About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Monday, February 24, 2014

पुन शिलाङ यात्रा – ७

----------------------------------------------------
    
अंग्रेजी तथा वैदेशिक भाषा विश्वविद्यालय शिलाको यो निमोनिक्स (स्मृतिविज्ञान) विषयक प्रथम अन्तर्रष्ट्रिय सम्मेलन नवम्वर १८ तारिखको बिहान  साढे नौमा आरम्भ हुने कुराको उल्लेख थियो। भर्खरै खुलेको विश्वविद्यालय एफ्लुको शिला कलेजका एमए, एमफिल र पिएचडीका विद्यार्थीहरू पङ्क्तिबद्ध रूपमा तत्पर थिए अतिथि स्वागतमा, जलपानगृहमा लान, हल देखाउन, बाथरुम पुर्‍याउन, दर्ता गर्न अरू सहयोगमा जुटेका थिए। यस्तो तत्परता र यस्तो विनम्रता भाएका विद्यार्थी र आजसम्म मैले देखिनँ र सुनेको पनि थिइनँ, गुरुकुलको मात्र कुरा सुनेको थिएँ। 
    यता नेपालबाट हामी पुगेकोमा शिष्टाचार भेट गर्न र क्याम्पसलाई एउटा ससानो नेपाली मयुरझ्याल प्रदान गर्न भनी म डाइरेक्टरको कार्यलयमा पसेँ। म पस्ने बित्तिकै तीनवटै (शिला, लखनउ, बैंगलोर) क्याम्पस हेर्ने एफ्लु भाइस चान्सलर आइपुगिन् डा. सुनयना सिंह...। भव्य व्यक्तित्व, डोमिनेटिड पर्शनालिटिकी धनी, अग्ली मोटी विदुषी सुनयानसँग डाइरेक्टर बरालको कार्यालयमा  परिचय भयो र डा. बरालले हामी तीन जनालाई चिया मगाउनु भयो। वार्तामा तीन मिनेट मात्र बितेको थियो, घडी हेरेर चिया भएन? प्रा. बरालले सोधे। खासी बस्त्रधारण गरेकी युवतीले भनिन् पाकिसक्यो सर खन्याएर ल्याउँनु छ सर। त्यसपछि कुलपति सुनयनाले थपिन् साढे नौमा उद्घाटन होइन? अब दुई मिनेट मात्र बाँकी छ, चिया भरे खाउँला, हामी निस्कौँ। 
    हामी तत्कालै बाहिर निस्कियौँ ढोकामा आइसकेको तातो चिया छोडेर ९.३० मा ठयाक्कै आसन ग्रहणमा पुग्यौँ। आसन ग्रहण भयो। यो वृत्तान्त दिनुको कारण हाम्रो नेपाली स्वभाव र अदक्षताले कसरी समय नष्ट गर्ने चलन स्थापित छ भन्ने बुझाउन खोजेको हुँ। हाम्रोमा भए यत्रो सम्मेलनमा अध्यक्ष उपाध्यक्ष, चीफ र सहायक आदि गर्दै अझ प्रत्येक पार्टिका प्रतिनिधिलाई बसाउँदै फूलमाला गर्दै शरम लाग्दो संख्यामा स्टेज भरिन्छ। यहाँ भीसी बसिन्, डाइरेक्टर बसे बस त्यति नै। विद्यार्थीले एक वन्दना प्रस्तुत गरे बस त्यत्ति। त्यत्ति कर्म सकिएपछि एकछिनको मौनतामा मेघालयका राज्यपाल आए। उनले बत्ती सल्काए। तिनै तीनजना मात्र माथि बसे। पाँचपाँच मिनेट बोलेपछि उद्घाटन १५ मिनेटमा सकियो अनि प्लेनरी शुरु भइहाल्यो। नेपालका सारा ढर्रा, अव्यवस्थसा र अकर्मण्यतामामा लाग्नाले कसरी अमूल्य समय व्यर्थ गइरहेकोछ त्यसको तुलना हओस् भनी यो अनुभव प्रस्ुतत गरको हुँ। 
    समयको नित्य त्यसैगरी पालना हुन्छ हामी शहरबाट ७:१५ मा बस चढ्छौँ, ८:१५ मा पुगेर चियानास्ता गर्छौं, भेटघाट गर्छौं, विशाल सल्लेरीमा ओर्लेका घाम ताप्छौँ, रू आदानप्रदान गर्छां र ठीक ९ बजे सेशन शुरु हुन्छ। दुई प्लेनरी चार कन्करेन्ट, लञ्च पछि एक प्लेनरी चार कन्करेन्ट अन्त्यमा आधि घण्टा संगीत आदि गर्दा साँझको छ बज्छ, फेरि शहर पुग्दा रात परिसक्छ, प्रत्येक दिन यस्तो पालना भइरह्यो। 
    त्यसो त सबै सम्मेलनको योजना उस्तै हुन्छ, तर अतिथि आसन र तिनीहरूको वन्दना प्रशंसा कर्मले लामो समय प्रायः व्यर्थै जान्छ, फेरि कार्यक्रम चलेपछि आफ्नो पस्तुतिको पालो सक्तै भाग्दै गर्ने अर्काे रोग हुन्छ। त्यहाँ ती विशेषता देखिएनन्। यहाँ तोकिएको निर्दिष्ट समयभित्रै सो काम अनिवार्य रूपले सम्पन्न हुन्छ। 
    प्लेनरी शुरु भयो स्मृतिविज्ञान (निमोनिक्स) के हो, भारतभूमिमा कसरी यसलाई हेर्नुपर्छ, वर्तमानमा यो विषय कसरी संकटमा छ आदि कुरा यसका विषयवस्तु थिए।  
    भारतवर्ष महान् सभ्यताकी जननी भएर पनि बीचका अनेकाँै आक्रमण प्रत्याक्रमण र प्रवेशले एउटा जातिको सभ्यता स्थापित भाएको ठाउँमा अर्काको प्रवेश हुने, त्यसले फेरि केही मेटेर आफ्नो स्थापना गर्ने, फेरि अर्काे आएर आफ्नो स्थापना गर्ने यस्ता चक्रको निरन्तरता बीसौँ शताब्दीसम्म चलिरह्यो। जातिको दृष्टिले, द्रवीड, आर्य आनार्य भए, धर्ममा बौद्ध, हिन्दू, किराँत, मुश्लिम, जैन र अन्त्यको क्रिश्चियन आदि भए। तैमुरलडदेखि अलेकजाण्डर, बाबर अकवरदेखि अङ्ग्रेज। त्यत्रा विशाल निर्माण र आघात यी सारामाथि प्रेम राख्तै पनि आज प्रजातन्त्रको लागि उभिएको छ भारत। जसमा छेलिएका, किनारिएका मार्जिनलको आवाज उठेको छ। यो शक्ति उठेका सारा भन्दा अझ तीव्र र भिन्न प्रभावकारी छ। यस्तो किनारिकृत वर्गलाई जोड्ने प्रतिज्ञा गरेको छ।
    यस वर्गलाई शासन, सत्ता र भूमि सबै चहिएको छैन। तर आफ्नो उपस्थिति र पहिचानको स्पेश चाहिएको छ। पार्श्वभूमिमा निरन्तररूपले युद्ध गर्जन सुनिन्छन्, धम्की सुनिन्छन्, र आजको सरकार एउटा निष्प्राण यन्त्रझैँ सुतेर चल्नेवाला छैन। सधैँको गर्जन र आवाजले  कतै सुधार भयो, कतै हुँदैछ, अझ हुनेवाला छ। नेपालमा पनि आज ठीक यही परिस्थिति छ, यही विश्लेषण लागू हुन्छ। अतीतलाई बिर्संदै, त्यसका घाउहरू छोप्तै, एकअर्काका चोटहरू लुकाउँदै अब एउटा रियलाइजेशनको समय आएको छ प्राचीन ऋचा मन्त्र अनुसार चलौँ संगच्छध्वम्, हामी सबैसँगै चलौँ। 
    भारतको जुनसुकै डिस्कोर्श पनि उपनिवेशकालको पृष्ठभूमि बेगर अघि बढ्दैन। तीन सय वर्षको संस्कृति विभंजन र अन्यताको उपस्थितिलाई उनीहरू एक प्रकारको पराजित अवस्था सम्झेर त्यसको जिर्णाद्वार गर्न चाहन्छन्, आज त्यही गर्दैछन्, यता त्यही गर्दैछन् तर त्यही उपनिवेशिकालमै भारतीय आधुनिक सभ्यताको जग बस्यो शिक्षा, मार्ग, यातायात आधुनिकता, यहाँ आयो भने त्यो कालखण्डभरि, संसारको उज्यालो पस्नुपर्ने अन्तिम एक सय ववर्षभरि नेपाली जाति कालकोठरीमा थुनियो र हामी गतिहीन भएछौँ। उनीहरू भने गतिशील रहे परन्तु त्यो गतिशीलता त आज उभिएर हेर्दा कति अनिच्छित र विलोपनकारी (इरेजर) वा उच्छेदनकारी (पनि) रहेछ। त्यस कलमा भोगिएको रिक्तताको क्षतिपूर्तिमा उनीहरू उठेका छन्, हामीलाई त्यसरी उठ्नु बस्नु कुनै उन्नति मापन गर्नु पनि छैन कारण उनीहरूको जीवन्ततामा हामी सुतेका थियौँ। त्यसकारणले गर्दा यतिबेला भारतको सामू उभिँदा उनीहरूको सोच विचार शिद्धान्त र चिन्तनको उचाइका तुलनामा आफू भर्खर बामे सर्न थालेको अनुभव हुन्छ। त्यसैले आजको पहिलो सेशन स्मृतिः दिश्व तथा उत्तरउपनिवेशित साहित्य परम्परा अनि व्यक्तिगत स्मृति तथा किनारिकरण शीर्षकमा थियो। 
    उपनिवेशले छोपेपछि परम्पराले सञ्चालित भारतवर्षमा त्यो अन्यताको प्रवेश भयो, एउटा अवाञ्छित इतिहास पर्‍यो। त्यसले कत्रो हलचल र खलबल कसरी ल्यायो, त्यसको आगमनमा  लेखक/स्रष्टाले के लेखे, वौद्धिक चिन्तक धर्मगुरु कता पुगे र तल्लो वर्गको स्थिति चित्र के कस्तो भयो, त्यसबेलाका स्मृतिलाई कसरी केले सुरक्षित राखियो वा मेटियो त्यस्तै विषयमा अरू सेशन चले। 
    यी सेशनका पत्रहरूमा आज लेखिएका वा हिजोका स्मृतिमा अतीतलाई कसरी प्रस्तुत गरिएको छ, कसरी त्यसलाई हेरिएको छ, तिनै कुराको विश्लेषण भयो। हाम्रा पाठकले पनि थाहा पाएका कति स्रष्टा छन्। जस्तै तुर्किस्तानी आख्यानकार २००६ को नोबेल पुरस्कारले सम्मानित ओर्हान् पामुक जो दुई वर्ष अघिको जयपुर लिटेरेरी फेष्टिवलमा आएका थिए, जसको प्रभाव भारतीय पाठक स्रष्टामा व्यापक छ। एउटा स्मृति तिनै ओर्हान् पामुकमाथि थियो, काजुओ इशिगुरोको सामाजिक इतिहासमाथि थियो, अर्काे तस्लिमा नस्रिनको लज्जामाथि थियो, अर्काे खालिद हुसेनीको ण्ड द माउन्टेन इकोड माथि थियो। खालिद हुसेनीको द काइट रनरमाथि, अर्काे रोहिन्टन मिस्त्रि माथि पनि थियो। 
    भारतमा सिर्जित अंग्रेजी साहित्यको व्यापकता र प्रचूरताले गर्दा अहिलेका अध्यापक, पाठक, चिन्तक सबै त्यही साहित्यको आँखाले तात्कालीन विगत (इमेडिएट पास्ट) र वर्तमानलाई हेर्न चाहन्छन्। ठूलो क्यान्भासमा पुग्ने र अंग्रेजी पुस्ताले बुझ्ने पाठक सामू विविधभाषी तेलुगु, कन्नड, मलायालम, उर्दू, हिन्दी, बंगाली आदि ओझेल परेेको हो कि म चकित भएँ। हाम्रो नयाँ पुस्ताले राम्ररी चिनेका अमिताभ घोषमाथि, राजाराओको ण्ठपुरममाथि प्रस्तुति थिए। भारतीय सीमा बाहिरका रोहिन्टन मिस्त्री, काजुओ इशिमुरो र २००८ का चिनियाँ नोबेल पुरस्कार विजेता गाओ जिन्जिआनका कृतिमाथि अध्ययन भए तर नेपालका कुनै कृतिमाथि कसैले गरेन।  अंग्रेजी माध्यममा लेखिएको नेपाली साहित्य भारतीयको सामुन्ने पहुँच र प्रभाव सून्य छ। यो स्वाभाविक छ। जसले आजभन्दा १०० वर्ष अघि नोबेल पुरस्कार प्राप्त गरेको छ त्यसका सामू हाम्रो अङ्ग्रेजी लेखन कहीँ छैन। 
    यो सम्मेलन स्मृति-अभ्यास विषयक भएकाले स्मृतिको प्रमुख सम्बाहकहरूको रूपमा तात्कालीन साहित्य, कलाकृति, लोकगीत, संस्कार आधुनिक समयमा खासगरी फिल्म र अन्य सोसल मिडिया आदिको प्रयोगलाई मानिएको छ। धेरै कुरा त हाम्रा लोक स्मृति (फोक मेमोरि) बाटै/देखि नै सर्दै आएका रहेछन्। 
    साहित्यिक कृतिमा पसेर विश्लेषण गरिएको स्मृतिको म एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु। मियाजी हजामको एउटा पत्र छ संकटसितको समायोजनः तस्लिमा नसरिनको लज्जामा स्मृतिको भूमिका । प्रस्तुत पत्रले राष्ट्रिय एवम् जातीय पहिचानहरूलाई जोड्ने र छुटयाउँने कार्यमा स्मृतिले कसरी कार्य गर्दछ भन्ने देखाएको छ। स्मृतिले कसरी अलग स्पेश सिर्जना गर्छ, तिनीहरूलाई केले एकातिर राष्ट्रिय अस्मिताभित्र बाँच्नु छ भन्ने सिकाउँछ अर्कातिर कसरी जातीयताले धेरै कुराको निर्धारण गर्दछ भन्ने देखाउँछ। जातीयतासँग नजोडिइकन अस्तित्व सम्भव छैन, जातीयतालाई प्राथमिकता दिनुको तात्पर्य राष्ट्रियता नचाहिनुको जस्तो स्थिति पनि हो। फेरि राष्ट्रियता विरुद्ध उभिन पनि सकिँदैन। उपन्यासमा दत्ता परिवारको स्थितिचित्रको वर्णन गर्दै संकटमा कसरी राष्ट्रियता बाहिर उभिएर धार्मिक कट्टरताबाट जोगिने प्रयत्न हुन्छ भन्ने देखाइएको छ। यता राष्ट्रले धर्मनिरपेक्ष भन्छ छ तर त्यही राष्ट्र जातीयता/धार्मिकता जस्ता अनेक प्रकारका कट्टरता भिरेर अन्यलाई समाप्त गर्न उभिएको छ। यस्तोमा मार्जिनलताको सुरक्षा कसले/केले गर्छ भन्ने प्रश्न उठ्तछ। यस सम्मेलनका एक जना प्लेनरी बक्ता ढाका युनिभर्सिटीका एक्टिभिष्ट प्रो. मशवा कमालले ठीक यही स्थिति प्रस्तुत गरे। तस्लिमाका पात्रहरूले झैँ चट्गाउँका लाखौ बंगालीले पनि एक भएर बंगलादेशको निर्माणमा (१९७१ मा) मुक्ति संघर्षमा लडेका थिए, लाखौँ बलिदान भए तर पछि गएर कट्टरपन्थीहरू सरकारमा आएपछि उनीहरूको पृथक अस्तित्व स्वीकारिएन, ती अझै लड्दैछन्, कति शरणार्थी भएर गए, कति परिक्षेपित छन्। 
    त्यसो त यस्तो कुरा हरेक देशमा भएको छ। यतिखेर गोर्खाल्याण्डको वा अन्य ल्याण्डको मागका पछि यही राष्ट्रियता/जातीयता पहिचान अस्तित्वको द्वन्द्व रहेको छ। नेपालमा पनि २००७ सालको क्रान्तिमा सबै जाति वर्ग होमिएर मात्रै त्यो सम्भव भयो। राष्ट्रिय संकटमा सबै खनिएका थिए। पछिका वर्षमा फेरि फण्डामेन्टालिष्ट (यथास्थितिवादी) पसे जाति भनौँ, राजनीतिक विचार भनौँ, धार्मिक विचार भनौँ, वहिष्करणका अनेक रूप भएर पसे। तिनैमध्ये एउटा सक्रिय भएपछि अन्य जाति वर्ग र विचारसमूह संकटमा पर्दाेरहेछ र उसले असन्तुष्टि, आवेग, विद्रोहभाव इत्यादि साँचेर त्यसलाई सोझ्याउने प्रयत्न गरिरहन्छ। 
    नेपालको वर्तमान स्थितिसँग पनि धेरै कुरा यो संकेतमा मिल्दछ। एकथरी राष्ट्र भनेर किच्ने दल्नेहरू छन् एकथरी जाति भनेर स्वर उच्चा गर्नेहरू छन्। माओवादी संघर्षले ल्याएको गरेको यो चेतनाले नेपाली समाज-राजनीतिमा ठूलो हलचल उत्पन्न गरेको छ। स्वभावैले यो कतिपय द्वे, घृणा र चिन्ता उत्पन्न गर्न पनि सफल रह्यो। एकपल्ट हुर्काइएको खसबाहुन वहिष्करण चेतना पनि यसैको चरम रूप थियो। फेरि उठेको जातीय पहिचान र संघीयता अर्काे उद्वेग थियो। अझै सबै सेलाएको छैन। आखिर अविवेकले अन्धराजनीतिले देशभित्र अनेक द्वन्द्वका विऊ उमार्दछ। त्यस्ता दलहरूले तिनै अप्ठ्याराहरूलाई मलजल गर्दै फलाएर फुलाएर खाइरहन्छन्।
     माओवादी आन्दोलनमा यस्ता अनेक बोटविरुवाको वीजारोपण भयो। तर समग्र राष्ट्र स्वतस्फूर्त थिएन। बाध्य र विवश बनाइयो। एक पक्षीय थियो, त्यसबेला दवाइएका स्वरहरू आज उठ्तैछन्, भोलि उठ्ने छन्। हिंसा र द्वेषले भरिएको, विखण्डन अपखण्डनले बारम्बार रेटेको यस विश्वमा मानिसले आफ्नो स्पेश गुमाएका नयाँ ठाउँमा सम्झौता गर्न खोजेका कतिकति प्रयत्न छन्। वर्तमान कालका हाम्रा कति कति कला रचना सबै त्यस्तै स्मृति बोकेका छन्। 
    मैले भाग लिएको अर्काे पत्रको ससानो उदाहरण दिन चाहन्छु। प्रस्तोताले एक आख्यानबाट दृष्टान्त लिएका छन्। अमेक लिदोको स्मृतिको संस्कृतिः नदीम अस्लामको हराएका प्रेमीको चित्र शीर्षक यस आख्यानमा विभाजनपछिका पाकिस्तानीको ससानो समूह एउटा काल्पनिक अंग्रेजी, भूमिमा बस्तछ, त्यहाँ उनीहरूको मुस्लिम हुनुको पहिचान अत्यन्तै ठूलो संकटमा पर्दछ। आफ्ना सन्तानले इश्लामी संस्कार एवम् मूल्यहरू बिर्सेलान् भन्ने ठूलो भय छ। उनीहरू बडो प्रयत्नले आफ्नो असुरक्षित समूहमा सांस्कारिक पहिचानलाई सुरक्षित गर्न चाहन्छन् र त्यसको विपरीत जानेलाई निस्कासित गरिदिन्छन्। यसरी सांस्कृतिक स्मृतिले कसरी दुईतिर धार भएको तरवारको काम गर्दछ भन्ने दृष्टान्त दिन्छ। एकातिर उनीहरूलाई अन्य भूमिमा एक्लै फ्याँकिनु पर्दा आफ्नो पहिचान जोगाउन पर्ने कठिनाइ छ अर्कातिर बाह्य असामाजिक शक्ति विरद्ध लड्नुपर्ने झन् ठूलो समस्या छ, त्यसले उनीहरूको स्वत्व समाप्त गर्न खोज्छ त्यस अवस्थामा उनीहरू उत्संस्करण वा संस्कृति-संक्रमण (एकल्चरेशन) को संकटमा हुन्छन्। बिस्तारै त्यो अवस्था पार गरेर स्वांगीकरण (एसिमिलेशन) तिर जान थाल्छन्, यस यात्रामा मिश्रण हुँदै विलयतिर अथवा बिस्तारै स्वांगिकरणको यात्रामा जानु पर्ने हुन्छ। 
    यता आसाम, शिला आदिका नेपालीले पनि यो अवस्था पार गरी स्वांगिकरणको संभावना स्थिति भोगिसके तर ती स्वांगिकृत छैनन्, आफ्नै संस्कृति निर्माण गरेका छन्, नेपालबाट हेर्दा त्यो उप-संस्कृति हो, भारतको परिदृश्यमा एक मार्जिनल (किनारीकृत) संस्कृति जसका सम्पूर्ण तहृ146व अंग पूरा हुन्छन्, ती प्राप्त गरेका छन्। अन्य जाति पनि एकअर्कामा घुलित भएको देखियो। तीन दिनको सम्मेलनमा अन्य सात नेपाली सहभागी भेटिए तर मेरो अग्लो ढाका टोपी देेखेर मात्रै उनीहरू मसित चिनिन आएका थिए। अघि एस के परदेशीले मलाई गोर्खाल्याण्डको चिन्हािङ\कत टोपीले स्वागत गरेझैँ यता गुवाहाटीमा रोहित गौतमले खुकुरीको पीन अल्झाएको कालो टोपी लगाइदिएका थिए। यता शिला बजारमा देख्छु उनीका बुनेका टोपी छन् तर ढाका वा अन्य टोपी लगाउने कोही छैनन्। संसारभरि छरिएका नेपाली अनेक डायास्पोराकाहरू जातीय पहिचान र संस्कृति संक्रमण बीचमा अनन्त द्वन्द्व, बिस्तारैबिस्तारै पहिरो लडेको ठाउँमा नयाँ झार बोट बृक्ष र वनस्पतिले ढाक्तछ पुराना वर पीपल चौतारा, पँधेरो बगिसकेका हुन्छन्।            
       
-सम्मेलनको एउटा दृश्य) 

     त्यसरी पहिलो दिनका प्रस्तुति सक्ता एउटा नयाँ विश्व उघे्रर आएझैँ भयो। अझ यी सबै सेशनमा भाग लिन पाए कस्तो हुन्थ्यो होला। चारवटा लिँदा समय सकिन्छ। तर पनि १६ पेपरमा बस्न सकियो। प्लेनरी सहित, सुनेपछि के कुरा प्रष्ट भयो भने अब आलोचनात्मक विश्व हेर्ने दृष्टिकोण बदलिएको छ। परम्पराले केही कुरा देख्न नसक्ने भएको छ। खासगरी कल्चरल स्टडिजको दृष्टिकोणले मात्र वर्तमान सामाजिक शक्तिको अर्थ हेर्नुपर्ने हुन्छ। अघिका महाआख्यानका (ग्राण्ड न्यारेटिब्ज्को) अवसान भएको छ, ती बर्लिनको पार्खल सँगै ढलिसकेका छन्। अब सबै सानासाना संस्कृतिहरू उठेका छन्। अब मेटा न्यारेटिब्ज् उठेका छन्। पहिचानको खोजीमा उभिएका छन्, त्यसकारणले तिनको (पनि) अतीतप्रति सबैले संवेदनशील हुनुपर्छ, तिनको वर्तमानप्रति पनि संवेदनशील हुनुपर्छ, नयाँ वर्तमान आएको छ, सहअस्तित्वको समान सम्मान र प्रेमको समय छ। द्वन्द्व बढेर अन्तरद्वन्द्व र हिंसामा परिणत भयो भने त्यो डढेलो निभाउन मुश्किल पर्छ। 
     सम्मेलन सकेर एक बस हामी अतिथि शहर झर्‍यौँ थोरै टाढा छैन, एकघण्टाको चिसो बतास र सल्लेरी चिर्दै आकर्षक बंगलाहरू छिरेपछि बल्ल फ्रुट गार्डेन पुग्यौँ। 
  
-----------------000-------------------

2 comments:

  1. Sir, glad to read the 7th part of your Shillong tour story, from Gaya where I am lodged now. Regards.

    ReplyDelete
  2. i like this respected gurubar. it is huge feedback of nepali literature

    ReplyDelete