फिदिमबजारको एउटा हलुवाई पसलमा ‘कवि कुनो’ भन्ने ससानो विमर्शकेन्द्र खोलेका थिए । त्यसको ‘बोर्ड’ लेखाउन मैले पनि रु. एक तिरेको थिएँ प्रेमलाई । आज तीनवर्षपछि फेसबुकको भित्तामा देख्छु त्यहाँ ‘यात्रा स्पर्श’ खोलेका छन्, यात्रा साहित्यको कुरा गर्न । अझ महङ्खवपूर्ण ता मलाई त्यहाँ खुलेको ‘उपन्यास कुनो’ लाग्दछ । फिदिमको जस्तो ‘लोकल’ नभएर एक युनिभर्सल कुनोमा बसेर नन्प्लेसेजबाट उपन्यासको ग्लोबल संवाद सुरु गरेका छन् । त्यहाँ राजेश विद्रोहीले टाल्स्टायको अन्नाकेरिना र उनका अमर कथा पढेको लेखे; विजय सापकोटाले अफ्रिकी पृष्ठभूमिका उपन्यासहरू— मार्क बेहरको ‘स्मेल अप्m एपल्ज’ र नादिया मोहमदको ‘ब्लाक माम्बा व्वाइ’ पढेको लेखे, सुबास अधिकारीले अल्बेयर कामुको ‘द स्ट्रेन्जर’ पढेको लेखे, कतिले अफगानी उपन्यासको । कर्णाली ब्लूज, छापामार युवतीको डायरी लगायतका नेपाली कृतिपाठक पनि भित्तामा आउँदै–जाँदै छन् । कविहरू अघिदेखि नै थिए, यतिखेर नेपाली यात्रालेखक र आख्यानस्रष्टाहरू पनि त्यो भर्चुअल भित्तामा दिनदिनै थपिँदै छन् । यसरी नेपाली स्रष्टा–पाठक विश्वसंवादमा सहभागी हुन थालेको देखेर हर्ष लागेको छ । त्यसमाथि पनि आख्यान विषयक चर्चा गर्नैपर्ने बेला आएको छ । विषयवस्तुको गहिराई छुन नसकेर, सिर्जनामा विविधता ल्याउन नसकेर, व्यापकता समेट्न नसकेर, शैलीशिल्पको नवीनता सिर्जन नसकेर नेपाली आख्यान कठाङ्ग्रिएको छ । अझ नयाँ आख्यानकारको लागि उचित प्रेरणा र मार्गनिर्देशको अभाव छ । यहाँ कतिपय स्रष्टा प्रोपागन्डा सार्नुलाई सिर्जना ठान्छन् । कतिपय झोले प्राध्यापकहरू दलीय टाँचाले नसके रुढीगत ढाँचाले कृति मूल्याङ्कन गर्दछन् । त्यसैले नेपाली आख्यान बाटो नपाएर निसास्एिको छ । यस्तो समयमा म विश्वआख्यानका एक महान् व्यक्तित्वको लेखनपथबारे अलिकति चर्चा गर्न चाहन्छु । म नयाँ समयका स्रष्टालाई निर्बन्ध भएर नयाँ कुरा सिर्जने आग्रह गर्दछु ।
सन् २०१० को नोबेल साहित्य पुरस्कार पेरुले प्राप्त ग¥यो । पाँच अरब मानिसमा एकजना चुनिएको, ती एकजनाको भाग्य सम्झिँदा स्रष्टाहरूलाई कत्रो लोभ लाग्छ । दक्षिण अमेरिकाको एक अति प्राचीन सभ्यताको केन्द्र पेरुले प्राप्त ग¥यो । ईशापूर्व हजारौँ वर्षदेखिको सभ्यता बोक्ने पेरुका अनेक गिर्खेनी डाँडा र बादल ओढेर बस्ने फस्के पर्वत र माचुपिचु जस्तो एउटा स्वप्नभूमि, उता घना जङ्गल, बोलिभिया, ब्राजिल र कोलम्बियाको पूर्वी सीमाना, सारा पश्चिमी भूभाग समुद्रमा चोविएको पेटी । स्पेनिस लगायतका ४८ भाषा बोलिने सुदूर पश्चिमान्तको त्यो देश अनेकौँ कष्टहरू खेप्तै आएको छ । लामो समयसम्म साइनिङ पाथले चलाएको गुरिल्ला युद्धले मात्र कति सल्कायो, त्यो कथा डरलाग्दो छ । त्यसबाट देशलाई मुक्ति दिन जापानी मूलका नेता फुजिमोरी राष्ट्रपति भए, तर कालान्तरमा आफैँ एक खुङ्खार डिक्टेटरमा परिणत भए । उनको जीवन, कर्म र कालावधि अत्यन्तै विवादास्प भयो । अत्यन्तै ठूलो राजनीतिक उथलपुथलले भरिएको पेरुले साहित्यतर्फको नोबेल पुरस्कार पाउँदा यो सुदूरपूर्वको नेपाललाई पनि कताकता आशा पलाउन थालेको छ ।
तर के त्यो पुरस्कार पेरु देशले प्राप्त गरेको हो त ? होइन । त्यो ता एकजना व्यक्तिले, उनको त्याग र समर्पणले, उनको सिर्जनाको सिद्धान्तले, कुसमयविरुद्धको प्रतिज्ञा र त्यसलाई कलाले प्रस्तुत गर्ने शिल्प र अठोटले त्यो प्राप्त गरेको हो । ती पेरु देशलाई प्रथम नोबेलसाहित्य पुरस्कार प्राप्त गराउने व्यक्तिको पूरा नाम जोर्गे मारियो भार्गास लोसा हो । पचहत्तर वर्षे लोसाले आफ्ना अमर कृति (उपन्यास) मा ल्याटिन अमेरिकाले भोगेको युद्धजन्य विनाश र अकल्पनीय भ्रष्टाचार अर्थात मानव मूल्यको पतनबारे लेखे । उनले १९५९ मा प्रथम उपन्यास ‘द सिटि एन्ड द डग्स’ प्रकाशित गरेका थिए । त्यस यताका पचास वर्षमा उनका २६ वटा उपन्यास प्रकाशित भएका छन् । सबै कृति मातृभाषा स्पेनिसमा आए । सुरुको कृति नौ वर्षपश्चात अङ्ग्रेजीमा आयो भने त्यसपछिका कृति दुईतीन वर्षभित्रै अङ्ग्रेजी अुनवाद भएका छन् । तिनै अनूदित कृतिले उनलाई विश्वसमक्ष चिनायो र नोबेल पुरस्कारमा पु¥यायो । उनको निष्पक्ष लेखनले शक्ति–संरचनाको स्वार्थी बाटो पत्ता लगायो । अत्याचार र भ्रष्टाचारको तीव्र प्रतिरोध, विद्रोह र पराजयको कथा लेख्न प्रेरित ग¥यो । उनले पेरु मात्र होइन ब्राजिल, कोलम्बिया लगायतका दक्षिण अमेरिकी मुलुकको समयव्यथा लेखे, सत्ता र शक्तिमा चढेकाहरूबाट भएको उन्माद र मानवव्यथाका उपन्यास लेखे । आज पनि प्रिन्सटन युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर पदमा कार्यरत यी महान स्रष्टाले भ्रमण र अवलोकनबाटै इतिहासले मानवमाथि गरेको बलात्कार देखे । दक्षिण अमेरिकाका धेरै देश सैन्य साशन, विद्रोह, र अधिनायकवादी सपनाले बारम्बार मूर्छा पारेको भूगोल हो । उनले त्यस कष्टबाट मुक्ति दिलाउन निर्भिक र स्वतन्त्र भएर लेखे ।
स्पेनिस भाषाभाषी विश्वमा नै भार्गाेस लोसा सबैभन्दा सम्मानित लेखक हुन् । उनी सर्वापरी सर्वसत्तावादविरोधी बौद्धिक हुन् । उनका साहित्यिक कर्मले मानवीय अनुभूतिका विविधपक्षलाई छुन्छ । उनको नाम १९८२ का अर्का नोबेलसाहित्य पुरस्कार विजेता छिमेकी मुलुक कोलम्बियाका ग्याब्रिअल गार्सिआ मार्केजसँग बारम्बार जोडिन्छ । भार्गासभन्दा एघार वर्ष जेठा मार्केज अझै सक्रियतापूर्वक उपन्यास लेखिरहेका छन् । तर मार्केजले सो पुरस्कार प्राप्त गरेको तीन दशक पछिमात्र भार्गासको पालो आयो । ल्याटिन अमेरिकी देशबाट नोबेल पुरस्कार प्राप्त गर्ने अर्का एकजना स्रष्टा छन्— मेक्सिकन अक्टाभिओ पाज (महान कवि) । उनले १९९० को नोबेल पुरस्कार प्राप्त गरे; त्यसको दुईदशकपछि पेरुभिअन भार्गासको पालो आएको थियो । पुरस्कार प्राप्त गर्ने घडीमा भार्गासले भने— मेरो स्पेनिश भाषाले आज एकप्रकारले विश्व–नागरिकता प्राप्त गरेको छ । देशको लागि कत्रो गौरब, जातिको, उसको भूगोल र भाषाको लागि । सम्पूर्ण दक्षिण अमेरिकामै एक ऐतिहासिक सफलता व्याप्त भयो । हाम्रोमा त्यस्तो दिन कहिले आउला— त्यसरी नेपालीले विश्व–नागरिकता पाएको, देशलाई विश्वमै चिनाएको । युवाकालमा युरोप भ्रमणमा गएको बेला त्यहाँको सभ्यता र त्यसबाट प्रभावित लेखन देखेर उनले टिप्पणी गरेका थिए— ल्याटिन अमेरिकाले डिक्टेटर, क्रान्तिकारी, महाविपत्ति— तीन कुरामात्र जन्माउन सक्छ; कलाकार, सङ्गीतकार, चिन्तक, उपन्यासकार होइन । नेपालको स्थिति अझै त्यस्तै छ, कसरी हाम्रो आख्यानले विश्व ताक्न सक्छ ?
जुलिअस भर्नेको ‘जर्नी टु द सेन्टर अफ दि अर्थ’, ‘अराउन्ड द वल्र्ड इन एइटी डेज’ जस्ता अमर कृतिका शैलीले छोएर उनी लेखनतिर लागेका थिए । पछि उनलाई मार्केजले छोए । त्यसो त उनले डक्टरल डिजर्टेसन नै मार्केजमाथि गरेका थिए । हाम्रा लैनसिंह वाङ्देल झैँ उनी पनि गुस्ताफ फ्लुबेरबाट अर्थात् उनको म्याडम बोभारीबाट झन् प्रभावित भए । वास्तवमा भार्गासको द व्याड गर्ल (उपन्यास) म्याडाम बोभारीमा आधारित प्रतिखेलन हो । यहाँ एउटी टिनेजरसितको प्रेमले घुमाइरहने पात्रको कथा छ । त्यतिमात्र होइन, उनी अमेरिकी उपन्यासकार विलियम फौकनरका ठूला प्रशंसक थिए । उनले मार्केजका अतिरिक्त अल्बेयर कामु, अर्नेस्ट हेमिङवे, जाँ पौल सात्र्रको साहित्यिक टेक्निकको बारेमा समालोचना लेखे । उपन्यासमा म्याजिक रियालिजमको प्रयोगभूमी दक्षिण अमेरिकाबाट पनि उनले त्यस्तै प्रेरणा प्राप्त गरे— परिणामस्वरूप उनी विश्वसाहित्यमा उच्च आख्यानकारमा पुजिए, यद्यपि उनका नाटक र समालोचना पनि प्रशंसित छन् ।
उनको सुरुको ‘द टाइम अव् दि हिरो’ पेरुको मिलिटरी एकेडेमीका कर्ममा आधारित उपन्यासले धेरै नाम कमायो । उनका ‘कन्भर्सेसन’ ‘गृन हाउस’ ‘आन्ट जुलिया एन्ड द स्कृप्ट राइटर’ जस्ता कृति बेस्ट सेलिङमा गनिएका छन् । उनका अधिकांश उपन्यास पेरुकै पृष्ठभूमिमा छन्, यद्यपि उनले ल्याटिन अमेरिकी समग्रतालाई छोएका छन् । उनले उपन्यास लेखनमा अनेक नयाँ टेक्निकको प्रयोग गरे र आधुनिक पेरुभिअन साहित्यलाई उत्तरआधुनिक मोडमा पु¥याए । भार्गासले ऐतिहासिक विषयवस्तु बढी लिए र व्यक्तिगत अनुभूति मिसाए । उनको ‘द वार अव् दि इन्ड अव् दि वल्र्ड’ प्रथम र शक्तिशाली ऐतिहासिक उपन्यास हो जुन उनको मास्टरपिसमा गनिन्छ । त्यसपछिको अत्यन्तै महत्वकाङ्क्षी ‘पोलिटिकल थ्रिलर’ उपन्यासमा ‘द फिस्ट अफ गोट’ गनिन्छ ।
सुरुमा उनले फिडेल क्यास्ट्रो र क्युबाली क्रान्तिको समर्थन गरे; पछि लाग्यो त्यसमा मुक्ति र स्वतन्त्रताको लागि कुनै ठाउँ छैन । त्यसपछि उनले सबै प्रकारका उग्र पन्थको बहिस्कार गरे, निन्दा र आलोचना गरे । उनी वर्तमान विश्वकै स्वतन्त्र चिन्तक लेखक र महान् बौद्धिकमा गनिन्छन् । उनको लागि साहित्यभन्दा माथि केही छैन, कहिल्यै केही हुनु पनि हुँदैन ।
सबैभन्दा ठूलो शक्ति लेखन हो । उनी न प्रोपागन्डा लेखेर त्यहाँ पुगे न राजनीतिक आकाङ्क्षाले । उनले हालैको एक अन्तर्वार्तामा भनेका छन्— मैले युवा अवस्थादेखि नै राजनीतिक सम्वादहरूमा भाग लिएको साँच्चो हो । (उनी एकपल्ट राष्ट्रपतिका उम्मेदवार भएर हारे) तर साहित्यलाई राजनीति बचाउने साधनको रूपमा प्रयोग गर्नु अत्यन्तै खतरापूर्ण खेल हो । किनभने त्यसो गर्दा साहित्य प्रोपागन्डामा परिणत हुनसक्छ, अनि साहित्य र प्रोपागन्डा जहिल्यै पनि असङ्गत कुरा हुन् । साहित्यले राजनीतिको प्रयोग गर्न सक्छ तर राजनीतिले साहित्यको कदापि प्रयोग गर्नु हुँदैन । यदि त्यसो गरियो भने यसले साहित्यलाई ध्वस्त पार्दछ । साहित्य भनेको जीवनबारे लामो अनुभूति हो । यसले जीवन जे छ त्यसलाई र जीवनका आयामलाई अभिव्यक्ति दिन्छ । अनि राजनीति यसको केवल एउटा अङ्ग हो । जो हृदयले लेख्छ, ऊ स्वतन्त्र हुन्छ । नेपाली आख्यानलाई राजनीतिले र सरकारले समाप्त पारेको यो घरीमा म चाहन्छु— नेपाली साहित्यले पनि भार्गास जस्तो कोही जन्माओस् ।
शब्द : १२५०
