लागि, सामाजिक रूपान्तरणका लागि र अन्य, यिनलाई यस सन्दर्भमा छोडिदिऊँ) ।

उत्तर ः 

आफ्नो अनुभवले मलाई भन्छ— सिर्जनाको आरम्भ वाल्यावस्थामा वा तारुण्यमा हुन्छ भने त्यहाँ अवोधता मात्र हुन्छ । उसको साहित्यिक प्रस्थान विन्दु निरुद्देश्य र केवल कौतुहलले भरिएको हुन सक्छ । (मलाई त्यस्तै भएको थियो ।) कुनै कविता सुनाइएला, गीत गाइएला छोटा निबन्ध चुट्किला, आरम्भ यस्तै हुन्छ । मनमा उपन्यास, कथा नाटक समीक्षा आएकै हुँदैन । त्यसबेला अलिकति आत्मप्रकाशनको आकाङ्क्षा हुन्छ त्यो नजानिदो गरी तर त्यसबेला यसबाट उपार्जन हुने अमरत्व प्राप्त गर्ने आकाङ्क्षाले वा अन्य ठूलो लक्ष्यले आकार लिएकै हुँदैन । विस्तारै क्रमिक रूपले यो कला रहेछ यो कलापूर्ण हुनुपर्छ भन्ने वोध भएपछि मात्र स्रष्टा त्यता अकर्षित हुन्छ । तर त्यस्तो अंकुरण हुन खोज्ने सिर्जनाको अनुभूतिलाई हुर्काउन कति मुस्किल छ— योग्यताले सामान्यज्ञान बढ्दै जानु प¥यो, अन्य कृतिले शैली आदि सिकाउँदै लानु प¥यो; शव्दकोष, व्याकरणले भाषिक स्तर उठ्तै जानुप¥यो । धेरै मल पानी, प्रकाश, दवाई, कीटनाशक छर्केपछि, एक भिन्न परिवेशले श्पर्श गरेपछि मात्र लेखक सुदृढ र बलियो बोट हुँदै जान्छ । आत्मवल र उत्साह थपिँदै जान्छ । यस्तो अवस्थामा पुगिन्जेल पनि प्रकाशित हुने इच्छा, अभिव्यञ्जनाको तिर्खा— मात्र पसेको हुन्छ । एउटा विरुवा बढेर फल लाग्ने बोट हुन कति लाग्छ, त्यस्तै हो साहित्य पनि । 

सिर्जना भनेको सानो वालकले हिँड्न सिकेझैँ लड्दै उठ्तै गरेर सिकिने कला हो तर सम्पूर्ण ध्यान त्यसैमा समर्पित नगरी यसमा उन्नति हुँदैन । उपलब्धी हुँदैन । यसबाट अरू प्राप्ति हुन सक्छ— यश, कीर्ति, अर्थोपार्जन तर त्यो स्थितिमा पुग्न धेरै वर्ष लगानि गरेको हुनुपर्छ । पछि सफलता प्राप्ति सँगै, पाठकले, प्रकाशकले पत्याउन थालेपछि मात्र अरू आकाङ्क्षा थपिने हुन्— ख्याति आर्जन हुन्छ, सम्पन्न पनि हुँदै गइन्छ र ती कर्मले अमरत्व स्वयम् सुनिश्चित गर्छन् तर त्यो स्थितिमा पुग्नु भनेको परिपक्व लेखन प्रदर्शन गर्न थालेपछिको कुरा हो । त्यसको निम्ति लामो तपस्याको आवश्यकता पर्छ । अध्ययनको असीमितता र अन्तस्करणको परिशोधले मात्र केही उज्यालो ल्याउन सक्छ । त्यही प्रकाशमा अभिव्यक्त कला नै सिर्जना हो । 

सिर्जनामा शक्ति हुन्छ भन्ने वोध भएपछि मात्र यसलाई हतियारको रूपमा प्रयोग गर्ने इच्छा जागृत हुन्छ— शिक्षाको लागि, मनोरञ्जनको लागि, चेतनाअभिबृद्धिको लागि सामाजिक राजनीतिक रूपान्तरणको लागि । त्यो स्थितिबोध हुन, त्यसको लागि आफूमा क्षमता भर्न बीचमा लामो, अविच्छिन्न तपस्या चाहिन्छ ।
डायमण्ड शमशेरको वसन्ती, सेतोबाघ, सत्प्रयास सबैले एउटै उद्देश्य प्रस्तुत गर्दछन्— प्रजातन्त्र अर्थात् संसदीय व्यवस्थाविना हाम्रो समाजले सधैँ अन्याय र अत्याचार खेपिरहनु पर्नेछ । वीपी कोइरालाको तीन घुम्ती, सुम्निमा आदिले मानव मनको दमित इच्छा, त्यसको अभिव्यक्ति र विभिन्न स्वरूप दखाउने अन्तरजगत्केन्द्र प्रकटीकरण भएझँै अर्कातिर व्यक्तिकेन्द्र भन्दा टाढा रमेश विकलको अविरल वग्दछ इन्द्रावतीमा समाजिक परिवेशमा अवोध नागरिकको जीवन तल माथि हुने वैषम्य चित्र; शोषण उत्पीडन देखाउँछ, मदनमणि दीक्षितको माधवीमा प्राचीन युगको समाज–सभ्यताको पुनरावलोकन, पारिजातको शिरीषको फूलमा अस्तित्वबोध, ध्रुवचन्द्रको बाढी वा घुर्मीमा जीवनवृत्तको नयाँ कला । पद्ममावती सिंहको समानान्तर आकाशमा समकालीन नारीका व्यक्तिगत तथा सामाजिक उद्वोधन चिन्ता र आक्रोश । यसरी पछि गएर प्रत्येक कृतिले एउटा व्यापक उद्देश्य बोक्ने रहेछ । यसरी हेर्दा सिर्जना भनेको कुनै उद्देश्यको प्रकटिकरण हो । तर यसमा अनेक पक्ष मिसिएका हुन्छन् । फेरि पनि म बोल्न चाहन्छु । आज यही रोकिन दिनोस् । 

२०६८ कार्तिक १५
ट्याङ्लाफाँट, कीर्तिपुर

(समकालीन अन्तर्वार्ता २०६८)

2 comments:

  1. A must read for fiction writers, critics and novelists. Deep insights and profound thoughts. i feel truly enlightened.

    ReplyDelete
  2. Hello! My first visit, will visit you again. Seriously, I thoroughly enjoyed your posts( really interesting blog). Would be great if you could visit also mine...Thanks for sharing! Keep up the fantastic work!

    ReplyDelete