About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, July 11, 2012

अब सबै कुरा ता बाँकी नै रहे


तीसको दशकमा उदाएका कृष्णभूषण बलले साढे चार दशक लामो कवितायात्रा पूरा गर्नुभयो । उहाँका दाज्यु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) र भोलि बास्ने बिहान शीर्षक कविता सङ्ग्रह प्रकाशित छन् । भोलि बास्ने बिहान प्रकाशित भएको पच्चीस वर्ष नाघ्यो तर यसभित्रका भारी बिसाउनुपदार्, काठमाण्डू एक्लैल,े चैतको हावा जस्ता कवितामा भएको क्रान्तिचेत, परिवर्तनकारी शक्ति बेजोड छ । तिनै शक्तिले समयलाई हल्लाएको थियो । सधैँ हल्लाइरहने छ । उहाँका कवितामा समकालिकता र सर्वकालिकता दुवै शक्ति जोडिएका छन् । आँधी जस्ता कविता पनि कहीँ प्रोपोगण्डा छैन; उच्च शैली र संरचनाले ती शान्त समुद्र जस्ता देखिन्छन्, सुनिन्छन् ।

नेपाली कवितामा एउटा मौलिक शैली र विचारका संयोजक भविष्यवादी दर्शन र राष्ट्रिय चिन्तनको प्रतिनिधि नै कृष्णभूषण हुनुहुन्छ । थोरै तर शक्तिशाली कविताले बोकेको चेतना र शिल्प नै उहाँको परिचय हो तीन दशकका शक्तिशाली कविहरूमा कृष्णभूषणलाई नराख्ता ठूलो रिक्त स्थान देखिने छ । उहाँलाई कुनै परिचयको आवश्यकता छैन किनभने यो राष्ट्रलाई परेको हरेक सङ्कटमा उहाँका कविताले ठूलो बल पु¥याएको छ । अहिले आएको युगान्तकारी परिवर्तन ल्याउन झण्डै एकसय वर्षको दुःखकष्ट र बलिदानी कथाले यो सम्भव भएको हो । तिनमा २०३६ र २०४६ का निरङ्कुशता विरुद्ध प्रहार गर्नेहरूमा विष्णुविभु घिमिरे, विक्रम सुब्बा, विमल निभा, महेश प्रसाईँ, अशेष मल्ल, श्यामल जस्ता कवि समूहका कृष्णभूषण कहिल्यै नहार्ने, नझुकेका, अविजेय योद्धा एउटा अग्रचेतना हुनुहुन्थ्यो  । 

Photo: Devendra Bhattarai

भोलि बास्ने बिहानमा ३८ वटा कविता छन् भने त्यसयता रचित १७ वटा कविता अप्रकाशित अवस्थामा छन् । २०६५ साल भदौ पन्ध्रगते ठाकुर बेलवासेद्वारा  गुरुकुलमा आयेजित  विशेष कविता वाचन  कार्यक्रममा  उहाँले एक दर्जन जति नयाँ कविता पनि  सुनाउनु भयो । त्यसपछिको भेटमा विष्णुविभू घिमिरे  र मैले अब नयाँ कविता छापौँ भनी प्रस्ताव राख्यौँ, तर उहाँले भन्नुभयो— राम्रा कविता लेख्न सकेकै छैन । त्यो फाइल लिएरै उहाँ फर्किनुभयो । कविता सङ्ख्याले नापि‘दैन≤ त्यसले उत्पन्न गर्ने प्रभावले गर्छ । कृष्णभूषण त्यही प्रभाव हुनुहुन्थ्यो । बैरागी काइँलाको कविताले उत्पन्न गरेको शक्तिसित उहाँको तुलना हुन्छ । उहाँका कवितामा राष्ट्रको गति र ढुकढुकी छ तिनीहरूमा पहाडी जीवनका विम्बहरू अत्यधिक घनिभूत छन्, उहाँको बाल्यकालले टिपेको सौन्दर्य चेतना त्यहाँ तीब्र छ । उहाँले मधेशलाई पनि त्यसैगरी समेट्नु भएको थियो  । उहाँको मनमा सधैँ सिङ्गो, विविधतापूर्ण र स्वतन्त्र राष्ट्रको चित्र लेखिएको थियो ।

कृष्णभूषण सधैँ अन्धकारको विरुद्ध, सधैँ उज्यालोको प्रतीक्षामा लड्नुभयो । सधैँका स्वतन्त्रता सेनानी उहाँको लागि देशलाई ढाक्ने लामो अन्धकार प्रतिरोधी हो । धेरै कविता त्यसको विरुद्ध छन् तर सधैँ आशावादी— म फट्फटाएर भोलि बास्ने बिहानीसँग निश्चिन्त छु ।

      वास्तवमा त्यो विहान देशको अनागत र अपेक्षित दिन थियो । कृष्णभूषणका कवितामा देशप्रेम उच्च छ, आजको समयले विविधता र एकताको कुरा गर्दैछ, उसैबेला उहाँले भन्नुभएको थियो—
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लाउन सक्दैन ।

नभन्दै काठमाण्डूले देश थाम्न सकेन, यसले देशको अर्थ पनि बोकेन । यतिखेर देशको संरचनाले सँगालेका नयाँ स्वरूपहरू समयले खोजेका निकाश— कृष्णभूषणले गरेको भविष्यवाणी आज पूरा हुँदैछ । उहाँ एक समयद्रष्टा हुनुहुन्थ्यो  । यस्तो प्रखर चेतना चैत्रको हावामा छ, जसलाई माइकल हट, डा. पद्म देवकोटा, शैलेन्द्र सिंह लगायत चारजनाले अङ्ग्रेजीमा अनुवाद गरिसकेका थियौ“ । माइकल हटले आफ्नो अनुवादलाई हिमालयन भोइसेजमा  समावेश गरेका छन्,  डा. देवकोटाले र सिंहले आफ्नै सङ्ग्रहमा राखेका छन्, यो एउटा माष्टरपिस, विश्वसाहित्यमा पुगेको नेपाली कविताको शक्तिशाली प्रतिनिधि शिल्प र आवाज हो । मेरो अनुवाद गतवर्षदेखि त्रिवि अन्तर्गत स्नातक तहको अङ्ग्रेजी पाठ्यक्रममा समावेश छ । उहाँका चुनिएका २१ कविताको सङ्कलन द फूल मून एट द रिभर व्याङ्क शीर्षकमा दुई वर्ष अघि मनु मञ्जिलको सम्पादन प्रकाशित भयो । यसमा स्वयम् मञ्जिल, माइकल हट, तारानाथ शर्मा र विशेषगरी मुकुल दाहाल  अनुवादक रहेका छन् । पूर्वाञ्चलबाट आएको यो  महŒवपूर्ण सङ्ग्रहबारे काठमाडौँमा चर्चा गरौँला  भन्ने उहाँसितको सल्लाह थियो तर समयले दिएन ।
२०६६ साल बैशाखमा फिदिममा भएको महानन्द महोत्सवमा सम्मानित व्यक्तित्वहरु (दाहिने बाट) कृष्ण भूषण बल, विक्रम सुब्बा, बैरागी काइँला, गोबिन्‍द राज भट्टराई (तस्वीर सौजन्य: विक्रम सुब्बा) 

      कृष्णभूषण अत्यन्तै तीब्र सम्वेदनाका धनी । उहाँको संवेदनशीलता मनको घाउ, बाल्यकाल, हजूरआमाको पनि त्यसदिन चोला छुट्यो, घर सम्झेपछि, ऑसु सकिएपछि, झझल्को मेरी आमाको, इलाम तिम्रो काख छाडी म चिसो बनेँ, जस्ता कवितामा पाइन्छ ।   

यिनै विशेषताका कारण कृष्णचन्द्रसिंह प्रधानले उहाँलाई स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारका गायक भन्नुभएका छन्, तानाशर्माले अत्याधुनिक युगका सशक्त कवि । मैले वाल्ट ह्विटमानका जस्ता कविताको शैली भएका विशिष्ट स्रष्टा भनेको छु । अरू पनि यस्तै विशेषताले युक्त बलज्यू आफू स्थापित भएदखि हिजोसम्म पनि नयाँ पुस्तालाई उठाउनमै उहाँ लागिरहनु भयो ।  उहाँ पूर्वाञ्चलका अधिकांश कविस्रष्टाको अभिभावक, अभिप्रेरक हुनुहुन्थ्यो । यतिखेर पूर्वाञ्चल अँध्यारो, एक अभिभावक विहीन छ । काठमाडौँलाई पनि शोकको बादलले ढाकेको छ, सम्पूर्ण नेपाली विश्व दुखित छ । गतवर्ष २५ सौँ प्राज्ञ सभा सम्पन्न  भएको भोलिपल्ट अन्तरङ्ग वात गारौँला भनी उहाँले  हामीलाई  बागबजारको एउटा लजमा  डाक्नुभयो । डा. तुलसी भट्टराई, विष्णुविभु घिमिरे र म पुग्दा तीन तलामाथि  बरण्डातिर फर्केको कोठामा  पर्खिरहनुभएको थियो । कविताकाव्य, लेखक संघ, प्रज्ञाप्रतिष्ठान र वर्तमान लेखन यस्तै कुरा भए पूर्वाञ्चलमा एक भव्य कार्यक्रम गर्ने कुरा भए । हामीले त्यसबेला फेरि भन्यौँ— अब दाइले नयाँ कविता प्रकाशित गर्ने बेला भयो; हामी  पनि मद्दत गछौँ । 

       म त्यसरी मद्दतको कमीले रोकिएको हुइनँ; छाप्नका लागि मैले भन्नासाथ अमेरिकाबाट छोराले पैसा पठाइदिन्छन । तर के भने मैले राम्रा कविता नै लेख्न सकेको छुइनँ कि जस्तो लाग्छ । बरु  तपाईंहरूलाई आज बोलाएको कारण अर्कै छ;  म केही सुनाउन चाहन्छु । 

      त्यसपछि उहाँले ससानो कापीमा लेखेका पृष्ठ खोलेर पढ्न थाल्नुभयो । एक, दुई, तीनवटा संस्मरण निबन्ध थिए । अरू पनि कापी भरि थिए— तीनवटा सुनाउन आधाघण्टा लाग्यो होला । ती बाल्यकालदेखि शुरु भएका रबी, पाँचथर र इलाम छेउका बाल्यकालका मातृवियोग पछिका पढ्न बस्ताका विद्यालयमा भोगिएका भाषिक कठिनाइका अत्यन्तै हृदयश्पर्शी कविताकै शैलीका थिए । त्यो सुनेर हामी स्तब्ध भयौँ । 
अन्त्यमा उहाँले भन्नुभयो— कविता सङ्ग्रह होइन, अब यो संस्मरण पूरा गर्छु र एकपल्ट डाक्टसाब्लाई दिन्छु, हेरिदिनु होला, पहिलो यही छपाऔँला । 

       म अत्यन्तै खुसी भएँ ।  ६ महिनाको म्याद थियो । वर्षदिन बित्यो । त्यो उहाँले पूरा गर्नुभएन कि ? भोलि २६ औँ प्राज्ञा–सभा छ, यस रिक्ततामा बारम्बार बलदाई मात्र आइरहनु भएको छ । आज उहाँको दशौँ पुण्य तिथिमा उहाँका दुई हार कविता उद्घृत गरेर रोकिन चाहन्छुः

मलाई त कविताले मान्छे मान्छेको मुटुमा देश लेख्नु थियो
मलाई त कवितामा मान्छेले गाउने गीत लेख्नु थियो ।
धन्यवाद ।

(२०६९ साल असार २१ गते नेपाली लेखक संघले आयोजना गरेको कवि कृष्णभूषण बलप्रति श्रद्धञ्जली कार्यक्रममा  बिजुलीबजारस्थित संघको कार्यालयमा वाचन गरिएको पाठ ।)  


No comments:

Post a Comment