देवकोटा जयन्ती सम्पन्न
भइसकेपछि हामीले शिलाङका विविध व्यक्तित्वसँग भेट गर्यौँ, वार्ता गर्यौँ तस्वीर खिच्यौँ र बिदा भयौँ । मलाई लिन सलील
ज्ञवाली सुपुत्र सारंग उपस्थित थिए । हामी हिँड्दैहिँड्दै झालुपाडास्थित ज्ञवाली
निवास पुग्यौँ । बहिनी गंगाले स्वागत गर्नुभयो; सलील भ्राता शरद पनि आउनु भयो सलीलभाइ भने दिल्ली पुगेका
थिए । शरदभाइसित एकछिन वार्ता गर्यौँ । कृष्णप्रसाद ज्ञवालीका सुपुत्रहरू
उनीहरूको परिवारसँग हुने भेटघाटको ऐतिहासिक महत्त्व छ । यो उनै कृष्णप्रसाद
ज्ञवालीको घर हो जसका दुईवटा निबन्ध अंग्रेजीमा अनुवाद गर्ने मलाई अवसर प्राप्त
भएको थियो; ती निबन्ध हुन्— परेवाको कलरव र पिपलको
छाहारी । ती अनूदित रचना सेलेक्टिड नेपाली एसेज (२००३) मा
परेका छन् । यसपालि ता भर्खरै (२०१३) मा उनै कृष्णप्रसाद
ज्ञवालीबारे साहित्य अकादेमीले भारतीय साहित्यका निर्माता सिरिज अन्तर्गत
एक पुस्तक प्रकाशित गरेको छ । यो देखेर मलाई बडो हर्ष र गौरव लाग्यो । त्यसो त
अकादमीले यस्तो सिरिज अन्तर्गत काशीबहादुर श्रेष्ठ, शिवकुमार राई, लीलबहादुर क्षेत्री, मास्टर मित्रसेन
लगायतका नेपाली प्रतिभालाई भारतीय (नेपाली) साहित्य स्रष्टाको रूपमा गरेको
सम्मान सानो होइन । यसबाट हामी सबैतिरका नेपालीभाषीहरू गौरवान्वित छौँ । मैले तत्कालै
पढेँ ७२ पृष्ठको पुस्तकमा श्री नरबहादुर राईकृत भारतीय साहित्यका निर्माता
कृष्णप्रसाद ज्ञवाली गम्भीर मुद्रामा बसेका छन् । उनी पनि गोपीनारायण प्रधान जस्तै
दौरा सुरुवाल लगाएका पातलो अनुहार औ चस्मा धारण गरेका उमेरदार कृष्णप्रसादको
तस्वीरमा देखिन्छन् ।
कृष्णप्रसाद ज्ञवाली
भारतीय साहित्यका निर्मातामध्ये पहिलो पुस्ताका नेपाली हुन् । पहिलो
पुस्ताकाहरूको सिर्जनामा अगमसिंह गिरीझैँ, वीरेन्द्रझैँ कृष्णप्रसादले पनि यता मूलभूमि नेपालको पनि
स्मृति राखेर सिर्जना गरेका छन् । एक प्रकारको गृहविरहले आतूर पुस्ता दुवै भूमिमा आफ्नो
जीवन टाँगेर बसेजस्ता लाग्दछन् । अघि यस्तो थियो । आजको कुरा त्यस्तो छैन । भारतीय
नेपालीले आफ्नो जन्मभूमिमा गरेका योगदान, तीप्रतिको श्रद्धा र प्रेमले अभिभूत भै लेखे–गरेका छन् । सलील
ज्ञवालीको ग्रेट माइण्डस् अन् इण्डिया हेरौँ, उनी भारत भूमि र
भारत माताप्रति समर्पित छन्, अझ गीता उपाध्यायको मेरो जन्मभूमि मेरो देश पढेपछि
२०० वर्ष यता त्यस भूमिको आराधनामा बितेका नेपालीको आत्मा थाहा पाइन्छ । यता
सिक्किम दार्जिलिङको कुरा अझ गहिरो छ । उनीहरू अझ आफ्नो भूमिसहितै त्यता पुगेका हुन् । यस्तो
भावना र परिस्थितिको अर्थ बुझाउन अगमसिंह गिरीको नौलाखे तारा उदाए
अथवा वीरेन्द्रको नेपाल आमासित पढ्दा हुन्छ । यसै प्रसंगमा पूर्वोत्तरको कृष्णप्रसाद
ज्ञवाली विरचित एक अमर रचना काली गण्डकीको तीरमा यहाँ प्रस्तुत
गर्न चाहन्छु ।
बग्छ्यौ सल्ल हिमालबाट हिउँको पानी समेटीकन,
घुम्दै आउँदछ्यौ रमाइ रिडिमा के खोज्नलाई भन ?
सानै थेँ जब लौ म त्यो बखतमा यै बालुवामा बसी,
हेर्थें विस्मयसाथ भेल जलको ल्याएर नौलो खुशी ।
आमाले जब सुस्त
न्वाउन भनी पक्रेर यी पाखुरा,
लैजाँदा म
डराउँथें अरू कती बिर्सें बितेका कुरा ।
आएँ लौ परदेशबाट
घरमा बर्सौं बिताई जब
आजै ज्ञात भयो
मलाई रिडिको हुत्त्याइछौ वैभव ।
सारा झन्झट त्यागि
फेरि घरको बिर्सेर माया पनि,
यौटै लक्ष्य लिएर
तीर्थ–व्रतमा ज्यानै
दिने भक्तिनी ।
ती सारा भइ निःसहाय
यहि नै गर्दै खडा झोपडी,
कालीकै जल नित्य
आच्मन गरी बस्थे बरा हर्घडी ।
यिन्का यी कुटुरा
र बत्ति बुकुरा जम्मै बगाईदियौ,
त्यो बेला किन
उग्र रूप तिमिले देखाउँदै जिस्कियौ ।
उठदैनन् प्रतिशोध
निम्ति बिचरा बन्लान् बरू व्याकुल,
दैवी कोप भनी
बुझाइ मन ती बस्छन् यही निश्चय ।
जोगी नित्य धुनी
जगाइ तिरमा सानन्द बस्थे यतै,
तिन्को सञ्चित त्यो
खरानि र मुढा, चिम्टा लगीछौ कतै
छैनन् देख्तिनँ आज
फेरि किन हो तिम्रो किनारामहाँ,
चिल्ला पत्थर ती
जहाँ म उहिल्यै बस्थें, गए हुन् कहाँ ।
टाढाबाट हिंडेर
आइ बटुवा चौतारिमा पुग्दथे,
चूह्लोलाई पकाइ–खाइ रुखको यै
आडमा बस्दथे ।
साझा ती सबका थिए
नि सरिते, व्यर्थै जरा सब्
खन्यौ,
पल्टायौ किन
वृक्ष त्यो दिन तिमी या कालिका नै बन्यौ ।
पल्टेछन् बहुतै
उँचा घर जहाँ आराम गर्थे धनी,
पौवा–पाटि र ठाँटिको त
अहिले अस्तित्व नै छैन नि !
भत्केछन् मठ ती कला
उ जुगको साक्षी थियो मेटियो,
साना ती टहरा त के
गरि बचुन् त्यो पाठशालै गयो ।
साहूको रिन तिर्न
आउँछ कुनै झुक्किन्छ आसामि त्यो,
ल्याएको दुई
पात्रको दुध–दही उस्को घरै
फर्कियो ।
उस्ले देख्दछ
साहुको घरनिरै नाङ्गा निकै प्रस्तर,
आखीरी गति यै
रहेछ सबको भन्दै गयो पल्तिर ।
बाजे फेरि
बराज्युका सब जले यै जल्नु मेरै पिता,
हेर्छू आज टुलूटुलू
म यसरी जल्दो कसैको चिता ।
मेरो जीवन–दीप पिल्पिल हुँदा
घस्री यतै आउँला,
पक्कै अन्तिम वास
बस्न यहिं नै काली म के पाउँला? ।
त्यो रात सलील भाइको घरमा
आफ्नै घर पुगेको जस्तो भएँ । परन्तु शिलाङ घुम्ने हेर्ने डुल्ने समय निकाल्न नसकी
फर्किने मानसिकता लिएर म सुतेँ । एउटा सिरकले पनि वस गर्न नसक्ला जस्तो जाडो थियो
तर गलेर होला रात बेहोस जस्तो भई बिताएँ ।
११
नोबेम्बर २०१३
बिहानै उठेर गंगा बहिनीले मेरो निमित्त तयार पार्नुभएको
सुख्खा रोटी, साग र दूध सेवन
गरेँ अनि बिदा मागेर सारंग र म पुलिशबजार लाग्यौँ । निकै टाढा छ; झालुपाडाबाट ट्याक्सी पक्रेर
पुलिशबजार पुग्यौँ । ससाना गाडी र ट्याक्सीहरू प्रतीक्षामा थिए परन्तु चिसाले गर्दा
होला यात्रीहरू जम्मा भएका थिएनन् । गुवाहाटी आउन हतारिएका विक्रम तिम्सिना र एक
बंगाली भाइ प्रतीक्षारत थिए । प्रतिव्यक्ति ४०० तिर्ने शर्तमा एउटा कार वन्दोवस्त
गरेर त्यसमा उड्यौँ । मलाई त्यति हतार थिएन तर पनि यथा समयमै गुवाहाटी पुग्न पाए
हुन्थ्यो भन्ने पनि थियो ।
बिहानको शिलाङ, मान्छे लडाउने
हुन्थ्यो होला त्यसमाथि आजको आकाशमा बादलको एक टुक्रा नराखी त्यो सङ्लिएको थियो ।
आकाशसँग जोडिएको शिलाङमा तर वातानुकुलित वाहन भित्र पसेपछि केही पत्तो पाइएन । सलल–बगेको मात्र थाहा
पायौँ । एकैछिनमा सुन्दर तालहरू आए अनि बोट वृक्ष बाँसघारी शितले नुहेका जंगल पार
गर्दै, सूर्योदयले भर्खर दीप
जलाएको पथमा यता जंगल वृक्षहरू, उता जंगल वृक्षहरू, लहरा र झाडीले टम्मै ढाकेका वनस्पति घारीमा नुहेका बाँस र
आकासिएका सुपारीका बोट कति मनोहर । कताकति वस्ती आवास फेरि सुनसान, वाहनहरू भर्खरै
चल्न थालेका, मार्ग बिस्तारको
प्रयत्न चलिरहेको ठाउँमा कतै कुनै ढुङ्गा फोर्ने विशाल यन्त्रहरू पुनः सुनसान
चिर्दै हामी कतै नबिसाई उडेको उड्यै गर्यौँ । कारण हाम्रा तेस्रा सदस्य बंगाली
बाबुलाई कार्यालय भेट्न गुवाहाटी पुग्नुथियो ।
त्यस्तै तीन घण्टा लाग्यो होला— मित्रहरूसित
बिदा मागेर म गुवाहाटी महानगरको पूर्वी मुख नजिक ओर्लिएँ । केही समयको प्रतीक्षामा
आफ्नो गाडी हाँक्तै विद्वान् भाइ आइपुग्नुभयो । डा. खगेन शर्मालाई म यसरी सम्बोधन
गर्दछु । गुवाहाटीको भारतीय भाषा संस्थान* मा कार्यरत भाइ
शर्मा अत्यन्तै विनयशील एवम् सहृदयी हुनुहुन्छ ।
उता बहिनी अनुपा शर्मा
अश्वस्थ, एक्लो मानिस
तथापि मलाई आफ्नो आवास भएको स्थान कोलोनी पुर्याउनु भयो । अस्ति सेवा–अञ्जनाले पनि
उहाँबाटै यसरी सहयोग प्राप्त गरेका थिए । उहाँको पशुपति अपार्टमेन्टस्थित रानी
बगान हाउजिङको फ्ल्याट नं. २०३ मा चढ्यौँ । चारतला लिफ्टमा । भारतीय
अपार्टमेन्टहरू मन–मैत्री लाग्छन्, पश्चिम र
अन्यत्रका आकासिने विशाल अपार्टमेन्टतिर निसास लाग्ने एकान्तिकता हुन्छ ती भयप्रद
हुन्छन् । उहाँ बसेको त्यस्तो छैन । आज एक प्रकारको न्यानोपना अनुभव गरेँ । भाइको
पढ्ने लेख्ने कम्प्युटर–कोठा, राम्रो किचेन, बेड र
स्नानागारहरू– भइगयो चार जनाको
यो नागर जीवनमा । बिस्तारै समकालीन जीवनले परम्परित श्पेशहरू त्याग गर्दै नयाँ
श्पेसमा अभ्यस्त हुने दिन आएका छन् । यहाँ तुलसाको मोठ, सयपत्रीको बोट, सानो पुष्प
उद्यान वा जलाशय छैन । बिस्तारै मानिसलाई प्रकृतिविमुख हुन समयले सिकाइरहेको छ; बिस्तारै ऊ
कृत्रिम जगत्मा बाँच्ने अभ्यास गर्दै ननप्लेशेजमा पस्तै छ ।
त्यहाँ दुईघण्टा बस्यौँ; सर्वप्रथम मैले
उष्णजलले स्नान गरेँ, कस्तो आनन्द, जिउ मेरो चङ्गा
भयो । त्यसपछि केही प्राज्ञिक वार्ता गर्यौँ र विशेषगरी लीलबहादुर क्षेत्रीको
अभिनन्दन ग्रन्थको प्रारुप तयार गर्यौँ, योजना बनायौँ र छलफल गर्यौँ । गर्दागर्दै निकै टाढाको
मालिगाउँस्थित देवकोटा नगरदेखि श्री नवसापकोटा र भाउजू मुन्नी सापकोटा आइपुग्नुभयो
। प्रेमले भेटघाटको उद्देश्यले उहाँहरू त्यसरी आइपुग्दा म अति प्रशन्न भएँ ।
विशेषगरी लीलबहादुर क्षेत्रीको अभिनन्दन ग्रन्थको प्रारूप तयार गर्यौँ । त्यसपछि
बहिनी अनुपा अस्वस्थ भएपनि एक भाञ्जीको सौजन्यले निर्मित भारतीय प्रकृतिको आत्मिक
चियानास्ता ग्रहण गर्यौँ । त्यसपछि विद्वान् भाइसित बिदा मागी म
नवदाइको गाडीमा चढेँ । गुवाहाटी शहरको पश्चिमतिर निकै लामो समय भनौँ आधा घण्टा नाघेपछि अलि
ग्राम्य परिवेश लाग्ने सबर्बन क्षेत्रमा पुग्यौँ । बाक्लै जंगल नरिवल सुपारी एवम्
वृक्षहरू भित्रभित्रै बनेका घरहरू वरिपरि बिस्तारै उठेका थुम्का पर्वत हेर्दै हामी
अलिकति उकालो जस्तोमा रोकियौँ । ओर्लेर हेर्दा बाटैमा जोडिएको ‘कविता कुन्ज’ थियो; त्यो नै श्री नव
सापकोटा दाइको आवास थियो ।
धेरै ठूलो महल, बाहिर अग्लो
तुलसाको मोठ अनि सुन्दर फुलबारी वनसँग जोडएको अन्तिम गृह थियो । घर पातला थिए ।
त्यहीँ नै विश्राम गर्यौँ,
वार्ता गर्यौँ
नव सापकोटा दाजु–भाउजूको घरमा सह
भोजन गर्यौँ । डा. पुत्रसित भेट भएन, पुत्रबधु हुनुहुन्थ्यो, कस्तो आनन्द भयो । त्यसपछि दाइ माथि चढ्नुभयो, उहाँको ठूलो
अध्ययन कक्षमा अध्ययन र अनुसन्धानका सामग्री, पुस्तक, पत्रपत्रिकाको ठूलो चाङ र एकान्त थियो ।
उहाँ नयाँ पुस्तकको निर्माणमा व्यस्त हुनुहुन्थ्यो । अनुसन्धान एउटा कठिन कर्म हो
तर यी दोश्रो पुस्ताका समर्पित स्रष्टा अनुसन्धाताहरू नेपाली वाङ्मयको उपस्थितिलाई
उच्च स्थान दिँदै यसको परिचय स्थापित गर्न चाहन्छन् । त्यो समूहका सक्रिय
अग्रणीमध्ये नव सापकोटा एक हुनुहुन्छ ।
उहाँले मेरा निमित्त नाम
लेखी, हस्ताक्षर गरी
छुट्याएर राखेका एक सेट पठनीय पुस्तकको झोला उपहार गर्नुभयो । ती
कृतिहरू हुन्— स्वयम्
नवसापकोटाकृत कवितासंग्रह युम्लिक्टस : आउने पीढीलाई आशिर्वाद (२०१२), ज्ञानबहादुर
क्षेत्रीद्वारा सम्पादित पूर्वाञ्चल भारतको नेपाली समालोचना यात्रा
(२०६८) शान्ति थापाको नवीनतम उपन्यास मोहनी डटकम (२००९); शान्ति थापाद्वारा संपादित असमेली
नेपाली कथा यात्रा (२००८); डा. खेमराज नेपाल तथा डा. जमदग्नी उपाध्यायद्वारा सम्पादित नेपाली
निबन्ध यात्रा (२०१२); यीमध्ये कतिपय
ता नेपाली साहित्य परिषद,
असमका प्रकाशन
हुन् । एक एक प्रति पुस्तकको अर्को प्याकेट मदन पुरस्कार पुस्तकालयको लागि सो पनि
जिम्मा लिएँ । यी प्रत्येक कृति मेरो अध्ययनको निमित्त अत्यन्तै उपयोगी हुनेछन् ।
म पछि उपयुक्त स्थानमा सविस्तार यिनको अध्ययन सार खिचेर बोल्नेछु ।
नव सापकोटाकोमा दश केजी
भारि थपियो होला तर उहाँहरूको प्रेम प्रयत्नलाई हार्दिक स्वीकृति थियो; खुशी हुँदै
सुटकेशमा अटाएँ । त्यहाँबाट हामी एकछिन निस्कियौँ । आफ्नो ससानो बस्ती परिवेशलाई
नव सापकोटाको सद्धा र प्रेमले ‘देवकोटा नगर’ नामाकरण गरिएको रहेछ । हेर्दै गएँ नजिकको सरकारी पोष्ट
अफिसको नाम देवकोटा नगर राखिएको छ; परिवेशका अन्य दोकानको ठेगानामा देवकोटा नगर
राखिएको छ; हुलाक कार्यालय
पनि देवकोटा नगर छ । केही घर अघि बढ्यौँ— बाटाको दाहिनेपट्टि एउटा पहराको
फेदमा अवस्थित पुरानो गोर्खा पाठशाला छ, त्यससँग जोडिएको सानो एकतले भवन— देवकोटा
भवन । छेवैमा एउटा ससानो प्राङ्गणमा देवकोटाको सेतो सालिक उभिएको छ ।
कत्रो हर्षको कुरा प्रशंसाको कुरा । मूल संस्कृतिको स्मृतिमा एक उपसंस्कृति
निर्माणको प्रयत्न छ । नवज्यूको सत्प्रयासले स्थापित महाकविको सुन्दर मूर्ति एवम् देवकोटा
नगर छ । यसैगरी नेपाली जातिले आफ्नो संस्कृतिको आधार निर्माण गरिरहेको देखेँ ।
एउटा ठूलो संयोग हो, स्रष्टा दाजु
श्री रोचक घिमिरे यस सालिकको अनावरणको दिन प्रमुख अतिथि भइ देवकोटा नगर पुगेको
प्रसंग सम्भि्कँदा अति खुसी लाग्यो । पूर्वोत्तर भारत
भ्रमणको उपलब्धी स्वरूप रचना मासिकको २०६६ पुष–माघको पूर्णाङ्क
१०४ लाई आसाम विशेषाङ्क प्रकाशित गर्नुभएको छ । यो अत्यन्तै ठूलो महत्त्वको
संग्रहणीय प्रकाशन हो महाकवि देवकोटाको प्रतिभालाई रचनामार्फत आसामेली पाठक
समक्ष पुन परिचित गराएको छ । यसले भारतीय–नेपाली स्रष्टालाई जोड्ने ठूलो कार्य गरेको छ । यसको
निमित्त नवसापकोटा र रोचक घिमिरे दुवैलाई बधाई दिएर अघि बढ्न चाहन्छु ।
दिन ढल्केपछि, लामा साहित्यिक
परियोजना र प्रयत्नको चर्चा सम्पन्न भएपछि हामी फेरि निस्कियौँ । नेपाली टोलको
शिवालय हेर्दै रेल्वे कोलोनी भएर हामी पल्टनबजारतिर लाग्यौँ । निकै लामो यात्रा हो
त्यहाँ पुग्दा अपरान्ह भइसकेको थियो ।
त्यहाँ पल्टनबजारमा
नेपाली मन्दिरको परिशरमा अवस्थित भानु अतिथि भवनमाअ अनगन्ती स्रष्टाहरु जम्मा हुन
थालेका थिए । श्री लीलबहादुर क्षेत्री लगायतका साहित्यकार/पत्रकारको
उपस्थिति भएको ठाउँमा हामी पनि भेला भयौँ ।
सर्वप्रथम त पत्रकारहरूले
मेरो अन्तर्वार्ता शुरु गरे । मेरो उपस्थितिले कतिपय नौला कुरा पुर्याएँ होला
भन्ने लागेको थियो । दुईजना पत्रकार थिए स्वर्णभूमि गान्तोकका
सञ्जीव दाहाल र हाम्रो प्रजाशक्ति तेजपुरका पूर्ण क्षेत्री । शुरुमा
मैले नेपाली साहित्य र भारतीय नेपाली साहित्य भिन्न छन्; ती बोधगम्य छन्
परन्तु संस्कृति र लोकेल/श्पेस (अवस्थिति)
भिन्नताले गर्दा उताकोमा उतैको सुगन्ध हुन्छ, यताकोमा यतैको भन्ने प्रष्ट पारेँ । त्यसकारणले दुवै नेपाली
साहित्य भए पनि कति शब्दिक तहमा कति वाक्यमा अझ कति सांस्कृतिक बिम्वमा सूक्ष्म भेदहरू छन् ।
आज ८० वटा देशमा अंग्रेजी भाषाले राष्ट्रिय स्वीकृति पाएको
छ त्यसैले ती अंग्रेजी भाषा एकै भए पनि अनेक हुन्— अमेरिकी अंग्रेजी भाषाभन्दा बेलायती भिन्न छ, बेलायतीभन्दा
अष्ट्रेलियाली भिन्न छ, अफ्रिकीभन्दा
भारतीय अंग्रेजी भिन्न छ । नेपाली–अंग्रेजीको पनि स्वाद भिन्न छ; यो पनि विकसित
भएको छ । हेर्नुस् हामीले यही विविधता बुझाउन स्नातकस्तरको अंग्रजी पाठ्यक्रममा मलेसियन, जापानी, भारतीय, श्रीलङ्कनजस्ता
भेदका अंग्रेजी राखेका छौँ । बिस्तारै नेपालीका पनि भेदहरू त्यस्तै हुँदै जानेछन्
। उही भाषामा पनि अनन्त भेदको निर्माण हुँदै जान्छ । त्यसकारण हामी भारतीय नेपाली
वाङ्मयको निर्माण र विकास अलिक भिन्न स्वरूपले अघि बढ्दैछ भन्ने कुरामा विश्वस्त
छौँ । नेपाली र भारतीय उच्चारण शब्द तथा वाक्यतहमा फरक छ भनी हामीले स्वीकार गरेका
छौँ यद्यपि त्यो अन्तर त्यति व्यापक छैन जतिले पारस्परिक बोधगम्यता समाप्त हुन्छ ।
तर मलाई यताको (भारतको) साहित्य पढ्दा विशेष आकर्षणले छुन्छ र एउटा मिठो आकर्षण
जस्तोले बिस्तारै भिन्न जगत्को उद्घाटन गर्दछ; एउटा भिन्न भूमिको भ्रमण गरेझैँ लाग्छ ।
तपाईंहरूले नेपालमा भएको
भाषिक पुनरनिर्माणको बारेमा प्रश्न गर्नुभयो । म ठान्दछु— एक सय वर्षभन्दा
पुरानो भएको नेपाली व्याकरणले स्थिरता प्राप्त गरिसकेको थियो । व्याकरण भनेको एउटा
अभ्यास समर्थित परम्परा हो । यसको निरूपण अनेक मान्यताले गर्दछ । तर एकथरी विद्वानले नेपाली
व्याकरणलाई नयाँ सिद्धान्तमा हालेर व्यापक परिवर्तन गर्ने चेष्टा गरे त्यसले गर्दा
नेपालको नेपालीमा धेरै नै विचलन उत्पन्न भएको छ । भाषाले स्थिर रूप लिन नपाउँदै
त्यसलाई बारम्बार चलाउनाले नोक्सान गर्दछ जस्तो लाग्दछ । तपाईंहरूले नेपालमा भएको
परिवर्तनलाई मानक स्वीकार्नु आवश्यक छैन, आफ्नो विवेकले, परम्परामा आधारित हुँदै आफ्नै लेख्य र मौखिक रूपलाई उच्चारण
परम्परा र ध्वनि संकेतलाई स्थापित गर्नु भए हुन्छ । जसरी बेलायती, अमेरिकी र भारतीय
अंग्रेजीमा भेद छ, नेपाल दार्जीलिङ र आसामका नेपाली
स्वरूपमा भेद स्वीकार्य हुने छन् । नेपालमा गर्न खोजिएको परिवर्तनको
सान्दर्भिकताको चित्तबुझ्दो आधार छैन, म भन्ठान्छु भाषा
आफैँ परिशोधित हुन्छ; हाम्रा इच्छा
अनुसार परिवर्तन गराउन खोज्दा त्यो अस्वाभाविक हुन जान्छ । अझ भाषा एक
मनोवैज्ञानिक प्रक्रिया हो त्यसको भौतिक वा संरचनात्मक स्वरूपमा ज्यादा तर्क गर्नु
युक्तिसंगत कुरा होइन ।
मलाई केही राजनीतिक प्रश्न
पनि गरेका थिए । नेपाल एउटा असफल राष्ट्र हुने हो कि भन्ने?
मैले भनेँ— त्यस्तो कल्पना
गर्नु आवश्यक छैन । ६० वर्ष प्रजातान्त्रिक व्यवस्था स्थापित भएको भारतमा अझै
स्थिरत्व आइसकेको छैन । प्रजातान्त्रिक प्रणाली अत्यन्तै कोमल र नाजूक हुन्छ; यसको विरुवा
हुर्काउन मुश्किल पर्छ, लामो समय लाग्छ ।
प्रजातन्त्रको स्थापना भयो भने देशमा नियम कानूनले काम गर्न थाल्छन् र जीवन
पुनरस्थापित हुन्छ । त्यसकारण यसलाई अस्थिर औ तरल राख्न चाहनेहरू सदैव यसको
(स्थिरत्वको) विरुद्धमा हुन्छन् । त्यसकारण नेपालमा पनि त्यस्तै अभ्यासले गर्दा
हामी अस्थिरता भोग्दै छौँ । अधिनायकवाद हुन्थ्यो भने देश स्थिर देखिन्थ्यो तर मानव
स्वतन्त्रतालाई कुण्ठित पारी गरिएको कुनै पनि साशन व्यवस्था अबको समयलाई स्वीकार्य
हुने छैन । हामी प्रजातान्त्रिक प्रणालीको स्थिरत्वको अभ्यास गर्दैछौ । वर्षोँ अधिनायकवादले
चेप्ट्याइएका हामी भर्खर
नयाँ पथ भेट्तै छौँ । अर्कातिर अझै उनीहरू स्थिरता विरुद्ध पनि लागि रहेका छन् ।
नभन्नोस् नेपाल असफल राष्ट्र हो । यो पूर्ण सफलतातिर अग्रसर छ, हामी त्यसमा
समर्पित छौँ । तपाईंहरूले पनि हामीलाई सकारात्मक मनोबल जगाइदिनोस् ।
यस्ता प्रश्नोत्तर लामा
थिए, भण्डै एक घण्टा लाग्यो होला ।
उनीहरूले नेपाली साहित्यको वर्तमान स्थिति, साहित्यको प्रयोग, यसको स्वरूप र स्थितिबारे प्रश्न गरे— छलफल गर्यौँ ।
त्यसपछि एउटा स्वागत
भेटको कार्यक्रम भयो । मैले पूर्वी भारत भ्रमणको आफ्नो उद्देश्य बताएँ र नेपाली
भारतीय स्रष्टाबीचको आदानप्रदान अघि बढाउनु पर्ने चर्चा गरेँ । त्यसदिनको यस
साहित्यिक सम्पर्क–भेटलाई
भोलिपल्टका दुवै पत्रिकाले यसरी प्रकाशित गरे :
नेपाली र भारतीय आर्य
संस्कृतिको मूल एउटै हो
भारतमा गोर्खा ल्याण्ड र राज्य बन्दैन
भनेर भन्न सकिँदैन— डा. गोविन्दराज
भट्टराई
पूर्ण क्षेत्रीः
गुवाहाटीः १२ नवम्बरः नेपाली भाषाका वरिष्ठ विद्वान्, अन्तर्राष्ट्रिय रूपमा समालोचक र
उपन्यासकारका रूपमा परिचित डा.गोविन्दराज भट्टराई हिजो असम गोर्खा सममेलनको मूख्य कार्यालय
मणिकुमार सुब्बा भवनमा पत्रकारहरूसित कुरा गर्दै भने कि नेपाली र भारतीय आर्य
संस्कृतिको मूल एउटै हो । काठमाडौँको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका
प्राध्यापक डा. भट्टराईले एउटा प्रश्नको उत्तर दिँदै भने कि भारतको स्वाधीनताका
समयमा कतिवटा राज्य थिए र आज कतिवटा छन्? त्यसलाई हेर्दा भारतमा गोर्खाल्याण्ड राज्यको गठन
हुँदैन भने भन्न सकिँदैन । उल्लेख्य असम नेपाली साहित्य सभाको कामरूप जिल्ला
समितिले उनको सम्मानमा आयोजित गरेको अभिनन्दन सभामा आएका डा. भट्टराईले यस शंकालाई
खारेज गरे कि नेपाल असफल राष्ट्र बन्ने सम्भावना छ । उनले भने कि नेपालको आगामी
चुनावले देखाउने छ नेपालको शक्तिशाली रूप । कुन उद्देश्य लिएर उनको यहाँ आगमन भएको
हो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने कि शिलौङको नेहुमा
भारतवर्षको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन स्मृतिको
साहित्य र सांस्कृतिक जीवनमा के महत्त्व छ? भन्ने विषयमा तीन
दिने सेमिनारमा उपस्थित पाँच जना विशेष कार्यपत्रमा प्रस्तोतामा एक जना म पनि थिएँ
।
असममा नेपाली साहित्यको
विकासबारे प्रश्न राख्दा उनले भने कि राम्रै काम हुँदैछ र अझै धेरै हुन बाँकी छ ।
असममा समालोचना साहित्य कमजोर रहेको उल्लेख गर्दै उनले भने कि समालोचक र
टिप्पणीकारमा अन्तर छ । उनले भने कि असमको नेपाली साहित्य अझै निर्माणाधीन
अवस्थामा छ आइपुगेको छैन तर आशा लाग्दो छ ।
दोस्रो पत्रिकाले लेख्यो— वरिष्ठ विद्वान् डा.
गोविन्दराज भट्टराई अभिनन्दित, अन्तर्क्रिया कार्यक्रम समापन
हामीले सीमान्तकृत मान्छेलाई
छोडेर साहित्य रचना गर्नु हुँदैनः डा. भ194ट्टराई
पूर्ण क्षत्रीः गुवाहाटीः
११ नवम्बर :
असम नेपाली
साहित्य सभा कामरूप जिल्ला समितिको पहलमा आज गुवाहाटी
महानगरस्थित मणिकुमार सुब्बा भवनमा एउटा भेटघाट तथा अभिनन्दन कार्यक्रम सम्पन्न
हुन्छ । जसमा अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, समालोचक, उपन्यासकार डा.
गोविन्दराज भट्टराई अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । असम नेपाली साहित्य सभा, कामरूप जिल्ला
समितिकी अध्यष डा. इन्द्रुप्रभा देवीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
नेपाली भाषाका वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्री, नेपाली साहित्य
परिषद असमका पूर्व अध्यक्ष नव सापकोटा, असम नेपाली साहित्य सभाकी केन्द्रीय कार्यकारी अध्यक्ष निरू
शर्मा पराजुली, वरिष्ठ
साहित्यकार डा. खगेन शर्मा,
‘सपरिवार’ मासिक पत्रिकका
सम्पादक रोहित गौतम, पत्रकार पूर्ण क्षेत्री, असम नेपाली
साहित्य सभा कामरूप जिल्ला समितिका मूल सचिव रूपलाल उपाध्याय, भारतीय गोर्खा
परिसंघ असम राज्य शाखा अध्यक्ष अभिवक्ता नित्यानन्द उपाध्याय नेपाली मन्दिर
प्रबन्धक समितिका कोषाध्यक्ष पिताम्बर शर्मा, केके प्रोडक्शनकी कृष्णा क्षेत्री उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा अतिथि गोविन्दराज भट्टराईलाई ढाका टोपी, फ्कुलबुट्टे गाम्छा, पित्तलको जापी, बाँसको गैंढाले
अभिनन्दन जनाइन्छ । कार्यक्रममा वक्तव्य राख्दै भट्टराईले पूर्वोत्तरमा सिर्जित
कृतिहरूका बारेमा आफ्नो धारणा प्रकाट गर्नुभयो ।
यसरी त्यो सन्ध्या बित्यो
। म यहाँको साहित्यिक संस्थालाई नतृत्व दिने दुई नारी प्रतिभाको सक्रियता देखेर
अति प्रभावित भएँ र स्वयम् लीलबहादुर क्षेत्रीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको
यो भेट मेरो निम्ति अविष्मरणीय रह्यो ।
त्यसपछि नजिकको नेपाली
रेष्टुरेन्टमा सबैले नेपाली खाना खायौँ अनि बिदा भयौँ । मैले अवध आसाम
एक्स्प्रेस चढ्नु थियो । डा. खगेन शर्मा एवम् एकदेवले लगेर मलाई उपयुक्त सीटमा
चढाइदिए— आँध्यारो चिर्दै
मेरो रेल तनक्क तनक्क तनक्क सुई... गर्न लाग्यो । भोलि बिहान ता सिलिगुढी
झारिहाल्छ यसले ।
* (Central
Institute of Indian Languages, Mysore, Govt of India.www.ciil.org) को
शाखा पूर्वोत्तर
क्षेत्रीय भाषाकेन्द्र— गुवाहाटी (तर हाल अतिथि प्रवक्ता मात्रै)
यहाँ राष्ट्रिय संहतिका लागि विभाषीलाई नेपाली
भाषा पढाइन्छ । त्यहाँ पढेका विभाषी विद्यार्थीहरु ३ जाना नेपाली –असमीया
भाषामा तुलनात्मक अध्ययनका लागि गुवाहाटी
विश्वविद्यालयमा नाम दर्ता गरिसकेका
छन् । अरुको चासो न्यस्न भएको, थोरैले मात्र
जान्ने तर नेपाली भाषा, साहित्य, संस्कृति उत्थानमा निकै योगदान
पुर्याउने सरकारी संस्थान हो ।
------------------------ -------------------- ------------------------
No comments:
Post a Comment