About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, May 29, 2013

नेपाली जीवनमा पठन, चिन्तन र सिर्जनाको धरातल


लेख्य विषयको चयन गर्न नसकेर स्रष्टा सधैं द्वन्द्वमा हुन्छ— व्यष्टि लेख्ने कि समष्टि, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने। आफ्नैमाथि चिन्तन गर्ने कि अन्यको आधार खोज्ने? यस्ता दोधार सधैं उठेका छन् र सबैमा उठ्तछन्। नेपाली साहित्यमा यतिखेर यो विषय अत्यन्तै गम्भीर कुइनेटोमा पुगेको छ। साहित्य ता प्रसङ्गले मात्र उठेको हो, हाम्रो राजनीति, अर्थनीति, समाजशास्त्र, संस्कृति जीवन चलाउने सबै पक्षतिर पसेर हेर्दा हामी एक अप्ठयारो ठाउँमा पुगेका रहेछौं भन्ने प्रस्ट हुन्छ। सबैको जड चाहिं हाम्रो शिक्षा नीति र शिक्षण पद्धति नै हो। हामी यतिखेर आफ्ना गोठका लैना गाई परदेशीलाई बिक्री गरेर त्यसको पैसाले होल्यान्डदेखि मगाएको स्किम्ड मिल्क किन्दै छौं, हाम्रा नानीहरूलाई त्यही पियाउँदै छौं। 
हाम्रो विचार जे छ, जीवन पद्धति जतातिर छ, त्यो कुरा आजको लेखनबाट पनि प्रकट हुन्छ। धेरैले ता आँट गरेर लेख्छन्, उनीहरू आफैंतिर फर्किन्छन् र आफैंलाई प्रस्तुत गर्दछन्। अरू कतिले आफ्नै कुन्ठालाई वाणी दिन्छन्, केही द्वेष मिसाएर अनि ईर्ष्यामा अहम् चोबेर लेख्छन्। त्यसबाट आत्मश्लाघा र आडम्बरको पीरो राग मात्र निस्कन्छ साहित्य कतै छोपिएर। त्यस्तो सिर्जना अल्पायुको हुन्छ, छ महिनामा सुक्ने घाँस जस्तो, भनौं मकैको ढोड जस्तो। धेरैको अभिरुचि र क्षमता त्यसैमा हुन्छ, तर युगान्तकारी चिन्तनको वा त्यसैमा आधारित सिर्जनाको आरम्भ र अन्त्य अर्कै प्रकृतिको हुन्छ। 

भारतवर्षको पृष्ठभूमिमा लेखिएको संस्मरण दि उन्डेड सिभिलाइजेसन (मर्माहत सभ्यता) को आरम्भमा भी. एस. नइपलले अनुभव गरेका छन्— महान् सिर्जनाको लागि (अथवा विचारको लागि) तपाईंको जन्म वा बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ। तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा हुनुपर्छ। त्यसो भयो भने तपाईंको स्मृति भन्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ— पुराकथाले, किंवदन्तीले, अग्रजहरूका कृत्यहरूले अनि उनीहरूकै आलोकले पनि तपाईंको बाटो उज्यालो हुन्छ। 
यथार्थतः कहाँ जन्म हुन्छ त्यो हाम्रो छनौट होइन, त्यो त संयोगको, भूगोलको, इतिहासको, अझ भनौं प्रारब्धको कुरा हो। उता ध्रुवीय प्रदेशमा पनि सृष्टि रोकिनु भएको छैन भने यता उष्ण मरुभूमिमा पनि यसरी जन्मनु आफ्नो वशमा छैन। विवश मानव संयोगले जहाँ पनि जन्मिएको छ। हाम्रा स्रष्टा चिन्तक आदि पनि त्यहींका उपज हुन्।
हामी नेपालमा जन्मिनेहरू यतिखेर एक प्रकारको अन्योलमा परेको देख्ता मलाई ज्यादा चिन्ता लागेको छ। हाम्रो विचार वा चिन्तनको गति अवरुद्धझैं छ, यो उन्नत भएको देखिए तापनि त्यो केवल शारीरिक वृद्धि हो, यसको आत्मा कुण्ठित छ— अब चिन्तनको विषय अनि लेख्य विषय निथि्रएजस्तो पनि लागेर हो कि अथवा सिर्जनभूमि बाँझो देखेर हो कि बारम्बार हामी अति सस्तोको मोहमा बेचिन्छौं। हाम्रो चिन्तन धरातल शुष्क भइसकेको छ। हामी तात्कालिकताले वेष्टित अखबारी भएका छौं, नेपाली विचार त्यतै छ साहित्य त्यतै छ। यसको मूल कारण के हो भने हामी आफैं आफ्नो अतीत नभएझैं ठान्दछौं, इतिहास बेगरका ठान्दछौं। त्यसैले कतिपय नेपालीहरू पाश्चात्य मुलुकमा पुगी उच्च शिक्षा लिएर आउँछन्, सभ्य भएको देखाउने ठूलो प्रयत्न गर्दछन्, तर तिनीहरूलाई देख्ता मलाई कवि शिरोमणि लेखनाथको नीतिश्लोकको सम्झना आउँछः कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि। आफ्नो भूमिको अपार सम्पदा भुलेर हामी अरूका आँगनमा भिखारी देखिन खोज्छौं, ती कति हाँस्ता हुन् हाम्रो चाला देखेर। 
यसको मूल कारण के हो भने हामी आफ्नो भूमिलाई समयरेखामा फिंजाएर पढ्दैनौं, यसको इतिहासलाई शाहकाल, राणाकाल, मल्ल, लिच्छवि, किराँत, गोपाल, महिषपाल आदि गर्दै किंवदन्तीका पहरामा लगेर ठोक्काउँछौं। त्योभन्दा पर माथि, टाढा, भित्र, पुग्ने हाम्रो दृष्टि रोकिन्छ। भएको छोटो इतिहास पनि अति धूमिल छ, किरमिर छ। यो देशको भौगोलिक स्वरूप कस्तो थियो, यसको आदिकालीन ज्ञानविज्ञान, अध्यात्म र सभ्यताको रेखा कहाँसम्म कोरिएको थियो र कुन युगदेखि यसले वर्तमान भूगोलको आकार लिनथाल्यो— ती कुरा अज्ञात वा धूमिल छन्। तसर्थ नेपालको अत्यन्तै छोटो इतिहासको चित्र हाम्रो मस्तिष्कमा आउँछ अरू मेटिन्छन्। पूर्वीय सभ्यताको असीमित विस्तृतिलाई ससानो भूमिमा खण्डित गरेर आज नेपाली सभ्यता, बंगाली सभ्यता, पाकिस्तानी सभ्यता भन्न लाग्यौं भने त्यसका ससाना अंश मात्र फेला पर्दछन्। 
यही भ्रामक दृष्टिकोणले गर्दा नेपाली चिन्तन पद्धति पनि सोही अनुसारको, साहित्य लेखन पनि त्यसैगरी हिजो भर्खर जन्मिएको कलिलो नेपाली भाषाभरि मात्र फैलिएको देखिन्छ, भनौं भानुभक्त भरिको मात्र छ। भानुभक्तले के कस्तो विद्या आर्जन गरे, त्यसबेलासम्मको ज्ञानशास्त्रको दर्शन के कस्तो थियो होला अनि तिनको रचना कहिले भएको होला भन्नेतिरसम्म हामी सोच्दैनौं। के हामी त्यति छोटो इतिहास भएका यायावर हौं? अमेरिकाका अफ्रिकी अथवा त्यहाँ पुगेका बेलायतीजस्ता मात्र हौं? हामीसँग नइपलले भनेको महान् अतीत छ कि छैन? मलाई यस चिन्ताले छोएको धेरै भो।
यस्तै चिन्ता बोकेर केही वर्षअघि म यात्रामा निस्केको थिएँ। पूर्वाेत्तर पर्वतीय विश्वविद्यालय (नेहु) मा एक अन्तर्राष्टि्रय सम्मेलनमा भाग लिने उद्देश्यले म मेघालयको राजधानी शिलाङ पुगें। त्यस अवसरमा एक युवा चिन्तक सलील ज्ञवालीसित मेरो भेट भयो। उनमा आफ्ना विद्वान् पिता (कृष्णप्रसाद ज्ञवाली) को प्रभाव, पे्ररणा र रक्त थियो। उनले आफ्नो युवाकाल नै पौरस्त्य जगत्को अतीत गौरवको अध्ययन अन्वेषणमा समर्पण गरेका रहेछन्। उनले धेरै वर्ष लगाएर एक सय जना विश्वविख्यात नरनारीका विचार सङ्कलन गरिसकेका थिए। ती विचारकहरूमा आइन्सटाइन, गेटे, इमर्सन, स्रोडिङ्गर, हिगेल, म्याक्समुलर, सोपेन्हावर, रसेल, फ्रेडि्रक, दयानन्द आदि थिए। मैले त्यो ग्रेट माइन्ड्स अन इण्डिया शीर्षक प्रकाशोन्मुख सङ्कलन पढें। त्यत्रो ठूलो समूहमा चिन्तक, स्रष्टा, वैज्ञानिक, दार्शनिक, कवि सबैसबैले पूर्वी जगत्तिर फर्केर प्रार्थना गरेका छन्— यसको पूजा र आराधना गरेका छन्। मैले त्यो अभूतपूर्व सङ्कलन देखें। पूर्वको ज्ञानको र विद्याको स्वरूप देखेर ती सारा अभिभूत छन्। उनीहरू कोही वेदान्त दर्शनबाट प्रभावित छन्। कोही गीताबाट, केही उपनिषद्बाट, कोही खगोलशास्त्र, तत्वमीमांसा अथवा योगबाट, गणितबाट, पूर्वको सहिष्णुता, धैर्य, शान्तिप्रेम, कल्याण कामनाबाट अनि उदात्त विश्वबन्धुत्वबाट। सबै पूर्वतिर झुकेका छन्।
सङ्कलन पढेपछि बुझें— ग्रिसेली सभ्यता पनि पूर्वको तुलनामा उनीहरूलाई धूमिल लाग्छ। यति महान् सभ्यता अन्यत्र कतै छैन। विश्वका सबै सभ्यता जोड्दा पनि हाम्रो पूर्वीय सभ्यता र यसको दर्शन, चिन्तन र ज्ञानको सामुन्ने त्यो एउटा पिलपिले बत्ती मात्र लाग्ने छ। म पढ्दै गएँ— आश्चर्यचकित हुँदैगएँ। 
सङ्कलन तयार भएर दिल्लीबाट छापिएपछि यो भारतवर्षभरि पुग्यो। भाइको प्रेमले यहाँ नेपालमा पनि पाएँ। सलील अति उत्साहित भए। त्यस उत्साहले हृदय भरिएको बेला एक दिन सलीलले भनेदाजु, यसको नेपाली भाषामा अनुवाद गर्नपाए हुने। यसबाट धेरै नेपाली जातिलाई आफ्नो अतीतको गौरवभूमिको दर्शन गर्ने अवसर मिल्थ्यो होला।’ मलाई पनि त्यो कर्म उचित लाग्यो। हामीले निश्चय गर्‍यौं— यो कर्म गर्नै पर्दछ। नभन्दै अर्काे वर्षको हिउँद लागेपछि म त्यो सङ्कलनको अनुवाद गर्न लागें। बिस्तारै एकपल्टमा एउटा छोटो अनुभूति मात्रै। सर्वप्रथम उदाहरणको लागि मैले आइन्स्टाइनबाट थालें, उनी बोले— हामी पूर्वीय (भारतीय) जगत्प्रति चिर ऋणी छौं, किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यो बिना कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार सम्भव हुने थिएन। 
आइन्स्टाइन महान््को यस्तो वाणी नसुन्ने को थियो होला? यसरी सम्पूर्ण विश्व पूर्वतिर नतमस्तक भएको देखें।
नइपलले महान् अतीतले तपाईंलाई गौरवान्वित गर्दछ भनेको त्यसैले होला। 
म पनि पूर्वीय भएँ, भारतीय भएँ। भारतीय आजको सङ्कीर्ण अर्थमा होइन— ‘इण्डिया’ को शाब्दिक अनुवाद ‘भारत’ मात्र होइन, यो भौगोलिक भारत होइन। म समग्र भारतवर्षको नागरिक भएँ। त्यो भारतवर्ष जो हिमालय पर्वतदेखि श्रीलङ्कासम्म पुग्छ भने उताको गान्धारदेश अफगानिस्तानदेखि वर्मा अनि थाइल्यान्डसम्म पुग्दछ। रामकथा, कृष्णकथा फैलेका भूमिहरू हेरौं— थाइल्यान्ड, मलाया, भियतनाम र चीन मात्र नभएर जापानसम्म पुगेेका छन्। पश्चिमेलीहरूले सम्बोधन गरेको भारत यही भौतिक, आध्यात्मिक एवम् सांस्कृतिक भारतको एउटा विशाल स्वरूप हो। यो भौगोलिक ‘इण्डिया’ होइन न आजको राजनीतिक भारत हो। हाम्रा महाकविले पनि यही विशाल आध्यात्मिक एकाइलाई सम्झेर बोलेका छन्— हाम्रो भारतवर्षको उदयको हैम प्रभा सारको।
‘नेपाल’ धेरै पछिको नाम हो, पछिको भूगोल हो, हिजोको, त्यस पूर्वका इतिहासबारेमा हामी अनभिज्ञ छौं। यस विषयका ज्ञाताहरू पनि छन्, तिनीहरू बोल्न सकेका छैनन् या तिनीहरूको बोली सुनिएको छैन, तीमाथि जगत्को उपेक्षा र वेवास्ता छ। 
हाम्रो अन्तहृदयमा यो कुरा गुन्जिरहेको छ— त्यो अनादिकालको महिमामण्डित अतीत हाम्रो थियो। अझै हाम्रा सङ्कल्पहरूमा त्यो सीमाहीनता प्रतिध्वनित छ :  भारतवर्षे भरतखन्डे... इत्यादि, तर त्यो आज छोपिएको छ। कसरी एक उदात्त विशाल सीमाहीनबाट चोइटिएर हामी खण्डित र विखण्डित हुँदै विलयनतिरको यात्रामा समर्पित छौं यद्यपि हाम्रा उदात्त हृदय भएका स्रष्टा र चिन्तकले यदाकदा त्यो गौरव गीत गाएका छन्। 
यो भारतवर्षका सम्पूर्ण पुराकथामा हाम्रो उत्तिकै सहभागिता छ र अधिकार छ। पश्चिमाहरू आएर पहिले भारतमै पसे, नेपाल बन्द थियो। त्यहींबाट उनीहरूले शाकुन्तल अनुवाद गरेर पूर्वीय काव्यको विश्वरूप देेखे। त्यसपछि जर्मनहरू पसे, उपनिषद्हरू अनुवाद गरे— वेदको अनुवाद गरेर त्यस्तै प्रशंसा गरेका छन्। विगतका तीन सय वर्ष यता खगोलविद्या, गणित, व्याकरण, सबैसबै पश्चिमी यात्रामा निस्के। फ्रान्सेली पसे, गीता र अरू ग्रन्थ अनुवाद गरे। गीताको महिमा उनीहरू आज गाउँदै छन्। जर्मन दार्शनिक हुम्बोल्टले भने— कुनै मानव-भाषामा उपलब्ध, मानवजातिले गौरव गर्ने, संसारलाई देखाउन मिल्ने अत्यन्त गम्भीर र महिमाशाली वस्तु नै गीता हो। यो कुनै पनि मानव-भाषामा उपलब्ध एक मात्र दार्शनिक गीत हो। सत्रौं शताब्दीमै भोल्तेयरले भनेका थिए— म विश्वस्त छु— हाम्रोमा सबै कुरा गङ्गाको तटबाटै प्राप्त भएको छ— खगोलशास्त्र, ज्योतिषशास्त्र, अध्यात्मविद्या सबैसबै। यो विशेष उल्लेख्य कुरा छ— पच्चीस सय वर्षअघि ग्रिसको समोस टापुका पाइथागोरस ज्यामिति सिक्नका लागि गङ्गाजीसम्म पुगेका थिए। ब्राह्मणहरूका विज्ञानको यश धेरै अघि युरोपमा स्थापित भइनसकेको भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला। अठारौं शताब्दीका विद्वान् अनुवादक सर विलियम जोन्सले भने— जबजब हामी पूर्वीय साहित्यतिर ध्यान दिन्छौं, त्यसबेला हाम्रा सामु अनन्तताको भावना स्वतः खुल्दछ। शाकुन्तलको अनुवादले सम्पूर्ण युरोप रसाएर आयो। उनीहरू साँच्चै छक्क पर्दै गए, वशीभूत हुँदै गए। 
 फेरि मैले अर्काे अंश अनुवाद गरें, फेरि अर्काे गरें। मलाई एक प्रकारको नयाँ ज्ञानले चकित पार्दै लग्यो। पूर्वीय जगत्को सार तत्व के हो र किन यी भूमि महान् छिन्— ममा यो घाम लाग्दै गयो। म क्रमशः सोपेन्हावर, हिगेल, वर्डस्वर्थ, मार्क ट्वाइन, कार्ल युङ, हर्मन हेस्से, लर्ड कर्जन, रोमा रोलाँ, आरनोल्ड टोयन्वी, सर विलियम जोन्स, म्याक्सम्युलर, अरबिन्दो आदि पढ्दै गएँ र एकएक अंश अनुवाद गर्दै गएँ। एउटा झ्याल उघि्रयो रत्नगर्भको— झलझलाकार उज्यालो देख्न थालँे। जर्मनी पुगेपछि फ्रेडरिक शिलरले पूर्वीय साहित्यबारे बोलेको सुनें— सम्पूर्ण ग्रिसेली पुराकालदेखि आजसम्ममा अत्यन्तै सुन्दर प्रेमको काव्यात्मक प्रस्तुति गर्नमा शाकुन्तलको नजिक पुग्ने कुनै कृति रचिएको छैन।
मनमनै मैले पुस्तकको नाम आर्यावर्तको आलोकमा राखें। पछि सल्लाहले अर्काे होला। मलाई आध्यात्मिक रूपले एक विशाल भूमिमा छु भन्ने ठान्दा अत्यन्तै गहिरो आनन्द लाग्यो, कतिबेला यो आनन्दलाई कोसित बाँडौं जस्तो भएको थियो। हाम्रा अग्रजहरू हिमालय पर्वतको नजिक नै ज्यादा थिए, उत्तराखन्डमै योगी, तपस्वी, ज्ञानी र ऋषिहरू ज्यादा थिए, गन्डकी तटदेखि गङ्गासम्म, ब्रह्मपुत्रदेखि सिन्धुसम्म थिए। पाणिनिको तपोभूमि यतै थियो भन्छन्, व्यासगुफा, विराटनगर, जनकपुर, मुक्तिनाथजस्ता हजारौं होइन लाखौं स्थान छन्, यस आर्य सभ्यताको आद्य सभ्यताको आद्यभूमिमा मानव सभ्यताको आदिम बस्ती अनादिकालदेखि बसिरहेको छ। बौद्ध सभ्यता साथै किराँत सभ्यता यहीं थिए— आज तिनै सभ्यताले यो पवित्र भूमि सिञ्चित छ।
त्यसपछि टि.एस. एलिअटमा पुगें। उनको द वेस्ट ल्यान्ड जस्तो अमर काव्यमा वेदान्त र उपनिषद्को प्रभाव पढेको थिएँ। बीसौं शताब्दीको एक मानक कवितामा वृहदारन्यक उपनिषदबाट उनले ‘दत्त, दयाभ्याम्, दाम्यत’ भन्ने सूक्ति प्रयोग गरेका छन् र आफ्नो कवितालाई शान्तिः शान्तिः शान्तिको प्रतिध्वनि गुञ्जनसँग अन्त्य गरेका छन्। त्यहाँसम्म पुर्‍याउन उनलाई पूर्वले कसरी अभिप्रेरित गर्‍यो होला एक वाक्यमा त्यहाँ उनी बोलेका छन्— भारतीय दार्शनिकको विलक्षणताको तुलनामा महानतम युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन्। 
यस्ता अभिव्यक्तिले मभित्र आत्मसम्मान बढ्दै गयो, गौरव थपिंदै गयो। त्यसैबेला प्रतिभा निकेतन, दमकको प्रकाशन पूर्वीय चिन्तन परम्पराको पनि सम्पादन गर्ने अवसर मिल्यो। यो मोहन भन्डारी जस्ता विशिष्ट विद्वानरूको परिकल्पनाको साकार रूप थियो। मैले त्यसमा एक वर्ष लगाएँ। मेरो लेखकको निमित्त यो आभ्यन्तरिक यात्रा थियो। म एउटा अर्धविस्मृत जगत्लाई अर्काे दृष्टिले हेर्नलागेको थिएँ। त्यसपछि सलील भाइको ग्रेट माइन्डस् अन इण्डियाको अनुवाद प्रक्रियामा झन् गहिरोसँग लाग्न थालें। 
 बिस्तारै-बिस्तारै क्रमैसित भित्री मनले छाम्दै एक अंश अनुवाद गर्दै, कहिले ती उक्तिबाट तानिएर सम्पूर्ण कृति पढ्न थालें— फ्रित्जोफ काप्राको ताओ अव् फिजिक्सझैं अथवा स्वामी परमहंश योगानन्दको अटोबायोग्राफ्री अव् अ योगीझैं, टिएस एलिअटको द वेस्ट ल्यान्डझैं। तिनीहरूका लेखनमा पूर्वको प्रभाव कहाँ छ, त्यो हेर्न थालें— जर्ज बनार्ड शा, एच जी वेल्स, लिङ युताङ, लिन्डा जोन्सेन, हु सी, सर विलियम जोन्स, जवाहरलाल नेहरू आदि— यस्ता रत्नहरू सलीलले कसरी चिने होलान्, खोजे होलान् र कसरी यी अमर वाणीहरू टिपे होलान् लेखक, दार्शनिक र चिन्तकको यो विशाल जङ्गलमा यी इन्द्रकमल, सुनगाभा, कटरचम्पा, बेली, चमेली र गोदावरी कसरी छाने होलान् एक दिन सलीललाई मैले भनें— भाइ, तपाईंको हृदय कति सुवासित भयो होला अनि आत्मा कति पुलकित त्यो जीवन धन्य छ। कसरी यो कर्म सम्पन्न भयो होला
 दाजु, उपनिषद् पढिसक्ता म ता झन्डै विक्षिप्तजस्तो भएँ र अझै म आत्मविस्मृतिको जस्तो स्थितिमा छु।
म त्यसबेला उपनिषद्को महत्व बुझ्दै थिएँ। प्रसिद्ध जर्मनेली विद्वान् पौल डुसेनले भने— वैज्ञानिक मस्तिष्कको आविष्कार जेसुकै होस्, उपनिषद्ले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्तैन। 
मेरो ध्यान पूर्वीयशास्त्रले आकर्षित गर्नलाग्यो। 
विद्यार्थी पुस्तक भन्डारद्वारा प्रकाशित केही आध्यात्मिक, धार्मिक कृतिहरू पढेें तर अङ्ग्रेजीले खनेको कुवामा आफ्नो पौरस्त्य ज्ञानगङ्गा अटाउला? चारै वेद निस्किए, संस्कृत तत्सम शब्दकोष प्रकाशित भयो र प्रसन्नचन्द्र गौतमद्वारा सम्पादित ऋग्वेद संहिताजस्तो महान् ग्रन्थको नेपाली अनुवाद प्रकाशित भयो— ३६ सय पृष्ठमा पदपाठ, अन्वय, अर्थ र आशय सहित। हाम्रै बगैंचाको अमर लता पाश्चात्य जगत्मा पुगेको चारसय वर्षपछि फेरि फर्काएर ल्याइयो। नेपाली भाषा नै धन्य भइन्, आफ्नी आमाको स्वरूप र हंसलाई अनुकृतिमा भए पनि प्राप्त गरिन्। वर्षको एउटाका दरले गीताको अनुवाद आइरहेछन्— प्रेमविनोद नन्दन, भीम विराग, रामहरि शर्मा, पुरुषोत्तमप्रसाद गोर्खाली र मेरा गुरु प्रा. भूचन्द्र वैद्य। यसरी नेपालीमा अनूदित भाषान्तरित गीताको सङ्ख्या पचास नाघ्यो होला।
म अन्योलमा उभिएको थिएँ। दोबाटामा पुगेर रोकिएँ। यसरी निरन्तर लेख्तै छु, तर मेरो लेखनस्रोत के हो, म के लेख्तै छु, म आफ्नो सृजनाको ऊर्जा कहाँबाट प्राप्त गर्दछु अनि आज लेख्न तम्सिरहेका मेरा हजारौं नवआगन्तुक अनुयायीलाई के सल्लाह दिनुु होला, अझ नेपालको राजनीति, समाजशास्त्र, इतिहास वा दर्शन जस्ता विषयमा सैद्धान्तिक चिन्तन गर्ने अथवा व्यवहारमा ओर्लनेहरू कसरी आफूलाई परिभाषित गर्दा हुन्, कसरी आफ्नो देशलाई चिनाउँदा हुन्। मलाई यस चिन्ताले छोप्यो। म स्वयम् प्राध्यापन कर्ममा बर्साैं समर्पित भएँ— मैले सम्पूर्ण शिक्षाको चुरो केलाई मान्ने? मेरा पाठयक्रम र पाठयपुस्तकले मलाई कसरी बाँधेर राखेछन् । त्यहाँ अझै पनि भौतिक अक्षर र तिनीहरूले बोकेको एउटा वर्तमान र व्यवसाय छ, प्रतिस्पर्धा र अर्थाेपार्जनका मार्गहरू छन्। म त्यसैमा विद्यार्थीलाई तालिम दिन्छु। अर्काे जगत् सदैव छेलिएको रहेछ। 
म अलमलिएको बेला मैले गान्धीको अनुवाद गरें— गान्धीवचनको अङ्ग्रेजीबाट नेपालीमा। त्यति होसियारीले, त्यति श्रद्धापूर्वक र त्यत्रो तन्मयतासाथ मैले कुनै काम गरेको थिइनँ होला। दुईवर्ष लगाएर नवजीवन ट्रस्ट, इलाहावादको प्रकाशन गान्धीको नेपालीकरण भयो। किसनसिंह धामीले त्यसलाई उत्कृष्ट स्वरूपमा (कता जाने पब्लिकेशनबाट) प्रकाशित गराए। त्यसले समेत ममा पूर्वीय जगत्को प्रकाश थप्यो। फेरि अध्यात्मतिर फर्किंदा धर्मले तानेर, कर्मकान्डमा अल्झेर साधु-जोगी-फकिर भइन्छ कि भन्ने डर पनि थियो, किनकि मेरो सारा शरीर ता पार्थिव चिन्ताले नै चलिरहेको छ। मैले खोजेको त्यो पथ होइन। मैले खोजेको पथ ता अबको स्रष्टालाई हिंडाउनु हो। अबका चिन्तक अथवा राजनीतिले देश चलाउन खोज्नेहरूलाई सम्झाउनु हो। मलाई शरीर र आत्मा दुवैलाई स्वस्थ राख्ने उर्वरक तत्व आवश्यक थियो, आफू र परिवारलाई, दैनिक भौतिकी र अगम्य आध्यात्मिक दुवै पथमा कसरी सहयात्रा गराऔं भन्ने चिन्ता थियो। अकल्पनीय भौतिक उन्नतिले आकासिएको पश्चिमी जगत् किन आज यसरी कुनै डढेलो सल्केसरी छट्पटाइरहेछ, त्यो कुरा बुझ्नु बुझाउनु थियो। 
यो प्रस्ट भयो— भौतिक प्राप्ति तृप्तिकर वा सन्तुष्टिकारक होइन रहेछ। मानिसलाई अरू असन्तुष्टि र तृष्णा थप्ने रहेछ। पश्चिमीहरूले नै आफ्ना महान् उपलब्धिलाई तुच्छ देख्नथालेका छन्। नत्र सन् १९३३ का नोबेल लरेट अर्विन स्रोडिङ्गरले किन यस्तो भन्थे— पाश्चात्य विज्ञानलाई आध्यात्मिक रक्ताल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्तआधान आवश्यक भएको छ। 
पूर्वका गरिब मुलुकबाट, तेस्रो संसारका अल्पविकसित र अविकसित दुनियाँबाट अर्थात् हिजोसम्म उनीहरूद्वारा उपनिवेशित भूमिबाट पश्चिमले के पाउला? किन उनीहरू यसरी पूर्वको मुक्तहृदयले प्रशंसा गर्दछन्? फूलको आँखामामा आनी छोइङ डोल्माले भनेकी छन्— मानौं यी सब चिल्ला, अग्ला र गोरा पश्चिमाहरू पागलपनको घोडा चढ्न छाडेपछि सामान्य जीवन बिताइरहेका व्यक्ति खोज्दै मेरा गुरुको दर्शन गर्न आएका हुन्।
थाहा हुँदै छ उनीहरूमा साँच्चै सैतान चढेको छ। आत्माको शान्ति त्यसले चबाएको छ। उनीहरूले बुिझसके हामीले जुन कुरा आविष्कार गर्‍यौं भन्दै छौं, हजारौं वर्षअघिका पूर्वीय ग्रन्थले, वेद र उपनिषद्ले तिनको बयान गरिसकेका छन्। त्यसैले अल्फ्रेड नर्थ ह्वाइटहेडले भने— वेदान्त मानव मस्तिष्कले परिकल्पना गरेको सर्वाधिक प्रभावशाली तत्वमीमांसा हो। अमेरिकी कवि राल्फ वाल्डो इमर्सनले भने— वेदहरूले मलाई पछयाइरहन्छन्, मैले त्यहाँ अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छिन्न शान्ति प्राप्त गरेको छु। 
पूर्वीय जगत्मा धर्म छ, त्यसमा आवेष्टित अध्यात्मसँगै विज्ञान छ। धर्म र दर्शन सम्पृक्त छन्। त्यहाँ ज्ञानका अनेक हाँगा पुष्पित पल्लवित छन्। पश्चिम अझै त्यहाँ पुग्न सकेको छैन अनि पुग्ने कुनै सम्भावना पनि रहेनछ, किनकि उनीहरूसँग त्यो अनादिकालदेखिको ज्ञानविज्ञानको विपुल राशि रहेनछ। पूर्वीयहरूले ज्ञानको, विज्ञानको, पदार्थको, आत्माको, मानवताको, उदात्त कल्याण पथको— साराको अनुभव गरे। त्यो सूक्ष्म अनुभव अनेक प्रकारले बोल्यो— वैशेषिकी र न्यायजस्ता हिन्दू ग्रन्थमा पदार्थको आणविक संरचनाको उल्लेख छ। योगवाशिष्ठले भन्दछ— प्रत्येक अणुको रिक्तताभित्र अरू विशाल विश्व छन्, ती एउटा सूर्य किरणमा विद्यमान बिन्दुझैं बहुविध छन्, आज आएर हामी यी सत्य स्विकार्दै छौं। हामी सधैं अनन्तताको छेउमा छौं, उनीहरू अन्त्य भेटयौं भन्ने भ्रान्तिमा।
यो सम्पूर्ण ज्ञानराशि संस्कृतमा छ। हाम्रा वर्तमान भाषासम्म त्यो उज्यालो सर्न सकेको छैन। यस सम्बन्धमा फ्रेडरिक भोन स्लेगेलले बोलेका शब्द कति विचारणीय छन्ः यो संसारमा संस्कृत भाषाको जस्तो नियमनिष्ठा भएको र त्यति दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रिसेली पनि छैन। यस्तो आदिम कल्पवृक्ष हिजोसम्म हाम्रै भूमिमा फल्दै थियो तर आज हाम्रै जडमित्रहरूले त्यसको जरा उत्तानो पारे, उग्र भौतिकता त्यसमाथि घोडा चढ्यो, काँटी ठोक्यो र मरणासन्न छ आज। यो हाम्रो सभ्यतामा आएको सबैभन्दा ठूलो ह्रासोन्मुख यात्रा हो। यस दुष्कर्मको लागि हामीलाई समयले सराप्नेछ। हाम्रा अन्धवेग र उत्तेजनाहरूको महँगो मूल्य भोलिले तिर्नु पर्नेछ। उतिबेला स्वयम् कार्ल युङ बोलेका थिए— मेरो ज्ञानमा विचार वा शरीर नियन्त्रणका निमित्त योगभन्दा बढी व्यापकरूपले परिचित कुनै प्रणाली छैन। अर्का क्वान्टम फिजिक्सका विद्वान् ज्याक सर्फातीले भनेका छन्— भारतवर्षको साङ्ख्य नै सम्पूर्ण सृष्टिको आधार हो। 
यस्ता धेरै छन्— प्रत्येक विषयका। हिन्दुत्व धर्म मात्र होइन विज्ञान र दर्शनको योग पनि हो। कसैले नसुने पनि कति नेपाली अझै पुकारा गर्दै छन्, जस्तै २०६८ साल पुस ३० गतेको गोरखापत्रमा योगको उद्गमस्थल नेपाल नै हो भन्ने शीर्षकमा डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) ले भनेका छन्— वर्तमान अवस्थामा नेपाल सुनको थाल हातमा बोकेर चौबाटोमा सुक्खा रोटी मागिरहेको मुलुकझैं बनेको छ। म नेपालमा जन्मेको भएरमात्र होइन, नेपाल योगको उद्गमस्थल भएको प्रशस्त प्रमाण इतिहासले सिद्ध गरेको अवस्था छ। 
यसैगरी पूर्वीय साहित्यको कुरा गर्दा शाकुन्तललाई विश्वको एकमात्र अनन्य सिर्जना भनिएको छ। आज यी उदाहरणको अनन्ततापिट्ट म जान चाहन्नँ। विश्वका महान् द्रष्टा, दार्शनिक, चिन्तक र वैज्ञानिकले हाम्रो आँगनतिर औंल्याएर बोल्दै छन्— हेर, त्यो सम्हाल, टिपेर राख, तर हामी त्यसलाई लात्तीले हानेर रछयानतिर हुर्‍र्याउँदै छौं, कत्रो विडम्बना । 
यसबेला हाम्रा अध्यापक, चिन्तक, लेखकलाई सल्लाह दिन मन लागेको थियो— प्राचीन साहित्यका अमर सिर्जना पढौं र त्यहाँ जीवन खोजौं, त्यसको गौरवगान गरौं अनि त्यसलाई वर्तमानको आँगनमा ल्याऔं तर दुःखको कुरा छ हाम्रै सामु स्वर्ग चढ्ने भर्‍याङ भौतिकवादीहरूले खुस्काइदिए, जलाइदिए र त्यता तार्ने माझीलाई पछारेर लडाइदिए। अनि कसरी त्यहाँ पुग्नु? संस्कृत-गगको मुहान टाल्न आज कत्रा दुष्प्रयत्न भएका छन्। मलाई लागेको छ, नेपालमा जड भौतिकवादीले पचास वर्षअघि सल्काएको डढेलोले गरेको विनाशलाई केसित तुलना गर्नु? धेरै कुरा खरानी बनायो, सबैभन्दा बढी ता अनुभूति गर्ने आत्मा डढायो, मूल्य मापन गर्ने हृदय डढायो, त्यतिले पुगेन, आध्यात्मिक मूल्य र संस्कृतिप्रेम डढायो, अनेकौं नास्तिक र बर्बर पुस्ता जन्मायो। पचास वर्षको बाढी, पहिरो, डढेलोपश्चात् पनि प्रकृति फेरि पलाउँछिन् होला तर जडतामा बद्ध भएको मानव आत्मालाई केले फर्काउने । त्यो ज्वालामुखीको खरानी मात्र बाँकी रह्योे। जड भौतिकताको बर्बरताले त्यत्रो विनाश निम्तायो। 
मैले तीनवर्ष लगाएर यस सङ्कलनको अनुवाद सम्पादन गरें, त्यो गरिसकेको दिन पवित्र कनकाईको तटमा अवस्थित कोटीहोम मन्दिर (झापा) मा एउटा कार्यक्रममा अतिथि बनेर पुगें। त्यो दिन मैले सम्बोधन गरेंः नेपालको शैक्षिक प्रणाली अत्यन्तै शुष्क र यान्त्रिक भएको छ, यसले कारखानाले झैं हृदयशून्य शरीरहरूको उत्पादन गर्दै छ। यसले आफ्नै मूल्यको निन्दा गर्न सिकाउँछ, प्रमाणपत्रका खोस्टा स्युरेर हाम्रा विद्यार्थी खुब नाच्छन्, किनभने तिनका अभिभावकहरू ताली पड्काउँछन्। तर तिनीहरूको आत्मा टालिइसकेको हुन्छ, किनकि यो पाठयक्रम नै विषाक्त छ। शिक्षाको कुनै तहमा हाम्रो महान् अतीत चिनाउने पाठ छैन, बरु त्यसको अवमानन गराउने विचारशून्य केही नक्कलहरू छन्। हामी आफ्नो जगमा झम्पल हान्दै छौं। वास्तवमा सम्पूर्ण अतीत वैभवको प्रवेशद्वार संस्कृत भाषा हो। त्यसको गङ्गा बन्द गराइयो, अब सर्वनाश हुन बाँकी छ। यसबाट बच्न अबको शिक्षा प्रणालीमा संस्कृत भाषा अनिवार्य गर्नुपर्दछ नत्र हामी अतीत बेगरका मुर्कट्टा हुनेछौं— जरा बेगरका हाँगा र पात मात्र हुनेछौं। 
धेरै अनर्थ भैसकेको छ। रानीतिक जडताको भयले साथै जातिवादको भयले आफ्नै घरको गहना फुकालेर फ्याँक्तै छौं। सङ्कीर्ण सोचले प्राचीन ज्ञान स्रोतमा बन्चरो हान्दै छौं, तर सधैं विलाप र पश्चात्तापले हुँदैन। अब जीर्णाेद्धार भए पनि गर्नैपर्ने समय आएको छ। अब प्रेमले सबै उध्रेको टाल्नु परेको छ। 
पूर्वले सधैं बोलिरहेको छ— ज्ञान र विज्ञानसँगै चलौं, तर दुःखको कुरो त्यस्तो अतीतप्रति हामीले समयलाई घृणा गर्न सिकायौं, अपहेलना र निन्दा गर्न सिकायौं। यो हाम्रो दुर्गतिको यात्रा हो। यसको अग्रगामी त्यो हृदयशून्य (जडतावादी) राजनीति हो जसले जडता सिकाउँछ, केवल जडता जन्माउँछ। विश्वले नै पूर्वलाई हिन्दू भनेर सम्बोधन गर्छ, हिन्दुइजमलाई चिनेको छ, चिनाउँछ, उसले केवल यसैको गीत गाउँछ अनि यसैलाई हामीले सनातन भनेका छौं। यसैले करुणा, अनुकम्पा, प्रेम र सद्भावजस्ता गुणहरू बोकेको छ, यसले मानवतालाई सर्वाेच्च स्थानमा राख्तछ, तर ‘हिन्दू’ शब्द भिर्नैै हामीलाई सरम लाग्यो र एक उत्तेजनामा त्यो शिरको ताज फुकालेर झोडीमा फ्याँक्यौं। भर्खरै हो, त्यसो गराउने केवल भावावेश थियो, अन्ध भौतिकता थियो, राजनीतिक उत्तेजना र अविवेक थियो। हाम्रो सभ्यता अब कहिल्यै नजोडिने गरी खण्डित हुने हो कि भन्ने डर लाग्दै छ। 
पूर्वीय धर्म, दर्शन र साहित्य हाम्रो अतीत हो। यो हाम्रै हो अथवा हाम्रो पनि हो भनी बुझाउनु पर्ने बेला छ, दाबी गर्नु पर्ने बेला छ। त्यसतर्फ हाम्रा समयका सारथिको दृष्टि पुगोस्।
प्रत्येक नेपाली शिक्षकले, स्रष्टाले प्रथम पाठशालाबाटै ज्ञान आर्जन गर्न थाल्नुपर्छ। हाम्रो पाठशाला पाश्चात्य भ्रमको अन्धानुकरण मात्र होइन, आफ्नै अतीत हो।
पूर्वीय परम्पराको ज्ञान नै प्रथम पाठशाला हो। 
नेपाली विद्वान्ले अतीतका स्रष्टा, ऋषिमुनि र देवीदेवताका कार्यस्थल-क्रिडाभूमिसित जोडेर आआफ्ना सम्पदाको दावी गर्नुपर्दछ। धेरै कुरा अनादिकालमा पुगेकाले साथै ऐतिहासिक समयले निर्क्याैल गर्न नसक्ने भएकाले प्रागैतिहास, पुरातत्वशास्त्र तथा पुराकथाको पूर्ण उत्खनन गर्नुपर्ने बेला भएको छ। वेद न आजको नेपालमा रचियो न इण्डियामा, पाणिनि, पतञ्जलि र कालीदास न यहाँ थिए न त्यहाँ, रामायण र महाभारत न यो भूमिका न त्यो भूमिका, बुद्ध भगवान् न यो भूमिका न त्यो भूमिका। सम्पूर्ण प्राचीन हिन्दू बौद्ध, किराँत धर्म, दर्शन र चिन्तन भारतवर्षले जन्मायो। त्यो भारतवर्ष तिम्रो र हाम्रो सबैको बराबर हो। 
हाम्रो प्राचीन ज्ञान र विद्वताको यो विपुल राशिलाई दूषित गर्ने र मेट्ने तीन तत्व छन्— कर्मकान्डले साँघुर्‍याउँदै ल्यायो, आफ्नै अमूल्य संस्कृतिविरोधले त्यसलाई सुकाउँदै ल्यायो र उग्र भौतिकवादले यसको प्राण लियो। भौतिकवादले केवल जडतामा विश्वास गर्दछ। यस भन्डारभित्र प्रवेश गरेर यसले वैज्ञानिक-अवैज्ञानिक छुट्टयाउने जिम्मा लिएको आजको सिद्धान्त उचालेर अस्त्रले हजारौं वर्षको अभेद्य किल्लामा हान्दै छ। यी सारा मिलेर हाम्रो अतीतको कल्पवृक्ष काट्तै छन्, धेरै हाँगाबिँगा ठुट्टयाइसके, जराहरू उधिनिसके र अब ढाल्न मात्र बाँकी छ। त्यो ढल्नु भनेको हामी स्वयम् आफ्नै आँगनमा हुर्केको धर्म, दर्शन र चिन्तनले रहित हुनु हो, महान् शिक्षा उपदेश र अनुभवरहित नाङ्गो हुनु हो अर्थात् एउटा रुटलेस बुङ्गो हुनु हो। 
पाश्चात्य स्रष्टाहरूको जन्म यस्तो भूमिमा भएको भए उनीहरूसँग चिन्तन र सिर्जनाको सामग्री एवम् स्रोत कति हुन्थ्यो होला । ग्रिसेली सभ्यता र बाइबल सम्झेर उनीहरू तिनै वरिपरि लेख्तै छन्। मायान, इजिप्सिअन र चिनियाँ सभ्यतामा अडिएर लेख्तै छन्। हामीसँग हाम्रोमा गन्डकी, कोसी, कर्णाली बग्दै छन्, यही भूमिमा गङ्गा र ब्रह्मपुत्र बग्दै छन्, उनीहरूले ससाना खोल्सीको पानी उघाएको हेर्नुस्। 
यतिबेला मलाई पनि ठूलो पश्चातापले छोप्न थालेको छ। मेरो शिक्षारम्भ यही महान् अतीतको विशाल आँगनमा भएको थियो, तर मेरो शिक्षाको अन्त्य बेलायत र अमेरिकाको साँगुरो आँगनमा पुगेर टुङ्गियो। यतिखेर पाश्चात्य विश्व नुहेको देखेपछि सानामा बाआमाका लागि कन्ठ गरिदिएका गीताका श्लोकहरू हृदयमा बज्न थाले, पछि पिताजीले वाचन गरेका-गाएका श्रीमद्भागवतका कथाहरू गुञ्जन थाले— उहाँले अध्ययन गरेका उपनिषद्हरू र मैले सानामा देखेसुनेका यस्ता पौरस्त्य संस्कृति-चित्रहरू आउन लागे। समय धेरै बितिसकेको छ— उत्तरार्धको आँगनमा नाच्तै छु, तर अङ्ग्रेजीको जो भारी बोकेर हिंडें, त्यो असवाफ छ, कतिबेला ता कहाँ बिसाऔं, कता फ्याकौं जस्तो पनि हुन्छ। 
त्यसो भनेर म अङ्ग्रेजी भाषा ज्ञानको महत्वलाई कम्ती ठान्दिनँ, किनभने अङ्ग्रेजी भाषाले मलाई जुन चक्षु दियो त्यसको लागि म विश्वविजयी पाश्चात्य वाङ्मयप्रति पनि त्यतिकै चिरऋणी छु, कारण मैले आफूलाई (अर्थात् पूर्वलाई) हेर्ने जुन दृष्टि पाएँ त्यो अङ्ग्रेजी साहित्यबाटै प्राप्त गरें। मेरो अङ्ग्रेजीमा बितेको पचास वर्ष आज धन्य भएको छ। 
म हाम्रा पाठक र स्रष्टालाई आह्वान गर्छु— आफ्नै लेखौं, पूर्व लेखौं, त्यो विपुल भन्डारबाट उघाएर लेखौं। त्यसो त नेपाली साहित्यको आरम्भ यही महान् अतीतसँग जोडिएको थियो— कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता केही नेपाली स्रष्टाले यो महान् यात्राको आनन्द लिएका छन्, हामीलाई बाटो देखाएका छन्। पछि पनि माधवीले, नरसिंह अवतारले, उर्वशीले, देवयानीले, कर्णले, राधाले, द्रौपदी आदि अनेक सिर्जनाले त्यो महान्पथको यात्रा गरेका छन्। 
म आउने युगका सबै नेपाली चिन्तकलाई स्रष्टाहरूलाई अनुरोध गर्दछु— आफ्नो प्राचीन घरतिर फर्काैं, यो जडपथ छाडेर अध्यात्म र विज्ञानसँगै बग्ने गङ्गातिर लागौं। हाम्रा चिन्तन अथवा व्यवहारले अनि सिर्जनाले तिनै भन्डारबाट उघाएर प्रतीक र बिम्बहरू पुराकथा र गाथाहरू दर्शन र चिन्तनहरू फेरि पढेर समयसापेक्ष बनाउँदै लान सिकौं।
मेरो यो प्रयत्नको उद्देश्य नेपाली साहित्यमा सिर्जनाको धरातल देखाउनु हो, नेपाली राजनीतिक चिन्तनमा व्यवहारमा आफ्नो धरातल देखाउनु हो। खासगरी अनुदारवादी राजनीतिले कसरी सम्पूर्ण अतीतप्रति अनास्था प्रकट गर्दै त्यसलाई कसरी प्रदुषित पार्दै छ भन्ने चर्चा गर्दै असीमित आकाशमुनि हामी कसरी गरिब हुँदै छौ भन्ने देखाउनु हो। 
उता बारम्बार भइरहने सम्पर्कमा भाइले यताबाट एक नेपाली विद्वान्बाट यस कृतिमाथि मन्तव्य लेखाउनु होला भन्नुभएको थियो। मेरो मनले अनेकतिर भ्रमण गर्‍यो— मदनमणि दीक्षित, मोदनाथ प्रश्रित, डा. तुलसी भट्टराई, प्रा. जयराज आचार्य... धेरै। तर अन्त्यमा गएर प्रा. घनश्याम कँडेलमा ठोकियो। यसको कारण छ— म त्यसबेला उहाँको देवयानी (खन्डकाव्य) को अङ्ग्रेजी अनुवादमाथि भूमिका लेख्दै थिएँ। महाभारतको कथामा आधारित देवयानीले प्राचीन मूल्यलाई नयाँ सन्दर्भमा हेर्दछ। त्यसैबेला उहाँको विश्वामित्र र मेनका पनि आइपुगे भने उहाँ धृतराष्ट्र काव्यको रचनामा हुनुहुन्थ्यो। मैले सलील भाइको अनुरोध उहाँसमक्ष पुर्‍याएँ। उहाँले त्यो आग्रह स्विकारिदिनुभयो। त्यसको कारण उहाँले आफ्नो मन्तव्यमा प्रस्टयाउनु भएको छ। पूर्वीय पाश्चात्य दुवै काव्य परम्पराका ज्ञाता, विशिष्ट विद्वान् अध्येता प्राध्यापक कँडेलज्यूले पढेर अत्यन्तै गहिरो भूमिका लेखिदिनुभयो। यसबाट हामी दुवै अत्यन्तै प्रोत्साहित भयौं। त्यसको लागि उहाँप्रति हार्दिक आभार प्रकट गर्दछौं। 
यस कृतिको निर्माणमा अनेकपल्ट टंकणमा बस्ने मिलन पौडेल, भाषा जाँचकी नेत्र पौडेल, कर्णाखर खतिवडा, टेकनारायण ढकाल र यो अनुपम डिजाइन सेटिङका ज्ञाता भाइ कौशल खाकीहरूको निरन्तर साधनाले मात्रै यो यस रूपमा आउन सक्यो। त्यसरी आइसकेपछि विद्वान् मित्र डा. कुमारप्रसाद कोइरालाले अन्तिमपल्ट सूक्ष्म निरूपण गरेपछि यो कृति प्रकाशनको लागि तयार भएको छ।
मलाई यो गहन कार्यको विश्वास सुम्पिने भाइ सलील ज्ञवाली मेरो बाँकी जीवनभरि र त्यसपछि पनि यो दाजुसँग जोडिएर बाँचिरहून्, म यही कामना गर्दछु। 
२५ पौष २०६९
             

5 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. sampurna chintanshil Nepaliko bhawanaharu aadarniya Guru Govinda Raj Jiu ko siddha hasta bata lipibaddha bhaeko rahechha. Yo lekh padhada kun Nepalile aafulai gaurawanbit nathanla ra!

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. Mind blowing wow...yesti lekh padhne echhya thiyo... dhunga khojda deuta vetiyo ... Thank you so much Bhattarai

    ReplyDelete