About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, September 5, 2013

एउटा अग्लो प्रकाश-स्तम्भ ढलेपछिको अन्धकारमुनि बसेर आज म



त्यो भेटदेखि चैतको हावासम्म
कृष्णभूषण दाईसित भेट भएको त २०३३ सालदेखि नै हो। म कीर्तिपुर क्याम्पसबाट बिएड सकेर उर्लाबारी, दमकमा पढाउँथेँ। माल्दाजु बिकम गर्दै विराटनगरमै पुस्तक पसल गर्नुहुन्थ्यो। विराटनगर, सन्सारीमाईथान नजिक भानुटोलको एउटा घरमा हामी माथ्लो तलामा बस्थ्यौँ, भूषणदाइ, शोभा भाउजू ठीक तल्लोमा, योगेन्द्र तिमसिना दाइ पल्लोमा। त्यो बाटादेखि पश्चिमको लामो पहेँले घर थियो। तिनै दिनमा उहाँको लोकलयमा एउटा खडकाव्य आयो २०३४ सालमा। दाज्यू, तिम्रो हात चाहिन्छ शीर्षक सो कृतिको प्रकाशन क्रममा वनारसमा रहेका दाजु तुलसीले पनि सहयोग गर्नुभएको थियो। यसरी हामी तीन दाजुभाइ जोडियौँ, पछि कान्छा भाइ देवेन्द्र, भूषणदाजुका झन् प्रिय हुन पुगे।
     त्यसपछि भूषणदाइ कवि हुनुहुन्छ भन्ने सुन्दै बुझ्दै गयौँ। तर हाम्रो गहिरो सङ्गत ता भएको थिएन, म पढदैलेख्तै थिएँ, यद्यपि २०३१ सालमै मेरो उपन्यास मुगलान आइसकेको थियो। तर म प्रचारमा आउन सकेको थिइनँ।

     पछि २०३६ सालको राजनीतिक उथलपुथल, द्वेलन, विरोध र विद्रोह उठेका बेला उहाँको चैतको हावा छापियो। त्यो शक्तिशाली कविताले गरेको आह्वान एउटा, उद्घोष र चुनौती थियो। त्यसले भूषणदाइको दृढता र हुरी भै लड्ने अठोट बोकेको थियो। त्यसको पाँच वर्षपछि मात्र उनका ३८ वटा कविताहरूको सङ्कलन भोलि बास्ने बिहान (२०४१) नामले प्रकाशित भयो। त्यसमा कृष्णचन्द्रसिंह प्रधानको मूल्याङ्कन यसरी छापिएको छ :  

वास्तवमा बल स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारका गायक हुन्, अनुचित र अव्यवस्थित व्यवहारलाई मोड्ने मनोकाङ्क्षाका आस्थावान कवि हुन्। ...
... कोमलता उनको कविताको प्रकृति होइन, यसकारण पोथी कवि उनी भएनन्। पुंसत्व उनको कविताको स्वभाव हो, त्यसैले उनीलाई मर्द कवि भन्नुपर्छ। ...
... बल दोबाटोका बाटा हुन्। क्यै भन्न परेकोले उनी कविता लेख्छन्, कविता नलेखी बस्नै नसकेकाले क्यै भनिरहेका हुन्छन्। यसरी दुवैले दुवैको समझदारीलाई जुन वातावरणमा स्वीकार गरी सम्झौता गरेका छन् र अस्तित्वको सम्मान राख्न सके, तिनै कविलाई कृष्णभूषण भनेको हुँ यसभन्दा अघिकालाई बैरागी काइँला र अझ अघिकालाई गोपालप्रसाद रिमाल। 
... वर्तमान शहरोन्मुख प्रवृत्तिले उनका ती ग्रामीण सरलता, सहजता, पवित्रता र आदर्शलाई विथोलेको छैन...। 
    (कविता, ङ्क ११, २०४९)

     त्यसको अघिल्लो वर्ष प्रकाशित समसामयिक साझा कविता (२०४०) मा सम्पादक डा. तारानाथ शर्माले पाँचवटा कविता समावेश गरी बलदाइको यस्तो मूल्याङ्कन गरेका थिए : 

कृष्णभूषण बल अत्याधुनिक युगका सशक्त कवि मानिन्छन्। उनका कवितामा शैलीको मनोहारिताले विषयवस्तुको यथार्थ विश्लेषणसित आफूलाई आत्मसात् गरेको हुन्छ। नेपाली राष्ट्रिय जीवन अब साँगुरिएर र कठ्याङ्ग्रिएर काठमाडौँ खाल्डाभित्र मात्र कोचिएर बस्न सक्तैन। हाम्रा आकाङ्क्षाहरू अब सङ्कीर्ण चार भन्ज्याङभित्र अटाउन सक्तैनन्। यिनले त फुक्न पाउनुपर्छ, उन्मुक्त र अम्लेख हुन पाउनुपर्छ र उड्न पाउनुपर्छ डाँडापहरा, भन्ज्याङबेँसी र तराईका फाँट फाँटहरूमा। काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्तैन भन्दै कवि बल चैतको हावालाई क्रान्तिको प्रतीक स्वरूप डाक्छन्, निम्तो दिन्छन्। यस हावाले अब बढारेर लैजाओस् सम्पूर्ण आलस्यलाई, अन्योललाई र अन्यायलाई भन्ने कविको धारणा छ। अब हामीले इतिहासका कुरा हाम्रा टाढा बसेको छोरालाई र अघि बढ्ने छोरालाई सुनाउनुपर्छ। भन्नुपर्छ हामीले ह्रिदय खोलेर किन हामी अघि बढ्न सकेनौँ र किन हाम्रो स्वाभाविक गति रोकियो, प्रगति रोकियो। बलको भाषा अत्यन्त खँदिलो, सरल र प्रभावशाली छ। उनको शैली लयात्मक र खँदिलो हुनाले र उनका रचना स्पष्ट, विद्रोहात्मक र जनमुखी हुनाले उनको उर्वर कवित्वको भविष्य ज्यादै नै उज्ज्वल देखिन्छ। अत्याधुनिक नेपाली कवितालाई सफलताको उच्च चुलीमा पुर्‍याउने श्रेय कृष्णभूषण बल जस्तै कर्मठ र सुस्पष्ट कविहरूमा छ। (सम्पादकको भनाइ, पृ.३१९)

     यसरी आजभन्दा तीन दशकअघि नै भूषणदाइका रचनाकारिताको उच्च मूल्याङ्कन भइसकेको हो। चैतको हावा जस्ता कविताले उनलाई त्यो श्रेय कमाइदिए। उहाँका कविताको सङ्ग्रह आएको सात वर्षपछि माइकल हटले चैतको हावालाई अप्रिल विन्ड शीर्षकमा अनुवाद गरेर नेपाली साहित्यको अध्ययनमा समर्पित उनको उल्लेख्य कृति हिमालयन भोइसेज १९९१ (२०४८) मा प्रकाशित गरे। क्रमशः २०५१ सालमा पुगेर हेर्दा त्यही एउटा नेपाली कविताको चार जनाले अङ्ग्रेजीमा अनुवाद प्रकाशित गरेका थिए। नेपालीमा ३२ लाइन र २६८ शब्द भएको चैतको हावालाई चार जना स्रष्टाले कसरी अङ्ग्रेजीमा लगे, त्यो बडो रोचक परिणामको कुरा छ। बहुल अनुवादमा यस्तै हुनेरहेछ। आधुनिक नेपाली कविताका बहुल अनुवाद खोज्दै जाँदा चैतको हावा नै एक नम्बरमा भेटियो। त्यो कविता त्यति लोकप्रिय हुनाको कारण के थियो भने त्यसले एक निर्भीक कविको आक्रोश बोलेको थियो, त्यो अत्यन्तै गम्भीर र स्पष्ट शैलीमा, भिन्न भाषाचित्रमा आएको थियो र युगौँदेखि अन्धकारमा डुबेको देशले यस्तै कविताबाट आफ्नो बाणी खोजेको थियो। त्यसको सामयिकता नै त्यसको शक्ति थियो यद्यपि सो कवितामा सर्वकालिक सन्देश छँदैछ। कुन युगमा मानिस निरङ्कुशता खपेर बस्न चाहन्छ र? वास्तवमा एकतन्त्रात्मक शासन पद्धतिका कठोर साङ्ला चुँडाई युगौँको दमन र अत्याचारबाट देशलाई मुक्त गर्नुपर्ने समय आएको थियो। सबैले कविको त्यही निर्भीकताको प्रशंसा गरेका थिए। मैले २०५१ सालमा उहाँको चैतको हावा मागेर लगेको थिएँ। लानुको अर्थ त्यसलाई अनुवाद सामग्री बनाएर विद्यावारिधि गर्ने ठाउँ हैदरावाद विश्वविद्यालय पुर्‍याएको थिएँ। नेपालका ३५ र भारतका १५ गरी ५० आधुनिक नेपाली कवितामा त्यो एक परेको थियो। (तिनको द्वैभाषिक सङ्कलन प्रकाशोन्मुख छ)।
     भोलि बास्ने बिहान (भोबाबि) प्रकाशित भएपछि दाइको कवित्व शक्ति निखि्रएर, मािझएर, झर्झराउँदो भई आएको सबैले देखे। आँधीहुरी जस्तो विचार र अठोट भिर्ने कवि स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यका लागि अनम्य (अन्कम्प्रोमाइजिङ) स्वरले कुर्लिए। अझ उसैबेला रचिएको अब काठमाण्डू एक्लैले जस्तो कविताले आजको आन्दोलन र परिवर्तन पछिको समयले मात्र पूरा अर्थ भेटेको छ। केन्द्र बाहिरका छेलिएका व्यक्ति, कर्म, विचार र पात्रहरू जनआन्दोलन पछिको परिस्थितिले झस्काएर मात्र ब्यूँझाइएका हुन् जस्तो लाग्न सक्छ तर दूरद्रष्टा भूषणदाइको उसैबेलाको आफ्नो कवितामा त्यो आवाज छ। उहाँ यसको शक्ति बुझेका प्रस्ट विचारक हुनुहुन्थ्यो। जसले जति लेखे वैचारिक निष्ठालाई केन्द्रमा राखेर सुन्दर शक्तिकविता रचे। उहाँका कविता आधुनिक युग, विचार र चेतना, शिल्पको उचाइ छोएर निर्माण भएका छन्। प्रत्येकपल्ट देशले भोगेको सङ्कटमा कृष्णभूषण बल अघि लाग्नुको अर्थ यही थियो। 

 2067 महानन्द महाेत्सव फिदिम

अत्यन्तै गहिरो प्रेमले जोडिएर
पचासको अन्त्यदेखि साठीको अन्त्यसम्म एक दशक व्यक्तिगतरूपले म कृष्णभूषण बल दाजुसित अत्यन्तै गहिरो नाताले जोडिएँ। त्यो जोड्ने तत्व उहाँको सरलता कवित्व, विचार र व्यक्तित्व थिए। उहाँ मेरा लागि पनि दाजु र अभिभावक लाग्नुहुन्थ्यो। मेरो मात्र होइन मेची कोशीदेखि उता सिक्किम दार्जेलिङसम्म हुने साहित्यिक कार्यक्रममा बलदाइ बेगर हुँदैनथ्यो। यता काठमाडौँ पनि आइरहनु हुन्थ्यो। त्यो दशकभरि म पुगेका कति ठाउँमा भूषणदाइ अवश्य एक अगुवा हुनुहुन्थ्यो। एउटा हुलमा मिसिएर हराउने होइन तर अग्लो व्यक्तित्वको, टड्कारो, प्रस्ट र एउटा अभिभावकत्वको जिम्मेदारी बोध बोकेको, समयको संवेदना बुझ्ने, त्यसलाई उत्कृष्ट कलामा बोल्न सक्ने, त्यस्तो व्यक्ति कहाँ पाउनु ?
     उहाँ नेपाली काव्य परम्परामा परिष्कृत शैलीका अनुयायी मात्र होइन, आफैँ त्यसका निर्माता हुनुहुन्थ्यो। नयाँ विचार, चिन्तन र प्रयोगको पनि त्यतिकै प्रेम गर्नुहुन्थ्यो। मसँग त्यसका अनेक दृष्टान्त छन्। सर्वप्रथम २०६० सालमा नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठानको तत्वावधानमा विराटनगरले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो। त्यसमा मैले नेपाली उपन्यासमा उत्तरआधुनिकताको चेतना शीर्षक कार्यपत्र प्रस्तुत गरेको थिएँ। त्यो नयाँ विषयवस्तुले परम्परित लेखकबाट अनेक विरोध निम्त्यायो। बलदाइले नयाँको पक्षमा समर्थन गर्नु भयो र उनीहरू मत्थर भए। 
     त्यसको तीन वर्षपछि हामीलाई गेजिङ, सिक्किमले बोलायो। हाम्रा अभिभावक भूषणदाइ नै हुनुहुन्थ्यो। त्यसो त त्यसमा बैरागी काँइला र आइबीज्यू नै प्रमुख व्यक्ति हुनुहुन्थ्यो। (ईश्वर बल्लभ जान सक्नुभएन) उहाँहरू अलग्गै पुग्नुभयो, बलदाइ र हाम्रो टोली अर्कै थियो। उहाँसँगको २०६२ साल कार्तिक २५ गतेका दिन भएको त्यो अविस्मरणीय यात्रालाई मेरो गेजिङ यात्राको मादक सम्झनाले प्रस्तुत गर्दछ। गेजिङमा पनि मैले उत्तरआधुनिकता र नेपाली साहित्य विषयमा कार्यपत्र प्रस्तुत गरेँ (हेर्नू उत्तरआधुनिक ऐना (२०६२)। क्रमशः उत्तरआधुनिकतावादी लेखनका नवीन सिद्धान्तको व्यापक विस्तार हुँदै गयो। अनि २०६४ सालको अर्को अवसर सम्िझन्छु पौष १४ गतेका दिन वाणी प्रकाशनको व्यानरमा बलदाइले नेपाली साहित्यमा रङ्गवाद :  कविता गोष्ठी र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नु भयो। रङ्गवादी पुस्ताका छवै जना नयाँ विद्रोही कविलाई विराटनगरमा उतारेर अभूतपूर्व कार्यक्रम गराउने आँट अरूमा भएको भए यो हुने थिएन। नयाँ समयका प्रयोगवादी कविका रचनालाई पूर्वाञ्चलमा प्रस्तुत गराउने कार्यमा बलदाइले एक रक्षाकवचको कार्य गर्नुभएको थियो। 
     म बलदाइसँग धेरैपल्ट अभिन्न हुँदै जोडिएको छु, लेख्तै आएको छु। २०६४ सालकै कोजाग्रत पूर्णिमा पारेर चितवनमा पद्मश्री पुरस्कार वितरण भयो। गणेश रसिकलाई पुरस्कृत गरिने सो समारोहमा भूषणदाइभाउजू उपस्थित हुनुहुन्थ्यो, म पनि थिएँ। यसरी धेरैपल्ट भयौँ। त्यसबारे उहाँले संस्मरणमा लेख्नु पनि भएको छ।
     अनि २०६५ सालको अर्को भेट सम्िझन्छु। त्यो वर्ष साउन १५ गतेका दिन धरानले हङकङका देश सुब्बाको भयवादको अवधारणा सार्वजनिक गर्ने एक भव्य कार्यक्रमको आयोजना गरेको थियो। डा. टंकप्रसाद न्यौपाने, प्रदीप सेपाङबोआदिद्वारा संयोजित सो कार्यक्रममा प्रा. बालकृष्ण पोखरेल, दधिराज सुवेदी लगायतका एक माइक्रो प्रतिष्ठितहरू लिएर भूषणदाइ आफैँ त्यहाँ उपस्थित हुनुभयो। 
     क्रमशः हामी नजिक र गाढा हुँदै गयौँ। उहाँले एक दिन एउटा ससानो चिठी लेखेर यी कविता राम्रा छन् पढेर भूमिका लेखिदिनु होला भनी मलाई पठाउनु भयो। सीमा आभास साँझको सँघारबाट (पाण्डुलिपि) लिएर आउनुभयो, लेखिदिएँ। त्यसैगरी उहाँले एक दिन म आउँदैछु, मनु मञ्जिलमाथि बोलिदिनु होला भनी फोन गर्नुभयो र विराटनगरदेखि भाइ मनुलाई लिएर आफैँ आउनुभयो पाटनको एक भवनमा म, अभि सर, कृष्णचन्द्रसिंह प्रधानहरू मिलेर मनुको आँधीको आवेग माथि बोल्यौँ। यस्ता अरू पनि उदाहरण छन्। उहाँ नयाँ पुस्तालाई हातमा समातेर डोर्‍याउनु हुन्थ्यो। आफ्नो चिन्ता बिर्सिएर अरूलाई उठाउने त्यस्तो अभिभावक को हुन्छ? उहाँलाई आफ्नो प्रशंसा निन्दा दुवै मन पर्दैनथे, कहिल्यै यस्तो लेखिबोलि दिन कसैलाई भन्नु भएन। 
     २०६४ सालदेखि युवा कवि ठाकुर बेलबासेले प्रत्येक महिनामा एक जना कविलाई सुनिल पोखरेलको गुरुकुल नाटकघर पुरानो बानेश्वरमा कवितावाचनमा निमन्त्रण गर्ने गर्दथे। श्री बैरागी काइँलाबाट त्यसको आरम्भ भएको थियो। अलिक पछि बलदाइलाई पनि निमन्त्रण गरियो त्यसमा ठाकुर, , धर्मेन्द्र लागेका थियौँ। १५ भदौ २०६५ का दिन उहाँ आएर गुरुकुलमा डेढ घण्टा समयभरि १७ वटा कविता वाचन गर्नु भयो। बैरागी काइँलादेखि नै कवि परिचय गराउने धेरै जस्तो मेरो पालो पर्थ्यो तर बलदाइकोमा म बाहिर जाने परेँ अनि मित्र डा. कुमारप्रसाद कोइरालालाई जो आधुनिक नेपाली कविताको एक सुदृढ स्तम्भ हो शीर्षकमा भूषणदाइको परिचय लेखेर वाचन गर्नु होला भनी छोडेँ। त्यसलाई यहाँ दोहोर्‍याउन चाहन्न। 
     त्यसपल्ट काठमाडौँले उहाँको नवीन शक्ति देख्यो। विराटनगरले बेलाबेला वैचारिक छलफल विमर्श गराउँथ्यो सधैँ जसो वाणी प्रकाशन अघि सर्थ्याे, त्यसमा उहाँ नै। बाटो पर्थ्याे म पनि गई नै रहन्थेँ। एकपल्ट २०६५ सालमा मनु मञ्जिल लगायतले इटहरीको गैसरमा सुमन पोखरेलले चलाएको कटेजमा नेपाली साहित्यको वर्तमान स्थिति शीर्षक कार्यक्रमको आयोजना गराएका थिए। त्यो बलदाइकै प्रमुख आतिथ्यमा भयो। मेरो कार्यपत्र प्रस्तुतिपश्चात् त्यहाँ यथास्थितिवादीहरू आक्रामक भएका थिए, बलदाइले तह लगाइदिनु भयो। विराटनगरमा हुने प्रत्येक कार्यक्रमको उहाँ संयोजन पनि गर्नु हुन्थ्यो। उहाँ उभिएपछि बालकृष्ण पोखरेल, दधिराज सुवेदी पनि आइदिनु हुन्थ्यो, यदाकदा देवकुमारी दिदी पनि। २०६५ मा उत्खनन नारी साहित्य प्रतिष्ठान इँटहरीको अथवा २०६६ को चेतन प्रतिभा उन्नयन तथा संरक्षण उन्नयन प्रतिष्ठान, विराटनगरको कार्यक्रममा भागलिन जाँदा भूषणदाइको अनुपस्थितिमा म कहिल्यै उभिइनँ जस्तो लाग्छ। 
     उहाँ २०६६ सालमा नेपाल एकेडेमीको प्राज्ञसभा सदस्यमा मनोनित हुनुभयो। अर्काे वर्ष एकेडेमीको अनुवाद विभागले विराटनगरमा एउटा दुईदिने बृहत् कार्यक्रम आयोजना गर्‍यो। उतादखि मनप्रसाद सुब्बा, रेमिका थापा पनि आमन्त्रित थिए। त्यसको संयोजन गंगा सुवेदीको संस्थाले गरे तापनि बालकृष्ण गुरु, दधिराज र बलदाइ समेत उभिइदिनु भयो। यी सबै कार्यमा बालकृष्ण गुरु ता सम्मानित स्थानमा राखिएकै हुनुहुन्थ्यो। पछि २०६८ सालको चैत्रमा विराटनगरको गुरुकुलमा एउटा भव्य कार्यक्रमको आयोजना भयो। यसको संयोजन नेपाली लेखक संघ, मोरङका अध्यक्ष श्री विवश पोखरेलले गर्नुभएको थियो। उक्त कार्यक्रममा बलदाइले भन्नुभयो तपाईंहरूले प्रस्ट भनिदिनोस् हामी नेपाली काङ्ग्रेसले अँगालेको प्रजातान्त्रिक मूल्य मान्यताको सिद्धान्तलाई अँगालेर हिँडेका छौँ। कति स्रष्टालाई पार्टीगत आस्थासँग लेखन सिधै जोड्न इच्छा हुँदैन, हामीले पनि अलिक टाढै बसेर स्वतन्त्र रहने भनेका थियौँ। तर बलदाइ प्रस्ट हुनुहुन्थ्यो। त्यही अवसरमा मैले अग्रासनमा रहेका भूषणदाइलाई उभ्याई न्यू प्याराडाइम हस्तान्तरण गरेँ र बताएँ यो ५१५ पृष्ठको कृति भर्खरै तयार भएको हो। यो त्रिभुवन विश्वविद्यालय अन्तर्गत अङ्ग्रेजी विषय लिई एम एड गर्ने विद्यार्थीको निमित्त स्वीकृत र अनिवार्य पाठ्यपुस्तक हो। यसमा अङ्ग्रेजी साहित्यका कविता, कथा, नाटक, निबन्ध आदिका नमुना छन्। यसको कविता खण्डमा अमेरिकी, बेलायती, अफ्रिकी, भारतीय, पूर्वी एसियन, नेपाली गरी २० जना स्रष्टाका एकएक कविता परेका छन्। तिनमा एउटा छ भूषणदाइको The Wind of Chaitra (चैतको हावा)। महाकवि देवकोटा, सिग्पि्र्कड स्यासून, गुन्टर ग्रास, कमला सुरैया, खलिल जिब्रानका हारमा भूषणदाइको कविता परेको कुरा उद्घोष गरेँ, सयौ दर्शकले ताली बजाएर भूषणदाइलाई बधाई दिए। तत्काल उभिएर दाइले भन्नु भयो :  मलाई प्राज्ञसभा सदस्य भएभन्दा कैयौँ गुना ठूलो र दीर्घकालीन उपलब्धि भएकोमा सन्तुष्टि छ। यसरी भूषणदाइको र विराटनगरको सम्मान गरियो। 
     २०६६ सालको अन्त्यमा रहेछ, महानन्द महोत्सवको अवसरमा पाँचथरले एउटा अति भव्य कार्यक्रम गर्‍यो। त्यहाँ पाँचथरका स्रष्टा भनी बैरागी काँइलाको नागरिक अभिनन्दन, कृष्णभूषण बल, विक्रम सुब्बा, गोविन्दराज भट्टराईको हार्दिक सम्मान गर्‍यो। भानुभक्त पोखरेल, खगेन्द्र सङग्रौला पुग्नु भएन। हामी सबै यताबाट गएका थियौँ। त्यसै वर्षको दसैँअघि पाँचथरको रबीले पनि नोबल किशोर राईलाई र उहाँलाई सम्मान गर्‍यो, म जान सकिनँ। यसरी पाँचथरले उहाँलाई हाम्रो भनिराख्छ। इलाम पनि बलदाइ हाम्रो भनी गौरव गर्दछ। वास्तवमा उहाँलाई पाँचथर र इलाम दुवैतिरले आआफ्नो भूमिमा जन्मेको गौरव गरेको छ। कारण उहाँको घर, मावल, अध्ययन दुवैतिर भएको थियो। यद्यपि बलदाइ कुनै भूगोलमा सीमित नभई राष्ट्रका साझा कवि हुनुहुन्छ, सम्पूर्ण नेपाली जातिका। त्यसरी फिदिममा महानन्द महोत्सव भएकोपालि संयोगले हामी १०१५ जना स्रष्टालाई लिएर बैरागी काँइला आफ्नो जन्मथलो पौवा सारताप पुग्नुभयो। हामी सँगै झर्‍यौँ, एकरात बसेर त्यहाँ काव्य कविता गरी फिर्‍यौँ। यस ऐतिहासिक यात्रामा बलदाइसँग शोभा भाउजू पनि हुनुहुन्थ्यो। बिस्तारै उकालो चढ्दै भोलिपल्ट राँकेमा बास बस्यौँ। 
     २०६८ सालमा मलाई धरानले बोलायो बिमल गुरुङ स्मृति पुस्तकालयको तर्फबाट, त्यसको सम्मानमा पुगेँ, त्यहाँ भूषण दाइ नै हुनुहुन्थ्यो, २०६९ साल लागे पछि दाजुसित एउटै कार्यक्रममा परेँ। म प्रमुख अतिथि भएर डाकिएको थिएँ, जीवन स्मृति प्रतिष्ठान दमकले चार जना स्रष्टालाई सम्मानित पुरस्कृत गरेको थियो। यो भाइको हात श्रद्धेय दाजुलाई सम्मान गर्न पनि जुरेको रहेछ। विराटनगरदेखि सम्मानित स्रष्टाहरू लिएर साहित्यकार खेम नेपाली पुगेका थिए। तर त्यस दिनको मन्तव्यमा दाजुले अत्यन्तै गहिरो निराशा बोल्नु भएको थियो। त्यस दिन सम्मानित195183पुरस्कृत मोहन भण्डारी, गिरिराज आचार्य लगायतका चार जनामध्ये बलदाइ र अनिरुद्ध तिमसिना दुई प्राज्ञ एकैचोटि हामीबाट बिदा हुनुभयो। 

निराशा र अवसान
कविता लेखनप्रति वा साहित्यप्रति नै उहाँमा अलिक निराशा बढ्न थालेको थियो। धरानको विमल गुरुङ पुस्तकालयको कार्यक्रममा पनि त्यस्तो भाव व्यक्त गर्नुभएको थियो। देशको स्थितिले होला, आशावादीहरूलाई पनि निराशा पार्ने वातावरण भोगिएको वर्साैं भएको थियो। 
     प्राज्ञसभा सदस्य मनोनित भए पश्चात् प्रत्येकपल्टको सभामा वा अन्य आमन्त्रित विशेष कार्यक्रममा उहाँ काठमाडौँमा उपस्थित हुनुभयो। कालो नीलो सूटमा टाई लगाएर, एउटा शालीन र भव्य व्यक्तित्व हाम्रो सभाको गरिमा हुनुहुन्थ्यो। प्रत्येकपल्ट आउँदा बलदाइसँग बसाँै बोलौँ हुन्थ्यो। दाजु तुलसी भट्टराई, , कुमार कोइराला, विष्णुविभु, धर्मेन्द्र यस्तै चारपाँच जना कहिले भोजन गृहमा, कहिले पुतलीसडक कुमारीमा बसी एकछाक खान्थ्यौँ पनि। बेलुकाको बसाइ पर्दा विष्णुविभुजीको मनमा अलिकति रङरउस गर्ने चाहना हुन्थ्यो। दाजुको रसरङ प्रेम झन् गहिरो थियो। 
     उहाँको नित्य बास बस्ने ठाउँ त खसी बजारको यात्री गेष्ट हाउस थियो। २०६८ सालको प्राज्ञसभामा भाग लिएको भोलिपल्ट हामीले कतै बसौँ दाइ भन्यौँ तर उहाँ फर्किहाल्ने नभ्याउने भएर आफ्नै लजमा बेलाउनु भयो। म, तुलसी दाजु र विभुजी त्यहीँ पुग्यौँ। कोठे लुङ्गी लगाएर खाटमा बसेका दाइसित निकै बात गर्‍यौँ। तीनतला माथि, अग्लो बरन्डातिर फर्केको कोठा उहाँले यस्तै बात गर्नुभयो, साहित्यको, देशका स्थितिको, लेखक सङ्घको, आफ्नो। त्यस भेटमा आफ्नो अट्याची खोलेर एउटा ससानो कापी निकाली हामीलाई सुनाउनु थाल्नुभो ती बाल्यकालका स्मृति चित्र थिए, छोटा तर मार्मिक कविता जस्ता हामीले चारवटा सुन्यौँ। ती ता बिर्साैं भन्छु सक्तिनँ शीर्षकमा नागरिक (दैनिक) ले अघि नै छापेका रहेछन् (नछापिएका पनि थिए कि?) तर मलाई थाहा थिएन, उहाँले ती आफ्नो कापीबाट सुनाएकाले ठानेँ दाइले संस्मरण लेख्न थाल्नु भएछ। 
     हामीले कविताजस्तो भाषामा लेखिएका बाल्यकालका सुन्दर स्मृति चित्रलाई असाध्यै मन परायौँ। उहाँले भन्नुभयो यस्तै गर्दैछु, अघि जाँदैछु, एकपल्ट जम्मा गरेर डाक्टरसाबलाई (मलाई भाइ भनिदिएको भए राम्रो हुन्थ्यो) देखाउनेछु। मैले भनेँ दाइ, जे जसरी म सहायता गर्दछु, त्यस्तो राम्रो छ लेखन, प्रकाशक पनि खोजौँला। उहाँले भन्नु भयो, होइन केही पर्दैन। एकपल्ट पढिदिनु मात्रै। (आज उहाँको अनुपस्थितिमा तिनै संस्मरण पढेर एक्लै लेख्न बस्ता मलाई कस्तो भएको छ, व्यक्त गर्न सक्तिनँ)। तिनै कापी भाउजूले मलाई पठाउनु भयो, बलदाइको स्वरूप सम्झाउने अक्षरमा उहाँको हात यसरी घुमेका छ :  
     

         
        त्योभन्दा अघिल्ला अघिल्ला भेटमा उहाँ एकल कविता वाचनमा आउँदा, विराटनगरमा पनि विष्णुविभु र मैले कतिपल्ट भन्यौँ होला, एकपल्ट दाजु र धर्मेन्द्र हुँदा पनि भन्यौँ दाइ अब कविताको अर्काे सङ्ग्रह निकालौँ, यता प्रकाशक हामी खोजौँला, साझाले पनि रमाएर छाप्छ तपाईंलाई। 
     उहाँले भन्नुभो होइन त्यति राम्रो कविता लेख्न सकेकै छुइनँ, अहिले यस्तोहरू नछापौँ होला। 
     अर्काेपल्ट सम्झायौँ यति राम्रा कविता छन्, प्रकाशक छन्, प्रकाशकसँग कुरा भइसकेको छ, अब कलेक्शन गरौँ दाइ। हामी पनि लागौँला, पाठकले पर्खेको धेरै भयो। 
     होइन, मलाई प्रकाशकको पनि चिन्ता छैन, मैले एक फोन गर्नासाथ अमेरिकाबाट छोराबुहारीले आवश्यक पैसा पठाइदिन्छन्। यस्तै भइरह्यो, धेरैपल्ट, जाँगर देखाउनु भएन। कारण के थियो नेपाली कवितामा उच्च स्थान बनिसकेका बलदाइको यो दशकौँको साधना त अब खारिन बाँकी थिएन। हामीले देख्ता अब निकाल्नु पर्ने। 
     अब २६ औँ प्राज्ञसभामा भेट गरौँला भन्ने थियो। २०६९ असार २२ गतेको लागि तोकिएको थियो। तर त्योभन्दा एक हप्ताअघि नै उहाँको शोक मनाउनु पर्‍यो। सभाले पनि प्राज्ञ कृष्णभूषण बलमाथि सोक संवेदना प्रस्ताव पारित गरेर कार्यक्रम आरम्भ गर्‍यो। त्यसको लगत्तै अर्को हप्ता नेपाली लेखक सङ्घले डा. विष्णुविभु घिमिरेको अध्यक्षतामा एउटा शोक सभाको आयोजना गर्‍यो। सबैको अनुरोधमा मैले एउटा शोक पाठ पढेर सुनाएँ :

अब सबै कुरा ता बाँकी नै रहे
तीसको दशकमा उदाएका कृष्णभूषण बलले साढे चार दशक लामो कवितायात्रा पूरा गर्नुभयो। उहाँका दाज्यु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) र भोलि बास्ने बिहान शीर्षक कविता सङ्ग्रह प्रकाशित छन्। भोलि बास्ने बिहान प्रकाशित भएको पच्चीस वर्ष नाघ्यो तर यसभित्रका भारी बिसाउनुपर्दा, काठमाण्डू एक्लैले, चैतको हावा जस्ता कवितामा भएको क्रान्तिचेत, परिवर्तनकारी शक्ति बेजोड छ। तिनै शक्तिले समयलाई हल्लाएको थियो। सधैँ हल्लाइरहने छ। उहाँका कवितामा समकालिकता र सर्वकालिकता दुवै शक्ति जोडिएका छन्। आँधी जस्ता कवितामा पनि कहीँ प्रोपोगन्डा छैन, उच्च शैली र संरचनाले ती शान्त समुद्र जस्ता देखिन्छन्, सुनिन्छन्।
    नेपाली कवितामा एउटा मौलिक शैली र विचारका आविष्कारक वा संयोजक भविष्यवादी दर्शन र राष्ट्रिय चिन्तनको प्रतिनिधि नै कृष्णभूषण हुनुहुन्छ। थोरै तर शक्तिशाली कविताले बोकेको चेतना र शिल्प नै उहाँको परिचय हो। तीन दशकका शक्तिशाली कविहरूमा कृष्णभूषणलाई नराख्ता ठूलो रिक्त स्थान देखिनेछ। उहाँलाई कुनै परिचयको आवश्यकता छैन। किनभने यो राष्ट्रलाई परेको हरेक सङ्कटमा उहाँका कविताले ठूलो बल पुर्‍याएको छ। अहिले आएको युगान्तकारी परिवर्तन ल्याउन झन्डै एकसय वर्षको दुःखकष्ट र बलिदानी कथाले यो सम्भव भएको हो। तिनमा २०३६ र २०४६ का निरङ्कुशता विरुद्ध प्रहार गर्नेहरूमा विष्णुविभु घिमिरे, विक्रम सुब्बा, विमल निभा, महेश प्रसाईँ, अशेष मल्ल, श्यामल जस्ता कवि समूहका कृष्णभूषण कहिल्यै नहार्ने, नझुकेका, अविजेय योद्धा एउटा अग्रचेतना हुनुहुन्थ्यो। 
    भोलि बास्ने बिहानमा ३८ वटा कविता छन् भने त्यसयता रचित १७ वटा कविता अप्रकाशित अवस्थामा छन्। २०६५ साल भदौ पन्ध्रगते ठाकुर बेलवासेद्वारा गुरुकुलमा आयोजीत विशेष कविता वाचन कार्यक्रममा उहाँले डेढ दर्जन जति तिनै नयाँ कविता पनि सुनाउनु भयो। त्यसपछिको भेटमा विष्णुविभु घिमिरे र मैले अब नयाँ कविता छापौँ भनी प्रस्ताव राख्यौँ, तर उहाँले भन्नुभयो राम्रा कविता लेख्न सकेकै छैन। त्यो फाइल लिएरै उहाँ फर्किनुभयो। कविता सङ्ख्याले नापिँदैन त्यसले उत्पन्न गर्ने प्रभावले गर्छ। कृष्णभूषण त्यही प्रभाव हुनुहुन्थ्यो। बैरागी काइँलाको कविताले उत्पन्न गरेको शक्तिसित उहाँको तुलना हुन्छ। उहाँका कवितामा राष्ट्रको गति र ढुकढुकी छ। तिनीहरूमा पहाडी जीवनका बिम्बहरू अत्यधिक घनीभूत छन्, उहाँको बाल्यकालले टिपेको सौन्दर्य चेतना त्यहाँ तीव्र छ। उहाँले मधेशलाई पनि त्यसैगरी समेट्नु भएको थियो। उहाँको मनमा सधैँ सिङ्गो, विविधतापूर्ण र स्वतन्त्र राष्ट्रको चित्र लेखिएको थियो।
    कृष्णभूषण सधैँ अन्धकारको विरुद्ध, सधैँ उज्यालोको प्रतीक्षामा लड्नुभयो। सधैँका स्वतन्त्रता सेनानी उहाँको लागि देशलाई ढाक्ने लामो अन्धकार प्रतिरोधी हो। धेरै कविता त्यसको विरुद्ध छन् तर सधैँ आशावादी उहाँले भन्नु भएको छ म फट्फटाएर भोलि बास्ने बिहानीसँग निश्चिन्त छु।
    वास्तवमा त्यो बिहान देशको अनागत र अपेक्षित दिन थियो। कृष्णभूषणका कवितामा देशप्रेम उच्च छ, आजको समयले विविधता र एकताको कुरा गर्दैछ, उसैबेला उहाँले भन्नुभएको थियो
    काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
    काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन।
    नभन्दै काठमाण्डौँले देश थाम्न सकेन, यसले देशको अर्थ पनि बोकेन। यतिखेर देशको संरचनाले सँगालेका नयाँ स्वरूपहरू समयले खोजेका निकाश कृष्णभूषणले गरेको भविष्यवाणी आज पूरा हुँदैछ। उहाँ एक समयद्रष्टा हुनुहुन्थ्यो। यस्तो प्रखर चेतना चैतको हावामा छ, जसलाई माइकल हट, डा. पद्म देवकोटा, शैलेन्द्र सिंह लगायत चारजनाले अङ्ग्रेजीमा अनुवाद गरिसकेका थियौ। माइकल हटले आफ्नो अनुवादलाई हिमालयन भोइसेजमा समावेश गरेका छन्, डा. देवकोटाले र सिंहले आफ्नै सङ्ग्रहमा राखेका छन्, यो एउटा माष्टरपिस, विश्वसाहित्यमा पुगेको नेपाली कविताको शक्तिशाली प्रतिनिधि शिल्प र आवाज हो। मेरो अनुवाद गतवर्षदेखि त्रिवि अन्तर्गत स्नातक तहको अङ्ग्रेजी पाठ्यक्रममा समावेश छ। उहाँका चुनिएका ३१ कविताको सङ्कलन द फुल मून एट द रिभर व्याङ्क (The Full Moon at the Riverbank 2010) शीर्षकमा दुई वर्षअघि मनु मन्जिलको सम्पादनमा प्रकाशित भयो। पूर्वाञ्चलबाट आएको यो महत्वपूर्ण सङ्ग्रहबारे काठमाडौँमा चर्चा गरौँला भन्ने उहाँसितको सल्लाह थियो तर समयले दिएन।
    कृष्णभूषण अत्यन्तै तीव्र संवेदनाका धनी। उहाँको संवेदनशीलता मनको घाउ, बाल्यकाल, हजूरआमाको पनि त्यस दिन चोला छुट्यो, घर सम्झेपछि, आँसु सकिएपछि, झझल्को मेरी आमाको, इलाम तिम्रो काख छाडी म चिसो बनेँ जस्ता कवितामा पाइन्छ। 
    यिनै विशेषताका कारण कृष्णचन्द्रसिंह प्रधानले उहाँलाई स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारका गायक भन्नुभएको छ, तानाशर्माले अत्याधुनिक युगका सशक्त कवि। मैले वाल्ट ह्विटमानका जस्ता कविताको शैली भएका विशिष्ट स्रष्टा भनेको छु। अरू पनि यस्तै विशेषताले युक्त बलज्यू आफू स्थापित भएदखि हिजोसम्म पनि नयाँ पुस्तालाई उठाउनमै लागिरहनु भयो। उहाँ पूर्वाञ्चलका अधिकांश कविस्रष्टाको अभिभावक, अभिप्रेरक हुनुहुन्थ्यो। यतिखेर पूर्वाञ्चल अँध्यारो, अभिभावकविहीन छ। काठमाडौँलाई पनि शोकको बादलले ढाकेको छ, सम्पूर्ण नेपाली विश्व दुखित छ। गतवर्ष २५ सौँ प्राज्ञसभा सम्पन्न भएको भोलिपल्ट अन्तरङ्ग वात गारौँला भनी उहाँले हामीलाई बागबजारको एउटा लजमा डाक्नुभयो। डा. तुलसी भट्टराई, विष्णुविभु घिमिरे र म पुग्दा तीन तलामाथि बरन्डातिर फर्केको कोठामा पर्खिरहनुभएको थियो। कविताकाव्य, लेखक सङ्घ, प्रज्ञाप्रतिष्ठान र वर्तमान लेखन यस्तै कुरा भए पूर्वाञ्चलमा एक भव्य कार्यक्रम गर्ने कुरा भए। हामीले त्यसबेला फेरि भन्यौँ अब दाइले नयाँ कविता प्रकाशित गर्ने बेला भयो, हामी पनि मद्दत गर्छौं। 
    म त्यसरी मद्दतको कमीले रोकिएको हुइनँ, छाप्नका लागि मैले भन्नासाथ अमेरिकाबाट छोराले पैसा पठाइदिन्छन। तर के भने मैले राम्रा कविता नै लेख्न सकेको छुइनँ कि जस्तो लाग्छ। बरु तपाईंहरूलाई आज बोलाएको कारण अर्कै छ, म केही सुनाउन चाहन्छु। 

          त्यसपछि उहाँले ससानो कापीमा लेखेका पृष्ठ खोलेर पढ्न थाल्नुभयो। एक, दुई, तीनवटा संस्मरण निबन्ध थिए। अरू पनि कापी भरि थिए तीनवटा सुनाउन आधाघण्टा लाग्यो होला। ती बाल्यकालदेखि शुरु भएका रबी, पाँचथर र इलाम छेउका बाल्यकालका मातृवियोग पछिका पढ्न बस्ताका विद्यालयमा भोगिएका भाषिक कठिनाइका अत्यन्तै ह्रिदयश्पर्शी कविताकै शैलीका थिए। त्यो सुनेर हामी स्तब्ध भयौँ। 
          अन्त्यमा उहाँले भन्नुभयो कविता सङ्ग्रह होइन, अब यो संस्मरण पूरा गर्छु र एकपल्ट डाक्टसाब्लाई दिन्छु, हेरिदिनु होला, पहिलो यही छपाऔँला। 
          म अत्यन्तै खुसी भएँ। ६ महिनाको म्याद थियो। वर्ष दिन बित्यो। त्यो उहाँले पूरा गर्नुभएन कि? भोलि २६ औँ प्राज्ञसभा छ, यस रिक्ततामा बारम्बार बलदाइ मात्र आइरहनु भएको छ। आज उहाँको दशौँ पुण्य तिथिमा उहाँका दुई हार कविता उद्घृत गरेर रोकिन चाहन्छु : 
     मलाई त कविताले मान्छे मान्छेको मुटुमा देश लेख्नु थियो
     मलाई त कवितामा मान्छेले गाउने गीत लेख्नु थियो।
     धन्यवाद।
 (२०६९ साल असार २१ गते नेपाली लेखक सङ्घले आयोजना गरेको कवि कृष्णभूषण बलप्रति श्रद्धञ्जली कार्यक्रममा बिजुलीबजारस्थित सङ्घको कार्यालयमा वाचन गरिएको पाठ।) 
हामीलाई त्यस्तो रिक्तता कहिल्यै भएको थिएन। 
     अघिल्लो भेटमा हेर्नोस् त, प्राज्ञ भन्छन्, बोलाइदिन्छन्, नजौँ भने भएन, जाँदा साथीभाइ पनि लानु पर्‍यो। गाडी बन्दोवस्त गर्‍यो कुद्यो, म त यतातिर एकेडेमी थाम्दैमा हैरान भएँ भन्नु हुन्थ्यो। नभन्दै त्यही जिम्मेदारी बोध थियो र नयाँ पुस्ताका लागि जहाँ पनि पुग्नुहुन्थ्यो इटहरी धरान ता नजिक भए, उताका बेलबारी, पथरी, दमक, िझल्िझले, माइपारी कुनै ठाउँ। एउटा ठूलो धरोहर, अभिभावक भै उभिएको नेपाली कविता र उदारवादी विचारको खम्बा स्थिर भयो, यसका गति रोकिए। 

भाउजू शोभा लामाबलको सदीच्छा
त्यसपछि धेरै दिन ता म बोल्न सकिनँ अर्थात्, भाउजूलाई बोलाउन सकिनँ। कसरी के भन्नु होला जस्तो मनोविज्ञान हुँदोरहेछ। धर्मेन्द्रले भेटेर आए, प्रकाश आङ्देम्बेले पनि फोनमा र भेटमा हाल खबर सुनाए, विष्णुविभु र दाजु तुलसीबाट खबर आयो। तब मैले सोधेँ दाजुसँगको त्यो आत्मीय सम्बन्धको अन्त्य भएको होइन, त्यसले बाँधिएकाहरू अरू छौँ, भाउजू, तपाईं अनि छोराछोरी र इष्टमित्र, सबैसित म जोडिएकै छु। 
     तब निकैपछि फेरि एक दिन फोन गरेँ शोभा भाउजू, भक्कानिएर बोल्न गारो भो। फेरि अर्काे हप्ता गरेँ। मनको औडाहा अलिकति कम भएछ अनि अर्काे फोनमा भनेँ म त्यता आउँदैछु भाउजू। 
     नभन्दै एक दिन पूर्व जाँदा घरैमा गएँ। सन्सारीमाईस्थान पर्तिर घरैमा भाउजूलाई भेटेँ र उहाँले भक्कानिँदै भन्नुभयो दाजुका रचनाहरू निकाल्ने इच्छा थियो। मसँग भन्नु हुँदै थियो, कति लाग्छ होला? यस्तो उहाँको इच्छा थियो। उताबाट छोराले पनि सोधीपठाएको थियो कति लाग्ला ममी। यो कुरा नै सरसँग गर्नु धेरै मन थियो। दाजुले पनि तपाईंको नाम लिइरहने। त्यहाँ लेख्नु भएको पनि छ। त्यो फिदिमको फोटो हेर्छु, तपाईंहरूको, तपाईंले पनि काठमाडौँमा निकालौँ भन्नुहुँदै थियो... यस्तै गन्थन गर्नु भयो। 
     म हेर्छु भाउजू, म पढ्छु, उहाँले यसो काठमाडौँको गुरुकुलमा पनि वाचन गर्नु भएको थियो। हामीसँग प्रकाशनको कुरा गर्दा यसो भन्नु भयो मैले सुनाएँ। यसरी देवर भाउजूले गन्थन गर्‍यौँ। दाजुको नाममा एउटा पुरस्कार स्थापना गर्ने पनि विचार छ, अहिले त म पनि अलिक गलेको छु, उहाँको वार्षिक तिथिमा यो पुस्तक पनि प्रकाशित गराउने इच्छा छ। मैले सप्पै भेला पारी बटुलेर राखेको छु। त्यसलाई हेर्ने र भूमिका लेखिदिने काम चाहिँ सरले नै गरिदिनु होला। 
     मैले हार्दिक स्वीकृति जनाएँ र फर्किएँ। त्यसको केही समयपश्चात् धर्मेन्द्रले एक झोला सामग्री टाइप्ट, ण्डुलिपि, हस्तलिपि, न्यूज पेपर कटिङ आदि ल्याएर कीर्तिपुरस्थित सुकर्म टोलको भट्टराई निवासमा जिम्मा लगाए। त्यसपछि मैले सबै सामग्री टाइपमा पठाएँ, पू्रफमा पठाएँ, उता पूर्व गयैपिच्छे शोभा भाउजूकोमा जान्छु अथवा फोन सम्पर्कमा रहन्छु। थप सामग्री उहाँले खोजी ठीक पारेको हुन्थ्यो, मैले ल्याएँ, धर्मेन्द्रले पनि दुईपल्ट ल्याई दिए। सारा सामग्री संयोजन भाउजूले नै गर्नु भयो। मैले मिलाउने काम गरिरहेँ। 
     आज निकै समयपछि नयाँ वर्ष लागिसकेपछि सबै कुरा जोडेर सबै कुरा पढेर म केही लेख्न बसेको छु। 

नयाँ सङ्ग्रहको तयारीमा 
यस्तो कुरामा लेख्नु गाह्रो हुन्छ। यस्तो कुरामा भन्नाले लामो सम्बन्ध, प्रेेम श्रद्धाको नाता भएका व्यक्तिको। त्यसो त अघि पनि मलाई यस्तो परिसकेको छ दुईपल्ट। कविवर मोहन कोइरालामा र निबन्धकार कृष्णचन्द्रसिंह प्रधानमा। मोहन कोइरालाले नै मलाई बुझाउनु भएको सिमसारका राजदूतको पाण्डुलिपि पनि दिवंगत भएको वर्षदिनमा पुस्तकाकारमा आयो, रत्न पुस्तक भण्डारले ल्यायो, कृष्णचन्द्रसिंह प्रधानले मलाई जिम्मा लगाउनु भएको उहाँको अन्तिम निबन्धहरूको संकलनमाथि पनि भर्खर लेखिसकेँ, प्रेसमा जाने तयारीमा रहेको छ। 
     भूषण दाजुले छोडेको अव्यवस्थित ठाउँहरूबाट खोजी टुत्राटुक्रा गर्दै कति आफैँले सारिदिएर जम्मा गर्नुभयो। एक फाइल कविता र शुरुमै थिए। तिनमा पनि थपिँदै गयो। सुनाखरी लामाका कटिङ पनि थपिँदै गए। अहिलेलाई त्यति नै भए, पछिका अनुसन्धाताले फेरि खोज्ने ठाउँ त बाँकी नै रहने छ। 
     भेटिएका रचनाहरूमा कविता र स्तम्भको रूपमा प्रकाशित लेख भेटिए। यिनलाई बेग्लाबेग्लै निकाल्दा एक पुस्तक जति नहुने भएकाले गर्दा दुइटै जोडेर एउटै कृतिमा निकालौँ भन्ने सल्लाह गरेँ। भाउजूको स्वीकृतिले यस कृतिको शीर्षक कष्णभूषण बलका कविता र निबन्ध राखेका छौँ। कारण यसमा उहाँका ४९ कविता र १४ निबन्ध समाविष्ट छन्। 
     २०६२ सालमा प्रकाशित भाइ देवेन्द्र भट्टराईको स्रष्टा र समय एक महत्वपूर्ण कृति हो। त्यसमा नेपाली साहित्य जगत्का ८५ जना स्रष्टाको परिचय छ। त्यसै पुस्तकमा परेको भूषणदाइ माथिको देवेन्द्र भाइको सोच्नुपर्ला कि भूषणजी शीर्षक लेख पनि फेरि राख्न मन लाग्यो। (कारण शोभा भाउजूले सर्वप्रथम कान्तिपुरमा प्रकाशित उक्त लेखको कटिङ पनि मलाई बुझाउनु भएको थियो।
      म विश्वस्त छु, यो बलदाइको बारेमा अत्यन्तै राम्ररी लेखिएको रचना हो। मलाई प्राप्त सामग्रीमा उसबेलाको कान्तिपुरको कटिङ समेत जोगाइराखेर यहाँ राख्ने इच्छा व्यक्त गर्नु भएकाले सो रचना यहाँ पुनः साभार गरेको छु। 
          कृष्णभूषण बल विशिष्ट पहिचान भएका अग्ला व्यक्तित्व उहाँमाथि कति अध्ययन अनुसन्धान भएका छन् तथापि यी नवीन रचनाबारे नयाँ प्रकाश आवश्यक छ । 
     उहाँको अघिल्ला कविताहरूको सङ्ग्रह भोलि बास्ने बिहान २०४१ सालमा छापिएको थियो। यस सङ्ग्रहको पहिलो कविता आसुको पनि पहुच हुनुपर्छको अन्त्यमा धेरै पछिसम्म लेखिएको छ। कुनै कवितामा रचनाकाल छैन। तथापि भोलि बास्ने बिहानभित्रका सबै कविता २०४१ सालसम्ममा लेखिएका थिए भने त्यसको तेर वर्षपछि भन्नाले २०५४ सालसम्म उहाँले कविता लेख्नु भएन छ। त्यसैले यहाँ सङ्कलित रचनामा २०५४ देखि २०६८ गरी १४ वर्षभित्र लेखिएका होलान्। वर्षको औसत तीनचार कविता लेखिएछन्। बिचमा कविता किन लेखिएनन् त्यसको उत्तर पनि विराटनगरमा हर्न प्लिज शीर्षक रचनामा छ लेख्न बसेको हुँ, लेख्न सकिरहेको छुइनँ। मेरो लेखन विधा कविता हो, कविता त झन् लेख्न सकिरहेको छैन। लेख्नलाई प्रशस्त साधना, प्रशस्त चिन्तन, त्यो माथिको मनन सबै चाहिन्छ, यो सबै कुराहरूको संयोजन लेखनमा हुनुपर्छ भन्ने चेतले नै मलाई लेख्न नदिएको हो कि त्यस्तो पनि लाग्छ। अन्य कति कविताभित्रै पनि कविको मनमा लेख्ने चिन्ता भएको तर लेख्न नसकेको कुरा छ, हतार नगरेको कुरा छ, गम्भीर हुनुपर्ने कुरा छ, सस्त्याइँदेखि टाढै रहने कुरा छ।
     सङ्कलित कतिपय कविता अझै खिप्न बाँकी थियो भन्ने प्रस्ट हुन्छ। कविताको शीर्षकमै कतै अझै दोहोर्‍याउनु छ भन्ने लेखिएको छ, एउटा कवितांश दुई ठाउँमा दुई अलग शीर्षमा राखिएको थियो। तीन कविता विना शीर्षकका थिए। एउटा योजना अन्तर्गत लेख्ता लेख्ता अपूरो भै अर्काेपल्टको अर्कै मूडमा तिनै इमेज सम्झेर नयाँ शब्दमा लेखिएको हुनुपर्छ। त्यस्तो हुन्छ, कलरिजको कुब्ला खाँ जस्तै कतिपय तात्क्षणिकताको आववेगमा, संवेदनमा आउँन खोजेको हुन्छ, आउँदै हुन्छ, त्यो कुनै अवरोधले हराउँछ, लुक्छ फेरि नपलाउने गरी। यहाँ दुईवटा कविता उदाहरणका लागि राखिएका छन्ः 
(क) गाउँले कविको कवितालाई शुभकामना (ख) कविजी (जसराजजी)। 
वास्तवमा यी कविता कविवर जसराज किराँतीलाई संवोधन गरी लेखिएका हुन्। यिनमा केही समानता छ, केही फरक पनि छ। यी अलगअलग कापीमा थिए, यिनको सम्पादन गर्नुको सट्टा दुवैलाई यहाँ प्रस्तुत गरिएको छ। यसले के देखाउँछ भने कति रचना निर्माणाधीन थिए, सिर्जनाको प्रोसेस (प्रक्रिया) मा थिए।


अब म बाँकी रचनातिर प्रवेश गर्न चाहन्छु 
कविहरू मूलतः संवेदना जगत्का मालिक हुन् अर्थात् संवेदनाका दास हुन्। भावना र अनुभूतिले कल्पनाका तरंगले आफ्नै जगत्को सिर्जना गर्दछन्। त्यो जगत् अनेक मूल्यले निर्मित हुन्छ। त्यस्ता मूल्यनिर्णायक तत्वहअरू स्रष्टाको परिवेशले खासगरी बाल्यकालले नै निर्माण गर्दछ। 
     कृष्णभूषण बल संवेदनाले चल्ने विचारका ठूला कवि हुनुहुन्छ। उहाँका दुवै पक्षको निर्माण बाल्यकालले गर्‍यो। प्रस्तुत सङ्ग्रहमा उनका संस्मरणात्मक गद्य विचार पनि संकलित भएकाले कृष्णभूषण भित्रको कविलाई बुझ्न ठूलो सहायता पुग्नेछ। पाठक आफैँले त्यहाँ प्रवेश गरी बिर्साैं भन्छु सक्तिनँ सिरिजका रचना आत्मसंस्मरण पढेपछि उहाँको कविताको अर्थ झन्झन् गाढा हुँदै जानेछ। अघि नबुिझएका अथवा बुझ्न बाँकी बलदाइलाई पनि यी यहाँका गद्य भागले राम्ररी बुझाउने छन्। बाल्यकाल कसरी बित्यो, मातृ वियोगले कत्रो चोट पार्‍यो, कसरी असुरक्षा भाव जगायो, अन्तर्मुखी बनायो, आफ्नै जगत्भित्र हराउने बनायो, कसरी मावल पुगियो, त्यो परिस्थितिले कसरी कवितातिर प्रवेश गरायो ती पढ्दा थाहा हुन्छ। 
     दोस्रो कुरा, सबै प्रकारका जातजाति मिश्रित पहाडमा सामाजिक आदानप्रदान र सहभावले बितेको बाल्यकालसँग आजको विखण्डनउन्मुख स्थितिको तुलनाले उहाँलाई आक्रोशित बनाएको देखिन्छ, दुखित बनाएको छ। ती कुरा त्यहीँ लेखिएका छन्।
     कसरी उहाँको मनमा स्वतन्त्रता र प्रजातन्त्रप्रति (अझ नेपाली काङ्ग्रेस प्रति) निष्ठा र विश्वासको जग बस्यो कसरी त्यो अटल हँुदै गयो त्यो पढ्दा थाहा हुन्छ। 
     कविता भन्दा ठूलो आराध्य शक्ति नभएको अर्काे गन्तव्य नभएको सत्य मान्ने कृष्णभूषणले कवितामा समर्पित भएर कवितामा कसरी शक्ति भर्न सिक्नुभयो र सक्नुभयो त्यसको संकेत पनि यिनै संस्मरणले दिनेछन्। म सबै कुरा खोल्न आवश्यक ठान्दिनँ तर भूषण दाइको मनमा कसरी निरन्तर राष्ट्र उम्लिरह्यो, कसरी प्रत्येक पल निसासिएको समाजले सास फेरेको हेर्ने आकाङ्क्षाले उहाँलाई खेदिरह्यो, केले उहाँलाई एक उच्च राष्ट्रवादी मानवतावादी कवि बनायो, त्यो कुरा तिनै सूत्रमा अभिलिखित छ। उहाँ सङ्कीर्ण जातिवादको विरोधमा हुनुहुुन्थ्यो, उहाँका कविताले र व्यवहारले त्यो भन्छ। 
     त्यहाँ भनिएका कुरा मैले यहाँ दोहोर्‍याउनु हुँदैन तर यी सारा कुराको सङ्केत विस्तारमा बुझेपछि मात्र यी जीवनवादी कवि किन पहाडमा चढिहनुभयो, कसरी सारा काव्यतत्वहरू इलाम र पाँचथरबाटै टिपेर उन्नुभयो, झार्नुभयो, जीवनभरि तिनै बाल्यकालमा टिपेका सुनाखरीका थुँगा उनिरहनुभयो, उनिरहनुभयो यसको रहस्य यिनै संस्मरणले खोल्ने छन्। 
     प्रत्येक लेखकस्रष्टाको विचारको, रङको दृष्टिकोणको निर्माण बाल्यकालले गर्दछ। त्यसैले स्रष्टा बारम्बार त्यतै फर्किरहन्छ। उहाँको इलाम तिम्रो काख छोडी म चिसो बगेँ जस्तो कविताले बाल्यकालको न्यानो काख छोडेको पश्चात्ताप गर्दछ। त्यो पश्चात्ताप, क्षय र प्रेम मनमा किन उठिरहन्छ भने एउटा शान्त, सुन्दर, मोहक प्रकृतिको काखमा उहाँ हुर्कंनुभएको थियो। आज पनि त्यो गाउँको सम्झना त्यसैगरी उठिरहेको छ। ग्रामीण सौन्दर्य, शान्ति, सहभाव र बिर्सिनसक्नु आफन्तहरूले बारम्बार पछ्याएका छन्। त्यसैले कवि भूषणका कवितामा सबै बिम्ब र प्रतीकहरू पहाडकै छन् पशुपक्षी, वनस्पति, खोलानाला, अरू लोकवाणी, आह्वान र निवेदनहरू प्रायः पहाडकै छन्। कुनै पनि शक्तिशाली सिर्जना बाल्यकालकै पुनःस्मृति रहेछ, त्यो निर्दाेषितापूर्ण आनन्दको खोजी रहेछ, स्वच्छन्दता प्रेम रहेछ। 
     कृष्णभूषण बल यो सिङ्गो देशका किनारीकृतहरूका पनि आवाज हुनुहुन्छ। यो भावना उहाँमा २०३६ सालअघि नै आएको थियो। भोलि बास्ने बिहानको एउटा मास्टरपिस काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्तैन शीर्षक कविताको उद्घोेष, आह्वान र चुनौती एक भविष्यवाणी थियो भने प्रस्तुत सङ्ग्रहमा पनि प्रकारान्तरले त्यस्ता रचना छन्, एउटा छ उच्च कोटिको आँसुको पनि पहँुच हुनुपर्छ। त्यसैगरी काठमाडौँको यथार्थले पनि यस महानगरीकै ह्रिदयशून्य भीडको यान्त्रिक जीवन दर्शाउँछ। उहाँका संस्मरणले पनि त्यही अतीतलाई सम्झाइरहन्छन्। 
     सबै संवेदना उत्पन्न हुने भूमि बाल्यकाल र आमा रहेछन्। मातृवियोगले बलदाइको ह्रिदयमा एक अव्यक्त रिक्तताको बास भयो। ती कुरा आमा कविताहरूमा छन्। त्यसो त आमा सिरिजका कविता चारवटा छन्। लेख संस्मरणमा पनि त्यो थिम आइरहन्छ। मावलीको बसाइ, बाल्यकाल र पढाइ त राम्रो र निर्बाध देखिन्छ। यसमा दुईवटा आमा कविता छन्। आमा आज तिमीलाई सास्टाङ्ग दण्डवत् र आमासँग भेट। आमासित भएका भेटका एकदम धूमिल संझना मात्र बाँकी छन् जस्तो सागमा सु गरेँ। आमाको अन्त्येष्टि गरेको दिन कसरी त्यो निर्दाेष र अबोध शिशु वादलमुनि रमाएर नागीमा नाचिरहेको थियो होला 195द्र वास्तवमा आमाले उत्पन्न गर्ने संवेदन अर्कै हुने रहेछ। ईश्वरवल्लभ, नवराज सुब्बाका, उमेश अकिञ्चनका, मञ्जुलका कविताहरू अथवा गणेश रसिकका संस्मरण पढ्दा त्यस्तो छुिट्टन्छ। नेपाली साहित्यमा कति स्रष्टाको मनोविज्ञान र ऊर्जासमेत केलाउन आमा सिर्जनाको अध्ययन गर्नु आवश्यक छ। 
     बलदाइ मद्यप पनि हुनुहुन्थ्यो भोबाबिका आज त बिसाउँ होला थापादाइ, भूषणजी यसरी बाँच्छन्, कृष्णभूषण बलका बाँकी रचना (कृबबाँर)माभवानी दाइ र मेरा अन्तरङ्ग कुराहरू, विराटनगरमा हर्न प्लिज जस्ता रचनामा एउटा संवेदनशील स्रष्टाको अत्यन्तै भित्री जीवन त्यसरी सार्वजानिक हुनुपरेकोमा पीडा र ग्लानिका स्वीकृति छन्। वास्तवमा विराटनगरमा हर्न प्लिज २०६४ सालको घटनापछिको आत्मकथ्य हो। चितवनमा उत्मुक्त भएर दाजु अर्कै जगत्मा पुग्नु भो। गणेश रसिकको प्रेमले भनौँ जीवा लामिछानेको निमन्त्रणाले पद्मश्री पुरस्कार समारोहमा उहाँलाई चितवन पुर्‍यायो। त्यो सम्झनाले र त्यसपछि उहाँले भत्केर लेख्तु भएको छ। तर कविहरूलाई भावनाले ज्यादा भत्काउँदो रहेछ, संवेदनशीलताले ज्यादा सुकाउँदो रहेछ, बाहिर कठोर जगत्विरुद्ध लड्न उठेको तर भित्र अति कोमल आफैँविरुद्ध लडिरहेको, भित्रभित्रै हारिरहेको आफ्ना इच्छाहरू ठोकिँदा, कल्पनाहरू भत्किँदा स्रष्टाहरू भत्किँदै जाने रहेछ। देशको अव्यवस्थाले बलदाइलाई धेरै खायो, आफूभित्रको काल्पनिक जगत् टुट्तै जाँदा अरू लडायो र खासगरी जति माथि पुग्यो त्यति स्रष्टा झन् एक्लो हुँदै जाने रहेछ। ऊ संवेदनारहित हुँदै जानेरहेछ र त्यस्तोमा कतिलाई मध्यपान वा अन्य लतले पनि फकाउँछ। उहाँको मन आफ्नै अन्तर्तहको संवादमा डुब्दो रहेछ। यस लेखमा बलदाइले संवेदनालाई आँसुमा चोबेर मृत्यु चिन्तन लेखिरहेको देखिन्छ, किन होला यस्तो 

म अब यसरी रित्तिएँ कि आफैँलाई केही नराखी रित्तिएँ बरु रित्याउँ्क म आफै तर मेरो विचार र विचार बोक्ने मान्छेहरू यहाँसम्म रहून् र आऊन् सोच्दै थिएँ। डा. तुलसी भट्टराईको फोन आयो यस्तै लेख्दै थिएँ र सुनाएँ किन हो म धेरै वर्षपछि रोएँ रुन पो थालेछु। शायद मैले खेलाएको मेरै जिन्दगी अनर्थ खेलाए के दुख्छ, मलाई त्यो नै थाहा हुन्न के बिझायो मलाई त्यो नै थाहा हुन्न कहाँ केले घोच्यो मलाई त्यो नै थाहा हुन्न म जिउँदै रहेछु तर मर्दै रहेछु शायद मरेर केही हेर्दै रहेछु। (पृ. ९१) 
     अन्त्यका तीनवटा रचना अत्यन्तै मर्मश्पर्शी छन् विराटनगरमा हर्न प्लीज एक प्रकारको इच्छापत्र जस्तो लाग्छ। यसमा एउटा संवेदनशील साहित्यकारको मनमा उत्पन्न भएको भय र हतासा त्यस्तै केही अँध्यारा देख्न पाइन्छ भने भवानी दाइ र मेरा अन्तरङ्ग कुराहरू पनि उनीभित्रको भावुक स्रष्टाले एउटा अभिभावक अग्रजसँगको भेटमा अन्तरङ्ग जीवन पोख्न खोजेको मनोविज्ञान छ। अन्त्यमा रहेको दिदी भाइका भित्री कुरामा बलदाइ परिवारको दिदी देवकुमारी थापासँग कति लामो, कति गहिरो, कति स्नेहपूर्ण पारिवारिक सम्बन्ध रहेछ त्यो देख्न पाइन्छ। वास्तवमा भाउजू शोभा लामाको माइती उता भएकाले गर्दा नेपाल र दार्जेलिङलाई त्यो परिवारले जोडेर अनि रसाएर हेरेको देख्ता ठूलो आनन्द लाग्दछ। एउटा रचनाको शीर्षक अथवा सुत्र नभेटिएर जीवनका ठक्कर शीर्षक दिएका छौँ। 
     गाउँको माया छ उहाँलाई, स्वच्छ निर्मल गाउँका बिम्बको र बाल्यकालको। सबै स्रष्टा बितेको कोमलता उठेर वर्तमानको कठोरतामा ठोकिँदा बेहोस् हुन्छ, त्यसो त सबैको जीवन त्यस्तै हुन्छ, स्रष्टा चाहिँ ज्यादा अतीत र वर्तमानको ग्यापमा सिर्जना गर्दाे रहेछ। उहाँ पाँचथर इलामको निर्मल अतीत र विराटनगरको शुष्कता बीचको जीवनमा ठोकिनुहुन्छ। बलदाइ आफ्नो अदम्य साहस र हुङ्कार गर्दै उठ्ने अठोटले उठ्नुभएको हो चैतको हावा जस्ता कविताबाट। त्यो दृढता वा प्रस्ट गन्तव्यबोध कृबबाँरको भविष्यमा पनि छ यसरी :  

म भने समयको उर्लिंदो बाढीलाई थुन्नेहरूका टाउकामा कलम
   बजारिरहेछु 
म त समयको साङ्लोलाई समयकै खिया लगाएर चुँडाउन तयार 
   बसेको छु 
     अघिको भोबाबि र यस सङ्ग्रहको बीचका बलदाइमा अन्तर छैन, सिर्जनाको क्षेत्र, विषय, शिल्प र शैली उनैउनै छन् तर तुलनात्मक रूपले वर्तमान सङ्ग्रहमा अझ गहिरा, अझ परिष्कृत र विविधतापूर्ण कविताको संख्या धेरै छ। यसमा समय ज्यादै बदलिएको छ। 
     बलदाइ उठ्ता कवितामा समढन्न भई खोलाका दुवै किनारसम्म ढाकेर बग्ने नदीजस्तो लाग्छ, अघि पनि भनेको थिएँ वाल्ट ह्विटम्यानको जस्तो लाग्ने गद्यात्मक पद्यकला छ। अघिल्लो चैतको हावामा झैँ, नदी किनारको पूर्णिमा झैँ, म ओधानमा झैँ, ग्रयाण्डमास्टरमा झैँ यसपालि पनि आँसुको पनि पहँच हुनुपर्छ, गाउँले कविको कवितालाई शुभकामना, चरैवेति, अनभिज्ञता जस्ता कवितामा त्यो समढन्न नदी टिलपिल बग्छ। यो उहाँको अत्यन्तै भिन्न मौलिकता हो, यद्यपि यसपालि निकै जस्तो त्यो संरचना बदलिएको छ, छोटा हरफे पनि धेरै छन्। 
     सबै इमेज बिम्ब गाउँकै छन्, सबै प्रतीक गाउँकै छन् नागी, चौरी, बादल, हुस्सु, कुहिरो, कुलकुल पानी, त्यहीँका साथीसँगी र छिमेकी त्यहाँ बितेका दिन त्यसैले अघिकांश कविता लेखायो। स्रष्टाहरू खालि बिम्बलाई पुनरुत्पादन गरिरहन्छन्। यहाँका आमा तिमीलाई साष्टाङ्ग दण्डवत्, गाउँले कविको कवितालाई शुभकामना, इलाम तिम्रो काख छाडी म चिसो बगेँ, आमासँगको अन्तिम भेट, गाउँ, गाउँले सधैँ घुम ओढेको छ, कविजी, हरियो सङ्गीत रसिक, चरैवेति, कन्याममाथि, अनभिज्ञता, यस्तो होस् र बाल्यकाल विषयक लेख रचना सबै पहाडी बिम्बले बुनिएका छन्। गाउँ र अतीतको नोष्टाल्जिया सल्काएर उहाँ त्यही उज्यालोले हिँड्ने गर्नुहुन्छ। मधेशको कोलाहलमा बसेर अतीत पहाडको निस्तब्धताको यस्तो प्रार्थना गर्नुहुन्छ
     कुइरोले ठाउँ छाडेको बेला
     कुलोको पानी सास नफेरी कुदिरहेको बेला
     उज्याला मुनाहरू भर्खर पलाउन थालेका छन् 
     यस्तो बेला कोही हिँड्दैछौ भने
     बिस्तारै जोगिएर हिँड
                                                (एकान्त)
     ‘आमाभन्दा ठूली धराको गीत गाउँदै हिँड्ने कविलाई शहरको कोलाहमा आफ्नो परिचय हराएको जस्तो छ जहाँ फुटपाथमा हिँड्न पनि मुस्किल छ, जहाँ चैततिर हुरी चल्छ। त्यसैले कवि त्यो आदिम भूमिको शान्त एकान्तको आराधनमा हुनुहुन्छ।
     जब म मेरो गाउँ सम्झन्छु 
     ऐँसेलुका काँडाहरूले पुरानो परिचितझैँ घोच्नथाल्छन् 
     छाँगाहरूले चिनेझैँ गरी छङछङ गीत गाउन थाल्छन् 
     लिङ्गे पिँङमा काम्रो लगाउँदै मच्चिनथाल्छु 
     चउरभरि चिप्लेँटी बनाएर लडीबुडौ खेल्न थाल्छु
     जब म मेरो गाउँ सम्िझन्छु 
                                                (गाउँ)
     तर अनेक सर्ङ्षमा पनि उनको ल73य स्थिर थियो। यात्राको अनन्ततालाई स्विकारेर उहाँ चलिरहनुभएको थियो 
     अनन्तसम्म हिँड्नु छ मलाई त सबैसँग 
     चाहे ती जित किन नहून् 
     चाहे ती हार नै हार किन नहून् 
                                      (यात्रा अनन्त छ)
     अनेक उथलपुथलले, विसङ्गतिले, विपरीतताले छोप्ता मात्रै भूषणदाइले आँसुको कुरा गर्नुभएको छ। काँडाहरूको जगत्का चल्दाचल्दै कहिले मन हार्थ्याे होला यद्यपि उहाँको दृढ अठोट दुर्दमनीय थियो। 
     म सधैँ उज्यालो खोज्ने मान्छे भएकाले अँध्यारोको विपक्षमा 
     म सधैँ उभिएँ ती नै मेरा कविताहरू हुन्
     म सधैँ समय बोलेँ ती नै मेरा कविताहरू हुन्
     समय बोल्दा करोडौँ ताराहरूमा चार ताराहरू रोजेँ 
     समय बोल्दा ठूलठूला उद्यानहरू भन्न छाडेर तोरीबारी भन्न पुगेँ।
     (म सधैँ उज्यालो खोज्ने मान्छे)
     त्यही इच्छाको दर्पण हेरेर उनले एउटा गीतमा भने 
     दुई हरफ लेखिदिँदा सकिजाने जिन्दगी 
     बुझ्न सके अघि हिँड्ने छाया हो जिन्दगी 
     हो रहेछ बलदाइ। तपाईं अघि हिँड्ने छायाँ बन्नुभएछ, हामी पछिपछि त्यतै कुदिरहेछौँ। यति लेखिसक्ता घाम अस्ताउने समय आइपुगेछ। यो सुन्दा कस्तो हुन्छ? तर हरियो सङ्गीत रसिक जस्तो कविता हालैका वर्षमा गणेश दाइले भोगेका दुर्भाग्यका प्रहारलाई सम्झेर लेखिएको हो, रहर जस्तो कवितामा एउटा स्वच्छ र सुन्दर अतीतलाई ह्रिदयले पुकारा गरिरहेको छ। घाम डुब्ने तयारीमा जस्तो कविता अन्यौलग्रस्त मुलुकको समसामयिक चित्र हो। मान्छेको गर्धनको नापमा हँसिया, आस्थाको हिमाल लड्यो कविताले राजनीतिक सामाजिक अन्धवेगलाई सङ्केत गर्दछन्। वास्तवमा उहाँ 
माइनोरिटी गू्रप भएर पनि सदा सहअस्तित्वका पक्षधर, उहाँका रचनाले त्यो भन्दैछन्, सबैको सिङ्गो देश भन्दैछन्, फेरि पनि दुःखदिनेहरू बाँकी छन्। यो शहर कसको हो पाँचवर्ष अघि जिटिजेडले देशका अनेक स्रष्टालाई काठमाडौँमा निम्ता गरेर लेख्न लगाएको कविता हो, उहाँले लेखेका रूख, चारतारे झन्डा, देश प्रजातन्त्र र सानो बुबा (गिरिजाबाबुको देहान्त) आदिले उहाँको आस्था र निष्ठाको प्रसङ्ग बताउँछन्। 
     यत्रो समयमा किन लेखिएन भन्ने प्रश्न आइरहे होलान्, आफैँबाट, अरूबाट। उत्तरमा बलदाइ भन्नुहुन्छ 
     चाहे बेला झरोस् वा ढलोस् जस्तो जहाँ जे पर्छ
     तर बेला पर्खेर नै लेख्छ कवि 
                                                (बेला)
     त्यसरी बेला पखर्िंदा पनि कहिले त्यसै टर्‍यो होला। अर्काे एउटा कविता छ सुयोग र उसको मृत्यु (पुस १२, २०६४) आफ्नै घर अगाडिको पर्खालतिर खेली हिँड्ने चञ्चल बालक सुयोगको स्मृतिमा छ यो, त्यस घटनाले उनलाई कसरी छोयो, त्यही घटनालाई अरू हजारौँले हेर्छन्, तर ह्रिदयले देख्ने र अमर चित्रमा लेख्ने कोही हुन्न। अरू केही रचना छन्, जस्तै नाक यसमा कविको अहंमाथि चोट लागेको थियो। होला, जातीय सद्भावको लागि मरिमेटने बलदाई कसैले आफ्नो नाक देखायो होला, एउटा कपूत ढाँटको लागि कवितामा कसैले धोका दिएको थियो होला, यस्ता अनेक अवसर छन्, तत्काल संवेदित कवि बोलिदिन्छ यस्तै हो। २०५४ साल यताको १५ वर्षमा बलदाइले यति कविता र संस्मरण लेख्नुहुनेछ। कवितामा नखुलेको आधि रहस्य र अर्थ उहाँका संस्मरण पढ्दा खुल्दछ, ती संस्मरणात्मक लेख वा स्तम्भमा पनि बलदाइले कविकै भाषा र बिम्बको प्रयोग गर्नुभएको छ। कति वर्ष कविता लेख्न छोडेपछि उहाँभित्र एउटा दृढ अठोट पलाउँछ। बलदाइका दुईवटा राम्रा गीत छन् 
     बाटो हिँड्यो धेरै अघि यात्रा यतै बाँकी रहयो 
     चरी उड्यो रूख छाडी पातहरू झरिरहे
                                                (गीत१ बाट)
     दुई हरफ लेखिदिँदा सकिजाने जिन्दगी
     बुझ्न सके अगि हिँड्ने छायाँ हो कि जिन्दगी
                                                          (गीत२ बाट)
      उहाँका कविता कहिले रचिए होलान् भन्ने प्रश्न उठ्छ। सङ्ग्रहको प्रथम कविता आँशुको पनि पहुँच हुनुपर्छको अन्त्यमा १३ वर्ष पछि लेखिएको थियो, हातैले, त्यो २०४१ सालमा भोबाबिको प्रकाशन मिति पछिको १३ वर्ष होला। भाउजूले भन्दा पनि उहाँले बीचमा कविता लेख्नु भएन। २०५४ सालमा सेवानिवृत्त भएपछि, जागीर छोडेपछि १३ वर्षपछिको कविता यो आयो अनि अरू आए। तर यता पछिल्लो समय कहिलेसम्म लेखिए भन्न सकिन्न। कुनै कवितामा मिति छैन, लेखिएको कागजमा रचना मिति छैन, स्थान छैन, अघिल्लोमा पनि थिएन। त्यसकारणले कुन परिस्थितिमा के ले छोएर यो सिर्जना भयो होला भन्न मुश्किल छ। 
     अन्त्यमा भूषण दाइलाई लेखिहाल्ने हतार पनि थिएन, नलेखी अझै राम्रो लेखिएला कि भन्ने थियो, लेखिएका कुराले कुनै प्रभाव पारेन कि भन्ने सन्देह पनि थियो तर उहाँ भित्रको एउटा अत्यन्तै ठूलो स्रष्टा सुषुप्ति र जागृतिको दोलनामा बसी, अलिकति पलायनतिर पनि ढल्किँदै थियो। तात्कालिक घटनाले जन्मेका थोर कविता छन्, अरू त आफ्नै मनसितका, भित्रको कोमल र भावुक पात्रसितका संवाद छन्, प्रकृतिको लय, सृष्टिको अचम्म र त्यसमाथि व्यक्त भएका शाश्वत प्रश्न र अर्धविराम छन्, सार्वकालिक मूल्यका चिन्तन लहर छन्। एउटा कवि यस्तै हुन्छ, आफ्नै ह्रिदयको आदेशमा चल्ने। सामाजिक हुन खोज्दा ऊ ज्यादा ठोकिन्छ, चोइटिन्छ, भत्किन्छ। बलदाइको ह्रिदय यस्ता प्रकारका अकारण भत्काइले र प्रहारले ज्यादा गलेको थियो। 
     त्यसैकारण अरू कति कविता कविकै मनमा चलिरहने आँधीका बिसौनी हुन्। 
     अरू बाँकी छन् कि खोज्दै गरौँला तर भूषण दाइको प्रथम वार्षिक पुण्य तिथि भित्रै उहाँको यश कीर्ति सिर्जनालाई प्रकाशनमा ल्याउने, दाजुको अधूरो इच्छालाई पूरा गर्ने भाउजू शोभा लामाबलको सदीच्छा र सत्प्रयत्न अत्यन्तै उदाहरणीय छन्। केही महिना अघि उहाँकै नाममा कृणभूषण बल स्मृति प्रतिष्ठानको स्थापना भएको छ। यसको अध्यक्षमा प्रा. टङ्कप्रसाद न्यौपाने हुनुहुन्छ। प्रतिष्ठानले भूषणदाइको अमर कीर्तिलाई सदा निरन्तर राख्नेछ। हामी सबै यसमा साथ रहने छौँ।
     विशेष :  यस कृतिको अन्तिम तयारीमा, खासगरी भाषिक निरीक्षणमा विद्वान् मित्र डा. कुमारप्रसाद कोइरालाको अमूल्य सहयोग रहेको छ। उहाँले पनि भूषणदाइसितको सङ्गत र उहाँको योगदान सम्झेर सहयोग गर्नु भयो, तर भूषणदाइले प्रयोग गरेका आफ्ना समयका कति शब्दलाई यथावत राखिएको छ जस्तै :  दाज्यू शब्द उहाँको प्रथम कृतिको शीर्षक नै थियो दाज्यू, तिम्रो हात चाहिन्छ, यहाँका कति कवितामा पनि दाज्यू लगायत कति शब्द उहाँका व्यक्तिबोलिका र निजी छन्। उहाँको अघिल्लो कृतिको काठमाण्डू एक्लैले अब काठमाण्डू... एउटा मास्टरपिस हो। यसलाई पनि यथावत राखिएको छ। वाक्य तहमा पनि त्यही मौलिकता यथावत छ। त्यति गर्दा पनि हतारले त्रुटिहरू उम्के होलान्, यो अन्तिम ता होइन फेरि गरौँला।

~ ~ ~ ~

3 comments:

  1. KNEW A LOT ABOUT KRISHNA BHUSAN BAL. Thanks a lot sir.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. Read your comprehensive blog about the great writer / composer. Never heard about late KBB. Your tribute in this writing is heart touching. The style of your prose inspire to read and write more in Nepali. Unfortunately could not type this comment in Nepali at this moment.
    Namaskar !

    ReplyDelete