About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Friday, January 20, 2012

पूर्वाञ्चलका पारसमणिसँगको भेट (एक संस्मरण)

७ जनवरी १९३५ मा दार्जिलिङमा जन्मेका गोपीनारायणको ७७ वर्षको उमेरमा मेघालयको शिलाङमा ५ जनवरी २०१२ को विहान देहान्त भयो । दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०६५ सालको गरिमामा प्रकाशित लेख पुनः साभार गरेको छु ।

हामी शिलाङबजारको एउटा किनारा, लाइमुख्रा पुग्यौँ । भिरालो पाखामा बाटामाथिका सुन्दर घरहरू, बाटामुनिका सुन्दर घरहरू । सिसाका बुट्टे झ्याल, पर्दा र आकर्षक स्तम्भहरू, होचा, राम्रा । अरुकै लहरमा सलीलले गाडी बिसाए, ओर्लेर बाटामुनि हे¥यौँ— एउटा अत्यन्तै आकर्षक दुइतले बङ्ला उभिएको— रातो च्यादर छाने, दुईतिर बरन्डाका कोठा, आँगनका भित्ताभरि, डिलडिलमा अनेक पुष्प फुलेका— बोटमा, गमलामा, लहरामा कस्तो मनोहर ।

बरन्डाका कोठामा बेल बजाएर भित्र पस्यौँ । गोपीनारायण प्रधान एउटा भुइँसोफामा थिए । गलैँचा, सोफा, कुशनले भरिएको भुईं, एउटा हाते राइटिङ टेबल, चारै भित्तामा किताबहरू उकुसमुकुस भएर बसेका । अनेक पदक, प्रमाण र प्रशंसाका पत्रहरू माथि भित्तामा, सुन्दर झ्यालका पर्दामुनि अरु गमला फुलेका । एउटा झ्यालतिर केही विद्यार्थी बसेका, अर्कातिर उनी । दौरा सुरुवाल, बाक्लो चश्मा, बिनाटोपीको सेतो केश, सफा चम्किलो अनुहार गोपीसर जुरुक्क उठे । तर मलाई चिन्न सकेनन् । आठवर्ष अघिको भेट वीपी कोइराला फाउन्डेसनको नेपाल–भारत लेखक सम्मेलनमा हामी तीनदिन तीनरातसँगसँगै थियौँ । त्यसबेला धनगढी नै उज्यालो भएको थियो । आज उनै तीर्थलाई सम्झेर त्यहाँ पुगेको थिएँ । तर उनले ठम्याउन सकेनन् । सकून् कसरी ? असी टेक्ने बेला छ, पत्नी वियोगले संसार अँध्यारो पारेको समय छ, उमेरले शरीर जर्जर छ, सहारा छैन कुनै सन्तान र आफन्त छैन ।

उनी छेउका कन्याहरूलाई नेपाली पढाउँदै रहेछन् । अचानक सलील र म पुग्दा अलिकति अप्ठ्यारो पनि भयो तर हतारहतार नानीहरूलाई केही प्रश्न सोध्न थाले— तिमीहरूको परीक्षाकेन्द्र कहाँ थियो ? कति जनाले लेख्यौ ? तिर्सनाले पनि लेखिन् ? प्रश्न सजिलो लाग्यो कि अप्ठ्यारो ? उनको मन विगत पचास वर्षदेखि शिलाङमा छ, त्यहाँको नेपाली भाषामा, यसको संरक्षण र विस्तारको एक मात्र चिन्तामा ।

नानीहरू बिदा भएपछि हामीसित भलाकुसारी गर्न थाले । दुःखान्तका सुस्केरा गहिरा थिए— एक्लै छु, आज चिया बनाउने नानी पनि आइपुगेन, मैले कसरी तपाईंहरूलाई स्वागत गर्ने ? अलिक बूढो भएँ र दुःख छ, ट्युसन गर्छु, एक कलेजमा पार्टटाइम गर्छु, हेर्नू नि भाइ यो घरको किरायी मात्र पाँच हजार तिर्छु । यो ठाउँ छोड्न सकिनँ र नेपाली भाषासाहित्य भन्दै पचास वर्ष बिते, अब मेरा दिनहरू झन्झन् कठोर देख्तछु । म फर्केर दार्जिलिङ जान पनि सक्तिनँ ।

नेपालतिरको सोधखोज गरे, धेरैलाई सम्झे, मैले धेरैका उपहारहरू हस्तान्तरण गरेँ । आफ्ना पनि केही कृति चढाएँ; उनले आकासले पनि ठाउँ खोजिरहेछ दिए । दुईवर्ष अघि प्रकाशित यो कवितासङ्ग्रह प्रधानज्यूको तेस्रो कृति । हामी निकैबेर बस्थ्यौँ होला तर बाहिरको बरन्डामा गल्याङमल्याङ सुन्यौँ— हेर्दा आठदसजना विद्यार्थी कापीकलमसँग उभिएका थिए । सायद अब तिनीहरूको पालो थियो ।

एकघण्टा जति बातचित गरेपछि उनले अघि बढाएको ठूलो रजिष्टरमा मैले नाम ठेगाना मुनि २१ मार्च २००९ लेखेर सही गरेँ । उनले थपे — भाइ यता आउनेलाई एउटा फोटो पनि पठाइदिनु होला तपाईंको । ‘अवश्य’ बिदा मागेर हामी निस्कन तयार भयौँ ।
   
उनलाई सबैले ‘प्राध्यापक’ को रुपमा सम्मान गर्दारहेछन् । नेपाली साहित्य परिषद, शिलाङका तर्फबाट लेखिएको पत्रले बोल्यो— ‘प्राध्यापक प्रधानले साहित्यिक कार्यक्रमहरू आयोजना गरेर होस् वा पढाएर होस् वा पत्र–पत्रिकामा छपाएर होस् वा पूर्वाञ्चलका छ वटा विश्वविद्यालय तथा बोर्डहरूमा हाम्रो भाषाको मान्यता दिलाएर होस्, पाँच दशकभन्दा धेरै निरन्तर काम गरेर मातृभाषाको उत्थान–प्रचार– प्रेमको निम्ति प्रशंसनीय योगदान दिनु भएको छ ।’

त्यसो त उनका कृतिमा आकासले पनि ठाउँ खोजिरहेछ बाहेक साइलक आइरहेछ (१९७५), यस्तो भूल पो गरेँछु (१९७८) जस्ता कवितासङ्ग्रह र विवर्तन शीर्षक एक समालोचना (२०००) रहेछन् तर उनको लामो जीवन अनेकौँ सङ्ग्रहभन्दा अग्लो र ठूलो रहेछ । त्यो अनकन्टार ठाउँमा पसेर पचास वर्षदेखि निरन्तर अहोरात्र उनले केवल नेपाली भाषासाहित्यकै सपना देखे, सेवा गरे, सारा जीवन त्यसैमा अर्पित गरे ।

वर्तमान कृतिमा अर्थात् आकाशले पनि ठाउँ खोजिरहेछमा प्रधानज्यूको उचित र उच्च मूल्याङ्कन पनि भएको छ । उनको योगदानको लामो इतिहास सम्झँदै प्रा. नरबहादुर राईले ‘नेपाली साहित्य परिषद, शिलाङ’को सचिवको कलमले लेखेका छन्— ‘चार दशकअघि आसामको राजधानी शिलाङमा नेपाली साहित्य परिषदका कवि प्रधान संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । आज पनि उहाँबिना हामीले परिषदलाई सोच्न सक्तैनौँ । उहाँले बाउन्न वर्षअघि शिलाङको गोर्खा एसोसिएसनको तत्वावधानमा पूर्वाञ्चलमा पहिलो साहित्यिक गोष्ठी आयोजना गर्नु भयो ।’

तिनै व्यक्तिले कालान्तरमा छ वटा विश्वविद्यालयमा नेपालीको पाठ्यक्रम स्वीकृत गराउन लडेका थिए । सम्झँदा कस्तो गौरवले भरिएको जीवन ।

उनका अघिल्ला दुइटा कवितासङ्ग्रहको मूल्याङ्कन गर्दै ३५ वर्षअघि काशीबहादुर श्रेष्ठले भनेका थिए— ‘पूर्वाञ्चलमा आधुनिक गद्य कविता रचयिताहरूमा प्रधानन्यू अग्रणी हुनुहुन्छ ।’ त्यसैगरी प्रेमलाल जोशीले बोलेका छन्— कविता क्षेत्रमा साइलक आइरहेछ, यस्तो भूल पो गरेँछु ! मा आज विश्वभरमा भइरहेको शोषणको समग्रता समेटेर राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय परिवेशमा जेजति अभिव्यक्तिलाई वाणी दिएका छन् तिनमा मानवीय सम्वेदना स्पन्दित छन् । प्रधानज्यूका कविता सर्वांस सजिलै बुझ्न सकिन्छ । हो, स्वभावैले नै कविता अलङ्कृत हुन्छ र कहिले कठिन पनि तर कठिन–दुरुह कविता उनले कहिल्यै रचेकै छैनन् । उनको भाषा सफा पानीजस्तो छ जहाँ पाठक सजिलै डुब्छन् । अहिलेसम्म त्यो सरलता कायम देखिन्छ । आकाशले पनि ठाउँ खोजिरहेछबाट एउटा कवितांश प्रस्तुत गर्छु—

मेरा आँखाले देखेका क्षितिज
तिम्रो वास्तविक क्षितिज होइन रहेछ
म संघार मुश्किलले नाध्न सक्ने
तर आँगन छोड्न नसक्ने
तिमी डाँडा, पर्वत, खोँच, बगर मैदान
समुद्र पार गर्न सक्ने
मेरो निम्ति तिम्रो क्षितिज
अनन्तझैँ नभेटिने
कहिले नटुङ्गिने कतै होला क्षितिज

उनका कविता यस्तै सरल छन् । म हेर्दै गएँ— कविपुत्र शरद ज्ञवालीले भनेका छन्— ‘म प्राध्यापक ज्ञवालीलाई पूर्वाञ्चलका पारसमणि भन्दछु ।’ रणबहादुर सापकोटाले उनलाई यसरी अझ उच्चस्थानमा राखेका छन्— ‘प्राध्यापक गोपीनारायण केवल पूर्वाञ्चल क्षेत्रको मात्रै नभएर सम्पूर्ण भारतीय नेपाली कविताधाराको एउटा प्रतिनिधि र अग्रणी कवि हुनुहुन्छ ।’

पाना पल्टाउँदै गएँ, उहाँको मूल्याङ्कन झन्झन् माथि चढ्दैछ । जस्तै — डी. पी. जोशीका शब्दमा ‘प्रा. प्रधान यस्तो स्थितिमा पुगेका साहित्यकार हुन् उनको बोलाइ कवितामय छ । उनको गद्य लेखाइ कवितामय छ । उनले जे बोल्छन् सो आधुनिक कविता हुन्छ । उनले जे लेख्छन् सो आधुनिक कविता हुन्छ ।’ त्यसैगरी हेम जोशीका शब्दमा ‘पहिलोपल्ट पूर्वाञ्चलबाट साहित्य अकादेमीमा नेपाली परामर्श मण्डलका संयोजक प्रा. गोपीनारायण प्रधान चुनिनु साहित्य क्षेत्रमा गौरवको विषय हो । प्रधानज्यू साहित्य अकादेमीका दस वर्ष साथै भारतीय ज्ञानपीठका सात वर्ष निर्वाचित सदस्य थिए ।’

टेकबहादुर जिम्वा आशाले हेरेका प्रा. गोपीनारायणलाई एक विशिष्ट साधक र अति सम्माननीय व्यक्तिको रुपमा यसरी चिन्न सकिन्छ ः भाइ गोपीनारयण प्रधान अङ्ग्रेजी साहित्यका रोमाण्टिक युगका कविहरू, तीमध्ये पनि, कवि बाइरनबाट प्रभावित छन् । बाइरनको तेजस्विता, विद्रोह र क्रान्तिकारिता हामी गोपीनारायण प्रधानको कवितामा पाउँछौँ । बाइरनले व्यवस्थाको विरोध गरे । इंगलैण्ड छोडे, ग्रीस आए औ ग्रीसवासीलाई जगाए । प्रधान पनि दार्जिलिङ छोडी पूर्वाञ्चल पसे अनि सम्पूर्ण जीवन जातीय जागरणमा लगाए । आधुनिक कवितामा रहने इलियटको नैराश्य र मानवजातिलाई चाहिएको चेतावनी पनि प्रधानका कविताहरूमा भिजेका छन्, यसको ज्वलन्त उदाहरण हो ‘आतङ्कवाद ः युगको अभिशाप’ ।

 नेपाली जातिले भाषा, साहित्य संस्कृतिको लागि सदैव सङ्घर्ष गरिरहनु परेको ठाउँ । असुरक्षाबोध र पराइपनको कुहिरो लागिरहने ठाउँ । सम्पूर्ण भारतीय नेपालीको लेखान्त त्यस्तै थियो । परिचय र अस्तित्वको अनन्त युद्ध चलेको ठाउँमा भाषासाहित्यमा लागिरहनु कम्ती कठिन कुरा होइन । त्यही कठिनाइसँग जुधेर साधना गर्ने प्रधानज्यूबारे अन्त्यमा डा. जीवन नामदुङले भनेका कुरा राख्न चाहन्छु ः ‘भित्रभित्र दुखेर बाहिरबाहिर हाँस्ने कवि प्रधानका कवितामा पाइने पूर्वाञ्चलको छटपटि, अशान्ति र अल्पसङ्ख्यकले झेल्नुपरेको असुरक्षित मानसिकता उहाँका कविताका अन्तरधारा हुन् । सुरक्षित ठाउँमा राष्ट्रिय स्तरका कवि बन्नु–बनाइनु सजिलो हुन्छ, तर असुरक्षित ठाउँबाट सामान्य कविसम्म बन्न पाउनु पनि धेरै उकालो हिँड्नुपर्ने हुन्छ ।’

प्रस्तुत सङ्ग्रहमा सत्रवटा कविता सङ्कलित छन् । तीमध्ये ‘आतङ्कवाद ः युगको अभिशाप’ र ‘जन्मथलोको सम्झना’ लामा रचना छन् । पहिलो कविता वर्तमान विश्वले खेपेको ठूलो महामारी–चित्र हो भने दोस्रो कविता आफ्नै जन्मथलो (दार्जीलिङस्थित नागरी)ेको सम्झनाचित्र हो । यसलाई समीक्षकले ‘मेरो प्यारो ओखलढुङ्गा’सँग तुलना गरेका छन् । बर्सौँ अघिको सम्झनाको भेल उर्लेर आउँदा उनी बोल्छन्—

अँखाभरि आउँछ नक्सा
चियाबारीले सजाएको
नागरी फार्मको
रमाइला डाँडा–काँडा
कलकलाउँदा चियाको झ्याङ
खुट्टामा अभिजालो टाँसिने
चियाबारीको ड्याङ

कविता अत्यन्तै शक्तिशाली पूर्वस्मृतिका तरङ्गले ढाकिएको छ । आज कवि टाढा, एक्ला, कमजोर असहाय हुँदै गरेको देखेँ किनकि आयु, बुढ्याईं र यसले उत्पन्न गर्ने नैराश्य र अवसादबाट कसैलाई मुक्ति छैन । तर गोपीनारायणले पूर्वाञ्चलको सुन्दर पर्वतबाट कीर्तिपताका फहराइरहेका छन्, उनी साँच्चै त्यहाँका एक लाइटहाउस् हुन् । त्यसैले उनी साहित्य सम्मेलन पुरस्कार, पद्मप्रसाद ढुङ्गाना पुरस्कार, रत्नश्री स्वर्णपदक, माइकल मधुसूदन सम्मानले विभूषित छन् । यस्ता व्यक्तिलाई मदन गुठी व्यायानमाला पुरस्कार प्रदान गरिनु दुवै देशको लागि गौरवको कुरा हो । त्यसैले होला बिदा हुने बेलामा उनी भावविभोर हुँदै बोलेका थिए— ‘कमल दीक्षितज्यूले पनि यो मेरो आवासमा पाइला टेक्नु भएको थियो, उहाँलाई मेरो सम्झना पु¥याइदिनु होला ल भाइ ।’ ‘हवस्,’ भन्दै हात जोडेर हामीले बिदा माग्यौँ । पूर्वाञ्चलका पारसमणिले हामीलाई बिदा गरे र प्रतीक्षारत विद्यार्थीहरूलाई भित्र बोलाए । 

           
२६, चैत्र ०६५
ट्याङ्लाफाँट, कीर्तिपुर

2 comments:

  1. A beautiful article by Prof.Govindraj Bhattarai on great poet and literary personality Gopinarayan. Because of this article I learn there are such great personalities who contribute for up gradation of Nepali literature and language. I am thankful to Prof. Bhattrai for introducing Purwanchal ka Parasmani to me who is compared to Lord Byron with reason. I am sure there are many such luminaries whom me and me like do not know and Prof. Bhattrai will keep informing us about them. This article was written on 26th Chaitra 065, and published in Garima as a memoir of the great poet and reappears on Jan 20,2012 again as a दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली. Poet and lover of Nepali literature Gopinarayan Pradhan was certainly a great man who spent his days in hardship and yet worked hard to promote Nepali literature and language throughout his life. His contribution must be a record respected by all and this is what Prof. GRB is doing.
    We should also appreciate the effort of Prof. Govindraj Bhattarai who is introducing us to such hidden stars. I would like to remember here, perhaps Kabir/Rahim,
    गुरु गोविन्द दोउ खडे काको लागु पाय
    गुरु बलिहरी आपनो गोविन्द दियो बताये

    l b

    ReplyDelete
  2. Respected LB sir
    I have no words to thank you
    Kindly forward this to deserving friends

    Regards
    GRB

    ReplyDelete