About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, May 8, 2014

पुन शिलाङ यात्रा-८

__________________________________________________________
    
चिसो बढेको छ, बूढापाका छन् प्रस्तोताहरू तर तिनीहरू आनन्दले नयाँ भेटघाटको हर्षले उत्तेजितझैँ छन्। कसैलाई आफ्नो बारेमा सबै कुरा खोलौँ हुन्छ, कसैलाई एक्लै बसौँ केही नबोलौँ हुन्छ। गलेपनि कोही अलिक उत्ताउला जस्ता हुन्छन्। नवीनताको श्पर्शले तर आतिथ्यको आनन्दले यस्तो पारेको होला। मैले पनि अनगिन्ती यात्रा गरेँ हुँला, देशरादून र शिलाको सँग कुनै तुलनीय छैन जस्तो लाग्छ। 
त्यो बेलुका अत्यन्तै सादा खाना दालरोटी चावल शब्जी खायौँ। त्यसपछि सुत्नेबेला ता भएको थियो परन्तु मनमा एक एक प्रकारको चिन्ता र उद्विग्नता उत्पन्न भयो। यस्ता सम्मेलनमा प्रस्ुतत हुन थालेको तीन दशक पुग्यो तर जहिले पनि कार्यपत्र प्रस्तुतिको समय सम्झेपछि, त्यो नजिक आएपछि, परीक्षा दिने दिनको विद्यार्थीको जस्तो मनस्थिति हुन्छ। मेरो समय कम्ती हुन्छ कि? स्रोताले हल्ला गर्ने हुन् कि? पावरपोइन्ट बनाउन भ्याइन, अलिक बुझाउन मुश्किल पर्छ कि, यी बूढा प्रोफेशरहरूले कडा प्रश्न सोधेर र्‍याखर्‍याख पार्छन् कि? मेरो अध्ययन अझै पुगेको थिएन, त्यसमाथि मेरो भावना नबुझ्ने टिप्पणीकर्ता उभिने हुन् कि? यस्ता प्रश्न लहरी निकै माडारिएपछि सोचेँ नेपाली प्राज्ञिक जगत्को विश्वविद्यालयको र अझ देशकै इज्जतको कुरा छ आजलाई सुतौँ बिहान एकपल्ट फेरि दोेहोर्‍याउनु पर्छ नित्य यस्ता तर्कनाको लहर चल्ने गर्छ। सुत्न खोज्छु, नसकिने गरी तरंग चल्छ, यो व्यर्थता हो साइँला, तैँले संसार विजय गरेर आइस् किन काम्छस् भन्छ एक मनले तर अर्काे मन मध्यरातसम्म पनि कम्पनमै हुन्छ। एक अग्नि परीक्षा मूल कारण चाहिँ भारतीय/बंगलादेशी विद्वान्को सामू उत्पन्न हुने मनोवैज्ञानिक अन्तर। 
र्षैंदेखिका महासम्मेलनहरूमा आफ्ना उपस्थितिहरूका सम्झना गरेपछि मन अलि हलुंगो भयो र निद्रा उत्पादित विस्मृतिकेन्द्रमा डुबेँ। अनि एक झप्को लामो बेहोसी काट्नासाथ फ्रुट गार्डेनको चिसो प्रभातले ब्यूँझायो उठेर हामी सल्लेरीको शिरको सम्झना गर्दै मात्र थियौँ प्राङ्गणमा वाहन पसेको सूचना आयो। एकएक कप चिया पश्चात् हामी झर्‍यौँ र चढ्यौँ। म डाक्टर कमालसित बसेँ उनी बंगलादेशका एक ठूला एक्टिभिष्ट र चटगाउँका संघर्षशील जातिको पक्षधर रहेछन्। सन् १९७१ को बंगलादेश निर्माणमा उनीहरूको कत्रो बलिदानी संघर्ष थियो। पछि बंगलादेश निर्माण भएपछि उनीहरू उपेक्षित भए र कसरी आन्दोलनमा उत्रिए, कसरी अत्याचार खप्न नसकी लाखौँ व्यक्ति भारतका अन्य स्थानमा देशरहितभै भड्किएर पसे, आज चालीस वर्ष पुगेता पनि तिनको संघर्ष रोकिएको छैन यद्यपि सन १९९७ मा एक शान्ति संझौँता भएको थियो। तर यस्ता विषयमा एक्टिभिष्टका र सरकारका अडान बेग्ला बेग्लै हुन्छन्। दुवै अर्घ सत्य हुन्छन्। यो दृष्टिकोणको भेदले हो।
यसरी उनले एक आन्दोलनकारीको दृष्टिले अत्यन्तै शान्त स्वरूप धारणा गर्दै बंगलादेश सरकारले उपेक्षा गरेका एक जातिको, तिनीहरूका संघर्षको तिनीहरूले गरेका परिचय खोजीको कथा सुनाउँदा डेढ घण्टा लाग्यो। अन्त्यमा मलाई लाग्यो सत्यको एउटा पक्ष र पाटो राम्ररी सुनेँ देखेँ परन्तु सरकारको दृष्टिकोण के कस्तो रहेको होला, किन यो आन्दोलन र असन्तुष्टि नसेलाएको होला? के यिनीहरूको विखण्डनवादी (सेपारेटिष्ट) संघर्षले राष्ट्रविरोधी रूप लिएर पो हो कि? (समाजको दृष्टिकोणमा)। विखण्डन शब्दलाई फेरि कसरी हेर्ने, यसका दुई पक्षीय परिभाषा छन्। यो विखण्डन र नवनिर्माण दुवै हो। ती कुरा मैले उनलाई सोधिनँ। तर उनले आफ्ना जातिमाथि सरकारले निरन्तर हत्या, बलात्कार, लूटपात, अवज्ञा, आगजनी गर्दे, तिनीहरूलाई विस्थापित गर्दै समाप्त गर्न खोजेको बताए। तर के ती कर्महरू दोहोरै भएनन् होला। हाम्रै देशमा भएको माओवादी संघर्षमा दुई पक्षले गरेका अत्याचार र तिनीहरूले आफ्नो स्थितिबाट गरेको आआफ्नो भाषाको प्रयोग प्रति हामी अनभिज्ञ छैनौँ। अन्त्यमा उनले भने हेर्दाहर्दै एकदिन श्रीलंकामा प्रभाकरण समाप्त पारिए र उता शान्ति स्थापना भएको प्रचार गरियो। हाम्रोमा त्यही स्थिति दोहोरिने संभावना देखियो र त्यसैले नेपालको द्वन्द्वका स्थितिबाट शिक्षा लिएर हामी अघि बढ्ने छौँ। उनले नेपालको माओवादी संघर्षको परिणामबाट शिक्षा लिने छौँ भने त्यसको आशय प्रष्ट पार्न भ्याएका थिएनन्। तर त्यसैबीचमा प्रशङ्ग उठाए तपाईंको देशमा चुनाव आउनै लाग्यो, कसले विजय प्राप्त गर्ला? 
मैले भनेँ म कसरी भन्न सक्छु? एक महिनादेखि यताको कार्यपत्रमा डुबेको थिएँ। फेरि बहुदलीय प्रणालीको स्थापना न्यूनतम आधार भएकोले जसले जितोस् केही फरक पर्दैन। सबैको लागि जित्नहार्न सक्ने संभावना र स्पेश सुरक्षित छ। अधिनायकवादमा मात्र ती संभावना टालिएका हुन्छन्। त्यहाँ दलहरू हुने छैनन्, सधैँ निर्दलको एकपक्षीय विजय भइरहन्छ। बहुदलीय संविधान भनेको प्रजातन्त्रको प्रवेशद्वार हो, स्वतन्त्रताको पनि। त्यसैले नेपालको स्थितिबारे मलाई चिन्ता छैन प्रजातान्त्रिक प्रणाली स्थापित होस्, त्यसको विजय होस्, नेपाली कांग्रेसले नै जित्नु पर्दैन जस्तो लाग्छ। तर साम्यवादी दलहरूको गन्तब्य चाहिँ अधिनायकतावाद नै भएकाले यो स्वतन्त्रतालाई उनीहरूले एउटा माध्यम मात्र बनाउँछन्। माओवादीले पनि जनतालाई त्यस्तै वचन र आश्वाशन दिएर अघि लामो संघर्षबाट अवतरण खोजेका थिए यो हाम्रो तात्कालीक लक्ष्य हो। उनीहरूलाई थाहा थियो जनताले खोजेको कुरा ता बहुलता नै हो जहाँ प्रत्येक (व्यक्ति/जाति/वर्ग) ले आफ्नो स्पेश सुरक्षित गर्न सकोस्। 
तर प्रजातन्त्रको सामू सबै गल्छन्। ठूला ठूला सम्राट लडेका छन्, साम्राज्य ढलेका छन्। त्यो देखेर नै माओवादीले चुनावी प्रतिपर्धामा भाग लिएका हुन्। भाग लिन बाध्य भएका हुन्। लिँदै छन्, अबको समयमा सामूहिक हिंसा र विद्रोहको अडान् धेरै टिक्न सक्तैन। त्यसकारणले ठान्नोस् नेपाली प्रजातन्त्रको स्थापना र त्यसको व्यवहारिकरण हुनेछ, अरू विकल्प छैन। त्यसकारण यहाँ मैले भोट खसाल्ने पाटीले जित्नुपर्छ भन्ने मूढाग्रह पाल्नु व्यर्थ छ। वहुलताको विजय हुनुपर्छ, बहुदलको हुुनुपर्छ बस् त्यति ।
उनले नेपालको माओवादी संघर्षबाट, शिक्षा लिएर ... भने तर त्यो शिक्षा के थियो भन्न सक्तिनँ, शायद यही शिक्षा थियो होला। अहिंसाको र प्रजातन्त्रको पक्ष रोज्नु, समण्वय र सर्वअस्तित्वको स्वीकार गर्नु। त्यसो त उनीहरूले जनतालाई ठूलाठूला बाचा दिएका हुन्छन्, तत्काल तीबाट विमुख हुन गारो छ। भ्रमका वासना बिस्तारै कम हुँदै जालान् तर तत्काल ता तिनै मूल्यका संकेत गर्दै अन्य उपायको शरणमा जानुपर्छ। उनीहरू एक विरोधाभाष पूर्ण स्थितिमा बाँचिरहेका छन्। (त्यसको दुई महिना पश्चात् काठमाडौँ आएर प्रा. कमालले मलाई फोन गरे, भेट्न गएँ, त्यहाँ ता इण्डिया र बागलादेशका एक्टिभिष्टहरूले तीनदिने सम्मेलन गरी फर्किने दिन थियो। किन यस्तो? मैले सोधेँ। उता भिसाको समस्या झन्झटिलो छ उनले भने मलाई  लाग्छ कति भिन्न सार्क (तथा) अन्ध मुलुकको भूस्वर्ग नेपालमा यस्तो भइरहँदो होला। यो वात परराष्ट्र जानोस्)। 
प्राध्यपक कमालको शिष्ट वाणीमा, शान्त स्वरूपमा अझै वार्ता लम्ब्याउने इच्छा गरेका थिए तर शिला डाँडाको सल्लेरी कट्नै लागयो, हाम्रो एफलु भवन देखियो, घाम झल्मलाएको आँगनमा नयाँ वश्त्रमा सहभागी देखिए। युवायुवतीहरू खासी, मनिपुरी, आसामी, बंगाली आदि परिधानमा देखिए। हामी ओर्लिएपछि हे194र्‍यौँ सामुन्ने टाँगिएको विशाल रंगीन पण्डालतिर अतिथिहरू ब्रेकफाष्टको लाममा उभिएका थिए। हामी पछि लाग्यौँ । 

प्लेनरीबाटै सेशन आरंभ भयो। पहिलोमा (चिसापानको लाममा सहभागी) प्रा. वीएन पटानाइकले आफ्नो प्रस्तुति राखे। एकघण्टा पश्चात् मेरो पालो आयो। म दृढतापूर्वक उभिएँ। नेपालबाट आएको बक्ता कस्तो होला भनी सबै सुन्न उत्सुक थिए। भवन भरिएको थियो। अघिल्लो दिनको प्रस्तुतिमा देखेँ कसैको मोबाइल बज्दैन, बसेका कोही हल्लिँदैनन्, साउती गर्दैनन्, कोही उठ्तैनन्, खोक्तैनन्, थपिँदैनन्। निस्तब्धझैँ अनुशासनमा प्रस्तुति चलेको छ। 
आज ठीक त्यस्तै वातावरण स्थापित छ। तर मैले उठेर पहिले अलिकति आफ्नो स्थिति प्रष्ट पार्नु थियो र भन्दै गएँ (अंग्रेजीमा) आदरणीय सेशनाध्यक्ष, विर्‍त्वर्ग, सम्पूर्ण सहभागीहरू म नेपाल देशको तर्फबाट त्रिभुवन विश्वविद्यालयको प्रतिनिधि भै यहाँ उपस्थित भएको छु। सर्वप्रथम मेरो देशको तर्फबाट न्यानो अभिवादन र प्रेमपुष्प स्वीकार गर्नु होला। 
त्यसो त मेरो शिला आगमन यो प्रथमपलट होइन, यसअघि २००९ मा पनि यहाँ आएको थिएँ। यहाँस्थित पूर्वाेत्तर पार्वत्य विश्वविद्यालय (नर्थ इष्टर्न् हिल युभिभर्सिटी नेहू) द्वारा आयोजित भाषाविज्ञान विषयक एक अन्तर्राष्टि्रय सम्मेलनमा भाग लिने निमन्त्रणा प्राप्त भएकाले यहाँ आएको थिएँ। मार्च ८-२० मा भएको सो सम्मेलनमा विश्वभाषा एवम् पूर्वात्तेरका भाषा विषयक सम्मेलनमा भाग लिन आर्यभारोपेली भाषा परिवारमा साहित्यिक अनुवादको आदानप्रदान शीर्षक कार्यपत्रसँग म यहाँ आएको थिएँ। यसको लागि मेरा सहकर्मी भाइ श्री लेखनाथशर्मा पाठकले प्रेरक र मार्गदर्शकको भूमिका खेल्नुभएको थियो। त्यस यात्राको अविष्मरणीयताको म व्याख्या गर्न सक्तिनँ। ती पाँचदिनका स्मृतिहरू अमर औ जीवन्त भै बसेका छन्। यो अतीव सुन्दर पार्वत्य प्रकृतिको मोहकताले प्रभावित भएँ। मेरो स्मृतिमा रहेको शिलाको एउटा सूक्ष्म चित्र प्रस्तुत गर्न चाहन्छु। 
मैले उक्त  यात्रामा आधारित केही निबन्ध प्रकाशित गरेको थिएँ, अंग्रेजी नेपाली दुवैमा  सो सभामा पूर्वको स्कटल्याण्डमा शीर्षक एक निबन्धको निम्न अंश अंग्रेजीमा प्रकाशित अ ड्रिमलेश नाइट इन द स्कटल्याण्ड अव् दी इष्ट शीर्षक निबन्धबाट पढेर सुनाए साँझ पर्दा गन्तव्यमा पुग्यौँ। दम्स्याइलो जमिनको दायाँबायाँ दुवैतिर अनन्तसम्म फैलिएको सल्लेरी, त्यसभित्रभित्र लुकेर बसेका राम्रा भवनहरू आधुनिक रस्थानीय लाग्ने रङ्गका, उचाइका। सल्लेरी भित्रभित्रै कालो बाटो सुटुक्क छिरेर कुदेको। डाँडाको टुप्पामा बसेको भव्य गेष्ट हाउस। त्यहाँ स्वागतार्थी उभिएका थिए। ठूलो आँगन, पार्कि, अघि ढाकेर बसेका गमला र बहुरङ्गी फूल। भित्रको हल त्यस्तै टक्टकाउँदो र सफा। भव्य शैलीका  थोरै फर्निचर, त्यस्तै रहस्य छोप्ने र उघार्ने जस्ता पर्दा। पस्न पनि धकधक लाग्ने। छेउको डाइनि हलबाट बास्ना छुटिरहेको (नेपाली नियात्रा : पृ १३०)।  त्यसपछि स्रोतापट्टि फर्केर प्रश्न गरेँ यो कहाँको चित्र होला? उनीहरूले भने दिस इज द पिक्चर अव् शिलो । 
यो मेरो प्रथम शिला यात्राको अनुभूति चित्र थियो। (अहिलेको यात्रा-स्मृति टुङगिएपछि परिशिष्टमा अघिल्लो यात्रा निबन्ध प्रस्तुत गर्नेछु)। त्यसपल्टको शिला यात्राको अरू एक महत्वपूर्ण उपलब्धी छ। यहाँ मैले शिलास्थित नेपाली समाजका स्रष्टा, बौद्धिक शिक्षाविद्सित पनि सम्पर्क गर्ने र एक साहित्यिक कार्यक्रममा भाग लिने अवसर पनि प्राप्त गरेको थिएँ। ती विद्वान् भा हुनुहुन्थ्योश्री सलील ज्ञवाली उहाँले लामो अध्ययन अनुसन्धानद्वारा तयार पारेको ग्रेट माइण्डस् अन इण्डिया नामक संग्रह प्रकाशोन्मुख अवस्थामा थियो। विश्वविख्यात स्रष्टा, चिन्तक, दार्शनिकले भारतवर्षको विषयमा अभिव्यक्त ती मत धारणा र उक्तिहरू पढेर म अति प्रभावित भएँ, उहाँले पनि त्यसलाई नेपालीमा अनुवाद गर्न पाए यसबाट हाम्रो जातिको ज्ञान र चेतना विस्तारमा ठूलो सहयोग पुग्ने थियो होला भन्ने आकाङ्क्षा प्रकट गर्नुभयो। मभित्रको अनुवादकले त्यसको हार्दिक प्रशंसा गर्‍यो र म नभन्दै त्यस कर्ममा संलग्न भएँ। मलाई पूर्वीय सभ्यता सम्पन्न गर्न दुई वर्ष लाग्यो। त्यसको भूमिकामा नै मैले आफ्ना धारणा उद्देश्य र प्राप्तिको विषयमा हर्षित हुँदै लेखेको छु :


हे विद्तवर्गा मैले ग्रेट माइण्डस् अन इण्डियाको नेपाली अनुवाद गर्नुको पछि केवल नेपाली पाठकलाई ज्ञानको त्यो विपुल राशीको प्रकाश देखाउनु थिएन अपितु त्यसको लक्ष्य त नेपाल र भारतलाई जोड्नु पनि थियो। हाम्रो साझा अतीत वैभवतिर एक दृष्टि पुर्‍याऔँ भन्ने निवेदन गर्नु थियो। यसले भारतीय एवम् नेपाली जनताको एक विशाल साझा अतीत थियो, आध्यात्मिक एवम् सांस्कृतिक अतीतले हामी एक थियौँ, साझा सम्पदालाई विश्वले प्रशंसा गरेको छ, आज त्यसको महत्व बढेको छ, हामी अझ नजिक आऔँ र त्यो आध्यात्मिक, सांस्कृतिक अतीतमा फेरि सँगै बसौँ। अव एकपल्ट त्यो वैभवशाली अतीतलाई वर्तमानमा बुझौँ, त्यसको आभाले वर्तमानलाई उज्ज्वल परौँ, हामी यस आर्यावर्तमा एक आत्मा भएर बसौँ, मानवतावादले ज्ञान र विवेकले यी भूमिलाई पुनः सिञ्चित गरौँ भन्ने थियो। यसरी मैले नेपाल-भारत जोड्ने उद्देश्यले आफ्नो जीवनका अमूल्य तीन वर्ष व्यतीत गरेको थिएँ। त्यो सुनेर सम्पूर्ण स्रोतागण उल्लसित भए र लामा ताली बजाए, अबमात्र म विषयमा बोल्न उत्साहित भएँ। 
एकछिन पश्चात् सो प्रतिध्वति शान्त भएपछि फेरि बालेँ हे विद्वतवर्ग त्यतिमात्र होइन, मैले नेपाल र भारत जोड्नलाई गान्धीको पनि नेपालमिा अनुवाद गरेँ। त्यसतर्फ पनि मैले आफ्ना अमूल्य तीन वर्ष अर्पित गरेँ। वास्तवमा हाम्रा समयका एक महान् चिन्तक ऋषि गान्धीका अमूल्य वचनलाई त्यत्रै निष्ठा र प्रेमले अनुवाद गरेँ। यस कार्यले हाम्रो एसियामा (कमसेकम भारतवर्षमा) अहिंसा, सत्य र प्रेमको दीप जलाउन मद्दत पुगोस् भन्ने लक्ष थियो, नयाँ पुस्ताले गान्धीको आदर्श र त्यागलाई फेरि चिन्न सकोस् भन्ने थियो। भारतका मात्र होइन, भारतवर्षका मात्र, एसियाका मात्र होइन विश्वकै एक अनन्य अग्रणीबारे हाम्रो समयलाई ज्ञान दिनु थियो। उनका आदर्श र अहिसावादी सिद्धान्तबारे हाम्रो देशलाई सुनाउनु थियो। प्राजतन्त्र प्राप्तिको अन्तिम तर कठिन उपायबारे फेरि अवगत गराउनु थियो। यता आफ्नो देशलाई हिंसाको आगोले निलेको बेला, द्वन्द्व र युद्धले भयंकर सन्त्रास एवम् मृत्यु लीला निम्त्याएको बेला मैले गान्धीको अुनवाद गरेको थिएँ। उक्त कार्यद्वारा म नेपाल र भारतका जनतालाई म नजिक ल्याउन चाहन्थेँ। र सहअस्तित्वको अन्तिम अस्त्र अहिंसा र शान्तिको महत्व चिनाउन चाहन्थेँ।  मेरो कार्यको महत्व समाप्त भएको छैन, कदापि हुनेछैन। गान्धीको महत्व कदापि धूमिल हुने छैन। यी दुई कर्ममा मैले आफ्ना छ वर्ष अर्पित गरेँ। 
त्यसपछि हलबाट प्रशंसाका तालीहरू बजे। 
त्यस्तो गान्धीको अनुवादको उद्देश्यलाई कृतिको मन्तव्यमा मैले यसरी प्रस्तुत गरेको छु :  
मानवले सधैँ मुक्ति खोजेको छ, सधैँ प्रकाशमार्गमा हिँड्न चाहेको छ, परन्तु सभ्यतापथमा अधिक अवरोध छन्, धेरैधेरै अन्धकार छ। बेलाबेलै मुक्तिदाताहरू जन्मेका छन्, प्रकाशपुञ्ज उदाएका छन्। हाम्रो समयका यस्ता एक विश्वविजयी महापुरुष हुन् महात्मा गान्धी। प्रस्तुत सङ्ग्रह तिनै महात्माका अमरवाणीको सङ्कलन हो। 
यसको मौलिक रूप अंग्रेजीमा थियो। धेरै अघि गन्धीभक्त किशनसिंह धामीले मलाई अमरवाणी अनुवादको कर्म सुम्पेका थिए। गान्धीवाणीलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरिसक्ता मलाई यो जीवनमै सर्वाधिक महत्वको कर्म सम्पन्न गर्ने अवसर मिलेझैँ लागको छ। म यसलाई गान्धीगीता भन्दछु। 
गीताले आध्यात्मिक प्रकाश दिएको छ। यतिखेर मानिसलाई अनेक प्रकाशना को आवश्यकता छ स्वराज, स्वतनत्रता, नारीमुक्ति, अस्पृश्यतामुक्ति, अविवेक र अनेक प्रकारका अन्धकारबाट विमुक्ति। गान्धीले ती सारा मुक्तिको एउटै मार्ग बताएका छन् सत्य र अहिंसामार्ग अनि चारित्रिक मनोवल। गान्धीले जोगीको भेषमा लडे, त्यो लडाइँमा केवल व्यक्ति उठाउने कुरा थिएन, राष्ट्रै उठाउनु थियो। ती कुरा अघिल्लो पुस्ताका नेपालीलाई थाहा छ, उनीहरू गान्धीवादी आन्दोलनमा लागे, लडे, कति गान्धीसमर्थक भए, गान्धीको नेपालमा गहिरो प्रभाव अद्यावधि छँदैछ, पछिसम्म रहनेछ। २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा गान्धी यहीँ थिए, हालै सम्पन्न जन-आन्दोलन२ पनि गान्धीकै विचार-नेतृत्वले सम्पन्न भयो। विजय प्राप्त गर्‍यो। तर नयाँ पुस्तामा गान्धी-पाठकहरू कम हुँदैछन्, गान्धीप्रेमी घट्तैछन्, उनका विचार र दर्शनको आभा मधुरो हुँदैछ। 
यतिबेला गान्धकिो पूर्णकद चाहिएको छ। गान्धीगीतामा प्रस्तुत उनका एकएक वाणीले यतिबेला आपसी द्वन्द्व र द्वेषको राँको निभाउने छ, मानवता, सत्य र ईश्वर चिनाउन मद्दत गर्नेछ, किनभने गान्धीले यिनै शब्दास्त्रको प्रयोगद्वारा राष्ट्रको मनोवल उठाएर मानवताको गौरव गाए र मानिसलाई मुक्ति दिलाए। सङ्ग्रहमा उनका यस्ता वाणी छन् :  
शारीरिक क्षमताबाट शक्ति उत्पन्न हुँदैन, यो त दुर्दमनीय इच्छाशक्तिबाट उत्पन्न हुन्छ।
नारीलाई कमजोर वर्ग ठान्नु भनेको उनीहरूको अपमान हो, यो पुरुषले नारीप्रति गरेको अन्याय हो।
   जहाँ प्रेम छ प्रभु पनि त्यहीँ छन्।  
मानव नै सर्वाेच्च विचारणीय तत्व हो। यन्त्रले मानवअङ्गलाई  क्षीण गराउन दिनु हुँदैन। 
सत्य र सदाचारभन्दा ठूलो कुनै धर्म छैन।  
मैले संसारलाई सिकाउनु पर्ने कुनै नयाँ कुरो छैन, सत्य र अहिंसा पर्वत जति नै पुराना कुरा हुन्। 


यस्तो सूक्तिसङ्ग्रहलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गराउने आकाङ्क्षा लिएर धेरै दुःख, कष्ट र धैर्य गर्ने मित्र किशनसिंह धामीको म अत्यधिक प्रशंसा गर्दछु। उनको यस परिकल्पनाको अन्तिम लक्ष्य लोककल्याण थियो, मानवलाई मुक्ति र स्वतन्त्रता थियो। राष्ट्रले गर्नुपर्ने कार्यको अभिभारा बोक्ने किशनसिंहलाई हामी सबैले प्रशंसा, प्रेम र सहयोगको भावना प्रकट गरौँ म सबैसँग पुकारा गर्दछु। यो कृति प्रत्येकले पढौँ, पढाऔँ, प्रेरणा ग्रहण गरौँ म अनुरोध गर्दछु। 
म विश्वस्त भएको छु गान्धीगीताले हजार मनलाई परिवर्तित गरिदिनसक्छ, तिनीहरूलाई शान्तिकामी, उद्यमशील, राष्ट्रप्रेमी र सत्यप्रेमी बनाउन सक्तछ। 
सत्यवचन केवल सूत्रमा हुन्छ। यहाँ त्यही छ। त्यसैले मैले जीवनभरिको सम्पूर्ण निष्ठा लगाएर यो अनुवाद कार्य सम्पन्न गरेको छु। यसलाई मित्र कुमारप्रसाद कोइरालाले माझ्ने र परिष्कार गर्ने कार्यमा ठूलो सहयोग पुर्‍याउनु भएको छ। म कल्पिन्छु यो कृति प्रत्येक नेपालीको घरमा पुगोस्, प्रत्येक नेपालीको आँखामा पुगोस्, प्रत्येक नेपालीको कानबाट ह्रिदयमा पुगोस्। यसले जीवनपथलाई मङ्गलमय बनाउँछ, सुवासित गर्दछ। 
यति पृष्ठभूमि प्रस्तुत गर्दा मेरा १५ मिनेट समाप्त भएका थिए तर मेरो शिला यात्राको एउटा प्रधान उद्देश्य ता भारतीय मित्रहरूलाई यी कुरा बताउनु पनि थियो। यो निमोनिक्स भन्ने विषय मेरा निमित्त अतीव नौलो हो। मेरो पठनपाठनका क्षेत्रमा यो परेको थिएन तर पचास वर्षदेखि भाषाविज्ञानका क्षेत्रमा समर्पित पूर्वका महान् विद्वान् प्रा. डीबी पटनायकले आफ्नो क्षेत्र छोडेर यता प्रवेश गरेको देख्ता मेरो मनमा पनि केही साहस पलाएकोले यो कार्यपत्र तयार गरेको हुँ, तर भारतवर्षको एक विख्यात विदुषी प्रा. जसवीर जैनले तयार पारेको कल्चरल न्यारेटिव्ज् जस्तो कृति पढेपछि मैले यता प्रवेश गर्ने साहस बटुलेको हुँ। नेपाली शैक्षिक प्राज्ञिक जगत्मा निमोनिक्स प्राक्सिस भन्ने विषयको नाम अपरिचित छ। मानव सभ्यतालाई एकरूपता दिने, स्मृति परम्परालाई जीवन्त राख्ने समाजहरू (संस्कृतिहरू) आजको ग्लोबलताले विखण्डित छन्। त्यसकारण स्मृतिका स्थल भत्किए, स्मृतिस्रोत विखण्डित भएकाले र सभ्यतामा ठूलो खलबली छ। खासगरी प्रवाशनबाट त्यस्तो मिश्रित संस्कृति जन्मिन्छ, आफ्नो मूल संस्कृति क्रमशः विलोपनतिर जान्छ। परिणामस्वरूप नवीन तर खण्डित उपसंस्कृति पलाउँछ। त्यस्ता विषयको अध्ययन आरम्भ डायास्पोरा तथा संस्कृति अध्ययनले गर्दछ तर यी दुवै विषय नेपाली प्राज्ञिक जगत्मा अझ अपरिचित छन्। अझ डायास्पोराको आपव्याख्या भएको छ र यसको उपस्थितिको निन्दक पनि सक्रिय छन्। त्यसकारण हे विद्वत्वर्ग भारतीय विद्वत्ता, प्रज्ञा चेतनासँग म नेपालको तुलना गर्न चाहन्नँ। तपाईंहरूको ज्ञान आदानप्रदानको संस्कार अत्यन्तै सुदीर्घ परम्परामा स्थापित छ, त्यसले गर्दा यहाँ खुला समाजको स्थापना भई सकेको छ। म आज एउटा निकै सकीर्ण परिस्थितिबाट उम्केर यहाँ आई हाम्रा परिस्थितिजन्य केही कुरा प्रस्तुत गर्दछु, मूलतः म तपाईंहरूबाट सिक्ने बाञ्छनाले टाढादेखि आएको एक विद्यार्थी हुँ।
त्यति भनिसकेपछि उता फर्कें भित्ताको इलेक्ट्रोनिक स्क्रीनमा मेरो कार्यपत्र (सामूहिक स्मृतिको क्षयलाई क्षतिपूर्ति गर्न प्रयुक्त रणनीतिहरू :  नेपाली डायास्पोराको एक सन्दर्भ) र मेरो नाम डिजिटली चिमचिम गर्दै थिए। यसलाई डिजिटल झल्का जोडेर पावर पोइन्टमा प्रस्तुत गर्नेहरू पनि थिए। तर त्यसतर्फ मेरो लक्ष थिएन। उनीहरूलाई मेरा कुरा वा विषयवस्तुको मात्र जानकारी दिने उद्देश्य थिएन, त्यसलाई बोक्ने भाषा पनि सुनाउनु थियो। त्यसको शैली र लेखन पद्धतिमाथि मलाई अलिकति सन्तुष्टि प्राप्त थियो। त्यसलाई मैले पावरपोइन्टको तयारी गरेको थिइनँ, म कार्यपत्रमा वाचन गर्न चाहन्थेँ। त्यसैले विस्तारो प्रष्ट गरी मेरो बोली राम्रो गरी सुनियो कि सुनिएन भन्नेमा सचेत हुँदै मायकको कोण र मेरा मौखिक प्रवचन एवम् यसको श्रवणीयता बीचको दूरत्व प्रति पनि सचेत हुँदै म बोल्न थालेँ। प्रत्येक अनुच्छेद पाठ गर्दै श्रोताले राम्ररी ग्रहण गरे कि गरेनन् होला मेरो नेपाली टोनले केही अन्तर पो पार्‍यो कि भन्ने विषयमा सचेत हुँदै बिस्तारो अघि बढेँ। सारा शान्त छ, चूपचाप, धैर्यपूर्ण, कोही नहल्लिएको नेपाली प्रस्तुति र दृष्टिकोणतिर तानिएका, कस्तो उत्साहजनक वातावरणको आविष्कार भएको लाग्यो। माथि स्टेजमा मेरा सेशनाध्यक्ष मेरा वाणीको विचार वा कथ्यको नोट गर्दै  थिए (अरू कोही माथि बस्तैन, सबै तल) म सचेततापूर्वक एक प्लाष्टिकको आकर्षक पोडियम अघिल्तिर उभिएर पाठ गरिरहेँ। बेलबेलामा हात हल्लाएँ हुँला, स्रोताको ध्यान निरीक्षण गर्न पिलिक्क त्यता दृष्टि दिएँ होला, तर सबैको ध्यान यो नेपाली ढाकाटोपीमाथि केन्द्रित छ भन्ने निश्चय गरेपछि शान्त रूपले बोल्दै गएँ। छेउमा पानी-कप राखिदिएका थिए, बेलाबेला एक घुड्की पिएँ होला। सर्वत्र मौनता जस्तो एक तत्वको व्याप्ति छ। म तिर्खा लाग्छ कि, घाँटी सुक्छ कि खोकि लाग्छ कि बोल्दा शरीरले कुनै प्रतिक्रिया देखाउँछ कि भन्नेमा भित्री मनले सचेष्ट छु, छेउमा उभिएको एक बोटल मिनेरल वाटरतिर हेर्दछु संकटमा त्यसले मेरो रक्षा गर्दछ। पर बस्नेहरूले सूट टाई र नयाँ ढाका टोपीमा उभिएको नेपाली प्रोफेसरको व्यक्तित्व वा उसको प्रस्तुतिलाई कसरी लिए होलान् भन्ने पनि लाग्छ तर त्यहाँ व्याप्त मौनताले मेरो मनोवल सुदृढ भयो र लाग्यो यी ग्रहणशील छन्, मेरो प्रस्तुतिमा शायद कुनै नवीनता र जीवन्तताको अशं प्रतिबिम्वित होला। मेरो प्रस्तुति सेशनलाई एकघण्टा छट्याइएको थियो तर मोडरेटरले शुरुमै निकै उपभोग गरिदिनाले ४५ मिनेटमा सम्पन्न गरेँ, तीन घुट्का पानी पिएर सोफामा थचक्क बसेँ, अनि मेरा शत्राध्यक्ष उभिए। 

* * *

6 comments:

  1. Well written Daju ! It'll be a book.
    Doubtlessly, it’s joint efforts of - 'Daju and Bhai' to bring to the limelight in the Nepali world about how profound and how scientific the wisdom of Bharatvarsh is --- the facts that have been fervently acknowledged by the finest minds of the world.

    Let me quote one sentence by a German philosopher August Schlegel --- ‘Even the loftiest philosophy of the Europeans appears like a feeble spark before the Vedanta.’
    Sadly very few are aware of this truth.

    ReplyDelete
  2. Thank you sir for an elaborate detailing of the presentation session. Felt great to find my mention too. It was really a great trip that we had made together. In the previous conference you had played a crucial role in clarifying the presence of Nepalis in India not just as labourers and run-aways but who had become part of India as a result of the Treaty of Sugauli of 1814 signed between then British India and Nepal which took away major portions of Nepali mainland and made it part of India. Nepalis had got into India along with the annexation of the geography. Not just your works of the translation of Great Minds of India and Gandhi but also the BP Koirala centenary program in your coordinatorship will be another milestone work in promoting Nepal-India relationship and strengthening the ties.

    ReplyDelete
  3. It is very emotional and informative at the same time! Possible only from a researcher and writer at the same time. The Himalayan civilization has been thriving in different forms for millennia and will be so with such efforts transcending the political borders. Humanity at large makes all the ONE and the SAME. Great scholars and creators work in the same direction. So is doing Prof. Dr. Bhattarai. We are fortunate enough to be in his close contact.

    ReplyDelete
  4. सँगै र साथमै भए जस्तो अनुभूत भयो सर, तर साथ हुन पाए भन्ने लालचा बढेर गगनचुम्बी बनिरहे... ।

    ReplyDelete
  5. Congratulations on your thought-provoking presentation. It directs the immature minds and personalities towards right direction. Best wishes for quick arrival of these memoirs in a book form.

    ReplyDelete
  6. राम्रो लाग्यो सर, हतारमा छिटो छिटो पढेँ, भोलि फेरी दोहोर्याएर पढ्ने छु | यसपाली भने यात्राको विवरण भन्दा फरक विचारोत्तेजक सामग्री भेटियो; एकपल्ट हजुरको यस्तै इभेन्टमा सहभागी हुने अभिलाषा छ, हेरम ....के हुन्छ |

    ReplyDelete