About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Sunday, March 24, 2013

प्रचारमा अडेको साहित्य तासघर हो।






१. यहाँको साहित्य लेखन यात्रा कहिलेदेखि सुरु भएको हो? लेखनमा कसरी प्रेरित हुनुभयो?
कला साहित्य जस्ता अभौतिक र भावनात्मक कुराहरूले मनमा आकार लिन थालेको तिथिमिति थाहा नहुँदो रहेछ। यो कुनै विचार, धारणा, कुनै प्रिय वस्तु अथवा व्यक्तिप्रति उत्पन्न आकर्षण र त्यसप्रति बढ्दै जाने प्रेम अनि लामो समयमा पूरा हुने त्यसको उत्कर्षता जस्तो कुरा रहेछ। त्यसो त विद्यालयकालदेखि नै मभित्र अस्पष्ट रूपले सिर्जनाप्रतिको प्रेम प्रकट हुन खोजेको कुरा आज म अनुभव गर्दछु। फेरि यसले प्रकट हुनुभन्दा पहिले धेरै चरण गर्भावस्थामा व्यतीत गर्दछ। त्यो गर्भाधान समय कसैको लामो हुन्छ त कसैको छोटो। मैले निम्न कक्षाको विद्यार्थी हुँदादेखि केही रचना गर्न सक्छु कि भन्ने चाहना राखेको थिएँ त्यसैले विद्यालयमा प्रतिस्पर्धात्मक कविता लिएर उपस्थिति हुन्थेँ। त्यस चाहनालाई प्रष्ट रूपले प्रकट हुन झन्डै  एक दशक लागेछ अब अहिले सोझो उत्तर दिँदा २०३१ सालमा मेरो मुगलान प्रकाशित हुनुलाई मेरो साहित्यिक यात्राको आरम्भ बिन्दु प्रकट भएको मान्दछु।
  कसरी सिर्जनातिर लागियो भन्ने कुराको प्रष्ट उत्तर छैन। हालै वीरगंजमा आयोजित एसियाली शिक्षक स्रष्टाहरूको अन्तर्राष्टि्रय सम्मेलनमा पनि मेरो आफ्नो सिर्जनात्मक इतिहास बताउने क्रममा मैले त्यसै भनेँ। अर्थात् प्रत्येक व्यक्तिभित्र हजारौँ प्रकारका रुचिका, सम्भावनाका, इच्छाका बीजहरू लुकेर रहेका हुन्छन्। तिनैमध्ये कुनै एउटा बीज बिस्तारै, क्रमिक रूपले फुट्तै टुसाउँदै हुर्किंदै गर्दोरहेछ। अहिले म विचार गर्दैछु मेरो घर परिवार खासगरी पिता कुलबाट नै लेखनमा प्रेरित भएको रहेछु। अलिक पछि ता गुरुजन, सरसङ्गत, दाजु सबै थपिनुभयो । एउटा सुषुप्त मनलाई आदर्श विद्या मन्दिर घैलाडुबाका प्रेरक गुरु र त्यहाँको पुस्तकालयले जागृत गराइदियो। यी सबै कुरा मेरो प्रकाशोन्मुख आत्मसंस्मरणमा समावेश गरेको छु।

२. डा. गोविन्दराज भट्टराईको सर्जक व्यक्तित्व र समालोचक व्यक्तित्वलाई तराजुको दुइतर्फ राख्यो भने कुनले खिच्ला?
यस सम्बन्धमा मूल्याङ्कन गर्ने कर्म ता तपाईंहरू जस्ता पाठक वा दर्शककै हातमा छ। मलाई चाहिँ के लाग्दछ भने मूलतः म सर्जक नै हुँ। मबाट भएका समालोचनात्मक कर्महरू सिर्जनाका उपजिब्य मात्र हुन्। मेरा निमित्त तिनीहरूको गणना सिर्जनामा नगरे पनि हुन्छ। यद्यपि तिनीहरूको महत्व बिर्सिनसक्नु छ र तिनीहरूको प्रस्तुति पूर्णरूपले साहित्यिक छ म समालोचना जस्तो कुनै वस्तुको रचना गर्दा पनि सधैँभरि विषयपरक भएर सिर्जनात्मक संवेगले संचालित भएको हुन्छु त्यसकारणले मेरा समालोचनात्मक जस्ता कर्महरू पनि सिर्जनात्मक नै हुन्।

३. सिर्जना तथा समालोचनामा कुनलाई शक्तिशाली मान्नुहुन्छ?
यस विषयमा अघि अन्यत्र पनि प्रश्नोत्तर भएका छन्। मेरो धारणा के छ भने हाम्रो परिस्थितिमा साहित्यका अन्य विधाहरूको सिर्जनात्मक शक्ति र ज्ञान नभएको व्यक्ति समालोचक बन्ने गरेका छन्। अन्यत्र समालोचक स्रष्टालाई बाटो देखाउँछ हाम्रोमा कुनै स्रष्टा देखिएपछि मात्र समालोचक जुर्मुराएर त्यसलाई आफ्नो साँचोमा ढाल्छन्। नेपाली साहित्यको आधुनिक कालमा देखिएका आफूलाई समालोचक भन्न रुचाउने व्यक्तिको नाम सूचि पाँच सय कटिसकेको छ। त्यसमा पाँच जना मात्र सच्चा समालोचक छन् रामकृष्ण शर्मा, यदुनाथ खनाल, ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई र जगदीश शमशेर राणा जसले साहित्य लेखनको विद्यमान सिद्धान्त र परम्पराभन्दा भिन्न तरिकाले सोचेर नयाँ बाटो देखाउने कार्य गरेकाछन्। यसरी भिन्न शक्तिझैँ परिचित स्रष्टा-समालोचक ताना शर्मा, अभि सुबेदी, दयाराम संभाव, मोराशको नाम आउँछ। साहित्यमा अग्रगामी व्यक्ति समालोचक नै हुन्। त्यसो त परिवर्तित समयको मूल्य मान्यता बुझेर नेपाली समालोचनामा साधना गरिरहेको नयाँ समयको एउटा शक्तिशाली समूह पनि आइरहेको छ। सच्चा समालोचकले नवीनतम मार्ग खन्दछ। त्यसकारण सच्चा समालोचक एक सिद्धान्तकार हो। उसले साहित्य मार्ग कहाँ पुगेको छ भन्ने कुराको जानकारी राखेर अबको मार्ग कता छ त्यो स्रष्टालाई बनाइदिन्छ। अझ सिर्जना प्रक्रियामा संलग्न अथवा त्यो बुझेको व्यक्ति मात्र योग्य समालोचक हुन्छ। स्रष्टाभन्दा समालोचक धेरै माथि हुन्छ ऊ सिद्धान्त निर्माता पनि हो, जुन पथमा स्रष्टा हिँड्छ। तर हाम्रो नेपाली मानसिकतामा एउटा कृतिलाई हातमा लिएर त्यसको निन्दा वा प्रशंसामा समय व्यतीत गर्नेहरूलाई समालोचकका दर्जामा राख्ने गरिन्छ। त्यस्तो अर्थमा म के भन्दछु भने सिर्जनाको सर्वाेच्च विधा कविता हो। त्यसमा असफल हुनेहरू आख्यानतिर ओर्लन्छन्। त्यसमा असफल हुनेहरू निबन्धमा अवतरण गर्दछन्। तीनवटैमा असफल हुनेहरू नाटकमा जालान्। ती सबैमा असफलहरू समालोचक हुन चाहन्छन्। त्यसकारणले सवै बाटाहरू खुला हुने स्रष्टा कविता रोज्दछ। सबै बाटा बन्द हुने समालोचनामा हाम्फाल्छ। म भने नयाँ समयलाई बुझाउन समालोचनाको आयाम परिवर्तित भएको कुरा अवगत गराउन र त्यसका केही दृष्टिान्तहरू दिन मात्र समालोचक जस्तै भइटोपलेको हुँ। मेरो समालोचना कार्य पनि सिर्जनाकै अभिन्न स्वरूप हो।

४. नेपाली समालोचना विश्वविद्यालयीय प्राध्यापकीय समालोचना पद्धतिबाट माथि उठ्न सकेको छैन भन्नेहरूलाई यहाँको जबाफ के हुन सक्छ?
यसको उत्तर आइसकेको छ। विचारले, चिन्तनले, उच्च सिद्धान्तले ससमयलाई हाँक्न सक्ने समालोचनात्मक धारणा भनेको सिर्जनाभन्दा माथिको कुरा हो। मेरो हालै प्रकाशित नित्सेदेखि गायत्री स्पिभाकसम्मका २३ जना सिद्धान्तकारका मान्यताहरू बोकेको सङ्ग्रह समयबोध र उत्तरआधुनिकता हेर्नुहोस्। समकालीनहरूले डेरिडाको, सिमन दी बुवारको, रोलाँ बार्टको, मिसेल फुकोको सयपल्ट नाम लिए भने तिनका समकालीन स्रष्टाहरू दसपल्ट पनि सम्िझइदैनन्। नेपालमा चाहिँ निर्भिक र प्रष्ट समय सचेत समालोचकहरू सिद्धान्तकारहरूको अभावले गर्दा महाविद्यालयको पठनपाठनमा व्यस्त हुने अध्यापकहरू नै समालोचक गनिने गर्छन्। यद्यपि तिनीहरूको आफ्नो समय क्लासनोटलाई कृतिको रूपमा प्रकाशित गर्नु गेस, गाइड र कुञ्जी निर्माण गर्ने जस्ता कार्यमा लागानी गरिरहेका छन्। त्यस्तो प्रकारको नेपाली समालोचनाले पाठ्यक्रममा निर्धारित कृतिहरूको व्याख्या विश्लेषण गर्नसम्म सिकाउँछ। तर कालजयी चिन्तनको नितान्त अभाव छ। यस्तो प्रकारको अध्यापकीय समालोचना केवल फर्म्याट हो। एउटा संरचनामा रिक्तस्थान भर्ने काम मात्र हो। त्यहाँ मौलिक चिन्तनको नितान्त अभाव हुन्छ। त्यसले कुनै दिशाबोध दिँदैन, साहित्य चिन्तनलाई कतै पुर्‍याउँदैन।

५. यहाँ समालोचनामा पनि खासगरी उत्तरआधुनिकतावादबारे कलम चलाउनुहुन्छ। वास्तवमा के हो उत्तरआधुनिकतावाद?
यसको विषयमा गएका दुईदशकभरि मैले सबैभन्दा बढी बोलेँ, लेखेँ होला। उत्तरआधुनिकता भनेको नयाँ सोचलाई, विचारलाई, जीवनपद्धतिलाई सङ्किर्णताबाट मुक्त गरी उदार विश्वको बाटो देखाउने एउटा नयाँ पथ हो। उत्तरआधुनिकताको अन्तिम ल73य चाहिँ नित्य नवीनताको खोजी हो र अतीतमा भएगरेका कार्यहरूमध्ये अनावश्यकलाई त्याग गर्दै आवश्यक तत्वको पुनर्व्याख्या गर्दै नयाँ समयको चिन्तन गर्दै जाने हो। यो सबै प्रकारका एकलता अथवा निरङ्कुशताको विरुद्ध रहनेहुनाले वास्तवमा यो सर्वास्तित्ववादी र सर्वसमावेशी विचार हो। त्यसले हाम्रो समयको हाइटेक प्रविधि संचालित विश्वलाई अर्कै दृष्टिकोणले बुझ्नुपर्ने बेला आएको छ। अनि यो समकालीन विश्वमा केवल सहअस्तित्व बोधले मात्रै हाम्रो अस्तित्व निरन्तर हुन सक्छ भन्ने देखाउँछ। उत्तरआधुनिकता वर्तमान कालका सबै विधामा, सबै क्षेत्रमा एउटा वैचारिक केन्द्रका रूपमा स्थापित छ। यसले वैचारिक स्वतन्त्रताको उच्च सम्मान गर्दछ। आजसम्म छेलिएका व्यक्ति, तिनीहरूका विचार, जाति वा समूहलाई केन्द्रतिर आउन अथवा आफ्नै केन्द्र निर्माण गर्न उत्प्रेरित गर्छ। नेपालको वर्तमान स्थितिलाई उत्तरआधुनिकताको व्याख्याले मात्र राम्ररी बुझाउन सक्तछ।
   वास्तवमा वर्तमान विश्वविचारमा, सिद्धान्त र चिन्तनमा उत्तरआधुनिकताको भावना फैलिएको एउटा उदाहरण हेरौँ : उत्तरआधुनिकता विषय उठाएर सबैभन्दा ज्यादा साहित्य सिद्धान्त र समालोचनामा बहस भएका छन् परन्तु विश्वसाहित्यतिर फर्किहेर्दा ज्ञानविज्ञानका, साहित्य संस्कृतिका, विचार दर्शनका प्रत्येक क्षेत्रमा यसको समान उपस्थिति छ। सिमदारा सम्पादित द रुटलेज कम्प्यानिअन टु पोस्टमोडर्निजम (२००५) मा परेका सूची टिपेर म चर्चा अघि बढाउँछु। यसमा :  
   उत्तरआधुनिकता र दर्शन               उत्तरआधुनिकता र समालोचना सिद्धान्त
   उत्तरआधुनिकता र राजनीति            उत्तरआधुनिकता र नारीवाद
   उत्तरआधुनिकता र लैङ्गिकता र यौनिकता उत्तरआधुनिकता र जीवन शैली
   उत्तरआधुनिकता र धर्म                उत्तरआधुनिकता र उत्तरऔपनिवेशिकता
   उत्तरआधुनिकता र विज्ञान र प्रविधि      उत्तरआधुनिकता र संघसंस्था
   उत्तरआधुनिकता र वास्तुकला           उत्तरआधुनिकता र कला
   उत्तरआधुनिकता र सिनेमा             उत्तरआधुनिकता र टेलिभिजन
   उत्तरआधुनिकता र आख्यान            उत्तरआधुनिकता र सङ्गीत
उत्तरआधुनिकता र नाट्यकला          उत्तरआधुनिकता र लोकप्रिय सङ्गीत विषयका चर्चा छन्।
   यसरी उत्तरआधुनिकताले हाम्रो चिन्तन र सिर्जनार्पकृति मात्र हैन जीवन शैलीलाई नै परिवर्तित गरिदिएको छ। हामी यसैमा बाँच्न अभ्यस्त र बाध्य पनि छौँ। राजनीतिले उठाएका नव मार्गको खोजीमा एकै प्रकारले संचालित छ ।

६. प्रगतिशील लेखकहरू उत्तरआधुनिकतावादका विरोधी हुन् या उत्तरआधुनिकतावादबारे उनीहरूको धारणा फरक मात्र हो?
एउटा तथ्य के छ भने उत्तरआधुनिकताभित्र सबै विचारलाई समान इज्जत र मर्यादा प्राप्त हुने भएकाले गर्दा त्यसको विरोधमा कोही पनि उठेको छैन। उठ्नुपर्ने कारण पनि केही छैन। किनभने सबैको विचारको सम्मान हुने ठाउँमा कसैले प्रतिरोध गर्नुपर्ने आवश्यकता देखिँदैन। त्यतिमात्र हैन यसमा कुनै कुराको निषेध वा वर्जना छैन त्यसैले यो बहुलता र विविधताको संरक्षण गर्न आएको नवीन विश्वविचार हो। नेपाललाई वर्तमान स्थितिमा अवतरण गराउने सोच पनि उत्तरआधुनिकता नै हो। राजनीतिले छोडेका बहुलता र विविधताका नाराले छोएर समानताका लागि पहिचानका लागि र नवमार्गको मानिस उठेका थिए। कुनै एकलतावादी सिद्धान्तको आह्वान थियो भने एकथरी मात्र उठ्थ्यो, देश एकैचोटि जुर्मुराउने थिएन। यो कर्म उत्तरआधुनिक परिस्थितिको हो भन्दै आएको छु।
पाश्चात्य जगत्मा चाहिँ सबै जसो वामपन्थी विचारकहरूले आफूलाई म उत्तरआधुनिक हुँ भन्न ज्यादा रुचाउँछन्। किनभने उत्तरआधुनिक चेतनामा नवीनता, क्रान्तिकारिता र परम्परा विरुद्ध लड्ने चहाना र विद्रोही चेतना हुन्छ। नव सिर्जना गर्ने र प्रयोग अनि आविस्कारतिर जाने आकाङ्क्षा हुन्छ। उतातिर क्रान्तिकारी सोच भएका द्रष्टाहरूको निमित्त उत्तरआधुनिक हुनुको तात्पर्य नवचेतनाको संवाहक हुनुजस्तै ठहरिन्छ। उधाहरणका लागि मेरो समयबोध र उत्तरआधुनिकतामा आएका सबै (२३ जना व्यक्ति) यो शताब्दीका महान् सिद्धान्तकार र विचारकहरू सबै नै वाममार्गी अर्थात् मार्क्सेली चिन्तनबाट प्रभावित छन्। उनीहरूको चिन्तनको आरम्भ सबैको मार्क्सवादबाट भयो। उनीहरूको चिन्तनको टुङ्गो मार्क्सवादी सीमाभन्दा बाहिर उदारवादमा, उत्तरआधुनिकवादमा गएर टुङ्गिएको छ। डेरिडा भन्नुहोस्, फुको भन्नुहोस् अझ अघिका ग्राम्सी अथवा बोद्रियार, आल्थ्युजर, लकाँ पछिका स्पिभाकहरू नै उत्तरआधुनिकताका अग्रणी हुन्। वर्तमान विश्वले यिनीहरूलाई पछ्याइरहेको छ।
यता हाम्रो नेपाली परिवेशमा भने एउटा विडम्बना छ। हाम्रा मार्क्सवादी मित्रहरू यथास्थितिवादका अनुयायी हुन्। उनीहरू रुढतामा गहिरो विश्वास राख्तछन् साहित्य सिद्धान्तमा विश्वविचारले सधैँ नयाँ सत्यको उद्घाटन गरिसक्यो तर उनीहरू शास्त्रीय मार्क्सवाद पक्रेर बसेका छन्। तर फेरि आफूलाई प्रगतिशीलशब्दले चिनाउन चाहन्छन्। यो स्थिति हास्यास्पद छ। उनीहरूमा समयबोधको कमी हो। समय परिवर्तित भएको थाहा नभएर यस्तो भएको हो। सबै हामी त एउटै उत्तरआधुनिक कालमा सबै उत्तरआधुनिक मूल्य मान्यताले घेरिएर बसेका छौँ यो समय ग्लोबलताले र हाइटेकले एकै प्रकारले सञ्चालित भने शास्त्रीय मार्क्सवाद केवल रिचुअलमात्र बाँकी छ। भने यस्तो समयमा उत्तरआधुनिकभन्दा भिन्न हुँ भन्नुको अर्थ के रहन्छ तपाईं आफैँ बुझ्नुहोस्।

७. डायस्पोरिक साहित्य के हो?
यस सम्बन्धमा विगत डेड दशकदेखि म निरन्तर रूपले लेख्तै बोल्दै आएको छु। अनेक डायास्पोरा केन्द्रहरूको भ्रमणमा जाँदै आउँदै गरेको छु। यस विषयलाई सैद्धान्तिकरण गर्ने क्रममा मैले चार सय पृष्ठ जति सामग्री प्रसार गरिसकेको छु। मेरो आगामी कृति डायास्पोरा : समालोचना र सिद्धान्तमा सबै कुरा आउने छ।
         सङ्क्षेपमा उत्तर दिँदा एउटा मूलभूमि छोडेर अन्य भूमिमा गई बसोबास गर्ने भिन्न भाषा, भिन्न संस्कृति, भिन्न इतिहास र भिन्न भूगोलबाट आएको समुदायलाई डायास्पोरा भनिन्छ। यो प्राचीन ग्रिसेली सभ्यतामै विकशित अवधारणा हो तर यतिखेर यसको अर्थ विस्तार भएको छ र अनेक प्रकारका पठनपाठन अध्ययनको हाँगोका रूपमा विकसित हुँदै छ। त्यस्तो अध्ययन मार्गलाई डायास्पोरा स्टडिज भनिन्छ। वास्तवमा डायास्पोरा स्टडिजबाट भिन्न ठाउँमा पुगेका मानव समुदायको जीवन संस्कृति, कलासाहित्य, मान्यता भाषा उनीहरूको मनोजगत् र क्रमिक परिवर्तनका तथ्यहरू ससावेश हुन्छन्। डायास्पोरा स्टडिजले अनेक विधाको अध्ययन गर्दछ। तीमध्ये एउटा पक्ष साहित्य हो। नेपाली जातिका पनि विश्वभरि छरिएका अनेक डायास्पोरा भइसकेका छन्। त्यहाँबाट निर्मित साहित्य नै डायास्पोरिक साहित्य हो। जुन चाहिँ देशको मूल साहित्यभन्दा भिन्न हुन्छ।
नेपाली साहित्यमा उल्लेख्य रूपले डायास्पोरिक साहित्य मिसिन आएको छ। यो मूलधार साहित्यको एउटा स्वरूप वा सम्पुरक तत्व हो। त्यस ठाउँको परिचय र मानसिकता प्रस्तुत गर्दछ। यो दिनानुदिन बढिरहेको छ। भर्खरै मात्र अमेरिकी शिलू घिमिरेको परको देशमा (उपन्यास) इजराइली दीप्स शाहको मुस्कानी फुलहरू (कविता सङ्ग्रह) आएका छन् भने बेलायतका विजय हितान मगर, हङकङकी दीपा राई, ताइवानका लेखनाथ काफ्ले, बु्रनाइकी निर्मला परिवेश राई, अनेक परिभ्रमण गरी आएकी सरिता अर्याल— अरू धेरैका प्रकाशोन्मुख छन्। भर्खरै मात्र हङकङका राजकुमार राईले साब्लाबुङ शीर्षक (साहित्यिक पत्रिका) को पाँचौँ अङ्कलाई डायास्पोरिक साहित्य विशेषाङ्कका रूपमा प्रकाशित गरेका छन्। निश्चय नै यो एउटा ऐतिहासिक पाइला हो। यसरी डायास्पोरिक नेपाली साहित्यको सिर्जना र सैद्धान्तिकरण दुवै पक्षमा हामी सबैतिरका नेपालीहरू अघि बढिरहेका छौँ। कति अन्तर्राष्टि्रय सम्मेलन भएका छन्, कति सम्मान र पुरस्कार स्थापित छन् भने अब आएर नेपालमा पनि अन्तर्राष्टि्रय स्तरको डायास्पोरा अध्ययन केन्द्र स्थापनाको अन्तिम तयारी भइसकेको छ। आगामी सालभित्र सो विषयमा प्रथम अन्तर्राष्टि्रय सम्मेलन भइसकेपछि नेपालले यस दिशामा नयाँ फड्का हाल्ने छ। किनभने गतवर्ष मात्रै डायास्पोरिक कल्चर्स अव् साउथ एसियामाथि एक अन्तर्राष्टि्रय सम्मेलन भयो नेपालको प्रतिनिधित्व हुन सकेन। आफ्ना नागरिकको सर्वाधिक सङ्ख्या बाह्य पठाउने देशमध्ये नेपाल तेस्रोमा पर्छ तर हाम्रोमा त्यस (डायास्पोरिक) संसारको विशेषज्ञ कुनै व्यक्ति वा संस्था देखिएको छन्र। यो रिक्तता भर्न अब नेपालले उठनुपर्ने समय आएको छ। यस सम्बन्धमा एनआरएनले पनि अत्यन्तै सकारात्मक र सहयोगी भूमिका खेलिरहेको छ। अरू खेल्नुपर्ने दिन आएका छन्।

८. डायस्पोरिक साहित्यको मूल उद्देश्य के हो र मूलधारको साहित्यभन्दा केकति कारणले फरक छ?
त्यसो त सबै साहित्यको उद्देश्य एउटै हुन्छ। त्यो हो हाम्रा आवाजहरूको प्रकाशन, हृदयको अभिव्यक्ति र यो जगत्का विकारप्रतिको आलोचना। त्योभन्दा बृहत्तर अर्थमा भन्दा सबै साहित्य कलात्मक रूपले प्रस्तुत गरिएको हार्दिक अभिव्यजना हो। त्यसमा एउटा व्यक्ति द्रष्टाले हेरेको र बुझेको उसको आफ्ना मनको, ऊ बसेका समाजको र राष्ट्रको परिचय हुन्छ, अथवा बृहत्तर ब्रह्मान्डको, मानव अस्तित्वको व्याख्या हुन्छ वा परिभाषा हुन्छ। यतातिर डायास्पोरिक साहित्यले पनि तिनै कुराहरू अघि सार्दछ। तर त्यहाँ कति ठाउँमा डायास्पोरिक समुदायको राष्ट्र बनिसकेको हुँदैन त्यो केवल एउटा आश्रयदाता अथवा अन्नदाता भूमिको रूपमा मात्र परिचित रहन्छ जस्तै इजरायल, कतार, मलेशिया। त्यहाँका स्रष्टाहरूले आफ्नो राष्ट्र अर्कै छ भन्ने धारणा राखेर लेख्दछन्। तर अमेरिका, बेलायत, हङकङ जस्ता ठाउँमा बसोबास गर्ने नागरिकहरू त्यो देशका पनि भइसकेका हुन्छन्। त्यसकारणले उनीहरू मूल भूमिको सम्झना गर्दागर्दै पनि आफ्नो नवराष्ट्रको पनि सम्झना गर्दछन्। डायास्पोरिक साहित्यमा द्वैध भूगोल, द्वैध संस्कृति र द्वैध चेतना हुन्छ। यतातिर मूल भूमिमा ती कुराहरू आउँदैनन्।
डायास्पोरिक भूमिको साहित्यले नयाँ संस्कृतिमा पुगेर आफूँ समाहित हुनु अथवा त्यसमा रसाउनुपर्ने हुन्छ। त्यसकारणले त्यस ठाउँको लेखनमा, बोलीमा अन्य संस्कृतिको प्रभावले, प्रेरणाले अनेक प्रकारको फ्युजन अथवा सम्मिश्रण हुन्छ। स्वभावैले डायास्पोरिक साहित्य अतीतस्मृतिको, नयाँ स्थानको, अन्य भूमिमा आइपर्ने विभिन्न सङ्घर्षको, चिन्ताको र एक नयाँ उपलब्धीको त्यस्ता अनेक विषयलाई छुने खालको हुन्छ। वर्तमान विश्व परिस्थितिमा लेखिएको साहित्य एउटा नयाँ स्वरूप, नयाँ शक्ति र दुईतिर जोडिएका जातिहरूको नयाँ आवाज पनि हो। वास्तवमा डायास्पोरा भनेको एकप्रकारले किनारिकृत जातिहरूको नयाँ तेस्रो विश्व हो। जो सधैँ पहिचानको सङ्घारमा हुन्छ, अस्तित्वको लगाइँमा हुन्छ, पेटको सङ्घर्षमा, विस्थापना भयमा, नयाँ शक्ति निर्माण गर्ने उत्तेजनामा हुन्छ। अहिले विश्वको चार प्रतिशत जनसङ्ख्या यसैमा छ। डायास्पोराहरूबाट उत्पादित संस्कृतिले, साहित्यले अन्य प्रकारका क्रियाकलापहरूले सम्बद्ध राष्ट्रको मात्र हैन संसारको नै ध्यान आकृष्ट पार्दै छ। उदाहरणका लागि राइटर्स अव् दि इन्डियन डायास्पोरा जस्तो कृति हेरौँ त्यसभित्र अनेक देशमा गई बस्ने भिएस नइपल, निरद चौधरी, राजा राओ अनिता देसाइ, अमिताभ घोस, सल्मान रस्दी, विक्रम सेठ, जस्ता विश्वमै ख्याति कमाएका व्यक्तिहरूको साहित्यिक परिचय प्रस्तुत छ। यी सबै डायास्पोरिक स्रष्टा हुन्। यस्तो स्रष्टाले वर्तमान विश्वसाहित्य भरिपूर्ण छ। नेपालीमा भने यो डायास्पोरा चेतना अनि व्यापक किसिमको बहिर्गमन प्रक्रिया शुरु भएको भर्खरै हो। त्यसकारणले गर्दा हाम्रा धेरै अध्ययन, प्रकाशन, अनुसन्धान आइसकेका छैनन्। तर पनि प्राज्ञिक डायास्पोरा अध्ययन, अनेक डायास्पोराका कविता जस्ता अनेसासका नवीन प्रकाशनले हामीलाई त्यतातिर सङ्केत गर्दछन्। यसका अभियन्ता होमनाथ सुवेदी अनेक बधाईका पात्र हुनुहुन्छ।
वास्तवमा हाम्रा धेरै नेपाली डायास्पोराहरू श्रमिक डायास्पोरामा गनिएका छन्। अघि गोर्खापल्टनमा जानेहरू जस्तै आज श्रमिक डायास्पोराहरूले लेख्ने, पढ्ने पर्याप्त समय र प्रेरणा पाउँदैनन्। त्यसमा पनि ठूलो सङ्ख्या उचित शिक्षा पाउन नसकेका नेपाली नागरिकहरूको छ। त्यसकारण उनीहरूमध्ये पठितहरूले पनि लागेको कुरा सिर्जनामा व्यक्त गर्न सकेका छैनन्। त्यसो त यतिखेर निरन्तर रूपले विश्वका अनेक कुनाबाट विभिन्न भेराइटिको नेपाली साहित्य आइरहेको छ। बिस्तारै यो मात्रा थापिने छ। बिस्तारै यो मात्रा नेपालीबाट सरेर अन्य भाषातिर जाने छ। जस्तै हङकङमा हुर्कने नयाँ पुस्ताकाहरूले पछि चाइनिजक्यान्टोजिनमा सिर्जना गर्न थाल्ने छन् अमेरिका बेलायततिर अङ्ग्रेजी नै माध्यम हुने छ। बिस्तारै नयाँ पुस्ताका अनेक भाषामा लेख्न सक्नेहरू उदाइसकेपछि अरूले भन्नेछन् नेपाली मूलको रुसीकवि अथवा नेपाली मूलको मलेशियन उपन्यासकार, नेपाली मूलको अमेरिकी कथाकार आदि।

९. नेपाली साहित्यलाई विश्वसाहित्यसम्म पुर्‍याउने केकस्ता कार्यहरू भइरहेका छन्?
त्यसको निमित्त त्यस्तो कुनै ठोस, प्रत्यक्ष र प्रभावकारी सूत्र ता केही छैन। तथापि सर्वप्रथम ता हामीले आफ्नै साहित्यको स्तरलाई निरन्तर रूपले उठाउनु पर्दछ। स्तरीय साहित्यको अनुवाद गरेरगराएर विश्वका अन्य भाषातिर, प्रकाशनतिर पुर्‍याउनु पर्दछ। अहिले ता अमेजन डट कम जस्ता विश्वव्यापी प्रकाशन संस्थाहरूको अघिल्तिर, इलोक्ट्रोनिक माध्यमको अघिल्तिर अन्य सारा प्रयत्न व्यर्थ होलान् जस्तो लाग्दैछ। हालै एक अमेरिकी विद्वान् नेपालमा आएका थिए उनलाई मैले प्रश्न गरेँअमेरिकामा रहेको नेपाली डायास्पोरा बारे तपाईंलाई कत्तिको ज्ञान छ? उनीहरू पनि थुप्रै साहित्य संस्कृतिका कामहरू गरिरहेका छन्। विद्वानले भनेम त्यस विषयमा अनभिज्ञ छु तर एक जना नेपाली लेखक छन्साम्राट। उनको म पढिरहेको छु। त्यसपछि केही नयाँ पुस्ताका शिक्षित बेलायतीहरू यहाँ आएका थिए मैले आफ्ना अङ्ग्रेजीमा अनूदित उपन्यासहरू पढ्नू भनेर दिएँ। भीसी रामबहादुर लिम्बूका नातिनीहरूले आश्चर्य प्रकट गर्दै भने यस्ता किताबहरू पनि यहाँ आइसकेछन् मामा, हाम्रो बेलायतमा त पाँइदैन। त्यहाँ अमेजनमा गयो भने मात्रै। फस्ट किताब द गोखाज् डटर अमेजन डटकममा पाइयो र हामीले पढ्यौँ। यता नेपालमा पनि पान्डुलिपि बुक्सले इबुकको प्रचार गर्दैछन्। तर ती मूलतः नेपाली पुस्तक हुन्। अङ्ग्रेजी किताबमा अमेरिकाबाट हस्त गौतमले झमक घिमिरेको जीवनकाँडा कि फूलको अङ्ग्रेजी अनुवाद इसंस्करणमा प्रसारित गरेका छन् तर हाम्रो सीमित शक्तिको इलेक्ट्रोनिक माध्यमले यो विशाल विश्वमा कति लडाइँ गर्न सक्छ र? अहिले अक्स्फोर्ड क्याम्ब्रिज जस्ता ठूला प्रकाशनगृहसँग प्रतिस्पर्धा गर्न सक्ने इलेक्ट्रोनिक संजालहरूले विश्व ढाकिएको छ। यता नेपाली साहित्यको स्तर यसको कलिलो उमेरको कारणले गर्दा त्यति बलियो भएको छैन। त्यसमध्येबाट बाह्य विश्वसमक्ष प्रस्तुत गर्न मिल्ने साहित्यको अनुवाद भएको छैन। सक्षम अनुवादक छैनन्। अरूले आएर गरिदिएको अनुवाद राँटा छोडेर जोतेको बारी जस्तै हो। त्यसकारणले विश्वसमक्ष हामी परिचयको लागि उठेर रुँन कराउन तत्पर छौँ तर उपयुक्त माध्यम, उपयुक्त माल, उपयुक्त शैलीमा हामी भर्खर पाइला टेक्दैछौँ। समयको वेगवान चालमा हामी पछि परेर विश्वले यसै बिर्सने हो कि भन्ने भय पनि बढ्दै छ । किनभने वर्तमान विश्वमा प्रचार विज्ञापनको घोडाले वायुपङ्खी स्वरूप लिएको छ हामीले अबको साहित्यलाई अर्कै किसिमले सोच्नुपर्ने बेला आएको छ। त्यसमाथि विश्व साहित्यको गति र स्थिति लेख्य विषयको सही आकलन गर्न नसक्ता पनि धेरै जसो हाम्रो लेखन व्यर्थ बजारमा गइरहेको छ। केवल प्रचारमा अडेको साहित्य तासघर हो त्यो आफैँ समाप्त हुन्छ।
(वर्ष १२ अंक २८४ काठमाडौँ शनिबार १० चैत्र २०६९ 
राजधानी दैनिकको शनिबारीय परिशिष्टाङ्कमा प्रकािशत)

* * *

No comments:

Post a Comment