मङ्सीरको पहिलो दिन, खाँदवारीमा झलमल्ल घाम लाग्यो । अरुणपारिदेखिको चिसो सिरेटोले छुँदाछुँदै हामी पोखरी बजारमा भेला भएर बिस्तारै उकालियौँ । धुलो बाटोमा कतै हिलो बाटोमा कतै गाडी पछि सर्न खोज्थ्यो तर नयाँ उत्साहसाथ माथिमाथि चढदै गयौँ । त्यहाँ डोजरले तछारेका कान्लाहरू मास्तिर बारीमा कोदो झपक्क छ, कत्रो ठूलो अम्बाको बोट फलिरहेको, भोगटेमा पनि फर्सि पाकेर तन्किरहेको, सुन्तला पहेँलिन मात्रै थालेका, टाँकी फुलेर सेतै, यो अर्को संसारमा धानबारी मुन्तिरको जङ्गलमा पैयूँ फुलिरहेको— कति रमाइलो आज ! पैयूँको रूखै गुलाबी; यस्तो बेलामा फुल्दोरहेछ नि ?
बाटाका प्राचीन घरगोठहरू हेर्दछु— कतिपय छाना खरका, चुलाको धुवाँले गारामाथि चढेर गरेका कलाकर्महरू, दैला र सिकुवा, एउटा राडी विछ्याएको खाट एकछिन बिसाउने हो कि ! यी पुराना, शेक्सपियरका कटेजहरू थुप्रै अप्रदूषित बाँसघारीमाथि, कोदाबारीमुनि, भैँसीगोठ पर्तिर तरुलका लहरा बटारिएका— खन्ने बेला भयो कि ?
धराप छ बाटो— ढुङ्गा उत्तानो परेर, तेर्छिएका, घोप्टिएका, गिटीभन्दा ठूला तिखे, दर्सिन, फोस्के । मोटर बुरुक्कै उचालिन्छ र भ्वाक्कै पछारिन्छ, कोल्टिन्छ, हल्लिन्छ, थतर्किन्छ, नाचेझैँ पनि गर्छ, साँघुरो च्यापबाट कतैकतै खेतको बीचबाट कताकतिका खोल्सेनी नाघ्दै । तलको माल्टा देखियो, हरियो । के त्यो ज्यू अब माल्टाको माल्टा हो ? क्रिस्टोफर मार्लाेलाई नै सोध्न मन थियो— कसरी तिमीले सङ्खुवासभाको माल्टा भूमध्यसागरमा पु¥यायौ, हे मार्लो ! ै दिङ्ला, चन्दनपुर, मादी, धूपू नजर घुमाउँदै हाम्रो जब्बर महिन्द्रा डाँडाको टुप्पैमा पुग्यो । यता फर्केर हेर्दा लामो गालो खाँदबारी शिरमा राखेर धान पाकिरहेको, कतै उठाउँदै । उता तल अरूणपारिको भोजपुर लमतन्न रहेको । अनेक तरेली डाँडा आआफ्नै नाम लिएर सुतिरहेका ।
छ्याङ्कुटी पुगेर बिसायौँ । यो भेडेटारभन्दा उचाइमा हुनुपर्छ यो छ्याङ् बेच्ने कुटी, तर त्यस्तो केही थिएन । राँकेभन्दा माथिको रक्से जतिको होला । माथि हरियै जङ्गलले ढाकेको लहरीखर्क, अर्को गालो दिदिङ् । कति सुन्दर, रसिलो र आकर्षक गाउँ; यता लेलेको झल्को मेटाउने कत्रा खेती र बस्तीहरू । छ्याङ्कुटीबाट छ्याङ्गै देखिने मकालु शृङ्खला, हिउँलाई छोएर चल्ने चिसो बतास ।
त्यहाँबाट हाम्रो बाटो अब एक अगम्य प्रदेशतिर मोडियो । एक अँध्यारो कालो जङ्गलभित्र पस्यो । उत्तीसघारी आयो, चाँप र गुराँस भरिए । यतिखेर चाँप फुल्ने छैन, गुराँस फुल्ने छैन, ती हरिया पातमा छन्, धेरै तल पैयूँ फुलेका पाटाहरू छुटिसके । यो प्राचीन जङ्गल, सृष्टिजतिकै पुरानो हुनुपर्छ । भित्रभित्र जमीन ढाकेर अलँैचीको बोट छपक्क हरियै नुहेका पात, भर्खर गोडिएर बसेका । बाटामुनि अलैँची, बाटामाथि अलैँची, अलैँची नै अलौँची, हरियै— यो चिचिलाको पातल जति भित्र पस्यो त्यति एउटा गहिरो अगम्य दहमा पसेजस्तो । ओसिलो जमीन छ, चिप्लो फुस्रो माटो, कतै पानी छिपछिपे, ट्याक्टरका डोबले गरा पारेको, काला खोल्सा, फुत्त भालु निस्केर नाच्ला जस्तो— कसले रोप्यो होला यसरी दिनभरि हिँड्दा नसकिने पातलभित्र अलैँची, इलाममा भन्दा धेरै । माथि पातलको छानोले छेकेर घाम देखिँदैन, तल अलैँचीले ढाकेर भुईं देखिँदैन । रबर्ट फ्रस्टले द उड्स् आर लभ्लि डार्क एन्ड डीप भनेको जङ्गल यही थियो कि चिचिलाको पातल ? रूखतिर हेर्छु— ससाना तिघ्रामा भ्याङ्ले सुरुवाल भिरेझै, फेददेखि टुप्पैसम्म बोक्रो नदेखिने गरी झ्याउले ढयाप्पै टालिएका छन् खासाको हरियो भुत्ले कम्बल बेरेजस्तो । उभिएका कट्टुस होलान्, चाँप, गुराँस यस्तै होलान् । सोत्तर झोडी र अन्य बुट्यान पनि उम्लिरहेकै छन् । खोल्सापारीबाट टिर्लिङ्टिर्लिङ घण्टी बजाउँदै खच्चरको ताँती, बोराभरि अलैँची बोकेर बजार झरेका एक सुरमा, एक गतिमा; यताबाट अर्को ताँती भारी बोकेर गाउँ हिँडेका— हामी एकछिन रोकिन्छौँ । इन्द्रले आज यो अत्यन्तै कच्ची, जङ्गली मार्गमा यन्त्रलाई दाउँदैछन्, अब छिट्टै यहाँबाट यी सारा खच्चर गधा घोडा विस्थापित हुनेछन्; ढाकर तोक्मा सँगै जानेछन् ।
निकैबेरपछि जङ्गल सकियो र उदाङ्गो डाँडो आइपुग्यो । सस्याना बुट्यान र ऐँसेलु घारी, नागी जस्तो— धेरै टाढाबाट मकालुले नित्य हेरिरहेको । ‘यहाँ एकछिन विसाऔँ सर’, कुबेरले प्रस्ताव गरे । चिचिलाको डरलाग्दो पातल काटेर अर्कै उदात्त भूमिमा टेक्ता मन पनि अर्कै भएको थियो । चराको आवाज अर्कै, वतास अर्कै, झोडीभित्रका वनफूलको रङ्ग अर्कै, यो भन्ज्याङमा बिसाएर दुवैतिरको अनन्त बिस्तृति, कालिमा र अगम्य प्रकृतिलाई हेर्ने रहर उठ्यो । हामी सबै ओर्लियौँ.।
नजिकमा तीनचारवटा छाप्रा थिए । बाक्ला ज्याकेट लगाएका नरनारी देखिए; पछिपछि राता गाला गरेका केटाकेटी पनि थिए । छेउमा उभिएको एउटा प्रौढोन्मुखलाई कुबेरले सोधे— वीरबहादुर दाइ, त्यो घटना कहाँनेर भएको थियो ? पातला दारी, घुर्मैला बस्त्रमा पचास पचपन्नको जीउ होला, वीरबहादुरले औँल्याए, ‘ऊ त्यहाँनेरि ।’ हामी कुनै नौला र विशेष हौँ कि भन्ठानेर शायद दशपन्ध्र जना त्यहाँ भेला भए । अर्को अधबैँसे हाम्रो नजिक आएर बूढिँऔलाले भुईं कोट्याउँदै भन्यो— ‘होइन काम्रेड यहाँनेरि पो त । यहीँनेर रातै थियो रगत पोखिएको ।
म झसङ्ग भएँ । आज कस्तो रहस्यमय कुरा भइरहेछ ! कसको रगत हो ? कसरी यो अनकन्टार प्रदेशको निर्जन बाटोमा पोखिएको । त्यो वक्ताले यसरी प्रस्तुत ग¥यो मानौँ त्यो चिल्लो, पटपटी फुटेको चिम्टे माटोमा अझै रगत टल्किरहेको छ ।
के कुरा हो त्यस्तो वीरबहादुर दाइ ? मैले पनि जिज्ञासा राखेँ ।
एकजना बैनी मारिएको, माओवादी मिलिसिया ।
तिनी को थिइन् ?
‘सीमा भन्छ पार्टिको नाउँले उसको नाउँ ता थाहा छैन । तेरथुमको केटी हो ।’ पर्तिर मूढाका फलैँचा थिए; त्यहाँ ढाकर बिसाउनेहरू थिए । हाम्रा वरिपरि ती पनि थपिए । दोकानबाट काम छोडेर अरू महिला र रातागाले नानीहरू पनि जम्मा भए । पच्चीसतीस पुग्यौँ ।
‘कसरी त्यस्तो हुन गयो ?’
आर्मीहरू चिचिलाको पातलबाट यता आइरहेका थिए; माओवादीहरू कुवापानीतिरबाट । उनीहरूलाई आर्मी आउँदैछ भन्ने पत्तो भएन । यहाँ दुवैको जम्काभेट हुनासाथ ड्याम्मै गोली पड्कियो । अरू भागेर तल र माथि झोडिभित्र, वर र पर कहाँ पुग्यो पुग्यो । भेडावाख्रा तर्छेर उफ्रेजस्तो भयो तर सीमा अघिअघि थियो, एकै गोलीमा डङ्ग्रङ्गै लड्यो । ढलेपछि परक्कै बटारिएर त्यो भित्तामा पुगेको थियो, फेरि गोली पड्कायो । निकैबेर छटपटिएर यो बाटो रक्ताम्मे भएपछि ऊ सोर्गे भयो ।
अरू जिज्ञासाहरू बाँकी हुँदै जिउ सिरिङ्ग भयो । यो डाँडाको माथि, भन्ज्याङ परेको ठाउँमा तलदेखिको सिर्सिरे बतासले सबै बुट्यान र सेउला हल्लाइरहेको थियो, बुकिपूmल पनि थर्थरी कामिरहेको । अनि बीरबहादुर अघि लागे, हामी पछिपछि; केही पर पुगेर उनी एउटा थुम्किमा चढे, हामी पनि उक्लियौँ । त्यहाँ पुगेपछि झन् चिसो बतासले वरिपरिका बुट्यानहरू हल्लाउन थालेपछि एउटा ससानो ढिस्कोतिर देखाउँदै उनी बोले— ‘हामी गाँउलेले मिलेर उसलाई यहाँ गाडिराखेका छौँ । यहीँनेर केही बनाउने विचार छ ।’
छेउमा गएर हे¥यौँ— छ हात लामो समाधिस्थल चारवटा ढुङ्गाले छोपिएको थियो । ती पातला चेप्टे ढुङ्गामाथि हरियो लेऊ बसेको थियो, बाँकी फुस्रो लेउले ढाकिसकेको माटो र झारपात । अब त्यहाँ माटो खनेको, चिहान बनाएको कुनै निसाना थिएन; बुट्यान र झारपातको बीचमा एक समाधिस्थल थियो ।
‘सीमाको उमेर कति भएको थियो होला दाइ ?’
‘सोरसत्र’ एउटा उत्तर आयो ।
तर वीरबहादुर बोले ‘होइन, उन्नाइस किनभने हाम्रो पाटिले अठार नपुगी बिहे गर्नु दिँदैन । सीमाको बिहे भइसकेको थियो । उनको पेटमा गर्भ थियो ।’ त्यसबेला मैले सजनलाई सम्झेँ— गर्भवती मृगिणी मृत अवस्थामा, उनी विलियम स्ट्याफोर्डको यो कविताले एकपल्ट अति द्रविभूत थिए । आज गर्भिणी सीमाको समाधिमाथि ढुङ्गाको चेपबाट उन्यूको बोट पलाइरहेको थियो अनि एउटा ऐंसेलुको बोट आकास ताकेर उभिएको थियो । त्यो रोपिएको हो कि ? यो वनपूmलमा पनि ससाना जुनकीरिजत्रा सेता टीका लाग्छन् । त्यो समाधीमा एक थुँगा चढाउन मन थियो तर त्यो फुल्न बाँकी थियो अनि हामी फर्कियौँ । यद्यपि यो मन फर्किएन । चिहानमाथिको हरियो ऐँसेलुलाई फर्केर हेरेँ, मलाई एमिलि डिकिन्सनको सम्झना भयो, उनको ह्वेन आइ एम डेड, माइ डियरेस्टको—
म मरेपछि हे प्रियतम
मेरा नाममा उदासी गीत नगाउनू
शिरमा नरोप्नु कुनै गुलाफ
छायाँदार साइप्रेस पनि नरोप्नू
ममाथिको हरियो घाँस
बर्षा र शीतले हरियै रहोस्
मनलागे तिमी सम्झिरहू
मनलागे तिमी बिर्सिरहू
म कुनै छायाँ देख्ने छैन
बर्षाको अनुभूति हुनेछैन
दुःखमा गाउने कुनै कोइलीको स्वर
मैले कदापि सुन्ने छैन
अनि कहिल्यै नउदाउने र नअस्ताउने
सन्ध्यामा सपना देख्तै
म सम्झिरहूँला
म बिर्सिरहूँला ।
यताको दिदिङ, परको बङ्सिनाम, माथिको गोरुजुरे— डाँडाको टुप्पालाई मकालुदेखिको बतासले उडाउन खोज्यो । यतिखेर तल मत्सेपोखरीको कालो जङ्गलमा ससाना रातापाण्डा उफ्रिरहेका होलान् । गर्भिणी सीमाको नानी ? कति भयानक कल्पना भनौँ कि दिवास्वप्न ! बाटामा दाउराका भारी बोक्ने आमाहरू थिए, पर्तिर झुपडीको डीलमा क्याराम हानिरहेका छोराहरू थिए । मनमा एउटा जिज्ञासा उठ्यो, ‘कहिलेको घटना हो यो दाइ ?’
‘पुग्यो, तीनचार बर्षै पुग्यो । त्यो बच्चा जन्मिन पाएको भए यो यतिकै अग्लो भइसक्ने थियो ।’ उनले चिहानको डिलमा उभिएर त्यो ऐँसेलुको बोटमाथि हातले इसारा गरे— उनले त्यो बोट जत्रो भनेको हो कि आफ्ना हातले अड्कलेको उचाइ जत्रो भन्न सकिनँ तर मैले त्यो एँेसेलुमा एउटा ससानो, गालामा रगत भरिएको बालक देखेँ, सीमाका फेरमा समातेर त्यो बन्दुक खेल्दै थियो । अनि म बोलेँ—
सपना बनाइदिनेहरू कहाँ पुगे
तिमी चीसो माटोमा छ्यौ
सपना भत्काइदिनेहरू पनि
कहाँ पुगे
तिमी चीसो माटोमा छ्यौ
टाढा उभिएकी भए ऊ
टुकुटुकु हिँडिरहेको देख्नेथ्यौ
चढाइरहेछु आज
तिम्रो समाधिमा
यो एक थुँगा पूmल ।
एउटा अन्तिम जिज्ञासा थियो ‘अनि त्यो गर्भस्थ शिशु पनि त्यहीँ दफनाइयो ?’ तर वातावरण गम्भिर भयो; अनि हामी यो भेटलाई अन्त्य गर्दै ढिस्को ओर्लेर बाटामा पुग्यौँ । आजका सूर्य पनि अस्ताचल पर्वतमा ओर्लिसकेका थिए । हामीलाई फर्किन ढिला भइसकेको थियो ।