About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Tuesday, June 7, 2016

‘‘साहित्यकार गोविन्दराज भट्टराई’’ शीर्षक ग्रन्थका सम्बन्धमा

____________________________________________________________________

रतन थापा 
लण्डन, ३ जून, २०१६


आदरणीय दाजु, नमस्कार |
साहित्यकार गोविन्दराज भट्टराई शीर्षक  काव्य पढ्नुसम्म पढें, यो नै मेरो नेपाली साहित्यकारबारे कुनै वृहद ग्रन्थ पढ्ने अवसर थियो होला |
जे जति पढ्न सकें, पढेपछि केही प्रतिक्रिया लेख्ने जमर्को गरेको छु | पढ्नु अझै धेरै बाकी छ तर व्यस्त जीवनमा समयको अभाव, यस्तै कारणहरुले रहेका अध्यायहरु विस्तारै पढ्दै जाने छु |

यत्रो ठूलो पुस्तकमा बढो चतुर्याई पूर्वक अरुलाई आफ्नो बायोग्राफी लेख्न प्रेरित गर्नु भएछ र आफैले पनि अटोबायोग्राफी प्रशस्त लेख्नु भएछ | यस्तो शैलीको बायोग्राफी ज्यादै मनपर्यो |  आफूले आफ्नै बारेमा धेरै लेखे मपाईं भयो भन्लान्, अरुले लेख्दा तपाईं गोविन्दराज भट्टराईको जीवनगाथा र कर्मकाण्ड सबै थोक समेटिएको यो विशाल ग्रन्थलाई हार्दिक अभिवादन गर्दछु  |
यत्रो ठूलो पुस्तक समायोजन गर्नु, लेखकहरुबाट प्राप्त रचनाहरु हेर्नु, स्वीकार्नु, प्रकाशित गर्न पठाउनु, आफैले पनि कैयन् लेखहरु लेखेर समाविष्ट गराउनु, यी सबै कुराहरु आफ्नो व्यस्त दैनिकीमा पनि कसरी भ्याउनु भएको होला भन्ने खुल्दुली थियो ....तर पृष्ठ संख्या १९ मा “गोविन्दराज भट्टराई किन बेजोड” भन्दै डा. माधव प्रसाद पोखरेलले ११ बुंदे दलील पेश गर्नु भएकोमा ११औं बुंदाले मेरो खुल्दुली समेटेको देखें ...
अनि डा. तुलसी भट्टराईको लेख “वार्तामा गोविन्द”ले नांग्लोमा दाइको इतिहास, आनी, बानी, पुर्खा, वंशज, परिवार सबै थोक थुपारेर केलाएको रहेछ | स्कूलको सरले वा त्रिभुवन विश्वविद्यालयले पनि त्यतिको गतिलो चारित्रिक प्रमाणपत्र दिनु सक्दैन् होला जत्तिको सो लेखले दिएको छ |
वचपनदेखि शैशवकाल, जवानी देखि प्रौढ कालसम्मको वायोग्राफी पढ्नु मलाई साह्रै आनन्द लाग्यो; रोचक पनि त्यतिकै | हरियो मकैका घोघा र बनारसको जुलेपीले मुखमा रस टपक्कै ल्याइदियो | च्यांग्थापूको बालक घैलाडुब्बाको फ्री स्कूलमा पढेर प्रगति गरेको विवरणले मनलाई तत्काल छोयो | 
मिठो मसिनो चटक्क बनायेर स्वादिष्ट भोजन खाने बानी भएकाले नै हजुरको वाणी पनि सुमधुर भएको होला | बारह मसला तेरह स्वाद हालेर शिकारको तरकारी पकाउनु र खानु मन पराउनु हुने दाईलाई मुख मीठो पार्नु त जवानीदेखि नै स्वभाव रहेको देखियो |
दाइको पहिलो कृति मुगलान मैले ढिलै भएपनि पढ्ने सौभाग्य पाएको राम्रै भएछ किनकि पृष्ठ ७७ मा ध्रुव मधिकर्मीले भन्नु भएको छ,  “चर्चाका हिसाबले उनी सुकरातका पाइलाका उपन्यासकार भन्दा बरु मुगलानका उपन्यासकारका रुपमा बढी स्मरणीय लाग्छन |”
दाईसित विताएका क्षणहरुको सम्झना तेजपुर आसामका ज्ञान छेत्रीबाट रोचक रुपमा प्रस्तुत भएको रहेछ, जस्तो कि दाईले शुरुमा उनको कन्सिरी तताई दिनु भएछ समयमा उनको चिठीको प्रत्युत्तर नदियेर |  त्यसपछि काठमाण्डौ, सिलिगुडी र तेजपुरमा भएका साक्षात्कारहरूमा उनले चिनेको नया गोविन्दराजले उनको सोचाइमा बढो सकारात्मक परिवर्तन ल्याइदिएको छर्लंग परेका छन लेखमा |  उनले अन्ततिर लेखेको यो लाइनले दाईलाई राम्रोसित चिनेको दर्शाएको छ :
“असमियाभाषी लेखक मित्रहरु आज पनि भन्ने गर्छन्  - नेपाली साहित्यमा विश्वस्तरका यस्ता महान् कवि छन् भन्ने कुरा हामीलाई थाहा थिएन |”
दाइले पछिल्लो समयमा आएर सुकरातका पाइला र सुकरातको डायरी मार्फत उपन्यासमा राम्रो उपस्थिति जनाउनु भएको रहेछ तर मैले ती प्रशंसित कृतिहरु अझै पढ्नु पाएको छुइन;  तर अवश्य पढ्ने छु किनकि पेज ८४ मा कलानिधि दाहालले यो विचार व्यक्त गर्नु भएको रहेछ ....”सुकरातको डायरी स्वसिर्जित झण्डा झैं  सगरमाथा शिखरमा फहराएको छ | मिर्मिरेमा दश पाइला मुस्कुराएको छ | एक कल्पको लहरमा लहराएको छ |”
शेखर खरेलले त किटेरै लेखेछन सुकरातको डायरी कुनै पनि मानेमा सरल कृति होइन | यो आम पाठकका निम्ति होइन ; सरल पाठकलाई २४० भोल्ट (वाट होइन) को करेन्ट लाग्ने छ रे ...पढ्नु त परै  जावोस्, उठाउन पनि सक्ने छैनन् रे...|  सोच्न बाध्य छु, ए हो र भन्या ? 
सो पुस्तकको पोष्टमार्टम सबैले  आफ्नो ढंगले गरेका रहेछन जस्तै लेखनाथ शर्मा पाठक, नवराज लम्साल, एम पी खरेल, अनुपमा रेग्मी, आदि |  मदन सुवेदीले त नेपाली साहित्यको अजम्बरी बिरुवा सम्म पनि भनेका रहेछन |
मैले नबिसाइकन पढेका दुई च्याप्टर छन दाई ....पहिलो लक्ष्मण गामनांगेको “सांल्दाजुसंगको न्यानो न्यानो यात्रा” र दोश्रो “दशैं : नफर्किने दिनहरु” (पृष्ठ ३४७ – ३५७)” | जुन ठाउँमा (भूटानमा) गएर शैक्षिक पेशामा संलग्न भएर त्यहाँको वास्तविक रहन सहन, खानपान, संस्कृति, धर्म, कर्म, समाज, चालचलन, सुक्ख, दुक्ख, दमन, सास्ती, प्रताड़ना र माया पिरती सबै आफ्नो आँखाबाट देखेर, कानले सुनेर र पृष्ठभूमिमा स्वयं उपस्थित भै सयौं दिन बिताएर नेपाल फर्की आएर सात  दिनभित्र (म्याडमको लेख अनुसार) मुगलान उपन्यास कोर्नु भयो र जुन कृतिले दाईलाई साहित्यिक र श्रीजनात्मक यात्रामा अघि बढ्न प्रेरणा दियो र त्यसपछि थकाइ मार्न अझै दिएको छैन; त्यसको धारावाहिक प्रस्तुतिकरणले मुग्ध भएँ | म पनि भुटानको  धेरै जिल्ला घुमेको छु र दोरोखा (दोर्खा) को जीवनकथाहरु सबै सजीव भएर आँखामा आए | दाइको भुटान बायोग्राफी ज्यादै राम्रो तरीकाले लेखिएको छ; लक्ष्मण ज्युलाई मुरी मुरी धन्यवाद | बायोग्राफी पढ्नु त यस्तो पो |
विजया दशमीमा थापेको टीका सुकेर निधारबाट खस्नु नपाई  भोलिपल्टै टेक नारायणले “गुरु शिष्य संवाद” लेखेर जुन नया तरीकाले प्रस्तुत गर्नु भयो, त्यसले जादै प्रभावित भएँ | हुनु त यस्तो डायरी शैलीमा लेखिएका महान् विद्वान र चर्चित व्यक्तित्वहरुको बायोग्राफी र अटो-बायोग्राफी वेलायतको पुस्तकालयमा एकाध पढेकै हो, तर मातृभाषामा कोरिएको यो गुरु-शिष्य संवाद रोमान्चक, नौलो प्रयोग र कौतूहुलपूर्ण छ | यो दिन के भयो, अर्को दिन के भएछ भन्दै पढ्नु लालायित हुनु पर्ने .....
लक्ष्मीप्रसाद खनालले “नजिकका शिष्यको आँखामा .....” शीर्षकको  लेखमा केरमेट गरेर ल्याएको सर्टिफिकेटले स्कूल भर्ना हुन दालाई झुक्क्याएको कथा पढेर नमुस्कुराई बस्न सकिन | दाइको दमक र धनकुटामा बितेका रोचक क्षणहरुको थोरै भए पनि वेली विस्तारलाई  दिनु भएको छ खनालजीले | गाग्रो खसेर परेको प्वाल र रेलको जस्तो धुवाँ फ्याक्ने महिलाको प्रसंग रमाइलो छ, जे होस् ती रेल नामक महिलाले तपाईंहरुलाई नाटक तयार पार्न भने प्रेरित गरिछन | साथै रु चारहजार पाचसयको ६ ब्याट्रीवाला नेशनल पानासोनिक रेडियोमा टेप चलाएर, आवाज रेकर्ड गरी रिप्ले गरेर पनि साथी भाइ र शिश्यहरुलाई दंग पार्ने काम पनि गर्नु भएको सुनेर दाइको सनकको प्रशंसा नगरी सक्दिन |
खोई के लेख्नु र उहाँको बारेमा भन्दा भन्दै हरि गौतमले दाइको पुर्ख्यौली थलो (ताप्लेजुंगको हंग्देवादेखि) तल तराईसम्म; जन्मिनु अघिदेखि बर्तमानको गोष्ठीसम्म  सबै कुरा मिलाएर ईतिहास नै कोरिदिनु भएछ |  गोविन्दाइको संघर्षपूर्ण जीवनको लेखाजोखा त्यहाँ भित्र पो धेरै पाएँ | ट्युशन एक्सपर्ट हुदै कलेजको प्रोफेसर सम्मको यात्राभित्र सुख र दुक्खका अनेकौं पाइलाहरु चलेका रहेछन | छात्रावासमा बस्दा सस्तो कनिकाको चामल पकाई खाएको, खुट्टामा जुत्ता त के, चप्पल धरी लाउन नपाएको; एकसरो राम्रो नया लुगा लाउनु पनि नपाएको सुन्दा आफ्नै कथासित धेरै मिलेजस्तो पनि लाग्यो |  वर्तमान प्रधानमंत्रीले  भन्नु भएको प्रसंग "हामी खालि खुट्टेहरु" ज्यादै मन छुने रहेछ | 
तर जे जस्तो दुख कष्ट सहेर पनि दाइमा  जोश चाहि कोही भन्दा कम रहेनछ |  दमकदेखि धरानसम्म पुगी एक दूजे के लिये सिनेमा हेर्न भ्याउनु, जोगबनीबाट हीरो साइकल ल्यायेर दमकमा शान देखाउनु, दुई ब्यान्डको जापानी रेडियोमा हिन्दी गीत घन्काएर सुन्नु र ढेडू पाल्ने शौक हुनु आदि रमाइला कुराहरु जान्न पाइयो | अनि एस.एल.सी. सकेर मुगलान अर्थात् भुटानतिर कामको खोजीमा जानु भएको प्रसंगले मर्माहत पनि भएँ |  
अर्को तर्फ “विद्या व्यसनमा रम्ने डा. भट्टराई” – भन्दै डा. अन्जनाले पृष्ठ ५८ – ६४ मा दाइको रहल आनीबानीको अति नै राम्रो झलक प्रस्तुत गर्नु भएकोछ र अन्तिम अनुच्छेदमा त दाइको चारित्रिक प्रमाणपत्र नै जारी गरिदिनु भएछ; म्याडमलाई  धेरै धन्यवाद | “गोविन्दज्यूलाई  आफ्ना पुस्तकले सुशोभित कोठामा बसेर चिताएको पठन-लेखन गर्न पाउनु जस्तो प्रीतिकर अरु केही लाग्दैन “ भन्ने कथनको प्रमाण मैले पनि आंशिकरुपमा भए पनि झलक्क देख्न पाएको थिएँ, घरैमा गएर; भाग्यमानी भएछु |
“रुटलेस जीवनका अभियन्ता : डा. भट्टराई” भन्दै तेराख नामक लेखकले पृष्ठ ४७-४८ मा दाइको rapid assessment गरिदिनु हुदै दाइलाई आफै जन्मिने राष्ट्रिय प्रतिभा भनेकोमा बढो खुशी लाग्यो | उहाँको भनाइ “डा. भट्टराईलाई  मैले महाभारतका गाण्डीवधारी अर्जुनझैं साहित्यका महाराथीका रुपमा पाएको छु” ले सबै थोक भनि सकेको छ | जीवन रुटलेस नभई त्यतिको अनुभव र प्रतिभा विकसित हुनु नसक्दो रहेछ भन्ने कुरामा मलाई ठूलो विश्वास छ |
पृष्ठ २१ मा तेजेश्वर बाबुको भूमिकामाथी भूमिका पढें, खरो साहित्यिक शब्दहरुमा बुनिएको सो लेख तीन चार खेप पढेपछी मात्र अलि अलि बुझ्ने भएँ....धेरै कुरा सिकियो उहाँको सुन्दर लेखबाट |
खिमानन्दजी र जगदीश पौडेलले दाईको यात्रा निबन्ध मिर्मिरेमा दश पाइलाको निकै प्रशंसा गर्नु भएको देखी  अब त्यो पुस्तक पनि मेरो आगामी पठनीय सामग्रीको लिस्टमा परेको छ |  खिमानन्दज्युले सरर रिक्याप गरिदिनु भएकोले त्यसभित्र के छ भन्ने अलि अलि सुगन्ध र सुइँको पाएर पढ्न व्यग्र छु। 
नवराज न्यौपानेले “मुग्लानभित्र विचरण गर्दा” मा शुरुमा विद्वान लेखकले मुगलानको चीरफाड गर्दा कता कता सो बेलामा बत्ती निभेको थियो कि जस्तो पनि लाग्यो; माथिबाट  तल पुगेपछि  नौ वटा “वाद” हरुको तातो कराईमा भुट्नु खोज्नु भएको रहीछ |  जतिबेला सो पुस्तक लेखियो र जुन प्र्ष्ठभूमिमा लेखियो, त्यतिबेला लेखक साहित्यिकरूपमा परिपक्व थिएनन् पनि | सो जमानामा लेखकलाई धन्यवाद, जिन्दाबाद, मूर्दावाद, अपवाद र आशिर्वाद जस्ता शब्दहरु मात्र थाहा थियो होला, तर त्यसलाई हिजोआजका नवीन “वाद” हरुसित तुलनागर्दै आफ्नो दृष्टिकोणलाई प्रस्तुत गर्नु  भएको महशुश भयो | आधुनिक नेपालमा पो डायस्पोरा सिद्धान्त भन्ने चलन आएको छ, मेची पारी त त्यो के हो के हो...बाठाहरुले उत्पादन गरेका ती नौला “वाद” हरुसित पुरानो लेखाइलाई  जुझाउनु अलिक मिलेन कि भन्ने जस्तो लाग्यो  |  नवराजजीको आरोप छ कतिपय शब्दहरु लेखकले आफै निर्माण गरेको रे जस्तै डुक्पा, डुकपिनी, डि पाइटे, आदि; तर शायद साम्चीबाट मास्तिर उक्लिनु भएको भए वा दक्षिणदेखि  पूर्व दागाना, चिरांगसम्म जानु भएको भए ती शब्दहरुको प्रयोग जताततै देखिन्थ्यो |  आजसम्म पनि स्थानीयहरु डुक्पा र डुकपिनी भन्ने गर्छन् |
मैले अघिनै भनेको छु, नबिसाइकन पढेका दुई च्याप्टर छन दाई ....पहिलो लक्ष्मण गामनांगेको “सांल्दाजुसंगको न्यानो न्यानो यात्रा” र दोश्रो दाईको अत्युत्तम मेमोयर “दशैं : नफर्किने दिनहरु” (पृष्ठ ३४७ – ३५७)” | दोश्रो लेखमा दाइले हाम्रो पहाडे जीवन, दैनिकी, रहनसहन, दुक्ख, गाउँघरको भौगोलिक, सामाजिक, धार्मिक र सांस्कृतिक विवरण सुनाउंदै आफ्नो वाल्यकालको दशैंको बढो मनोरम दृश्य प्रस्तुत गर्नु भएको छ | म स्वयम् भोजपुरमा जन्मेको, आमाको ढाडमा बोकिएर घन्टौ र दिनौं हिनेर दिँगला, तुम्लिंगटार, खाँदवारी, चैनपुर र धनकुटा देखेको बालक भएकोले पनि ती वर्णनहरु सुन्दर लाग्यो | फेरि  हामी पनि भोजपुर छोडेर झापा लक्ष्मीपुर घैलाडुब्बा माइग्रेट भएका र पछी चियाबारीको काम खोज्दै बङ्गाल छिरेका हुनाले त्यस्ता रुटलेस जीवन कथाहरु ज्यादै मन पर्यो |
दाइको वेलायत भ्रमणको बखत म पनि लण्डनमै त रहेछु तर चिनजान थिएन, भेट  भएन, जे होस्, जया राइले पृष्ठ ८७ – ९५ मा हजुरको अगस्त सितम्बर २०११ मा भएको बेलायत भ्रमणको लेखलाई बढो चाख मानेर पढें | इलिंग ब्रोडवे, बेकर स्ट्रीट, हेरो-अन-द-हिल स्टेशन, रिचमण्डमा भर्जिनिया ऊल्फ़को म्युजियम भ्रमण, कार्लमाक्सको समाधि स्थल, आदि घुम्नु भएको र दुई हप्ता फ्रान्सतिर घुम्नु भएको राम्रो वर्णन रहेछ |  दाईको भ्रमणको अन्तमा एकदिन म्याकडोनाल्डमा खाजा खाँदै “डा. भट्टराईले डायस्पोरामा बसेर के के लेख्ने, कसरी लेख्ने, किन लेख्ने भनेर सबैलाई सल्लाह दिंदै लेख्न आग्रह गर्नु भयो” भन्ने कुरा थाहा भयो; मलाई लाग्यो म पनि त्यो स्याण्डविच ग्रुपमा भएको भए दाइको अमूल्य सुझाव सुन्न र सिक्न पाउने थिएँ |
डा. कुमारप्रसाद कोइरालाको भनाइमा उहाँ पहिले साहित्यकार, पछि  विद्वान भएका हुन् रे...विद्वाई  विद्वान भनेको हो भने विद्वान  भएर नै नेपाली साहित्य लेख्न सिपालु हुनु भएको हो भन्ने मलाई लागेको छ |
अन्तमा, “फिलिंगे बारीमा दावासंग उड्दा” को अनुभवले मरी मरी हास्न बाध्य पनि भएँ.....दावा र उसको होन्डाको दिर्घायु होस्, दाइको स्वास्थ्य सधै राम्रो रहोस् ....त्यो अविस्मरणीय “चारों खाने चित्” को ठोकरले शरीरमा केही कष्ट नबल्झियोस | यही कामना छ |
जे जति लेख्नु भो, प्रकाशित गर्नु भो, सुनाउनु भो, देखाउनु भो, ती मध्येमा सबैभन्दा ठूलो चुनौती भानुभक्तको रामायणलाई  अंग्रेजीमा उल्था गर्नु चानचुने काम होइन ; त्यो हेर्न सबै उत्सुक होलान्, म मात्रै कहाँ हो र ?
अन्तमा अर्जुन प्रधानको भनाइमा दाइ  नेपाली TS Elliot हुनुहुन्छ, जसलाई मनन गर्दै नमस्कार गरी यो पत्रांत गर्दछु |
* * *

No comments:

Post a Comment