A flower cannot blossom without sunshine,
and a man cannot live without love.
– Max Muller
मलाई म्याक्स मुलरको यो उक्ति नै गोपीका नाटकको सारतङ्खव हो जस्तो लाग्यो । किनकि कुनै कालले निस्तेज वा मलीन पार्न नसक्ने प्रेमको सुवास खोज्दै अन्त्यकालसम्म नरनारी यस बगैँचामा घुमिरहनेरहेछन् । यो कहिल्यै तृप्ति नहुने तिर्खा पिउँदै प्रेम कतिपयका पात्रहरू भ्रमण गरिरहेका छन् ।
गोपीले कविता एक अन्त्य एक शुरुवात (२०५२) बाट सिर्जना जगत्मा प्रवेश गरेका थिए तर बिस्तारै नाटकमा रमाउन थाले । आज गोपी सापकोटा नेपाली साहित्यमा एक स्थापित युवा लेखक हुन् । उनको विशेष क्षेत्र नाटक हो । तेस्रो नाटक सङ्ग्रह कालो आकृति (२०६४) मा उनको नाटककारको क्षमता प्रकाशित छ । उनका अघिल्लो नाटक सङ्ग्रहहरू पूर्णबिराम (२०५५) र खरानी (२०६०) समेत अध्ययन गरी प्रा. केशवप्रसाद उपाध्यायले आफ्नो समालोचना ग्रन्थमा गोपीलाई स्थापित गर्नुभएको छ । अरू समालोचकलाई पनि गोपीले छोएको छ ।
त्यसरी छुने एउटा विशेषता छ गोपीमा— त्यो हो नाटक लेखनमा सरलता, अत्यन्तै सुललित भाषाको प्रयोग र भिन्न दर्शनको आधार । नवीन ता होइन । उनका नाटकमा विशेषगरी विसङ्गति चेतना र अस्तित्व चिन्तन घनिभूत छन् । अलिकति एब्स्ट्राक्ट र एब्सर्डतिर जान्छन् । कालो आकृतिमा पर्याप्त रूपले जीवनको अँध्यारो र कुण्ठा मिसिएका छन् ।
तर गर्दागर्दै गोपी बेलायत पसे । चार वर्ष पुगे । हामीलाई ठूलो रिक्तताको अनुभव भयो । अत्यन्तै राम्रा नाटक र शक्तिशाली कवितामा साधना गरेर छिट्टै नै थुप्रै प्रशंसा र प्रेम आर्जन गरिसकेका गोपी त्यसरी हराउँदा हामी निराश भयौँ । फेरि उनी–हामी बिस्तारै भर्चुअल भेटमा देखिन थाल्यौँ । एकपल्ट नेपाल पनि आए । मैले २००८ को अगस्तमा व्यस्त लण्डनमा एकछिन भेटेँ; उनी अन्यमनस्क थिए । आँखा पोलिरहेका जस्ता देखेँ । तर मैले भनेको थिएँ— भाइ तपाईंमा त्यत्रो उर्जा छ; नयाँ जीवनको यात्रामा यो विरानो मुलुक पस्नुभयो, जीवन सङ्घर्षले साहित्य पो खाइदिन्छ कि ? त्यो निरन्तर रहोस् ।
एउटा अत्यन्तै भावुक, कोमल र सरल युवालाई मेरो हृदयले त्यसरी पुकारेँ । आप्रवासनले हाम्रा धेरै स्रष्टा र साहित्यकारलाई निलिदिएको छ । अझै निल्दैछ । एउटा तेस्रो मुलुकको सामान्य नागरिक उच्च प्रविधि ज्ञान र शिल्पले यन्त्र बनिसकेको महानगरमा पसेपछि साहित्यभन्दा जीवनको आकार उचालिनसक्नु भएर आउँदो हो । तथापि विस्तारै साहित्यहरू सार्दै, सर्दै, सम्झौता गर्दै ती बसिरहेका छन् ।
गोपीसँग सम्पर्क भइरहन्थ्यो । दुई वर्षपछि ता उनले अत्यन्तै सुन्दर कविता सङ्ग्रह अ स्युसाइड नोट (ब् क्गष्अष्मभ ल्यतभ) २०६७ प्रकाशनमा ल्याए; बेलायतबाटै अङ्ग्रेजीमा लेखिएका अत्यन्तै शक्तिशाली कविता । यता हामी विश्वविद्यालयको पाठयक्रम संशोधन गर्दै थियौँ— कमिटिले उनको एउटा कविता स्नातक तहको अङ्ग्रेजी साहित्य विषयक पाठ्यक्रममा राख्ने निर्णय ग¥यो, राखियो । यसबाट गोपी हामीसँगै छौँ भन्ने भएको छ । नेपालका हजारौँ उनलाई रातोदिन पढ्दैछन् ।
त्यसपछि एक अन्तरालमा गोपीले लण्डनमा लेखेर मलाई एउटा नाटक प्रेसित गरे । हस्तलिपिका पानाहरू सबै सबै स्क्यानिङ भएर आए । तिनलाई टाइपमा पठायौँ, प्रेसमा पठायौँ फेरि भर्चुअल भेट भइरह्यो । बेलायत र नेपालको बीचमा तान लगाउँदा पनि अलिकति समय गयो— पछि सबै सक्यौँ तर मलाई समयले ठेलिरह्यो । गत वर्षको अगस्टमा दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनमा भाग लिन जाँदा गोपीसँग लण्डनमा फेरि भेट भयो । तर मैले काम सकेको थिइनँ । कुनै वाचा गरेर त्यहाँबाट भागेँ ।
धेरै दिनदेखिका प्रतीक्षारत कार्यहरू सम्पादन गर्दै लाँदा यो हप्ता बल्ल गोपीलाई अर्पें र पढेँ । प्रेम कतिपय शीर्षक नै अत्यन्तै आकर्षक लाग्यो, अलिकति बिपना कतिपय शीर्षकको प्रतिध्वनि जस्तो पनि ।
मेरोमा नाटक आउन छाडेको धेरै भएको थियो । गतवर्ष गरेको एउटा मास्टरपिस ध्रुवचन्द्र गौतमको त्यो एउटा कुराको मात्र सम्झना छ । त्यो पनि पुरानो २०३३ सालमा प्रकाशित पुनरसंस्करण आउँदैछ । यतिखेर शारदा सुब्बा, रोशन सुबेदी, कृष्ण शाह ‘यात्री’, शिवानीसिंह थारू सबैले बिर्सेको समय छ । नेपालीमा ब्रेख्त, चेखव, धर्मवीर भारती, लोराइन् ह्यान्स्बेरी जस्ता मास्टरपिस आउँथे; त्यस्तो नाटक अनुवाद पनि बन्द भएको बेला छ । सरकारी असहयोगले गुरुकुल बन्द भयो; यसले पनि त्यत्रो उचाइ कमाएको नेपाली रङ्गमञ्च प्रभावित भयो र नाटकलेखन पनि पछि पर्ने हो कि !
यस्तो शून्यतामा भानुजयन्तीको सन्ध्यामा गोपीको नाटकबारे अन्तिम शब्द लेख्न बसेको छु— एक विशेष नाटक पढेर दोहो¥याएर विशेष मनन गरेर लेख्न बसेको छु ।
मन सबैसबै गोपीका पात्रमा पुगेको छ । कतिबेला नम्रता बोलेजस्तै, कतिबेला स्मृति अथवा मेरिनाका आवाज सुनेजस्तै, फेरि नम्रताको भावुक समर्पण जस्तै । प्रेम एउटा साश्वत अनि अदृश्य तŒव रहेछ, नरनारीको जीवन त्यसैले सञ्चालित छ । त्यसैको एक पक्षलाई कति सुन्दर कति आकर्षक प्रस्तुतिमा नाटकीकरण गरिएको छ ।
म नाटकको कुनै कथावस्तु बताउन चाहन्नँ । एक मूलपात्र गोपाल (अर्थात् गोपी) को यो कथा मेरै जस्तो पनि लाग्छ । प्रत्येक पुरुषको लाग्छ । उसको जीवनमा पहिलो पल्ट प्रेम अङ्कुरित भएदेखि यताको चालीस वर्षे जीवनमा कति प्रेमहरू आए कति गए होलान्; तिनै हृदय भिजाएर भत्काएर जाने ती प्रेमको कुरा छ; एक प्रेम नीरा ता नेपथ्यमा आवाजहीन रहेकी छन् । यद्यपि गोपाल र नम्रतालाई नियन्त्रित गर्ने तिनै नीरा हुन् ।
नाटक अत्यन्तै सरल छ; पढेर नअघाइने । प्रत्येक पुरुषलाई लाग्ला (जस्तो मलाई लाग्दैछ) यो मेरो कथा हो, गोपीले यसरी खुलस्त नपारिदिए हुन्थ्यो । म विश्वस्त छु प्रत्येक नारीको जीवनमा पनि यस्तै घटेको छ; अलिखित प्रेमहरू हृदयमा छोपेर एक लिखित प्रेमसँग जीवन भोगिरहेका छन् ! गोपीभित्र रहेको त्यो प्रेम मनोविज्ञानले प्रत्येक पाठकको मर्ममा छुन्छ त्यो सरल भाषामा उनले जीवन दर्शन र मनोविज्ञान सँगै मिसाएका छन् । गोपी अलिकति विसङ्गति चेतना र केही अस्तित्ववादको सँघारमा छन् ।
एउटा चालीस पुगेको पुरुषले मनमा सम्झेको प्रेम र पात्रहरू । कस्तो स्वाभाविक छ— कहिले यताबाट अनायस मन पराइएको हुन्छ, कहिले अनायस उताबाट; माया गर्ने हजार हुन्छन्, जूनी काट्ने एउटै हुन्छ भनेझैँ रहेछ । एउटा संजोेगले मानिसले विहे गर्छ फेरि पनि मन विचरण गरिरहेकै हुन्छ । सधैँसधैँ माया गर्ने हृदय बूढो नहुने त्यो तिर्खालु हृदयको कथा गोपीले कति कलात्मक ढङ्गले राखेका ?
स्मृतिसँगको पत्रचारको प्रमाणले कत्रो समर्पण र त्याग देखाउँछ, त्यो अघिको कुरा फेरि आज नम्रतासँग साइबरले जोडछ । यी स्थितिमा हृदयले गर्ने अनुभूति बोकेका छन् । स्मृतिसँगको सम्बन्ध र पुनर्भेट त्यस्तै सबैको जीवन यस्तै ‘कतिपयहरूले’ बनिएको छ । फेरि मन सम्हालेर कतै भड्किन नदिई एउटा फूल स्यूरेर पूmलबारीकै बाटो हिँड्नु पर्ने वास्तवमा कोही तृप्त छैन, कोही खुसी छैन, गुमेका दिनहरू फेरि आइदिए हुन्थ्यो भने जस्तै, छुटेका प्रेमीसँग चलेको भए जीवन कस्तो हुन्थ्यो होला भनेर कल्पिनु जस्तो छ । रोवर्ट फ्रस्टको द रोड नट टेकन जस्तै छुटेको ती बाटा कति मायालु । अघिका दिन सम्झेर मेरिनाले कस्तो दृष्टान्त दिएकी ः
धेरै हेरिसकेपछि त ती अक्षरहरू मसँग बोलिदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर बोलेनन् ती अक्षरहरू । थाहा छैन किन तर मैले त्यसपछि आफू सुत्ने बेलामा तपाईंको र मेरो कापीहरूलाई सँगै मेरो सिरानीमुनि राखेर सुतेकी थिएँ । मेरा साथीहरू भन्थे— त्यसो गर्दा राम्रो सपना देखिन्छ । तर मैले केही देखिनँ त्यस रात ।
हाम्रै अनुभूति— बिहे भएपछि नयाँ प्रेम प्रवेश गर्ने बाटो बन्द मायाको तीर्खा मेटिएला लाग्थ्यो तर होइन रहेछ । गोपाललाई आज लाग्छ ः
प्रेम जति बाँडिएर टुक्रा टुक्रा भए पनि प्रेमको प्रत्येक टुक्रा बिस्तारै सम्पूर्ण रूपमा पूर्ण हुँदै जाँदोरहेछ । कहिले घटेजस्तो नलाग्ने, जति बाँडिए पनि । अनौठो छैन त प्रेम ?
युवतीलाई लाग्छ— मनको भावना उसले बुझिदिएन होला, युवकलाई पनि शायद त्यस्तो हुँदो रहेछ । यसै गर्दैलाँदा कसको मनमा कसप्रति कति प्रेम छ, थाहा नहुँदो रहेछ, त्यो व्यक्त गर्ने दिन नआउँदो रहेछ जीवन अर्कैको भइसकेको ।
तर स्मृतिसँग विवाह नभएकोमा गोपाललाई पश्चात्ताप छैन कारण प्रेमी हुनु र पति हुनुमा फरक छ । त्यस्तै प्रेमीका र पत्नी पनि । शायद उनी पनि सधैँ प्रेम खोज्लिन् अथवा पुरानो प्रेम नभेटी सजाई राख्लिन् तर प्रकट गर्ने दिन कहिल्यै आएन । गोपाल आपूmलाई यसरी चिनाउँछ (यहीँनेर गोपी लुकेका छन् होला) ः
म एक असल लोग्ने हुन सक्दिनथेँ जस्तो लाग्छ । म एक एब्सर्ड मान्छे, प्रेमी बन्नका लागि मात्रै ठीक छु । जीवन चल्नका लागि विभिन्न सम्झौताहरू गर्न सक्नुपर्छ । तर म त्यो जान्दिनँ र सक्दिनँ पनि ।
तर जीवन एक, प्रेम अनेक रहेछ सधैँ । तिनै अनेक प्रेमका मनोविज्ञानको नाटकीकरण हो यो । गोपालको दर्शन छ— प्रेम आकारहीन छ, हो पनि तर जीवन एक निश्चित आकारको निश्चित पथमा चल्न बाध्य तŒव हो । नम्रता एक भावुक, कोमल र रुमानी हृदयकी युवती । तिनी सबै त्यागेर आफ्ना भिनाजुलाई प्रेम गर्ने पात्र । भावुकताले आदर्शले चलाएको एउटा वय छ । कसरी तीन वटा अलगअलग उमेर सम्झेर पुरुष उपस्थित भइरहन्छ ? के नारीमा पनि त्यो सम्भव छ, कि प्रत्येक मानवको विज्ञान यही हो ? गोपीले एक निरुत्तर प्रश्न छोडेका छन् । तिनैवटा नारी अतीतको प्रेमले, त्यसैको स्मृतिले प्रतीक्षामा रहेका छन् जस्तो लाग्छ । ती मनमनै आफ्ना प्रेमीलाई लुकाएर प्रतीक्षा गर्नेहरू छन् । विवाहित स्मृति र मेरिना, अविवाहित नम्रता सबै एक गोप्य सीमाभित्र बाँधिएकी छन् । गोपाल पनि त्यो खोल्न नसकिने बन्धनमा । वर्षौंसम्म नभेटे पनि चलिरहने आकर्षण र भेटमा पनि नियमित, संयमित भएर ‘शरीरतिर’ नढल्की फेरि रहस्यमै छुट्नु छुटाउनु यो नाटकको सफलता हो । आफ्रा बेनले भनेकी छन्— रहस्य हुन छोडेपछि प्रेममा आनन्द समाप्त हुन्छ । नभन्दै गोपीले अत्यन्तै कलात्मक भएर, ठूलो अनुशासन र आत्मसंयम देखाएर तिनवटै नाटक (दृश्य) का अन्त्यहरू सदाका लागि रहस्यमै राखेका छन् । प्रेमलाई अन्त्यमा गोपालले बुझाएको कुरा कति सटीक छ ः
गोपाल – जीवन एक तलतल नै हो नमु । हामीलाई बाँच्न मन लाग्नु र हामी बाँचिरहनु, त्यही एउटा नजानिँदो तलतलले नै हो । भोक लाग्नु, तिर्खा लाग्नु, अनि प्रेम हुनु, यी सबै तलतल हुन्् ।
नम्रता – ए मेरो दार्शनिक प्रेमी, हजूरको दर्शन पनि तलतल नै त हो ।
गोपाल – हो नमु । तिमीले ठीक भन्यौ । म यी र यस्तै तलतलहरू बिना बाँच्न सक्दिनँ ।
नम्रता साँच्चै भन्छे— मेरो यो प्रेम मृगतृष्णा जस्तो ।
वास्तवमा सबै पात्रको हृदयमा मृगतृष्णा नै दौडिरहेछ; हाम्रो जीवनमा जस्तै । त्यो प्रेमको तिर्खा— पुरुषप्रतिको, नारीप्रतिको तर त्यो कुन तङ्खवले हो भन्न मुश्किल छ । आन्द्रे ब्रितोँले भनेका छन्— जीवनभरि मेरो हृदय यस्तो वस्तुप्रति लालायित भइरह्यो जसको मलाई नाम थाहा छैन । दुवैको हृदयमा एकअर्काप्रति प्रेम छ । यो केवल आकर्षण हो कि ? प्रेमले निकटता खोज्छ, श्पर्श खोज्छ । तिनवटै नारीसँग त्यस्तो समय आउला कि जस्तो आशा छ तर यथार्थ फरक छ । कतै दृश्यमा उच्छृङ्खल नभै, शालीनतापूर्वक शिष्टतापूर्वक रहस्यमै नाटकहरू टुङ्गिन्छन् । प्रेम–प्रवाहको निरन्तरता अनुभव गर्दा गोपाल पनि छक्क पर्छ ।
गोपाल – कहिले काँही मलाई लाग्छ— यति धेरै माया कहाँबाट आउँछ होला । पानीको मूल फुटेझैँ ।
नम्रता – म पनि त्यस्तै सोचिरहन्छु । जीवनको मूल नै माया जस्तो लाग्छ ।
यसरी एक नवीन नाटक लेखिएको छ । प्रयोग आदिले नयाँ होइन, तर यो गम्भीरताले, शैलीले, पठनीयताले, नरनारी मनोविज्ञानले, प्रेम दर्शनले र यसमा अन्तर्निहित मञ्चनीय सरलताले । पठन र मञ्चन दुवैमा उत्तिकै शक्ति भएको, थोरै पात्र तर जीवनका अमूल्य अनुभवमाथि लेखकको अन्तरहृदय बोलेको यस नाटकले मलाई कति छोयो, म व्यक्त गर्नै सक्तिनँ नेपाली पाठक (दर्शक) लाई यसले यसरी नै वशिभूत गर्नेछ ।
यस वर्षको भानु जयन्तीको अवसरमा मलाई जीवन र प्रेम पढ्न जुरेको रहेछ । प्रेमको अथवा स्नेहको रिक्तताले बाल्यकालदेखि नै ठूलो तृष्णा खपिरहेको सजनकुमार पात्रका सुन्दर कविता पढेँ । उनको र पो आत्मा रुँदैछमा एउटा मनोविज्ञान छ भने गोपीको प्रेम कतिपयमा अर्कै । दुवैमा मेरो हार्दिक प्रेम र स्नेह पुगोस् ।
धन्यवाद ।
२९ असार २०६९
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर
२९ असार २०६९
त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर
I deed have the opportunity to read his " the suicidal note". It was my first encounter with Gopiji's literary work, and I never know about his works before that! So, it was a kind of reading without preconceptions and judgjements, of whatsoever type. This thin book with 30 short poems, ... I read it in one go! It was just after my vacation in Portugal, and the first day of my arrival at home from this vacation. After reading the book, I sat with all kinds of thoughts and feelings. There are some brilliant poetic expressions, imageries, plays on existential thoughts and questioning, storytelling, wondering about things in this world only the poetic imaginations that captivate them, and so on! There is truely, something about this young writer, a creative and talented writer! I would or should have loved to read his poems in Nepali, though! Although, I later on, came to know that he did his MA in English literature, that is not the same as what he is or might be capable of doing with the linguistic powers in Nepali ( I can say this both with my experience of living abroad for a lifetime, and done my formal english training and degrees abroad, among other places, UK)! There is something.... you do magic with your native langugage...in creative, artistic and poetic expressions in your own native language!!! So, my next wish is to read Gopi's works in Nepali!!! Lok Subba
ReplyDelete