About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, January 9, 2013

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मानमा प्रत्युत्तर (हाम्रो लक्ष्य अग्रगमन हो)


यतिबेला नेपाली साहित्यको स्वरूप अत्यन्तै भिन्न भएको बेला छ ।  सोहीअनुसार यसको भूमिका पनि  पूर्णरूपले परिवर्तित छ  । विश्वभरि छरिएका चार करोड जति नेपाली  जातिको साझा संस्कृति र पहिचानलाई बचाउने एकमात्र  शक्ति  नेपाली भाषा नै हो ।  यतिखेरको नेपाली भाषाले एकातर्फ राष्ट्रका स्थापित मूल्यहरूलाई संरक्षण गर्दै हाम्रा अतीतका स्मृतिहरूलाई   सुरक्षित राख्नु परेको छ भने अर्कातिर यसैमार्फत समाजमा परिवर्तित चेतनाहरू फैलाउनु परेको छ । भूमण्डलका व्यापक परिवर्तनहरूलाई पनि यसैले बोध गराइरहेको छ । हाम्रो वाङ्मयको संरक्षण र विस्तार गर्ने कार्यमा विविध मुलुकका श्रष्टा एवम् सङ्गठनहरूले अभूतपूर्व उत्साह देखाएका छन् । यसको प्रमुख कारण के हो भने यसले नै हामी सारालाई जोडिरहेको छ; हाम्रो वर्तमानका  दुःखसुखलाई अभिव्यक्ति दिइरहेको छ । आत्मप्रकाशन अर्थात् भाषा प्रयोग प्रत्येक मानवको आदिम चाहना र प्रथम अधिकार पनि हो । यो भाषाले नेपाली साहित्यलाई सुदृढता प्रदान गर्दै नयाँ समयका बहुल आकाङ्क्षा, बहुल संरचनाहरू, विविध दृष्टिकोण र पद्धतिको निर्माणमा ठूलो योगदान पु¥याउन थालेको छ । सबैभन्दा ठूलो शक्ति भाषा, यो  हाम्रो  पहिचानको  प्रतीक भएको छ । 

आज नेपाली साहित्यको काँधमा एउटा गह्रुङ्गो भारी पनि थपिएको छ । त्यो हामीले नै बोकाएको हो । विभिन्न मुलुकमा वितरित नेपालीहरूले जातीय स्मृतिलाई, यसको संस्कृतिलाई जीवन्त राख्न नेपाली वाङ्मयका नयाँ विरुवाहरू रोप्न थालेको तीन दशक नाघ्यो । एनआरएनको तथ्याङ्क अनुसार ६२ वटा मुलुकमा नेपाली जातिले उल्लेख्य सङ्ख्यामा बसोबास गर्न लागेको छ । बहिर्गमनपछिका अनेक प्रकारका प्रवाशन स्थितिहरूले यस्तो विश्वपरिस्थितिको सिर्जना ग¥यो, नेपाली  जाति मात्र होइन सम्पूर्ण विश्व नै यसमा सहभागी छ— अ ग्लोबल प्रोफाइल्ज अव् डायास्पोराज (२०१२) को अध्ययनले यस्तो विश्वचित्र देखाउनेछ । 

अनेक  डायास्पोरामा  नेपाली वाङ्मयका क्रियाकलाप संचालन गर्न अनेकौँ संस्थाहरू खुलेका छन् र सक्रिय भएर चलेका छन् । अनलाइन सञ्जालले झन् जादू गरिरहेको छ । त्यसमा रसिला फल लाग्न थालेको छ । त्यसैले वर्तमान नेपाली साहित्य नेपाल देशकोमात्र नभएर विश्वका सम्पूर्ण नेपाली जातिको साझा आँगन भएको छ । नेपालमै रहेर पनि हामीले ती कुराको प्रत्यक्ष अनुभूति गरिरहेका छौँ । अघिल्लो महिना मात्रै मोबाइल पुस्तकालय कतारले एउटा भव्य कार्यक्रम यही प्रज्ञा–प्रतिष्ठानमै आयोजना गरेको थियो । त्यसपछि भूटानी–नेपाली डायास्पोराले ग¥यो भने आज नेपाली प्रतिभा प्रतिष्ठानले यहीँ अर्काे गौरवमय दिन जोडेर ल्याएको छ । यसरी सबै जाति, वर्ग, धर्म र भूगोलकाहरू  नेपाली भाषाको संरक्षण र उन्नयनमा  समर्पित भएको देख्ता हामीलाई जातीय गौरवले शिर उच्च गराउँछ । 

नेपाली साहित्यले यतिखेर भू–मण्डलिकृत विश्वको समाचारमात्र होइन टाढाको जीवन पद्धतिलाई पनि बुझ्नु बुझाउनु पर्ने बेला छ । त्यसो गर्दा भाषा संस्कृतिमा  जोडिएर आउने सूक्ष्म भेदलाई पनि नेपाली भाषाको  स्वरूपभित्र समाहित गर्दै लानुपरेको छ ।  अहिलेको तीव्र प्राविधिक   उन्नतिको कारणले गर्दा हाम्रो जीवनगति पूर्णरूपले परिवर्तित छ भने यसैबेला  साहित्य सिर्जनाका स्थानहरू बदलिएका छन्, सर्जक र पाठकहरू बदलिएका छन्, यसका लेख्य विधाहरू पनि भिन्न भएका छन् । यो भिन्नतासँगै हामीले प्रतिपल आफूलाई विश्वगतिसँग दौडाउनु परेको छ भने अर्कातिर  नेपालमा रहेको हरेक नवीन मान्यताविरुद्ध  जुर्मुराएर उठ्ने यथास्थितिवादसँग पनि रातोदिन लड्नु परिरहेको छ । 



नेपाली वाङ्मयको विश्व परिस्थिति बदल्नमा हङकङदेखि अमेरिकासम्म खुलेका र सक्रिय रूपले चलेका अनेकौँ संघसंस्था समर्पित भएर लागिपरेका छन् । ती सबैको योजक माध्यम  नेपाली भाषा र सिर्जना नै हो । यो अनेक  संस्कृति, जीवन पद्धति र विचारको सम्बाहक भएको छ । हामीमा भ्रातृत्व, सहअस्तित्व र सहभाव जोड्ने जातीय पुल पनि यही भएको छ । यस्ता  अनेक पुलमध्ये एउटा  नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेका कर्महरू हेर्दा हामीलाई उदाहरणीय दृष्टान्त खोज्न अन्यत्र जानु पर्दैन होला जस्तो लाग्छ । विगतका वर्षहरूदेखि एउटा अत्यन्तै  पवित्र र उच्च लक्ष्य लिएर उठेको नेपाली प्रतिभा प्रतिष्ठानका प्रकाशनहरू, यसका साहित्यिक क्रियाकलापहरू, भाषिक सांस्कृतिक सोचहरू, यसले स्थापित गरेका पुरस्कार र सम्मानहरू देख्ता श्रद्धाले हाम्रो शिर झुक्तछ ।  यो संस्था अधिकांश रूपले बेलायती–गार्खा सैन्य सेवामा संलग्न भई कार्यरत र भूतपूर्व योद्धाहरूको, तिनका पत्नी तथा परिवारजनको अमूल्य योगदानले निर्मित छ । उनीहरूका श्रम, पसिना र  उत्साहका थोपाले यो प्रतिपल सिञ्चित छ । यो र यस्ता सयौँ संस्था देश र जातिका सम्पूर्ण साझा सम्पदा, राष्ट्रका विविध भाषा र संस्कृतिको समुन्नति र संरक्षणमा  पनि  त्यतिकै  चिन्तित र सचेत छन् । त्यो कुरा पनि यहाँ स्मरणीय छ ।

त्यसैले यस संस्थाले केही दुरगामी महŒवका कर्महरूलाई स्पष्ट स्वरूप  र आकार  प्रदान गर्दैछ ।  रक्ष राई, दयाकृष्ण राई, नरेश काङ्माङ, मिजास तेम्वे, दीपा लिम्बू–राई, गणेश राई,  जगत नवोदित लगायतका नेपाली वाङ्मयमा चिनिएका योद्धा स्रष्टाहरूको अग्रतामा निर्मित यस संस्थाले (अझ विशेषगरी यसभित्र चिनिएका समर्पित स्रष्टाले) नेपालीमा डायास्पोरा साहित्यलाई एउटा विशेष उचाइमा पु¥याइ सकेका छन् । यस्तो सिर्जनाले दुई भिन्न मुलुकमा बस्नुपर्दाका मानसिक  एवम् भौतिक जगत्मा  प्रकट हुने समानता र फरकहरू लेख्तछ । अनुभूतिको  भिन्नतालाई भूलभूमिको स्थितिसँग तुलना गर्दछ । 

 यसभित्र अरू धरै सदस्य हुनुहुन्छ जसले अनेक नेपाली डायास्पोरामा  यायावरीय जीवन भोग्दै कठोर अनुभव  र विचित्र अनुभूति समेट्तै  लेखिएका जातीय सम्झना, देशप्रेम, तृष्णा र प्रेमका कथा पढ्दा हामी भावविभोर हुनपुग्छौँ । यस विषयमा स्थापित भइसकेको सिर्जना र समालोचनाको सिद्धान्तबारे छुट्टै अध्ययनको शिलशिलामा लागिरहेको छु । पछि नै अरू कुरा प्रकट गर्ने छु । त्यसका साथै यस संस्थाले नेपाली सैन्य वा युद्ध साहित्यलाई पनि आकार दिँदैछ । हाम्रो जातीय पहिचान नै योद्धाको जीवनी र इतिहासमा   आधारित छ; तथापि आफ्नै देशमा  युद्धसाहित्य पूर्णरूपले उपेक्षित स्थितिमा रहनु ठूलो दुःखको कुरा थियो । त्यसको   क्षतिपूर्तितर्फ वर्तमान कालका सचेत र शिक्षित योद्धा÷स्रष्टाले महŒवपूर्ण पाइला चाल्न थालेका छन् । यही संस्थाभित्रका स्रष्टाले  नवचेतनाग्रह (२०११) जस्तो अत्यन्तै भिन्न  स्वरूपको लेखन विचार तथा वैश्विक गतिविधिसँग  समता राख्ने चिन्तनपद्धति वा लेखन सिद्धान्तको प्रतिपादन गरिसकेका छन् । त्यसका साथै बेलायतमा तल्लो तहदेखि नेपाली भाषा पठनपाठन गराउने  दिशामा  पाठ्यक्रम निर्माण प्रक्रियामा पनि लागेका छन् । यो सानो कुरा होइन । 

एउटा गरिमामय  र अत्यन्तै सङ्लो संस्थामा समर्पित भएका यस्ता व्यक्तित्वहरूले प्रत्येक वर्ष उता बेलायतदेखि, यता बु्रनाईदेखि हजारौँ माइलको  यात्रा नाघेर हामीलाई सम्झिँदै नेपालको आँगनमा आउँदै महोत्सवहरूको आयोजना गर्दै नेपाली स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आउनुभएको छ  । यो एक प्रकारले  हामी सहयात्रामा छौँ; एकछिनलाई हाम्रा शरीर फरकफरक बासमा छन् तथापि मन खेल्ने भूमि उही हो भन्ने सन्देश पनि हो । हाम्रो सांस्कृतिक आँगन उही हो भन्ने सन्देश पनि हो ।  वास्तवमा त्यो दूरभूमिमा नेपाली जातिको शक्ति र परिचय स्थापनामा समर्पित यी अग्रणीहरूलाई यो देशले  नै पहिले सम्मानित र पुरस्कृत गर्नुपथ्र्याे होला जस्तो लागेको बेला हामीलाई सम्मान, पुरस्कारका लागि  यहाँ उपस्थित हुनु परेको छ । त्यसैले  होला आज यो गरिमामय सम्मान तथा पुरस्कार ग्रहण गर्ने मलाई  र मेरी शिष्या मोमिलालाई अलिकति संकोच पनि लागेको छ । उहाँहरूले गरेका निश्वार्थ योगदान र समर्पणको हामीले कहिले मूल्याङ्कन गर्ने होला; यो देशले कहिले ती योगदानका अभिलेखन गर्ने होला जस्तो चिन्ता पनि लागिरहेको छ ।

यतिखेरको बहुलवादी समाजमा बहुल चेतना र विचारले अकाङ्क्षा र इच्छाले समाज विशेषित छ त्यतिमात्र नभई नेपाली जातिको लामो बलिदानले प्राप्त भएका ती उपहारलाई  हतियार बनाएर नेपालको राजनीतिले नेपाली समाजलाई जाति, वर्ण, लिङ्ग आदिका वर्गीय सीमारेखाहरू कोरेर  सङ्कीर्णतातिर पनि धकेल्दै छ  भने नेपालबाहिरका  भाषा–साहित्यमुखी संस्था सञ्जालहरूले यस्ता प्रकारका सङ्कीर्णताहरूलाई भत्काउँदै एउटा विशाल भावनाकेन्द्रको निर्माण गर्दैछन्  । उनीहरूको यस्तो प्रशंसनीय भूमिकाको इतिहासले सम्मान गर्ने छ ।  नेपाली प्रतिभा प्रतिष्ठान बेलायत यसको एक अनुपम उदाहरण हुनेछ । यसले नेपाली  भाषाको  बीउलाई बेलायती माटोमै  रोपेर त्यो डायास्पोरामा रहने आफ्ना सन्ततिका निमित्त एउटा अमर सांस्कृतिक वृक्षको कल्पनामा अगाडि बढेको छ । 



मैले आफ्नो सिर्जनात्मक ÷प्राज्ञिक जीवनको अघिकांश समय र श्रम यसै क्षेत्रमा अर्पित गरेँ । अनेक मुलुकको भ्रमण  र अनेक  स्रष्टा चिनाउने उद्देश्यले गरिएको लेखनमा  बिताएँ; अनेक स्रष्टा, साहित्यप्रेमीहरूको स्नेह पाइरहेको छु ।  परिणमस्वरूप नेपाली स्रष्टा र समालोचना जगत्मा यो विधा स्थापित भइसकेको छ । यसमा देशभित्र र बाहिर गरी  अनेक सम्मान र पुरस्कारको स्थापना भएको छ । अनेक कृति प्रकाशन भए, अनुसन्धान हुँदैछन्  । आज प्रतिभा  सम्मान (२०१२) ग्रहण गर्ने यो  घरी मलाई लागेको छ, मेरो १५ वर्षको प्रयत्नले  साकार रूप लिएको छ ।   म यसघरि  वाशिङ्टन डीसीमा ग्रहण गरेको  अनेसास सर्वाेत्कृष्ट कृति पुरस्कार (२००७),  तथा मस्को रुसमा ग्रहण गरेको जयपृथ्वी–इभान मिनायेभ स्रष्टा सम्मान तथा डायास्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार (२००९) जस्ता सम्मान र पुरस्कार प्रदायक संस्था÷व्यक्तिप्रति पनि सम्मान प्रकट गर्दछु । म आफ्ना  कार्यप्रति सन्तुष्ट छु, यद्यपि गर्न अझै बाँकी छ । 

त्यसैले गर्दा अझै मनमा एक गहिरो चिन्ता उठ्न थालेको छ । यतिबेला भारतका, कोरियाका, अमेरिकाका, बेलायतका विदेशी अनुसन्धाताहरूले नेपाली डायास्पोराबारे अध्ययन र अनुसन्धान गरेको, गर्न थालेको देख्ता  हामीलाई शरम लाग्न थालेको छ ।  यसको कारण के हो भने विश्वका  प्रायः सबै विश्वविद्यालयमा डायास्पोरा स्टडिजको पठनपाठन हुन्छ । यो साहित्यमात्र होइन खासगरी समाजशास्त्र, भूगोल, जनसङ्ख्या विभाग लगायतका, मानविकीका सबै हाँगामा, भाषाविज्ञानमा, अनुवादमा अनि विशेषगरी साहित्यमा डायास्पोरा स्टडिज अनिवार्य छ ।  यो व्यापक रूपले अध्ययन अनुसन्धानको शाखाका  रूपमा विकसित हुँदैछ । यस कुरालाई हृदयङ्गम गर्दै गत वर्ष प्रज्ञा–प्रतिष्ठानले डायास्पोरिक नेपाली कविताको अध्ययन विषयमा एउटा विद्वत्वृत्ति पनि प्रदान गरिसकेको छ । सोही अन्तर्गत अनुसन्धान कार्य सम्पन्न हुन लागेको छ । पछि अरू यस्ता वृत्तिहरू पनि निरन्तर रहून् भन्ने हाम्रो कामना छ । 

अन्त्यमा प्रज्ञा–प्रतिष्ठानको यस भवनमा आज एउटा कुरा सूचना र निवेदनको रूपमा पनि प्रस्तुत गरेर रोकिन चाहन्छु । मैले नेपाली वाङ्मयमा  ‘डायास्पोरा’ शब्दको प्रथम प्रयोग गरेदेखि यता यस विषयको अध्ययन अनुसन्धान  प्रकाशनमा डेढ दशक समय अर्पण गरेँछु । यही अवधिको प्रयत्नले आज नेपाली डायास्पोरा र डायास्पोरिक साहित्यको परिचय र स्थापनाको चरणमा   पुग्यौँ । यस अवधिमा  मैले रुस, अमेरिका, बेलायत, फ्रान्स, ग्रिस, हङकङ, कतार, कोरिया, थाइल्याण्ड आदि अनेक भूमिमा आयोजित प्रवचन र गोष्ठीमा सहभागी हुँदै बिताएँ । नेपाली जातिको एक भिन्न अस्तित्व र   परिचय छ र हुन्छ यसको भाषाले नै त्यो प्रकट गर्नेछ भन्ने तथ्यमा प्रकाश पार्दै निरन्तर यात्रा गरिरहेँ, लेखिरहेँ । यसतर्फ गैरआवासीय नेपालीहरूको संस्था एनआरएनले र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि महŒवपूर्ण भूमिका  खेलेका छन्; प्रत्येक डायास्पोरा केन्द्रले खेलेका छन् । उनीहरूका  कर्मलाई मैले  समर्थन र शक्ति  संचयनमा  योगदान पु¥याएँ जस्तो लागिरहेको छ । यस अवधिमा  प्रकाशित उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समुद्रपारका समालोचना (२००७), स्मारिका (२००९) स्रष्टा र डिजिटल वार्ता (२०१०), डायास्पोरा प्राज्ञिक अध्ययन (२०११), वाङ्मय (२०११), अनेक डायास्पोराका कविता        (२०१२)  जस्ता  प्रकाशनले महŒवपूर्ण कार्य गरेका छन् । 
नेपाली प्रतिभा प्रतिष्ठानले पनि डायास्पोरा अध्ययनलाई ध्यानमा राखेर केही कर्म गर्दैछ । यसमा  लागेका रक्ष राई, मिजास तेम्बेहरूले यसको सैद्धान्तिकरणको प्रयत्न गर्दैछन् । उता बेलायतबाट डेबिड ग्याल्नर, माइकल हट, चन्द्र लक्सम्बा जस्ता विद्वान्ले यसको पृष्ठभूमि सुदृढ बनाएका छन् भने यताबाट टङ्क सुब्बा जस्ता प्रतिष्ठित प्राध्यापहरू लागिपरेका छन् ।  यता त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र  सङ्कायका नेपाली, अङ्ग्रेजी तथा शिक्षा विभागले आफ्नो पाठ्यक्रममा केही अंश  समावेश गरेका छन् । केन्द्रीय अङ्ग्रेजी विभागमा  ता धेरै अघिदेखि  त्यस  सिद्धान्तका कृतिको  अध्ययन  अध्यापन भइरहेको छ । केन्द्रीय नेपाली विभागतर्फ पनि अनेसासले डायास्पोरा छात्रवृत्ति तथा अनुसन्धान विद्वत्त्वृत्तिको घोषणा गरिसकेको थियो र विभागले डायास्पोरिक नेपाली साहित्यको केही अंश स्नातकमा समावेश गरिसकेको थियो ।  उता स्नातकोत्तर तहका लागि पनि १०० पूर्णाङ्कको एउटा ऐच्छिक पत्र प्रस्तावित स्थितिमा थियो । यी सबै कुरा प्राध्यापक राजेन्द्र सुवेदीका  पालामा भएका थिए । उक्त प्रस्तावित  ऐच्छिकपत्र  भने  विगत चार वर्षदेखि प्रतीक्षारत थियो तर दुःखको कुरा सुनिएको छ— यतिखेर नयाँ विभागाध्यक्ष  अन्तर्गतका पाठ्यक्रम समितिले त्यो सम्भावनालाई समाप्त पारेको छ, त्यो खारेज भएको छ ।

यसलाई म एउटा प्रतिगमनकारी कदमको संज्ञा दिन्छु । नेपाली जातिले राजनीतिमा मात्र होइन, प्रत्येक दिन, हरेक क्षेत्रका प्रतिगामीहरूसित सधैँ लड्नुपर्ने स्थितिको अन्त्य भएको रहेनछ । बहुलता र विविधता अनि  किनारिकृतहरूको पक्षमा न्याय गर्ने भन्दै लोकतन्त्र आएको हो । अब  एउटै केन्द्रको कार्यक्षेत्र विभाजित भएर अन्य अनेक उपकेन्द्रले पनि आफ्नो सहभागिता जनाउने दिन आउने रहेछ भन्ने लागेको थियो । अनेकौँ नेपाली वाङ्मयका स्वरूपहरू समाहित गरेर एउटा वृहत्तर, सबैको साझ नेपाली वाङ्मयको निर्माण होला भन्ने विश्वले अपेक्षा राखेको थियो तर एकलतावादीहरूले त्यो स्थिति आउन नदिने रहेछन् । त्यसैले होला  यथास्थितिवादले प्रत्येकदिन हामीलाई पराजित गर्न खोजिरहेकै छ । यस्तो  कदमले के देखाएको छ भने नेपाली विषयको पाठ्यक्रम निर्धारण गर्ने उही एकलतावादी ढाँचा छ  पठनपाठन गर्ने  गराउने, सम्पूर्ण अभिभारा एक विशेष  वर्गको र  जातको वा राजनीतिको हातमा नै रहेछ भन्ने कुरा जगत्ले औँल्याउने छ । त्यसमा हङकङका टंक सम्बाहाम्फेले, देश सुब्बा, दीपा राई, नरेश सुनुवार वा राजकुमार राईले वर्षाैदेखि रगत पसिना गर्दै नेपाली वाङ्मय बचाउन गरेको प्रयत्नको मूल्याङ्कन हुने छैन; नेपाली वाङ्मयका  अर्का अभियन्ता विश्वासदीप तिगेलाका अनेक प्रयत्न, उता बेलायतका प्रतिभा प्रतिष्ठान अन्तर्गतका रक्ष  राई र मिजास तेम्बेहरूले गरेको कठोर  तपस्याको अर्थ रहने छैन । जया राई, केदार सुनुवार  आदिको योगदानको अव  मूल्याङ्कन हुने छैन । अरू उदाहरण दिनुभन्दा  सिंगो अमेरिकादेखि यता  टाढाटाढा, रुसका  कृष्णप्रकाश  श्रेष्ठ, मधुमाधुर्य उता कतारका रेगिस्तानी कवि तीर्थ  संगम राई, हेमन्त परदेशी, यु.ए.इ.का समदर्शी काँइला, ब्रुनाइका दिपालिम्बूलाई, बेलायतका अरू, इजरायलका  हरि मानन्धर, दीप्स शाह लगायतका अनेक स्रष्टा, मलेसियाका मनिराम राई ‘गोठाले’,  थाइल्याण्डका खगेन्द्र पन्धाक अथवा कतिले आधा जागिर र आधा जीवन नेपाली वाङ्मयमै लगानी गरेका छन् । अझ अनलाइन सेवा गर्नेहरूको सङ्ख्या कत्रो होला— यो उनीहरूको स्वार्थको लागि थिएन । जातिगत सीमाना भत्काएर बृहत्तर जातीय हितका  लागि   थियो र हुनेछ ।  यता नेपाली  विभागबाट गराइएको त्यस निर्णयको यस स्रष्टा जागत्मा कस्तो कस्तो पर्ला ?

 विश्वभरिका खासगरी अनेक डायास्पोरामा छरिएका नेपाली वाङ्मयको चिन्तामा समर्पित समस्त नेपाली जातिलाई आह्वान गर्दछु— केन्द्रीय नेपाली विभागले यो प्रतिगामि कदमलाई सच्याओस् हामी एक्लै छैनौँ, सबैतिरका पठनपाठनमा डायास्पोरा स्टडिज अनिवार्य हुन थालेको  वर्तमान समयमा नेपाली केन्द्रीय विभागको यस निर्णयले अनेक डायास्पोराका लाखौँ नेपालीका सत्कार्यको घोर अपमान र उपहास गरेको छ । यस विषयतर्फ  एनआरएनको पनि गम्भीर रूपले ध्यान आकर्षित हुनेछ भन्ने अपेक्षा गर्दछु ।  विश्वसँगै अरूहरू जस्तै भएर हिँड्न सकौँ, त्यसभित्र आफ्नो मौलिकताको पनि संरक्षण गर्न सकौँ । यस सम्बन्धमा हालै  इ–डायास्पोराजले खोलेको  नेप्लिज डायास्पोरिक वेबसाइट्स्ः साइन्ज एण्ड कण्डिशन्ज अव् अ डायास्पोरा इन द मेकिङ  हेर्दा हुन्छ । 



प्रतिगमनको यात्रा रोकौँ, अग्रगमनको यात्रा रोजौँ ।
धन्यवाद

(नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रदान गरेको प्रतिभा सम्मान– २०१२ ग्रहण गरेपछि प्रस्तुत गरिएको प्रत्युत्तर भाषण मिति २०६९ साल पुस ११ गते बुधबार, प्रज्ञा भवन, कमलादी )


3 comments:

  1. Thanks for the global perspective. Greater love for home and national identity.

    -Sushil Subba

    ReplyDelete
  2. I love this reading (I listen as well), as I was there during the program as well and I was so proud for entire initiatives. My deep solute to Dr. Bhattrai for his dedicated and committed continuous contribution to the Nepali's literature. Wish you all the best!

    Momal Mayukh
    Sudan

    ReplyDelete
  3. The cancellation of a course on diasporic literature is the most regressive act department has done. At the time when diasporic literature is booming across the globe, the removal of the course seems to be a vision-less decision. While various Nepalese diasporas have shown a sense of belongingness to the nation through love of language and literature, exclusion of the diasporic course is the consequence of narrowmindedness on the part of the authorities. Thank you so much sir for raising this issue. We should raise voice against such an act which divides Nepalese in terms of geography.Nepal can not be confined to Nepalese territories only but in fact, it lies in hearts with Nepalese sentiment. At the time when Nepalese diasporas are promoting Nepalese languages and cultures through their literary works,the decision of excluding it is truly a senseless work. We should condemn such activities.

    ReplyDelete