About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Thursday, August 22, 2013

एउटा ज्ञानले अनेक विधा उज्यालो पार्छ


यो अनुबन्ध गरेको वर्षदिन पुग्यो। मैले ल्यान्काउ (LANCAU) मार्फत् यो कर्म जिम्मा लिएको थिएँ। यो कर्म थियो सम्वृद्धि खरेलको डाइलेक्टिक्स अव् आइडेन्टिटि एन्ड रेजिस्ट्यान्स अमोङ दलित्स् इन नेपाल शीर्षक विद्यावारिधिको शोधग्रन्थ। एक ब्राह्मण परिवारकी युवतीले गरेको नेपालका दलित विषयक शोधको प्रक्रिया र सार। खासगरी यसको तथ्याङ्क स्रोत र अध्ययन केन्द्र काठमाडौँ रहेको छ। उहाँहरूको अनुरोधमा मैले यसलाई नेपालीमा रूपान्तरण गर्ने कार्यको जिम्मा लिएको थिएँ। 
     सर्वप्रथम ता मेरो विवेकले त्यस कर्मको औचित्य पुष्टि गर्न खोजेँ। एक पठनपछि मलाई लाग्यो यस कृतिले नेपाली प्राज्ञिक जगत्मा ठूलो योगदान पुर्‍याउने छ। यहाँका अनुसन्धान केन्द्र र खासगरी विश्वविद्यालयका विभागहरूले सन्दर्भ सामग्रीको रूपमा यसको प्रयोग र अनुमोदन गर्नेछन्। यहाँ नेपाली भाषाको माध्यममा अनुसन्धान गर्ने हजारौँ शोधार्थी लाभान्वित हुनेछन्। त्यसो त यसको प्रमुख लक्ष्यित समूह भनेको दलित समुदाय, राजनीतिकर्मी, नीति निर्माता र विशेषगरी तीव्र परिवर्तनको समयमा समग्र सुधारको प्रक्रियामा प्रवेश गरेको सम्पूर्ण नेपाली समाज हो। परन्तु मैले यसको अर्कपनि उपयोगिताको प्राज्ञिक जगत्बाट मूल्याङ्कन गरेर हेरेँ। 
     काम जिम्मा लिनुपूर्वै पढिसकेपछि म अत्यन्तै खुसी भएको थिएँ। मैले यसको शीर्षक अनुवाद गरेँ नेपालका दलितहरूमा परिचय र प्रतिरोधको द्वन्द्वात्मकता।


     सर्वप्रथमतः मैले यसको प्राज्ञिक मूल्य हेरेँ। मेरो मन अनुसन्धान क्षेत्रमा गयो। अनुसन्धान विश्लेषणमा गुणात्मक तथा परिमाणात्मक दुई विधिको अवलम्बन गरिन्छ। कुन विधि अनुशरण गर्ने भन्ने कुराको पूर्व निर्णय हुनुपर्दछ। प्रस्तुत ग्रन्थले गुणात्मक पद्धतिद्वारा गरिने अनुसन्धानको एक विशिष्ट नमुना प्रस्तुत गर्दछ।
     आज हाम्रो भाषा, साहित्य, समाजविज्ञान, नृतत्वशास्त्र, इतिहास, शिक्षाशास्त्र जस्ता मानविकी एवम् समाजशास्त्रका विषयमा यस विधिले अनुसन्धान गर्नेहरू बढिरहेका छन्। मास्टर्स तहदेखि नै गर्दछन्, कति एम फिल र पिएचडीमा छन्। धेरैले ता नेपाली माध्यमले पनि गर्दछन्। तर कसरी गर्छन् होला, कसरी गराउँछन् होला भन्ने लाग्दछ। किनभने गुणात्मक पद्धतिमा प्रयुक्त अनेकौँ शब्द र अवधारणाको मैले नेपालीमा अनुवाद फेला पार्न सकिनँ। ती अनुसन्धाताहरूले कत्रो भाषिक कठिनाइ भोगिरहेका छन् होला सम्झेर म छक्क परेँ। कति अनुसन्धानको निर्देशक पनि भएँ, कति कार्यशाला चलाएँ तर नेपालीमा कति दुःखले ती कर्म पूरा गरिए सम्झेर मलाई आश्चर्य र दुःख लाग्छ। 
     सर्वप्रथम त नेपालभित्र अनुसन्धान गर्ने परम्परा नवीन छ। नेपालका अघिल्लो पुस्तासम्मका सारा शोधार्थी युरोप, अमेरिका र भारतका वा अन्यत्रका विश्वविद्यालयमा दीक्षित छन्। उनीहरू अङ्ग्रेजी माध्यम चलाउँछन्। तर आज नेपाली भाषा र साहित्यले अन्तर्राष्ट्रिय स्वरूप लिन थालेको समयमा आफ्नै भाषामा पनि विविध प्राज्ञिक कर्मका नमुना आउनुपर्दछ, आएनन्, आउन थालेनन् भने हामी पछि पर्नेछौँ। भाषा सधैँ कमजोर रहने छ। यही सम्झेर मैले यो कार्य स्वीकारेँ। त्यो कार्य थियो २०६७ चैत्र सम्ममा यसको अनुवाद सम्पन्न गर्नु। 
     अनुसन्धाताले मेरो मनमा उठेको लोभको अनुमान गरेकी थिइनन् होला, किनकि यस कार्यको महत्व ता काठमाडौँ उपत्यकाका तीनवटा दलित समुदायको वञ्चित जीवनलाई दृष्टान्त बनाएर नेपालकै दलितको स्थिति बोध गराउनु हो, नयाँ नेपालको निर्माणका रेखा कोर्ने यो बेलामा दलितका पक्षबाट आवाज उठाइदिनु हो। उनीहरूमा उठेको पहिचानको लक्ष्य र प्रतिरोधको स्थितिबोध गराउनु हो। यस अध्यनले सङ्केत गरेको त्यो प्रधान मूल्य सानो छैन। तर मलाई यस अपूर्व नमुनाको अर्काे दृष्टिले मूल्याङ्कन गर्दा पनि त्यतिकै लोभ लाग्यो र स्वीकार गरेको थिएँ। 
आज मलाई लाग्दैछ मैले अलिक दुस्साहस पो गरेँ कि यसलाई समर्पित गरेको परिश्रम अवधिमा यो ३०० पृष्ठको कृति अनुवाद गर्नुको सट्टा आफ्नै सिर्जना गरेको भए ६०० पृष्ठको एक उपन्यास वा त्यति बराबर यात्रा निबन्ध लेखिसक्थेँ होला। मलाई यो त्यति कठिन, मुस्किल परीक्षा लाग्यो। 
     त्यसैले होला मैले प्रतिज्ञा गरेको समयमा, उहाँहरूले प्रतीक्षा गरेको समयमा सिध्याउन सकिनँ। त्यसो ता नसक्नुका अरू कारण पनि थिए। गएको हिउँदमा अचानक एक घटनाले मलाई नर्भिकमा लगेर सुतायो। एक हिउँद त्यसैलाई अर्पण गरेँ। त्यसबाट उठेर तङ्ग्रिएपछि एकपल्ट राष्ट्रव्यापी सम्मेलनहरूमा पखेटा फिँजाएर उडेँ झापा गएँ, विराटनगर गएँ, लाहान, पोखरा, नेपालगञ्ज, सुर्खेत कहाँ पुगिनँ, सबै साहित्यका कर्म थिए नेपाली साहित्यका, अनुवादका, नवीन सोचका, अनुसन्धान पद्धतिका, सिद्धान्तका, नेल्टाका, उत्तरआधुनिकताका, तैपनि बास बसेका, बिसाएका ठाउँमा पनि मेरो मन सम्वृद्धिमै थियो, उनका दलितमा थियो। ती मेरा पनि दलित हुन्, यो मेरो पनि जिम्मेवारी हो भन्ने पनि मलाई सधैँ लागिह्यो। काम नसक्ता बीचबीचमा ल्यान्काउका भाइहरूलाई उता यादव दाइलाई भाका सार्दै गएँ। मेरो सम्वृद्धिसँग ता प्रत्यक्ष परिचय भएकै थिएन। अन्त्यमा कलममसी भरेर साँच्चै कस्सिन थालेपछि फेरि अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले बोलायो। डायास्पोरामा नेपाली साहित्य विषयक कार्यपत्र बोकेर म उडेँ, लामो यात्रामा बेलायत र फ्रान्स पुगेँ। 
     धेरै दिनमा फर्केर आएपछि आज २०६८ सालको दसैं पनि माया मारेर यी समापनका पृष्ठ लेख्न्न बसेको छु। उता टाढा काठमाडौँतिर फर्केर हेरिरहेकी आमालाई बिर्सेर, अरू मान्यजनका हातका टीका पनि अर्काे वर्षलाई सारेर म यहाँ बसेको छु। 
यसअघि मैले पठन, अध्ययन र प्रशोधनका अनेकौँ चरण पार गरिसकेको छु। यी शब्दहरू लेख्ने स्थितिमा आइपुग्दा मेरो जिउ हलुंगो जस्तो भएको छ। 
     यसलाई पहिलो खेस्रा हातैले कोरी सकेँ। त्यो एक तिहाई अङ्ग्रेजी शब्दले भरिएको थियो। मिलनले टाइप गरेर बुझाइन् अनि दोस्रोमा आचार्य (२०३३), कुमार (२००५), टर्नर (१९३१), पाठक (२०६३), बुल्के (२००४) जस्ता अनेक शब्दकोश फिँजाएर बसेँ। उपलब्ध सबै शब्दका सिडि र अनलाइन पनि तैनाथ राखेँ। लेख्तै कोर्दै पढ्दै मेट्दै फेरि लेख्दै कोर्दै थप्तै हार्डकपी आधी रातो भयो। यो एक क्रुड अर्थात् अप्रशोधित खालको तर अनिवार्य प्रक्रिया थियो। खेतमा बाँझो फोरेको जस्तो। तर बाँझो फोरेर पुग्दैन, बाली लगाउन धेरैपल्ट जोत्नुपर्छ। अनुवाद प्रक्रिया त्यस्तै हो, राम्रो लेखन पनि त्यस्तै हो। मिलनले करेक्सन गरेर ल्याइन् फेरि अर्काेपल्ट बसेँ, त्यो फेरि अर्काेपल्ट करेक्सन गरेर ल्याइन्, फेरि अर्काेपल्ट शब्दकोश र स्वविवेकको सहयोगले यसरी पाँचौ प्रयत्नमा आज यो अवस्थामा प्रस्तुत गरेको छ। 
     अनुवादका सबै सिद्धान्त र प्रकाशनहरू यो हृदयमा छन्, त्यसैमा विद्यावारिधि गरेको हुनाले यो कर्म सहज होला भन्ने लागेको थियो। तर पर्दाखेरि तिनले काम नगर्ने रहेछन्। मलाई त यथासम्भव मौलिकको नजिक पुग्न सक्ने रूपान्तरण कला सरल शैलीमा बोधगम्य र अकृत्रिम नेपाली भाषाको आवश्यकता परेको थियो। 
     अङ्ग्रेजी भाषामा लेखिएको मूलग्रन्थ सबै वाक्य पढ्न, बुझ्न र बुझाउन सक्छु, तथापि भाषाज्ञानले र विषय ज्ञानले मात्र अनुवाद नहुँदो रहेछ। 
     विज्ञहरू भन्दछन् आदर्श अनुवादकले स्रोत भाषाबाट मातृभाषामा गरोस्। म मातृभाषा नै गर्दैछु तर पनि मलाई किन आज यत्रो कठिनाइले छोपेको होला .
     धेरै अनुवाद गरेँछु, आधा दर्जन कृति पुगे होला, तर यस ग्रन्थले मात्र मलाई भिन्न अनुभव र नयाँ ज्ञान दिएको छ। म एक सारमा पुगेको छु अनुवाद न भाषाज्ञान हो न सिद्धान्त ज्ञान हो। यो त अर्कै खोजी अथवा सम्बद्ध भाषाहरूको मिलन बिन्दु खोज्ने प्रयत्नमा आउन सक्ने अवरोधको मूल्याङ्कन पनि हो। त्यो एक नवीन मार्ग हुन सक्छ। मलाई त्यो मार्ग खन्न यहाँ सानो बल परेको होइन। 
     यो कार्य सम्पन्न गरेपछि, मेरा पसिना ओभाएपछि मात्र मलाई ज्ञान भयो म एउटा ठूलो घैलाको पानी सानो गाग्रीमा अथवा लोहोटामा भर्ने प्रयत्न गर्दै थिएँ। मलाई ठिक त्यस्तै भयो। मलाई त्यस्तो अनुभव कतिबेला भयो भने अङ्ग्रेजी भाषाको व्यापकताले अझ उनीहरूले प्राज्ञिक क्रियाकलापमा लगानी गरेको शताब्दीयौँ लामो संस्कारले कति शब्द, पद र अवधारणा विकसित गरेको छ, त्यसको दशांश पनि नेपालीमा रहेनछ कि जस्तो लाग्यो। नत्र किन मलाई प्रत्येक वाक्यमा गाँठोपर्छ, अनुवाद गर्ने क्रममा मैले प्रत्येक पाठलाई यसरी अघि बढाएँ :  
Text A
Research Rationale
This study seeks to understand the different levels and sites of identity formation, how they interface or interact dialectically with each other, and how they are marked and differentiated by the intersections of caste, class and gender. I am interested in finding out what happens to Dalit identity and resistance in periods of accelerated change and how identities get politicized and mobilized. I ask: How do identities move, travel or get translated from one context to another and whose voices get heard and represented? Are there distances between leaders and their assumed constituents or between socio-spatial sectors which are unbreachable? (pp. 3-4)

Text B
अनुसन्धानको औचित्य
यस अध्ययनले पहिचान निर्माण identity formation का विविध तहका क्षेत्रहरू sites बुझ्ने प्रयत्न गर्दछ ती कसरी एकअर्कामा अन्तरापृष्ठ (इन्टरफेस) भएका छन्, द्वन्द्वात्मकरूपले कसरी (इन्टरएक्ट) एक अर्कालाई प्रभावित गर्दछन्, ती कसरी ती, ती जाती, लिङ्ग, वर्गको प्रतिच्छेदन (इन्टरसेक्सनता)मा मिल्छन् छुिट्टन्छन्। म यहाँ परिवर्तन (एक्सिलरेटेड चेन्ज) को लागि गतिवर्द्दित समयमा दलित पहिचानमाथि र (रेजिस्टान्समा) प्रतिरोधमाथि के कस्तो स्थिति आइलाग्छ, र कसरी पहिचानहरूको राजनीतिकरण हुन्छ र ती परिचालित हुन्छन् भन्ने कुरा जान्न उत्सुक हुन्छु। म आफैँ प्रश्न गर्छुः पहिचानहरू कसरी सर्छन्, यात्रा गर्छन् अथवा एक सन्दर्भबाट अर्काेमा पुग्दा अनूदित हुन्छन्, अनि कसका आवाजहरू सुनिन्छन् र प्रतिनिधित्व गर्दछन्, अगुवा नेता (कन्स्टिचुएन्ट) उनीहरूले ठानेका, आफ्नो चुनाव क्षत्रेका मतदाता बीचमा अथवा समाजिकस्थानिक (socio-spatial) क्षेत्रका बीचमा कुनै दूरत्व हुन्छ जुन चाहिँ (अन्ब्रिचेबल) अनुलङ्घनीय हुन्छ
     यस्तो प्रकारको खेस्रालाई धेरैपल्ट लेखन र पुनर्लेखन प्रक्रियाको प्रशोधनमा हालेपछि अन्तिमपल्टको प्रस्तुति तयार भयो। त्यो शुरुको भन्दा भिन्दै र सुसंगत लाग्छ जुन निम्नानुसार छ : 

अनुसन्धानको औचित्य
यस अध्ययनले पहिचान निर्माणका विविध तहका क्षेत्रहरू बुझ्ने प्रयत्न गर्दछ ती कसरी एकअर्कामा अन्तरापृष्ट (इन्टरफेस) भएका छन र द्वन्द्वात्मकरूपले कसरी एक अर्कालाई प्रभावित (इन्टरएक्ट) गर्दछन्, ती कसरी जाति, लिङ्ग, वर्गको प्रतिच्छेदन (इन्टरसेक्सन) मा मिल्छन् छुिट्टन्छन्। म यहाँ परिवर्तन (एक्सिलरेटेड चेन्ज) का लागि गतिवर्द्दित समयमा दलित पहिचानमाथि र प्रतिरोधमाथि (रेजिस्टान्समा) के कस्तो स्थिति आइलाग्छ, र कसरी पहिचानहरूको राजनीतिकरण हुन्छ र ती कसरी परिचालित हुन्छन् भन्ने कुरा जान्न उत्सुक हुन्छु। म आफैँ प्रश्न गर्छुः पहिचानहरू कसरी सर्छन्, यात्रा गर्छन् अथवा एक सन्दर्भबाट अर्काेमा पुग्दा अनूदिन हुन्छन्? अनि कसका आवाजहरू सुनिन्छन् र कसको प्रतिनिधित्व गर्दछन्? अगुवा नेता र उनीहरूले ठानेका आफ्नो चुनाव क्षेत्रका मतदाता (कन्स्टिचुएन्ट) बीचमा अथवा समाजिकस्थानिक क्षेत्रका बीचमा कुनै दूरत्व हुन्छ जुन चाहिँ अनुलङ्घनीय (अन्ब्रिचेवल) हुन्छ? 
     यो यान्त्रिक काम थिएन, हार्दिक थियो हृदयले एक भाषाको शब्द सामर्थ्य बुझेर अर्कोमा त्यसको निकट पुग्ने प्रयत्न थियो
     अस्वाभाविक नभै
     अधिमूल्यनबाट जोगिएर
     अवमूल्यनबाट जोगिएर
     समतुल्यताको स्थापना गर्नु 
     कसरी त्यो सम्भव छ? म आफ्नो लोहोटामा पानी भर्दै थएँ। 
          त्यसो त अनुवादलाई ग्याचेचिलादजीले इट इज नट इग्ज्याक्ट रिफ्लेक्शन बट औन्ली एन एप्रोक्सिमेशन भनेका छन्, यो यथारूप प्रतिबिम्बन् होइन केवल एक सन्निकटन, तर त्यस्तो सन्निकटता प्राप्तिमा पनि धेरै अवरोध उठे तिनमा प्रमुख भयो शाब्दिक तहको। 
     बोलिचालीको भाषामा शब्द सङ्ख्या धेरै होस् कि थोरै त्यसको हामीलाई आभास हुँदैन। युगौँदेखि अभ्यस्त हामी आफ्नो संस्कृतिभरि कुनै साञ्चारिक व्यवधानको अनुभव नगरी, अनेक व्यवहारवादी (प्राग्माटिक) जुक्तिको अवलम्बन गरी सहज यात्रा गर्दछौँ। व्यवहारका लागि आआफ्नो भाषा र सङ्केत प्रणाली पर्याप्त हुन्छ तर अन्य भाषाको ज्ञान आफ्नोमा सार्दा (वा आफ्नोलाई अन्यत्र लाँदा) नयाँ कठिनाइ उत्पन्न हुन्छ। त्यस्तो कठिनाइ अनुवादक बनेर नहेरेसम्म अनुभव गर्न नसकिँदो रहेछ। त्यसमा पनि यी कठिनाइका श्रेणीहरू साहित्यिक भाषा, प्राविधिक भाषा र वैज्ञानिक भाषामा क्रमशः दुरुहतर हुँदै जाँदोरहेछ। अनुवाद विज्ञानले यस कृतिको भाषालाई प्राविधिक भनी परिभाषित गर्दछ। 
     त्यसमा पनि नेपाली जस्तो तुलनात्मक रूपले कलिलो भाषाको शब्द शक्ति, शब्द सामर्थ्य समेत कलिलो छ, शब्दभण्डार सानो। यसको मूल कारणतिर सङ्केत गर्दै अनुसन्धाता स्वयम्ले पनि भनेकी छन् नेपालमा शैक्षिक प्राज्ञिक प्रकाश भारतका तुलनामा धेरै पछि आयो। त्यस कारणले हामी पनि धेरै कुरामा पछि छौँ (हे. पादटिप्पणी नं. १८)। त्यसैले एक सम्पन्न भाषाबाट नयाँ भाषामा दर्शन, भाषाविज्ञान समाजशास्त्र जस्ता विषयको ज्ञान आधान गर्दा अत्यन्तै मुस्किल पर्नेरहेछ। नेपालीमा मलाई त्यही अटेसमटेस भएको हो। अ194झ विज्ञान र प्रविधि जस्ता विषयको ज्ञान ता नेपालीमा स्थानान्तरण गर्न नसकिने हुन् कि जस्तो लाग्छ। 
     प्रस्तुत कार्य गर्दा मलाई आचार्य (२०५७), कुमार (२००९), टर्नर (१९३१), दीक्षित (२०३३), पाठक (२०६३), बुल्के (२००४), भट्टराई (२०४१), विलियम्स (२००१, पुनर्मुद्रण), श्रेष्ठ (२०४६) जस्ता शब्दकोषले बचाए। खासगरी आप्टे (१९९७, पुनर्मुद्रण) जस्ता शब्दकोशको सङ्गत नगरेको भए यो कर्म अधुरै रहन सक्थ्यो होला। अथवा बलात् पूरा गर्थे हुँला तर त्यसले मेरो अज्ञानता र असावधानीको गीत गाइरहन्थे होला। यो कर्म सम्पादन हुने समयमा बराल (२०६८) प्रकाशित भयो। त्यसले मेरो शब्द प्रशोधन प्रक्रियालाई ठूलो सहयोग पुर्‍यायो। 
     अङ्ग्रेजी अक्षर सिकेको पचास वर्षपछि विश्वविद्यालयको शिरमा पुगेर आज यो अङ्ग्रेजी प्राध्यापक सम्पूर्ण नेपाली भाषाका प्रयोक्ता समक्ष आफ्नो अनुभव बताउँछ संस्कृत हाम्री जननी हुन्, नेपाली छोरी अथवा नातिनी, यिनलाई सक्षम र समर्थवान् बनाउनु आवश्यक छ। यसका लागि संस्कृत स्रोतकै तत्सम शब्दको उदारतापूर्वक प्रयोग गर्नु आवश्यक छ। त्यसपछि मात्र सम्पन्न भाषाका कठिन ज्ञानहरू नेपालीमा सार्न सरल पर्ने छ। त्यसले नेपाली भाषाको स्तरीकरणमा सहयोग पुर्‍याउँछ।
हाम्रो अनुसन्धानको परम्परा भर्खर आरम्भ हुँदैछ। २०६० सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले एउटा नयाँ कार्य गर्‍यो। त्यो थियो अनुसन्धान विधिको प्रकाशन। त्यसमा १६ वटा लेख छन्, जसले अनुसन्धानका प्रकार, विधि, सामाग्री, पद्धति आदिको चर्चा गर्दछ। त्यसमा एउटा आरम्भिक रचना छ अनुसन्धानका प्रकार। प्रा. कमलप्रकाश मल्लले अन्यत्र प्रकाशित गर्नुभएको त्यो रचनालाई मैले अङ्ग्रेजीबाट अनुवाद गरेको थिएँ। यसरी हाम्रो अनुसन्धानको भाषा परिचयकालमा भएकाले त्यसको पारिभाषिक शब्दावली बनेको छैन। पारिभाषिक वा प्राविधिक शब्दावली कोश छैन। 
     यता विश्वविद्यालयतिर तिनका विभागतिर पनि आआफ्ना खालका रिसर्च म्यानुअल छन्, कतिले एपीए र अरूले एमएलए आदि प्रयोग गर्दछन्। तर नेपालीमा त्यस्तो सिङ्गो म्यानुअल छैन। नेपाली विभागतिर छँदै छैन।
     यस रिक्तताको, भयले, झन्डै बिचैमा मैले काम छोडिसकेको थिएँ। यहाँ अनुसन्धानको प्राविधिक क्षेत्रमा प्रयुक्त triangulation, empirical, insider, interviewee, matrix जस्ता शब्द छन् जसको नेपाली भाषामा रूपान्तरण छैन। जसको निमित्त त्रिभुजीकरण, आनुभविक, अन्तरङ्गी, समालाप्य, उद्गम बिन्दु जस्ता शब्द संस्कृत तत्समबाटै लिनुपर्‍यो। 
     समाजशास्त्र, इतिहास, नृतत्वशास्त्रमा alliance, collateral, actors, activist, acculturation, discourse, emprincal, excommuncate exposure, heterogenous, intersection जस्ता शब्द छन्, जसको अनुवाद गर्दा संस्कृत तत्समकोषबाटै लिनुपर्‍यो। त्यसका निमित्त बुल्के, आप्टे र बरालको अत्यधिक प्रयोग गरेँ। अन्त्यमा ता विद्वर्‍त्छिरोमणि पं. कुलचन्द्र गौतमकृत संस्कृत-नेपाली शब्दकोष (२०६९) पनि आइसकेको हुनाले त्यसको पनि प्रयोग गरेँ। अङ्ग्रेजीबाट आएका अरू अनेक शब्द छन्। हेर्दा सामान्य लाग्छन् mobilization, ratification, respondent, activism, advocacy, entourge आदि। यी राम्ररी बुिझन्छ तर बुझाउने उपाय छैन। कृतिभरिमा यस्ता सामाजिक जीवन र नवीन विकाससित जोडिएका सयौँ शब्द प्रयुक्त छन्। 
     त्यसैले मैले यस ग्रन्थको अनुवादमा एउटा मार्गको अनुशरण गर्नुपर्ने भयो क) अङ्ग्रेजी शब्दलाई पैँचो लिएर यथावत् अङ्गीकृत गर्ने अथवा (ख) यथासम्भव तिनको अनुवाद गरेर नेपालीलाई सम्भव बनाउने। पहिलो अनुसार गर्दा एउटा वाक्य यस्तो हुन्छः
     यी इम्पिरिकल डेटालाई ट्रयाङ्गुलेशन गरेर हेर्दा डिस्त्रि्कट बस्ती र घना बस्तीमा फरक पाइयो। 
     म यसरी लेख्न सक्थेँ। तर लाग्यो यस अनुवादले नेपाली भाषाको सेवा गर्ने छैन, बरु उल्टै नेपाली पाठकलाई यसको दुर्बोधताले सधैँ तर्साइरहने छ। यो अर्थहीँन प्रयत्न हुनेछ। त्यसैले मैले यथासम्भव अर्काे तहमा ओर्लने प्रयत्न गरेँ र भनेँ 
     यी आनुभाविक तथ्याङ्कलाई त्रिभुजीकरण गरेर हेर्दा पृथक्कृत (विविक्त) बस्ती र घना बस्तीमा फरक पाइयो। 
     यहाँका आनुभाविक’, ‘त्रिभूजीकरण’, ‘पृथक्कृत जस्ता शब्दहरू एकछिनका लागि अप्ठ्यारो भएपनि अङ्ग्रेजी जति भिन्न, विदेशज र कठिन होइनन्, हुने छैनन्। तिनलाई नेपालीमा प्रवेश दिएर भित्र्याएपछि हामी प्रयोगको तहमा जानेछौँ र कसैले यी हाम्रा शब्द होइनन् भनेर भन्न पनि पाउने छैन, किनकि हामी आफ्नै भण्डारबाट नवीकृत गर्दै आफ्नै रत्नहरू उघाइरहेका हुनेछौँ। संस्कृत हाम्रो मूल हो। नेपाली भाषाले आफूलाई सम्बलित गर्न दूरदेशमा पुगी गुहार माग्नुभन्दा पहिले यस प्रकारले आफ्नी आमाबाटै लिनुपर्छ। 
     नेपाली पाठक, लेखकले पनि त्यसरी शब्द सामर्थ्य बढाउनुपर्छ। 
     त्यसरी अर्थात् संस्कृत मूलतिर अधिक जानाले नेपालीपना हराउँछ, हामीले केवल झर्रा शब्दको खोजी र प्रयोग बढाउनुपर्दछ भन्ने विद्वानहरू पनि छन्। यस्ता विद्वानहरूले अघि झर्राेवादी आन्दोलन गरे। त्यसले नेपालीलाई धेरै सुन्दर बनायो तर आज हेर्दा के लाग्दछ भने ज्ञानविज्ञानको यो प्रवाह गति विस्फोटक स्थितिमा पुगेकाले शब्द निर्माणका वा प्रशोधनका अनेक प्रक्रिया स्वीकार्नुपर्ने स्थिति आएको छ। नेपालीमा मात्र भर परेर आधी कुरा पनि व्यक्त गर्न सक्तैनौँ भने अर्कातिर तत्सम शब्दको भरमार प्रयोग गर्‍यौँ भने पनि कति ठाउँमा अशोभनीय र कृत्रिम लाग्नेछ। त्यसले पनि भाषालाई अँठ्याउँछ, जकड्छ। त्यसकारण हामीले आवश्यक ठाउँमा अङ्ग्रेजी शब्द पदलाई पनि ग्रहण गर्नुपर्दछ। मैले यही गरेको छु। बोधगम्यता ठूलो कुरा हो। सबै कुरा अनुवाद गरेर आफ्नो भाषा सम्पन्न गर्ने चाहना पनि अनुपयुक्त हुँदोरहेछ, त्यसले स्वभाषालाई अन्यमा बिलीन (मर्ज) गराउँछ भने अर्कातिर अति कठोर भई अरूको भाषालाई आफ्नोमा प्रवेश दिन्न भन्नुलाई अटार्की(अहंतन्त्र) भनिन्छ, त्यसबाट पनि जोगिनुपर्दछ। 
     यी दुई धारको बीचबाट चल्ने माध्यमको अनुशरण गर्नुपर्दछ। मैले त्यसरी नै जिम्मेवारीपूर्वक यो कठिनाइ पूरा गरेँ होला भन्ने लागेको छ।
यस कार्यको समापनमा पुग्दा मलाई लागेको छ हामीले यस्तो प्रकारको समस्यालाई निराकरण गर्न एक प्राविधिक शब्दावली कोषको निर्माण गर्नु आवश्यक छ अथवा अघि चूडामणि बन्धुले निर्माण गर्नुभएको कोशलाई अपडेट गरी प्रकाशित गर्न सके हुने थियो होला। मैले नमुनाका लागि यस कार्यको अन्त्यमा यस शोधग्रन्थमा प्रयुक्त प्राविधिक-पारिभाषिक शब्दको अनुवाद गरी एउटा शब्द सूची (ग्लोसरी) बनाई राखको छु। पाठकको निमित्त यो कृति पढ्दा त्यो शब्दसूची ग्लोसरी पल्टाइरहनुपर्ने हुनसक्छ। अध्यापक एवं अनुसन्धाताले पनि यसबाट लाभ लिनेछन्। यसबाट कोशकारहरू पनि अभिप्रेरित हुनेछन्। हाम्रोमा अनेक विषयमा प्रयुक्त प्राविधिक शब्दको नितान्त अभाव रहेछ र यो कुराको विकास र निर्माण गर्नुपर्ने रहेछ भन्ने कुराको बोध गर्नेछन्। 
     मैले आजसम्म गरेका अनुवादमा सबैभन्दा चुनौतिपूर्ण र सन्तुष्टिप्रद कर्म यही हो। 
     यो कार्य सम्पन्न गरेर नेपाली भाषामा एक नवीन शक्ति स194ङ्केतको प्रवेश गराएँ भन्ने सम्ँिझदा मभित्रको अनुवादक ढुक्क हुनेछ। 
     कति कुरा अझै राम्ररी बुझाउनुपर्थ्याे होला, बुझाउन सकिने ठाउँ होलान् तर मेरो शक्ति र सामर्थ्यले पुर्‍याउन सक्ने सीमाक्षेत्रमै म रोकिएको छु। एकातिर सम्वृद्धिको भाषा नै अत्यन्तै परिस्कृत बौद्धिक र मािझएको छ, त्यसमाथि समाजशास्त्र र नृतत्वशास्त्रको नवीन क्षेत्रलाई व्याख्या गर्दा उत्पन्न हुने कठिनाइ अलग्ग छ। 
     आज योभन्दा बढी निखि्रन म सक्तिनँ होला जस्तो लाग्छ। 
     मलाई यो चुनौतिपूर्ण अवसर दिनुभएकोमा ल्यान्काउका श्री प्रभाकर वागचन्द लगायतका अन्य मित्रगण तथा विशेष गरी दाजु यादव खरेलप्रति आभारी छु। बहिनी सम्वृद्धिलाई यस्तो उत्कृष्ट पद्धतिद्वारा यो बौद्धिक कार्य सम्पादन गर्नुभएकोमा बधाई प्रकट गर्दछु। यो एक मास्टरपीस हो। यसले नेपाली बौद्धिक, स्रस्टा र विशेष गरी अनुसन्धाताका लागि एक अमूल्य स्रोतको काम गर्नेछ, म अति विश्वस्त छु। यसले हाम्रो अनुसन्धान परम्परामा एक नयाँ दृष्टिकोण र पद्धतिको यथासम्भव सरल नमुना प्रस्तुत गर्नेछ। यस कर्मका निहितार्थ अरू धेरै छन्। यसले प्राविधिक शब्दावली सङ्कलन एवम् कोश निर्माणतर्फ विद्वर्‍ज्जनलाई प्रोत्साहित गर्नेछ म विश्वस्त छु। 
     यो आनुवादिक र भाषिक पक्ष त उपोत्पादन (बाइप्रोडक्ट) मात्र हो। यसको प्रमुख योगदान चाहिँ दलित विषयको गम्भीर वार्ताको उठान हो। दलित समस्याप्रतिको संवेदनशीलता र समस्याबिन्दुतिर पुग्ने प्रयत्न हो। यो अत्यन्तै गहिरो निष्ठाले सम्पन्न गरिएको कर्म भएकोले यसले लक्ष्यित सिद्धि प्राप्त गर्नेछ भन्नेमा म विश्वस्त छु। दलितका अनेक कठिनाइ र बञ्चना पढ्दाहुँदि यस्तो लाग्छ यस कृतिले व्यापकरूपले सम्पूर्ण नन्दलित (दलितेतर)लाई छुनुपर्दछ। उनीहरूको वञ्चित जीवनप्रति संवेदनशील भइयो भने यस अनुसन्धानको उद्देश्य प्राप्त हुनेछ। उनीहरू शब्द मेटेर हामीहरू नभनेसम्म त्यो विभेदको अन्त्य हुनेछैन। हजारौँ वर्षदेखि विद्यमान विभेदको पर्खाल भत्किनुपर्नेछ, बर्लिनको पर्खाल पनि भत्कियो भने यो पनि अवश्य भत्किने छ। यही निष्ठाले सम्वृद्धिबाट एउटा लामो र कठिन अनुसन्धान कार्य सम्पन्न भएको थियो, त्यही निष्ठाले म यो गर्दैछु। त्यसैले म विश्वस्त छु, नेपालको प्राज्ञिक एवम् शैक्षिक समुदायलाई यस कृतिले विशेष सहयोग गर्नेछ र उनीहरूलाई संवेदित गर्नेछ। 
     यो कृति अनूदित रूपमा तयार भएपछि लेखिकासित केही सिटिङ बस्यौँ। प्रत्येकपल्ट हामीलाई एक भाषाविद्को आवश्यकता बढ्दैगयो र यसको फाइनल गर्ने क्रममा भाषाविद् दाजु डा. तुलसी भट्टराईलाई यस दलमा समावेश गर्‍यौँ। तत्सम शब्दमा विद्यावारिधि गर्ने विद्वान उपस्थितिले यो परियोजनाले अमूल्य सहयोग प्राप्त गर्‍यो र शब्द निर्माण र चयनमा अनेक विकल्प खोजेर हामीले यो काम सम्पन्न गर्‍यौँ। उहाँप्रति म हार्दिक आभार प्रकट गर्दछु। 
     यस कृतिको प्रमुख योगदान चाहिँ तीव्र परिवर्तनको गतिमा यात्रारत नेपाली समाजको किनारिकृत वर्गले सदियौँदेखि भोगेका वञ्चनाप्रति संवेदनशील भई समतामूलक समाजको निर्माणतर्फ सचेत हुनु वा गराउनु हो। 

सन्दर्भ ग्रन्थ
अधिकारी, हेमाङ्गराज (२०६१) प्रयोगात्मक नेपाली शब्दकोश. काठमाडौँ :  विद्यार्थी पुस्तक भण्डार। 
आचार्य, नरेन्द्रमणि (२०५७) अङ्ग्रेजी-नेपाली साझा संक्षिप्त शब्दकोश. काठमाडौँ :  साझा प्रकाशन। 
आप्टे, वामन शिवराम (अगस्त २०११) द प्राक्टिकल संस्कृत-इङ्लिस डिक्सनरी. डिजिटल।
गौतम, विद्वर्‍च्छिरोमणि पं. कुलचन्द्र (द्वितीय संस्करण २०६९) संस्कृत नेपाली शब्दकोश. काठमाडौँ :  विद्यार्थी पुस्तक भण्डार। 
टर्नर, राल्फ लिली (१९९४ दोस्रो संस्करण) अ कम्पेअरेटिव एन्ड इटिमोलोजिकल डिक्सनरी अव् द नेपाली ल्याङ्गुएज. न्यू देल्ही :  अलाइड पब्लिशर्स।
बराल, टीकादत्त (२०६८) तत्सम नेपाली व्युत्पत्ति शब्दकोश. काठमाडौँ :  विद्यार्थी पुस्तक भण्डार।
बुल्के, फादर कामिल (२००४ पुनः मुद्रित) अँगरेजी हिन्दी को. नई दिल्ही :  एसचन्द एण्ड कम्पनि लिमिटेड। 
भट्टराई, हर्षनाथ शर्मा (२०४१, वैशाख) प्रशासकीय तथा कानूनी शब्दकोश. काठमाडौँ :  नेशनल रिसर्च एसोसिएट्स।
लोहनी, श्रीधरप्रसाद तथा रामेश्वरप्रसाद अधिकारी (सं. २०६७) एकता बृहत् नेपाली-अङगे्रजी कोश. काठमाडौँ :  एकता बुक्स।
---------२०१०) एकता बृहत् नेपाली-ङ्ग्रेजी कोश. काठमाडौँ :  एकता बुक्स।

 ---- 0 ----

4 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. A wonderful piece of work!! Thank you Professor Bhattarai!! We are facing a lot of problems when our research students ask exact translation of ethnography, grounded theory, phenomenology, narrative inquiry, thick description, emic, etic, coding, bracketing, constant comparison, memo writing, saturation, reciprocity, hermeneutics,etc...Your writing and research, and our experiences too suggest an urgent need of an English-Nepali dictionary of research methodology ....

    ReplyDelete
  3. Notable contribution! You have given lot of insight into the facets of translation.

    ReplyDelete
  4. Bhattarai sir, i have read your translated book 'Dalit Pahichan ra Pratirodh', a thesis dissertation of Sambridhi Kharel, which i think is a predominantly talks about how Dalits are creating everyday identity and everyday resistance against caste discrimination in transitional phase, and also their representation. But when i read your translation i found few mistakes, i would like to start from your preface where you claimed that 'TI MERA PANI DALIT HUN,...(Prface p.vii. So don't you think this statement has any flaw that you possess dalits under you? It directly expresses that you, as a dominant male Brahmin intellectual, are mishandling and misinterpreting Nepali language and creating hierarchy. I think Dalit as a community do not belongs to you neither you belong to dalit community only the book you translated belongs to dalit discourse and dalit subject, thus i request you please stop such type of intellectual discrimination.

    ReplyDelete