About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, April 12, 2011

प्रेम र अनुतापले भिजेका कवितामा मिस्त्राल

विश्व कविता दिवसको उद्देश्यमाथि युनेस्कोले प्रस्ट पारेको छ— हामीले अन्तर्राष्ट्रिय जगत्का, अन्यभाषी कवि स्रष्टासँग आदानप्रदान गर्न सिकौँ, विश्व कविताबारे जानकारी गराऔँ, आफ्नो देशको काव्यकलालाई पनि अरु समक्ष चिनाऔं साथै काव्य कविता उत्पन्न गर्ने अवसर नपाएका भाषामा पनि कविता सिर्जना गर्ने क्षमताको विकास गरौं, तिनीहरुलाई अभिप्रेरित गरौं ।

वास्तवमा यो वर्तमान विश्वकाव्य कविताको स्वरुप शैली र महत्वबारे अभिरुची र जानकारी बढाउने अवसर हो । भाषाको सर्वश्रेष्ठ स्वरुप नै कवितामा हुने भएकाले गर्दा यसको सम्वादद्वारा विश्व सभ्यताको आरक्षण र संचरणमा हामी सफल हुनेछौँ । युनेस्कोको आह्वानमा यही उद्वेश्य प्रतिध्वनित हुन्छ । विश्वकविता विषयक यस्तो अवसरलाई हृदयङ्गम गर्दै आज म बीसौँ शताब्दीकै एक महान् विदुषीलाई  नेपाली आँगनमा आमन्त्रण गर्दछु । ती व्यक्तित्व हुन् ग्याब्रिएला मिस्त्राल (१८८९–१९५७) । यो उनको साहित्यिक नाम हो ।


Gabriela Mistral
 मिस्त्राललाई रोज्ने अनेक कारण छन् । उनी चिलीकी अति शक्तिशाली नारी हुन्, जो ल्याटिन अमेरीकी भूमिबाट नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्तित्वको रुपमा अति सम्मानित छन् । आज होइन, दोश्रो महासमरको डढेलो सल्किरहेको बर्ष १९४५ मा उनी त्यो विश्वसम्मानले विभूषित भइन् । त्यस बेला पाब्लो नेरुदा, ग्याब्रिएल मार्केज, लुइ बोर्गेस, भार्गास लोसा कोही पनि उदाएका थिएनन् । त्यसबेला ल्याटिन अमेरिकी महादेश धेरै पछि थियो; चिली देश पनि गाढा अन्धकारमै थियो— अशिक्षा, गरिबी, अज्ञानता, अस्थिरता सम्पूर्ण दोषहरुले निलिएको ।

विद्यालयस्तरको शिक्षा पनि पुरा गर्न नपाएकी मिस्त्रालले कसरी त्यो देशको शिक्षाप्रणालीमा अभूतपूर्व क्रान्ति ल्याइन्, कसरी लिग अफ नेसन्ससम्म पुगेर विश्वका नामी वौद्विक समक्ष डरलाग्दा सम्भाषण प्रस्तुत गरिन्, कसरी नारी, वञ्चित र बालबालिकालाई उठाउन जीवन अर्पित गरिन्, कसरी आफ्नो राष्ट्र«भन्दा अग्लो कविता लेखेर नोबेल पुरस्कार प्राप्त गरिन्, कुन अद्भूत प्रेरणाले त्यो अन्धकारबाट उठेको मुस्लो समयै उज्यालो पार्ने भयो होला ! हामीलाई आश्चर्य लाग्छ । बहुप्रतिभाकी घनी मिस्त्राल चिलीको एक भित्री गाँउमा जन्मेकी थिइन् । तीनबर्षकी मिस्त्राललाई छोडेर कवि एवम् शिक्षक बाबु बेपत्ता भए । एक्ली आमालाई सन्तान हुकार्उन कम्ती मुश्किल परेन । त्यही कष्टले गर्दा सानैदेखि मिस्त्रालले सहायक शिक्षिकामा प्रवेश गरिन् । आफ्नी दिदी पनि शिक्षक नै थिइन् । तिनै दिनदेखि ग्याब्रिएल सुन्दर कविता रचना गर्न थालेकी थिइन् ।

आत्मविश्वास र साहस मिस्त्रालको हृदयको जगमा थियो । सत्र बर्षको उमेर थियो । खाइलाग्दी व्यक्तित्वकी सुन्दरी, हृदयमा प्रेम थियो । तिनै दिनमा मिस्त्राल एक सुन्दर युवकसँग नजिकिइन् । त्यो युवक थियो— रोमियो नामक रेल्वे कर्मचारी । अनि एउटा रुमानी विश्वको जन्म भयो । संसार प्रेममय भयो, रेल्वे कर्मचारी युवा मिस्त्राललाई आजीवन नछोडने प्रण गरेपछि त्यो प्रेम झनझन गहिरियो । तीन वर्षको रोमान्स, भावुुकता र उत्सर्गले उनीहरूलाई एक उचाइमा पु¥याएपछि एकदिन रोमियोले अचानक आत्महत्या ग¥यो । उसमाथि भ्रष्टाचारको आरोप थियो । मिस्त्राल भर्खर १९ वर्षकी थिइन् । त्यो वियोगको पीडाले उनी विह्वल भइन् र जीवनभरि त्यसबाट सम्हालिन नसकी त्यस चोटबाट मुक्त नभई बितेर गइन् । उनले मातृत्वको अनुभव गर्न नपाउँदैको त्यो आघात थियो । त्यसमाथि अर्काे बज्रपात थपियो । उनले छोरो बनाएको एउटा भतिजो थियो । सत्र बर्से उमेरमा उसको पनि देहान्त भएपछि मिस्त्रालका जगत्मा अँध्यारो मात्र बाँकी रह्यो । अब उनले सम्पूर्ण माया प्रेम र स्नेह तिनै विद्यालयका बालबालिकामा खन्याउन थालिन्, आफ्नो सम्पूर्ण सिर्जना शक्तिले तिनै असह्य चोटहरू समन गर्न लागिन् ।

उनको संसार आफ्नो विद्यालय मात्र होइन, चिलीका सम्पूर्ण शिक्षालयतिर, शिक्षा प्रणालीको सुधार तर्फ गयो । उनको हृदयमा दुःखान्तक प्रेमको आँधि मडारियो, सधैँ त्यही सुसाइरह्यो । अनि आफूलाई शिक्षा सेवा, कविता सिर्जना, कुटनीतिक सेवा र भ्रमणमा समर्पित गरिन् । युरोप भरिकानारी उत्थानका अनेक सम्मेलनमा सम्बोधन गर्दै हिँडिन्, उनको रिडिङ्स फर विमिन सङ्ग्रहमा ती भावना छन् । सधैँ कवितालाई आफ्नो विषाद र मनस्तापको भारि विसाउने साधन बनाइन् । उनले टेन्डरनेस (कोमलता) शीर्षकमा बालबालिका कविता लेखिन्, धेरै ता प्रेम र वियोग, अनि मातृत्वका लेखिन् । तर सबै कवितामा उनी अत्यन्तै सरल र सङ्क्षिप्त भएर पनि सधैँ छोइरहने बिम्बमा, सङ्गीतमा बोल्दछिन् । उनका कविता पढ्दा समर्सेट ममले भनेको कुरा परिभाषित हुन्छ कविता सर्वश्रेष्ठ वाणी अर्थात् साहित्यको मुकुट हो । तर उनका प्रायः धेरै कवितामा वियोग र दुःखान्तको राग विभिन्न स्वरूपमा आउँछ । कहीँ चित्त बुझाउन नसक्ने अवोध बालिकाझैँ कहीँ एक आध्यात्मिक उचाइबाट हेर्न सक्ने संसारमा चलिरहने मिलन र विछोडको, जन्म र मृत्युको खेला बुझेको, सन्तझैँ । रोमियोले छोडेको तीनवर्ष पछि दुःखको मुस्लाले थिचेका समयका कविता डिजोलेसन (विषाद) सङ्ग्रहमा छन् । दिवङ्गत प्रेमीको आलो सम्झनामा रचित डेथ सनेट (मृत्यु गीत) ले कसरी छोएर जान्छ

तिमीलाई सुताइएको
चिसो खाडलबाट तिम्रो शरीरलाई
घमाइलो पृथ्वीतिर ढल्काउनेछु
उनीहरूलाई थाहा भएन
मैले पनि यहीँ सुत्नुपर्छ
र उही सिरानेमा सपना देख्नुपर्छ ।
झकाउन लागेको बालक तिमीलाई
आमाको मीठो माया दिँदै
घमाइलो जमिनमा राख्नेछु
बालकको झैँ कोमल
तर बिझाइरहेको शरीर पाउँदा
त्यो धरती एउटा नरम कोक्रो हुनेछ

उनका लेखनीमा आदिवासी अमेरिकी–स्पेनिस र युरोपेली सभ्यताको सम्मिलित रुप पाइन्छ । उनको तेस्रो संङ्ग्रह लागरमा अधिक, पीडा र मर्मका कविता छन् । उनको पोएम्स अफ चिली भने आफ्नो मृत्यु पश्चात् एक युवकसित चिली फर्केको कल्पना छ । नभन्दै कस्तो संयोग होला ! संसार घुमेर आफ्नै देश फर्केपछि उनको देहान्त भयो, त्यसको एक दशकपछि मात्र त्यो सङ्ग्रह प्रकाशित भयो । उनका कविता सेलेक्टेड पोएम्स अफ मिस्त्राल (१९७१) मा सङ्कलित भए ।

रोमियोको आत्महत्या मिस्त्रालको लागि अकल्पनीय प्रहार थियो । तिनै मृतक प्रेमीलाई सम्झेर लेखिएका उनका कवितामा पीडा, सान्त्वना, धैर्य सबै कुरा उच्च कलामा अभिव्यक्त छन् । म एक्ली छुइन कवितामा त्यो शक्ति प्रकट हुन्छ ।

यो रात
पर्वतदेखि सागर सम्मै एक्लो छ
तर म जो तिमीलाई हल्लाइरहेछु
एक्ली छैन ।
यो आकाश परित्यक्त छ
किनभने चन्द्रमा समुद्रमा झरेको छ
तर म जो तिमीलाई पक्रिरहेछु
एक्ली छैन ।
यो विश्व एक्लो छ
हेर, सारा शरीर शोक रहेछ
तर म, जो तिमीलाई आलिङ्गन गरिरहेछुु
एक्ली छैन ।

उनका कवितामा प्रेमको उच्च रुप छ । शरीरभन्दा माथि पर भावनामा आत्मिक तहमा, आध्यात्मिक उचाईमा पुग्दै फर्किंदै गर्छ । डिस्पेअर सङ्ग्रहको कविता पढेर धेरै आमा रोएका थिए, धेरै दुखी प्रेमीहरु भक्कानिएका थिए । आज पनि प्रेममा धोका पाउनेहरु मिस्त्रालका कविता छेउमा राखेर निधाउन खोज्छन् ।

के अब कदापि हाम्रो भेट हुँदैन ?
कम्पित ताराहरूले भरिएको रातमा
अथवा उषाको प्रथम प्रकाशमा
दीर्घ प्रतीक्षित सन्ध्याहरूमा पनि ?
नाईं,
उनलाई फेरि कहाँ भेट्नु
भन्ने प्रश्नै नगर
स्वर्गको मृत जलराशीमा
अथवा उम्लिरहेको भुमरिभित्र
शान्त चन्द्रमामुनि अथवा
रक्तापातहीन त्रासदीमा
उनलाई भेटौँला ।

सानैमा छोडी जाने बुबा, शिक्षक दिदी, असहाय आमा र उच्चशिक्षा रोकेर गाँउको प्राइमरी स्कूलमा पढाउन पुगेकी मिस्त्राल बालिका, युवती, प्रेमी, विश्वका बालबालिकाको कल्याण कामना गर्ने आमा हुन् । ¥याभेज (विनास) सङ्ग्रहका सङ्कलित कविता मातृत्वको थिममा लेखिएका छन् । उनको जीवन एकातिर खण्डहर भयो तर अर्कातिर अनेकौँ विश्वविद्यालयका सम्मानित पदहरु, कति ठाउँमा भिजिटिङ प्रोफेसर हुदै कन्सुलसम्म पुग्ने कत्रो साहस, धैर्य, आत्मविश्वास र क्षमता । कविताले नै उनलाई शिक्षण जगतको उच्च तहमा पु¥यायो । निष्ठुरी प्रेमीको अभावले, दिवङ्गत भतिजाको मायाले, छोडिजाने बाबुको भोकले नै अमर कविता लेख्ने सामथ्र्य र धैर्य दिलायो । तिनै दिवङ्गत प्रियजनका नाममा रचित कविताले उनलाई नोबेल पुरस्कार पु¥यायो । ती सङ्घर्ष र अनन्त युद्दलाई केवल उच्च मनोबलले उठाइरहे । तर उनका सबै कृति अन्य ल्याटिन अमेरिकी भाषाकाझैँ स्पेनिसबाट अङ्ग्रेजीमा अनूदित छन् । जीवनको अन्त्यकालमा उनी ‘स्पिरिचुअल क्वीन अफ ल्याटिन अमेरिका’ पदले पुकारिन लागेको बेला ७८ वर्षको उमेरमा क्यान्सरले उनको जीवनको बत्ती निभाइदियो ।

उनले अतृप्त प्रेमलाई ससाना बालबालिकामा लगाइन् । टेन्डरनेस तिनै कोमल बाल कविताको सङ्ग्रह हो । त्यो आफ्नै स्मृतिचित्र पनि । प्रेम र वियोगको सङ्ग्रह डिजोलसनमा करुणता छ भने ¥याभेज (विनाश) मा मातृत्व र विचारको कस्मिक उचाइ छ । यसरी मिस्त्रालका कविता प्रेम, विवाह, सपना, धोका, मातृत्व र प्रकृतिको अनन्त अनुकम्पाको विषयमा छन् । उनको यो विशेष शक्ति र साधना देखेर असफल प्रेमले उत्पन्न गरेको पीडाका कविता देखेर मिस्त्राललाई ग्रिसकी कवि सफ्फोसित तुलना गरिन्छ । उनलाई ग्रेटेस्ट पोएट अफ सरोज एन्ड मदरहुड भनिन्छ । विश्व कविता दिवसको अवसरमा प्रेमकी देवी मिस्त्राललाई नेपाली साहित्यको तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

शब्द  ११९६

2 comments:

  1. अक्षर र प्रेम

    वसन्तमा पाउलिएर
    शिशिरमा झर्ने

    पात थियो झ¥यो
    डढेलो सल्कारएर तिमीभित्र
    जो
    जो ह्वारह्वार्ति बल्यो

    उसकै सम्झनामा,
    मेरिना धसान झैँ
    धसिएर
    जब तिमी
    अनुभूतिको बैकाल जम्यौ

    ती, जमाइहरू
    एकाएक
    ह्वाङ्हो भएर बगे
    नाइल भएर बगे
    कोशी भएर बगे
    यो रात,
    पर्वतदेखि सागरसम्म जम्मै एक्लै छ
    तर म
    जो
    तिमीलाई हल्लाइरहेकी छु
    एक्ली छैन
    सजिएर, यी जीवन्त पङ्क्तिहरूमा
    जो सर्वत्र फैलियो
    मानवता खन्याएर पथ्वीभरि
    जो सदैव पोखियो
    उ एक्ली कसरी हुन्छे
    ठीकै भन्यौ
    तिमी एक्ली छैनौँ

    कचिङ्गलको जालोले घेरिएर
    मातृत्वको भोक
    मेटाउनेहरूको
    अस्तित्व खै ?
    मिस्त्राल........
    गुनासोको ढिक्को हो मान्छेको चित्त
    जो, मिलनमा पनि दुख्छ
    विछोडमा पनि दुख्छ


    अमर अक्षर प्रेमी बनेर
    यो
    जिन्दगी बिताउन
    चाहन्छु
    – रीता पौडेल खत्री

    ReplyDelete
  2. गोबिन्द सर
    हजुरको यो लेखले एउटी महान कवियत्री संग परिचित हुने अवसर पाइयो ! मलाई अचम्म लाग्छ, म कबिता लेख्न जान्दिन तर हरेक दिन नया कविता पढ्ने तलतल लागि रहन्छ ! त्यहिँ तृष्णा मेट्न अनेक साहित्यिक संजाल चाहार्दा चाहर्दै आज यहाँ आइपुगेको थिएँ र अब नियमित हुनेछु !
    सुन्दर जोशी
    वेस्ट पाल्म बीच, फ्लोरिडा

    ReplyDelete