जन्मसँगै मृत्युको आगमन हुन्छ । मृत्युसँग फेरि जन्म जोडिएको हुन्छ ? धेरैले जन्म र मृत्युलाई निरन्तर, अनन्त प्रक्रिया भनेका छन् । यसरी जन्म र मृत्यु जोडिएको हुन्छ भने जीवनका सबै वत्ती निभाएर लगिसकेपछि ती बत्ती फेरि कसले कहाँ बालिदेला । यो एक रहस्य छ । मृत्युको विषयमा पूर्व पश्चिम दुबैले धर्म दर्शन सबैले बेग्लाबेग्लै अनुमान गरेका छन् यद्यपि त्यहाँ अन्तिम निष्कर्ष नभए झैँ एकमत पनि छैन । बुद्ध हिन्दू क्रिश्चियन सबै धर्ममा पुनर्जन्म छ तर अलि फरक स्वरूपको । मृत्युको बारेमा अनेक दार्शनिक, चिन्तक, भविष्यद्रष्टाले बोलेका छन् तर मृत्यु भोग्न जानेले फर्केर आउने ढोका बन्द भइसकेको हुनेहुनाले तिनीहरूका भनाई र व्याख्या भिन्न भिन्न छन् । जन्म मृत्यु, शरीर, आत्मा, पुनरजन्मबारेमा पूर्वीय धर्म दर्शनले भनेको कुरा संसारले भन्न सकेको छैन त्यसैले पूर्वको प्रशंसा गर्दै पश्चिम पनि पूर्वीय धारणामै अन्तिम विश्वास राख्दछ ।
जर्ज बर्नार्ड शाले आफ्नो समयकी महान् विदुषी मानेकी एनी बेसन्ट (१८४७–१९३३) ले भनेकी छन्— चालीस वर्षसम्म विश्वका महान् धर्महरूको अध्ययन पश्चात् मलाई विश्वास भएको छ यो विश्वमा हिन्दू धर्म जत्तिको पूर्ण, यति वैज्ञानिक, यति दार्शनिक र यति आध्यात्मिक कुनै अन्य धर्म फेला पारिन ।
हिन्दू धर्मले ता सधैँ भन्दै आएको छ— जातस्य हि ध्रुबोः मृत्यु ध्रुवम् जन्म मृतश्य चः अर्थात् सबै जन्मेकाको मृत्यु र मरेकाको जन्म निश्चित छ ।
तर विश्वका अनन्त स्रष्टा चिन्तक दार्शनिक फेरि पनि सधैँ मृत्यु चिन्तनमा छन्, मृत्युबोधको अनुमान गर्दछन्, कल्पना गर्दछन्, साधना शक्तिद्वारा त्यस अनुभूतिको छेउमा पुग्ने प्रयत्न गर्दछन् । त्यसलाई विभिन्न शास्त्रमा प्रकट गरेका पनि छन् ।
आ–आफ्ना धर्म र दर्शनमा जे भनिएता पनि स्रष्टा र विचारकहरूले मृत्युलाई अगम्य, उच्च, हितकर, अन्तिम गन्तव्य ठानेका छन् । कसैले मृत्युलाई व्यङ्ग्य गरेका छन् । ग्रिसेली एपिक्युरिअसले भनेका छन्— मानिस सम्पूर्ण दुर्दशामा पनि सबैभन्दा भयावह चाहिँ मृत्यु ठान्छन् तर त्यो केही पनि होइन किनकि हामी बाँचुन्जेल मृत्युको अस्तित्व हुँदैन र मृत्यु आइसकेपछि हाम्रो अस्तित्व हुँदैन । यो एक प्रकारको ठट्टा हो तर मृत्युपूर्व यो जीवन अब के होला भन्ने चिन्ता र मृत्युपश्चात् आफन्तजनमा उत्पन्न हुने शोक र निराशा भयप्रद कुरा हुन्छन् । हिन्दू शास्त्रले ती व्यर्थ छन् र अल्टिमेट होइनन्; मृत्युपछिको जीवन छ वा जीवन मृत्युको निरन्तरता छ भनेको छ बारम्बार तर पनि यो शोक, माया, स्नेह, प्रेम र वितेर जानेप्रतिको श्रद्धा निरन्तर हुने रहेछ । शास्त्रले नथाम्ने रहेछ । त्यसैले विश्वमा दिवंगतलाई सम्झाइरहने अनेक स्मारक, भवन, पूण्य कर्म, पुरस्कार, स्मृतिमा अनेक कर्म गर्दछन् । सृष्टि सकियो भने मात्र ती पनि व्यर्थ होलान् सृष्टिको पनि आयु सीमितै होला तर त्यस्तो कृष्णविवरको हामी कल्पना गर्दैनौँ । हामीलाई वर्तमानले र यसलाई निर्माण गर्ने हाम्रा सम्बन्धहरूले अल्झाइरहन्छ । यस्ता कुरा व्यर्थ हुन् भनी हाम्रा गीताले, उपनिषदहरूले, बौद्ध ग्रन्थले बताइरहेका छन् । गीताले शरीर परिवर्तनलाई पुराना पात झरेर नयाँ आउन पर्खेझैँ अझ पुराना बस्त्र बदलेर नयाँ धारण गरेझैँ वासांसि जीर्णानी यथा विहाय नन्यानि सन्याति नरोपराणी भनेको छ । त्यसैगरी बौद्ध धर्मले पनि भन्छ— मृत्यु जीवनको अन्त्य होइन; यो केवल यो जीवनमा बास बस्ने त्यो शरीरको मात्र अन्त्य हो ।
हाम्रा अधिकांश कर्म, सोच र चिन्तन मृत्युबाट तर्कने, धेरै बाँच्ने, जगत्को आनन्द लिने जस्ता इच्छामा केन्द्रित हुन्छन् । वरिपरि मृत्यु प्रत्येकपल देख्ता पनि लाग्छ— ममा त्यो आउँदैन होला । त्यसैले अर्कातिर हामी अनन्तता सम्झेर बाँच्न खोज्छौँ । त्यो स्थिति हास्यास्पद छ । यी सारा अस्पताल, औषधीविज्ञान, आयुर्वेदशास्त्र, योग, धर्मकर्म र अन्य कुरा मृत्युलाई तर्काउन सकिन्छ कि भन्ने चिन्ता हुन् । यो देखेर मौरिस म्याटरलिङ्कले भनेका छन्— हाम्रा समस्त ज्ञानले हामीलाई पशुप्राणीकोभन्दा धेरै नै दुःखपूर्ण मृत्युवरण गर्न सिकाउँछ किनकि उनीहरूलाई केही थाहा छैन । यसरी मृत्यु भनेको हाम्रो चेतना नै रहेछ ।
पूर्वमा जन्म मृत्युको निरन्तर चलिरहने चक्रमा विश्वास गरिएझैँ रोमन दार्शनिक सिनेकाले पनि भनेका छन्— हामीले जुन दिनलाई हाम्रो अन्तिम ठान्दछौँ त्यो ता अनन्तताको आरम्भ हो । यही कुरा पूर्वीय दर्शनको पनि आत्मा हो ।
हाम्रो समयका एक महानतम् एस्ट्रोफिजिसिस्ट कार्ल सैगेनले जीवनभरको अध्ययन पश्चात् निचोडमा भनेका छन्— हिन्दू मत ब्रह्माण्ड स्वयम्कै अनन्तकालसम्म अनेक मृत्यु र पुनरजन्मको चक्रमा चलिरहन्छ भन्ने विश्वासमा आधारित विश्वकै महानतम् धर्म हो । आधुनिक वैज्ञानिक स्वरूपको ब्रह्माण्डविज्ञानले काल गणनासित मिल्ने विश्वको एकमात्र धर्म हो ।
मृत्यु सम्बन्धी अनेक उक्ति र भनाई बेग्लाबेग्लै सत्य पनि लाग्दछन् ः
थकित व्यक्तिको लागि एउटा आनन्दकर लुक्ने ठाउँको नाम हो मृत्यु । – हिरोडोटस
मृत्यु यस्तो एउटा ऋण हो जो हामी सबैले तिर्नै पर्छ । – युरिपिडिज
यी दार्शनिकहरूको आत्माको चक्र र त्यसको निन्तरताको बारेमा विश्वास गरेका छन् । तर यीभन्दा विपरीत आइन्सटाइनको धारणा छ । उनको धारणामा निरन्तर चक्र त छ तर भौतिक रुवरूपको उनले भनेका छन्— जीवन भनेको निरन्तरता हो तर अदृश्य आत्माको होइन त्यो; शरीरको निरन्तरता हो । हाम्रा सन्तानहरू नै हामी हौँ ।
क्रिस्तान धर्मले बारम्बार भन्छ— ईश्वरको सामीप्यको आनन्दको निमित्त मृत्यु आवश्यक छ किनकि ईश्वरका सन्तानको लागि मृत्यु हानीरहीत छ । बुद्ध धर्मले भन्छ—यो प्राकृतिक प्रक्रिया हो केवल । यसको अनित्यता नै सत्य छ, तर यो जीवनको अन्त्य होइन (शरीरको मात्र हो); आत्माको निरन्तरता छ ।
भौतिक रूपले हेर्दा युजिन आयानेस्कोले भनेझैँ यस ब्रह्माण्डमा जीवितभन्दा मृतकहरूनै ज्यादा छन् । त्यसैले मृत्युविरुद्ध उभिन सकिँदैन, त्यसरी उभिनु सम्भव पनि छैन । हामी आफ्नै उपचारको विरुद्धमा छौँ किनकि मृत्यु सबै रोगको उपचार हो ।
अब म मानव जीवनको यो विश्वमा कुन स्थान छ, त्यसबारे अरू दुइवटा भनाइ राखेर रोकिन चाहन्छु । सर्वप्रथम विलियम शेक्सपियरले आफ्नो नाटक एज यु लाइक इटमा भनेका छन्—
यो सारा संसार एक रङ्गमञ्च हो
अनि सारा नरनारी केवल अभिनेता
तिनीहरूको प्रवेश हुन्छ र वहिर्गमन हुन्छ
प्रत्येकले अनेक भूमिका खेल्छ
उसले सातवटा आयुमा अभिनय पूरा गर्छ ।
त्यसैगरी अन्त्यमा म एड्विन लिबफ्रिडको एक कवितांशलाई यहाँ उद्घृत गरेर रोकिन चाहन्छु ः
मृत्यु जीवन यात्राको एक विसौनी हो
कपडा फेरेझैँ, पुरानो फुकालेझैँ
नजन्मेकोतिर एउटा जन्म फेरि
जहाँ अन्त्य गरिएको थियो त्यहीँबाट एक प्रारम्भ
जहाँ थकाइ मार्न बिसाएका थियौँ त्यहीँबाट फेरि सुरु
अनन्तताको एउटा चौबाटो
केही त्याग गरेर सम्पूर्ण प्राप्ति गर्ने
अवास्तविकको अन्त्य, वास्तविकको आरम्भ ।
यसरी हामीलाई एक अति प्राचीन र प्रामाणिक धर्मले ब्रह्माण्डकै पुनरजन्म देखाउँछ भने पछि हामी मानिस त्यसकै अंश हौँ, हामी पनि त्यसैगरी घुमिरहन्छौँ ।
अन्त्यमा गान्धीबचनबाट रोकिन चाहन्छु ः
जसरी जन्मेपछिको समय क्रमिक विकासक्रम हो, त्यसरी नै मृत्यु पनि अनन्त सत्य र एउटा क्रान्ति हो । मानव अभिवृद्धिका लागि मृत्यु पनि जीवनजतिकै अपरिहार्य छ — महात्मा गान्धी ।
१८ चैत्र २०६७
ट्याङ्लाफाँट, कीर्तिपुर