About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal
Showing posts with label नेपाली साहित्यको दोस्रो अन्तर्राष्ट्रिय महोत्सवमा बितेका दिनहरू. Show all posts
Showing posts with label नेपाली साहित्यको दोस्रो अन्तर्राष्ट्रिय महोत्सवमा बितेका दिनहरू. Show all posts

Sunday, January 8, 2012

नेपाली साहित्यको दोस्रो अन्तर्राष्ट्रिय महोत्सवमा बितेका दिनहरू


स्वदेशभन्दा टाढाका महादेशहरूले नेपाललाई निमन्त्रणा गर्न थालेका छन् । व्यक्तिले होइन, त्यहाँको पनि नेपाली साहित्यले वोलाउन थालेका छ । यसपालि बेलायतले बोलायो । यो निमन्त्रणा नेपाली साहित्यको र यसलाई  प्राण दिने नेपाली भाषाको थियो । त्यसमा सम्पूर्ण रूपले समर्पित बेलायती–नेपाली डायास्पोराको थियो । उनीहरूले अगस्त २७–२९ को महासम्मेलनको लागि लामो तयारी गरेका थिए ।

हामी उडेर लन्डन पुग्यौं र तीनदिन तीनरात त्यो महोत्सवमा वितायांै । त्यो महोत्सव थियो नेपाली साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन । कत्रो खुसीको कुरा हुँदो रहेछ, सात समुद्रपारी पनि नेपाली साहित्यको स्वरूप र प्रकृतिको कुरा; यसले नेपाली जातिको चिन्ता गरेको कुरा । हामीले पनि तिनै कुरा ग¥यौँ र नयाँ मुलुकमा कसरी यसको बीऊ रोपेर उमार्ने होला भन्ने विषयमा चिन्ता ग¥यौं, चिन्तन ग¥यौं र परिकल्पनाहरू पास गरेर छुट्टियौं ।
भर्खर भदौ लागेको बेला । अनुकूल मौसम र प्रकृतिमा टाढाटाढाबाट यो महोत्सवलाई सम्पन्न गराउन आउनेहरू थिए । अघिल्ला दुई दिन ह्यारोबरोस्थित फुटबल क्लवको हलमा, अन्तिम दिन इलिङको थेम्स एकेडेमीमा उद्घाटन र समापनका विषयमा बिते; अरू दुई दिन कार्यपत्र प्रस्तुति मन्थन, विचार, कविता, सांस्कृतिक कार्यक्रम र घोषणापत्र भए । यो अपूर्व सहाभागिताले सम्पन्न भएको कार्यक्रम एक अविस्मरणीय ऐतिहासिक उपलब्धी थियो । नेपाल राष्ट्रको निमित्त, नेपाली जातिको निमित्त यो एक कोशेढुङ्गा थियो । डायास्पोरिक नेपालीको लागि एक गौरवगाथा पनि ।
यसले मलाई अनेसासको प्रथम  सम्मेलनलाई पनि सम्झायो । दुई वर्षअघि यिनै दिनमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न सम्मेलनले डायास्पोरिक नेपाली भाषासाहित्य विषयक अन्तर्राष्ट्रिय सम्मेलनको  आरम्भ गरेको थियो । दोस्रो सम्मेलन बेलायतले जुराएर अर्को अमर इतिहास लेखाएको छ । अब यो यसै गरी अन्य भूभागमा सर्दै अनन्तसम्म चलिरहने छ ।
यी सम्मेलनका उल्लेख्य पक्ष के छन भने— दुवैपल्ट नारीस्रष्टाले संयोजकको भूमिका खेलेका छन् । अघिल्लोमा विदुषी भारती गौतम थिइन भने यसपल्ट स्रष्टा जया राई । नेपाली नारी स्रष्टाको यो हिम्मत, साहस र सफलताको कथाले अरू हजारौंलाई अवश्य प्रेरणा दिनेछ । नेपाली साहित्यले प्रेरित गर्दछ— तेस्रा चौथा महासम्मेलनहरू पनि यसरी नै सञ्चालित हउन् भन्ने हाम्रो कामना छ ।
यसपल्ट तीनदिने कार्यक्रम भएकाले प्रस्तुति विचार र विमर्श गर्र्न हामीलाई पर्याप्त समय मिल्यो । कार्यपत्रमा पनि विविधता थियो । नेपाली डायास्पोरामा उत्पादित नेपाली भाषा साहित्य र त्यसको समालोचना, बेलायती नेपाली डायास्पोरा र साहित्य, नेपाली आख्यानमा दिशा परिवर्तन र नेपाली  भाषा साहित्यको प्रवद्र्धनमा संस्कृत वाङ्मयको भूमिका जस्ता पत्र पढिए । बेलायतका चुनिएका  कवि स्रष्टाका रचना सुन्न पाइयो । स्वयम् डा. माइकल हटको नेपाली साहित्यमाथिको कार्यपत्र हाम्रो अनन्त यात्राको एक टर्निङ पोइन्ट थियो । यसकले देखाउँछ— नेपाली समाज स्थानीय बौद्धिकसित पनि सम्वन्ध गाँस्तै छ ।  
त्यसो त बेलायती–नेपाली डायास्पोराले आफ्नो साहित्यको विकाशमा तीब्र गति पक्रिएको छ । तीनवर्ष पहिले अघिल्लो पल्ट यहाँ आउँदा एउटा पुरानो नेपाली साहित्य विकास परिषद मात्र थियो । आज अरू दुईवटा शक्तिशाली संस्था उठेको देख्यौं— अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बेलायत च्याप्टर र  नेपाली प्रतिभा प्रतिष्ठान । यी दुवै नयाँ संस्थाहरू सशक्त भएर यहाँ उभिएका छन्, यी दुवैमा समय सचेतता छ र नयाँ चेतनाले युक्त स्रष्टाहरू थपिएका छन् । अझ विश्व नेपाली साहित्य महासङ्घले पनि त्यहाँ आफ्नो भविष्यको गोडमेल गर्दैछ ।
बेलायत च्याप्टरले देखायो, बर्षदिन भित्र एकदर्जन प्रकाशन आएका छन्— विकलचन्द्र आचार्यको बेलायती आँगनमा गोर्खाली सुवास । यो नयाँ पुस्ताले लेखेको  बेलायती संस्मरणको पहिलो प्रकाशन हो । जया राईको बेकर स्ट्रिटका दुई आँखा । यो नयाँ पुस्ताले लेखेको बेलायती नेपाली डायास्पोराको  प्रथम कथासङ्ग्रह हो । केदार सङ्केतको एथेन्सको झरी— यो बेलायती–नेपाली स्रष्टाले अनेक देशको भ्रमण अनुभवलाई छोएर लेखेको एक नवीन यात्रा निवन्धको सङ्ग्रह । गोपी प्रसाईको अझै रात ढलेको थिएन नयाँ चेतनाको डायास्पोरिक कविता सङ्ग्रह; रूपक श्रेष्ठको विगबेन र समय बेलायती सुवासलाई छोएर लेखिएका कविताहरूको एक नवीन सङ्ग्रह । लाराको एक नवीन शिल्प र सोच लिएर आएको कथा सङ्ग्रह छ पात्रहरूसँग एक साँझ । यसरी हेर्दा च्याप्टरका सवै सदस्य नेपाली साहित्यमा गहिरो अभिरूची र क्षमता भएका स्रष्टा देखेर हामीलाई हर्ष लाग्यो । त्यतिमात्र होइन, बेलायतभरिबाट एक वर्षभित्रमा कृति प्रकाशन गर्ने स्रष्टाहरू जोड्दा प्रकाशोन्मुख थप्ता दुई दर्जन पुग्नलागेको छ । यस प्रकाशन मालामा देवेन्द्र खेरेस, मुकेश राई, विजय हितान, काङमाङ नरेश, जगत नवोदित, टंक वनेम, गणेश राई, रक्ष राई, मिजास तेम्बे, रामकृष्ण सुनुवारहरू रहेका छन् । यतिखेर पुराना श्रष्टा ईश्वर मानन्धरको कृति पनि काठमाडौँमा सार्वजानिक भएको छ । यो सानो हर्षको कुरा होइन । यसप्रकारले अनेक स्रष्टा उठेर बेलायतमा नेपाली साहित्यलाई समृद्ध पार्न, यहींको मल माटो र  भावनासँग, जन्मभूमिको संझना र भावनासँग जोड्दै लेख्नेहरू रातोदिन थपिँदै छन्; त्यहाँ स्थापित साहित्यिक संस्थालहरू तिनै स्रष्टाबाट उर्जा प्राप्त गर्दै तिनैको सशक्तिकरणमा समर्पित छन् । शरद अधिकारीको विदेशमा नेपाली २०११ ले पनि त्यस्ता अनेक सफलताका कथा प्रकाशनमा ल्याएको छ
बेलायतमा नेपालीको उपस्थितिलाई अरू अनेक समुदायलाईझैँ यहाँको सरकारले ससम्मान स्वीकारेको छ  । उनीहरूका राजनीतिक कानूनी अधिकार सुनिश्चित छन् तर सांस्कृतिक रूपले आफ्नो परिचयको स्थापना गर्नु नेपाली–बेलायतीको आफ्नै भूमिकामा भर पर्दछ । यहाँ अन्यत्रभन्दा सशक्त रूपले नेपालीहरू उठेका र लागेका देखेँ । यो डायास्पोरिक समुदाय भनेको एउटा राज्यभित्र बस्ने अनेक अल्पसंख्यक वञ्चित अथवा किनारिएकाको समुदाय जस्तै हो । वर्तमान विश्वको प्रत्येक राष्ट्र यस्ता अनेक समुदायको योगले निर्मित छ । प्रत्येक राष्ट्र एक बहुराष्ट्रिय कम्पनी भएको छ, यसले वहुल स्वरको चेतनाको कर्म, संस्कृति एवम् साहित्यको संरक्षक हुनु परेको छ । प्रत्येक राष्ट्रले त्यस्ता समुदायको जीवन सुनिश्चित गर्ने र वँचाइलाई सहज पार्ने प्रयत्न गरिरहेको हुन्छ । प्रत्येक राष्ट्रले आफ्नो भूमिभित्र अन्यहरूको नयाँ वियाड राखिरहन्छ— भाषाको, संस्कृतिको, साहित्यको, धर्म इतिहासको पनि । बेलायतमा नेपालीत्व पनि हुर्केर पलाउन थालको छ । फुल्न फल्न अलिक समय लाग्छ होला ।
हामीले यिनै कुरा सिद्धान्तबाट  बोल्यौं, उनीहरूले यिनै कुरालाई अनुभवबाट बताए । यिनै कुरामा सहकार्य गर्न अमेरिकादेखि होम सुवेदी आए, फ्रान्सदेखि हरिहर अर्याल, बेल्जियमदेखि कृष्ण बजगाईँ, क्यानडादेखि गोकुल भण्डारी यता नेपालदेखि नौजनाको टोली पुग्यो— गोविन्दराज भट्टराई, प्रदीप नेपाल, सुषमा आचार्य, शर्मिला खड्का–दाहाल, गीता रेग्मी, डम्बर गिरी, अस्मिता भण्डारी... ।  नेपाली साहित्यको प्रेमले एउटा महोत्सवमा भागलिन त्यहाँसम्म जानु सानो कुरा थिएन । सम्मेलनले अनेक निष्कर्ष निकालेर आगामि दिनको लागि सात बुँदे घोषणापत्र जारी ग¥यो ।  जो निम्नानुसार छः

१.    ‘डायास्पोरा’ लाई नेपाली भाषामा आगन्तुक शव्दको रूपमा लिई शव्दकोशमा यसको प्रबिष्टी गराउने ।
२.    नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बिबिध प्रकारका प्रयत्न गर्ने । यसका उद्देश्य प्राप्तिका लागि निम्न बमोजिमका कार्यहरू गर्नेः
२.क.    हरेक नेपाली डायास्पोराले त्यस देशका श्रष्टाहरूसँग सम्पर्क  बढाई साहित्यिक आदान प्रदान गर्ने ।
२.ख.    सम्बन्धित देशका विद्यालय, विश्वविद्यालय, पुस्तकालय तथा साहित्यिक संस्थाहरू, संचार माध्यमहरूसँग सम्बन्ध स्थापित गर्न प्रयत्न गर्ने ।
२.ग.    नेपाली भाषा पठनपाठनको निमित्त स्थानीय निकायसँग  सम्बन्ध बढाउने ।
२.घ.    हरेक डायास्पोरामा नेपाली भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र त्यसको निरन्तरको लागि  उपयोगी पाठ्यसामाग्रीहरू (दृश्य, श्रब्य र  छपा) को निर्माण गर्ने ।
२.ङ.    नेपाली साहित्य–सिर्जनाका अभिबृद्धिका लागि हरेक नेपाली डायास्पोराले अनुवादको माध्यमलाई प्रोत्साहन गर्ने ।
२.च.    सम्बन्धित देशका नेपाल विषयमा अध्ययन अनुसन्धान गर्ने विद्वान तथा विदुषीहरूको पहिचान गरी वहाँहरूको कार्यलाई उभिलेख गर्ने, प्रोत्साहित गर्ने र सम्मान गर्ने ।
२.छ.    नेपाल प्रज्ञाप्रतिष्ठान एवम् नेपाली विश्वविद्यालयसँग डायास्पोरा विषयक अध्ययन अनुसन्धानलाई अघि बढाउन सहकार्य गर्ने ।
३.    आगामी सम्मेलनहरूको निमित्त कार्यपत्रका विधाहरूको विस्तार गर्दै यथासमयमा प्रस्तुत हुने विषय तथा शीर्षकहरूको  सुनिश्चित गर्ने ।
४.    विश्वकै जननी भाषा तथा पूर्वीय सभ्यताको सम्बाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने ।
५.    विविध भाषा र संस्कृतिबीच अन्तर–सम्बन्ध स्थापना गरी समन्वय र सहअस्तित्वको स्थापनाको लागि प्रयत्न गर्ने ।
६.    अनेसास केन्द्रले विविध डायास्पोरामा आयोजित कार्यक्रमप्रति आफ्नो भूमिका र उत्तरदायित्वलाई स्पष्ट भरिभाषित गरी अन्तरसम्बन्धलाई सुदृढ गर्न गम्भीरताका साथ लिने ।
७.    अन्तर्राष्ट्रिय जगत्मा फैलिएका अनेक नेपाली डायास्पोरा केन्द्र र ती केन्द्रसँग सम्बद्ध स्रष्टा, सृजना र संस्थाहरू विषयको संक्षिप्त जानकारी मूलक विश्व नेपाली साहित्यको डाईरेक्टरी निर्माण तर्फ विशेष पहल गर्ने ।
त्यसपछि नेपाली भाषा साहित्यका अरू संस्थासँग पनि मेरो भेट सम्पर्क भयो । अरू केही साहित्यिक यात्रा गरें, भाग लिएँ, अङ्ग्रेजी साहित्यकारका, कलाका सङ्ग्रहालय घुमेँ, अध्ययन गरेँ ।  मेरो निम्ति  बेलायत सबै साहित्यमय भयो त्यस अन्तर्गत भएका दुइवटा कार्यक्रम निकै महङ्खवपूर्ण रहेका छन् ।
पहिलो उल्लेख्य कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान युकेको थियो । यूकेमा अत्यन्तै सक्रिय र वैचारिक रूपले सचेत भएर लागेको प्रतिभा प्रतिष्ठान । यसका अध्यक्ष रक्ष राई वेल्सदेखि झरे, अरू पदाधिकारीहरू गणेश राई, जगत नवोदित, अरू उत्तरी भूमिबाट झरे, मिजास तेम्बे जर्मनीदेखि । त्यहीं सक्रिय रहेका विजय हितान, देवेन्द्र खेरेस, काङमाङ नरेश— एउटा ठूलो शक्तिशाली समूह दक्षिणी बेलायतको फोक्स्टनमा भेला भएर त्यहाँ दुईदिन दुईरात साहित्यिक जमघट ग¥यौँ ।
यस भेलाले पनि वेलायती नेपालीद्वारा गरिएको नेपाली वाङमयको  समुन्नितको चिन्ता र सो प्राप्तिको लागि  गरिएका प्रयत्नको प्रतिनिधित्व गर्दछ । नेपाली प्रतिभा प्रतिष्ठानका सबै सदस्य अत्यन्तै समर्पित श्रष्टा छन् । यस प्रतिष्ठानले अनेक महŒवपूर्ण कृति प्रकाशित गरेको छ÷गर्दैछ । प्रत्येक वर्ष नेपालमा आएर एउटा स्तरीय साहित्यिक पुरस्कार प्रदान गर्दछ । सम्मान अर्पण गर्दछ । गतवर्ष कवि उपेन्द्र सुब्बालाई रु. एकलाखको पुरस्कार अर्पण गरियो । यो वर्ष फोकस्टनको भेलाले कवि श्रवण मुकारुङलाई सो पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको छ । यो सानो कुरा थिएन । अझ त्योभन्दा महङ्खवपूर्ण कुरा ता यो संस्था बेलायतमा नेपाली भाषाको पठनपाठन कसरी आरंभ गर्ने भन्ने चिन्तामा समर्पित छ । नेपाली भाषालाई यहाँ स्थापित गर्न नसके आउने बेलायती–नेपाली पुस्ता निरक्षर हुनेछ,  उनीहरू ठूलो सांस्कृतिक भाषिक समुदायबाटैै काटिनेछन्; नेपाली संस्कृतिको संचरण तथा प्रवाह त्यतातिर रोकिने छ र ओझेलमा परेर उनीहरू नेपाली पुस्तक पढ्न असमर्थ हुनेछन्  परिणामस्वरूप उनीहरूको स्थिति आजका भूटानी–नेपाली नाागरिको जस्तो अथवा बर्मेली–नेपालीको जस्तो हुनेछ । पारिवारिक परिवेशले बोल्ने शिप सिके पनि नेपालमा गएर बेलायती शिक्षाको ज्ञानले केही सेवा गरौँ भन्दा उनीहरू असमर्थ हुनेछन् ।  यस पक्षमाथि  गम्भीर विचार गर्दा नेपाली प्रतिभा प्रतिष्ठान युकेले जसरी पनि यहाँ औपचारिक शिक्षालयमा नेपाली भाषाको पठनपाठन गराउने निर्णय लिएको छ । फोक्स्टन, फार्नबरो, अल्डरसोट, वेम्ली, जस्ता  अनेक ठाउँमा संचालित विद्यालयहरूमा यहाँको सरकारले तोकेको प्रावधान अनुकूल नेपालीको सङ्ख्या पनि पुगेको होला, हामी प्रयत्न गर्नेछौँ । यसरी पाठ्यक्रममा नेपाली समावेश गराइने मार्गका प्रक्रिया के हुन्, अन्य पञ्जावी, बंगाली, तामिल भाषको स्थिति हरेर अवरोध वा चुनौति के छन्— तीबारे लामो विमर्श ग¥यौँ ।
एउटा कार्यसमिति पनि छ, पत्रकार चण्डीराज राईले नेतृत्व गरेका छन् अझै विविध कारणले त्यो सक्रिय हुन सकेको छैन । कति बावुआमा आफ्ना नानीहरूले अङ्ग्रेजी सिकेर नेपाली भूलेकोमा हर्षित छन तर यसको परिणामस्वरूप  उनीहरू भविष्यमा कसरी अनेपाली हुनेछन् भन्ने डरलाग्दो कुराप्रति शायद उनीहरू अनभिज्ञ होलान् ।
सम्वन्धित निकायसम्म पुग्ने आवेदन प्रस्तावनाको प्रारम्भिक स्वरूप बनायौँ र साहित्यतिर लाग्यौं । यो दिनको निर्णयले बेलायती–नेपालीको निमित्त सभ्यताको अन्तिम दिनसम्म नेपालीपन बचाउने प्रयत्न गर्नेछ । अर्काे दिन प्रतिष्ठानले साहित्यिक कार्यक्रम  बनायो । त्यसमा चुनिएका कविता वाचन भए, समकालीन नेपाली साहित्यका चर्चा भए, बेलायती नेपाली डायास्पोरा, यसको वर्तमान र भविष्य यात्राबारे बात बिमर्श भए ।
त्यसपछि फ्रान्सको भ्रमणमा जाने योग प¥यो । फ्रान्समा लामो समयदेखि बसोबास गरिरहेको श्री हरिहर अर्यालको सौजन्यले त्यहाँ पुगेँ । उहाँकै  सौजन्यले बसेँ, घुमेँ । वास्तवमा लैनिसिंह वाङ्देलको मुलुक बाहिर मले प्रेरित भएर त्यहाँ  पुगेको थिएँ । त्यहाँ केही ऐतिहासिक स्थलको र खासगरी कलाका  म्युजियमहरूको भ्रमण गर्ने अवसर जुटाएँ, आधुनिक कला, इम्प्रेसनिजम्, रोदाँको म्युजियमहरू एकसर्काे पढेँ । यो भोल्तेअर तथा भिक्टर ह्युगोको देशमा थिएँ— स्टेन्डालकोमा पुग्ने मन थियो । प्रिय बाल्जाक रोडमै बसेको निर्मल भाइकोमा । फ्लुबेर वा इमिली जोलालाई भेट्ने कत्रो रहर थियो । मार्सल प्राउष्ट र अल्बेअर कामुको म कत्रो प्रशंसक हुँ । भर्खरै यहाँ कामुको पराइ (अनुवाद भीष्म काफ्ले) निर्मोचन गरेर हिँडेको हुँ । तर समय पुगेन कसैकोमा पुग्न सकिन । अधूरा इच्छा सँगै फिरेँ ।
कलासाहित्यको एक अनन्य भूमिबारे बुझ्न लामो समय र साधनाको आवश्यकता हुन्छ । भविष्यलाई धेरै बाँकी राखेर विदा मागेँ । फर्की आउँदा फेरि बेलायतको अर्काे पुरानो साहित्यिक संस्था यतिको प्रशाखा नेपाली साहित्य विकास परिषदले पनि साहित्यिक भेटघाटको योग पारेको थियो । त्यसमा भाग लिने अवसरले मलाई अरू ज्ञान प्रदान ग¥यो । यसरी यसपल्टको बेलायती भ्रमण साहित्य भाषा र संस्कृतिको चिन्तनमा समर्पित थियो । त्यहाँ डा राघव धिताल जस्ता विशिष्ट व्यक्तित्व थिए । सुरेशजंग शाहले संयोजन गरेको यस भेटघाटमा धेरै समय वार्ता र छलफल ग¥यौँ उनीहरूसँग बेलायतमा नेपाली भाषा साहित्य, संस्कृति, सङ्गीत कला विविध विषयमा स्थापनाकालदेखि संघर्ष गरेको लामो अनुभव थियो । तिनै कुरा आदानप्रदान गरी बेलायतमा नपाली भाषासाहित्यको चिन्ता गर्दै रात गाढा भएपछि हामी छुट्टियौँ । एक अभियन्ता हरिसिंह थापा र अर्का ईश्वर मानन्धर नेपाल गएका थिए ।

(नेपाल प्रज्ञा प्रतिष्ठानको त्रैमासिक गद्यप्रधान प्रकाशन समकालीन साहित्य साउन–भदौ–असोज २०६८, अङ्क ३, पूर्णाङ्क ६५ मा प्रकाशित रचना, प्रधान सम्पादक— भाउपन्थी)