हिजोआज के लेख्दैहुनुहुन्छ ?
सुकरातको डायरीले मलाई निकै वर्ष कुदायो । आज त्यसैको थकाई मार्दैछु । फेरि हालको एक दशकभरि गरेका वैदेशिक यात्राका भ्रमण, संस्मरण र साहित्य सबै प्रकाशित हुन बाँकी छ । यात्रा सम्पन्न गर्दै, स्मरण लेख्दै, टाइप गर्दै थन्क्याएको मात्रै । अमेरिका, ग्रिस, बेलायत, फ्रान्स, रुस, हङ्कङ, थाइल्याण्ड, कोरिया, कतार, भारत आदि भूमिहरूको यात्रा संस्मरणका आधि दर्जन कृति मसिन्याउन बाँकी छन् । अब चाहिँ कस्सिएर त्यतै लाग्छु भन्ने अठोट छ । तर सोचेको आधि पनि पुग्दैन ।
अहिलेसम्म कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
अब यसको उत्तर कसरी दिने होला ? कसैले यति लाख शब्द लेखेँ भन्दछन्, कसैले यति वर्षदेखि मरेर लेखेकोलेखेकै छु भन्दछन्, कसैले आफ्ना कृतिका सङ्ख्याहरू हार लगाएर रिँगटा चलाउने दृश्य बनाउँछन् । म यी तीनवटैमा विश्वास गर्दिनँ किनभने ती लेखाई मूल्याङ्कनका भौतिक मापन मात्र हुन् । मलाई लाग्छ— मैले २०३१ सालदेखि निरन्तर लेखिरहेकै छु । तर धेरै लेखन घाँसपराल जस्तै कम महŒवको थियो होला । काम लाग्ने लेखन अत्यन्त थोरै छ; त्यस भित्र निबन्धसङ्ग्रह (५), उपन्यास (४) अनुवाद (६) अङ्ग्रेजीमा सम्पादन आदि पर्दछन् । अब मलाई लाग्न थालेको छ— बल्ल अलिक बुझेर लेख्न सक्ने भएँछु, अलिक बुझाएर लेख्न सक्ने भएँछु त्यसकारणले सबै कुरा त्यागेर म बाँकी दुई दशक लेखनमै समर्पित हुन चाहन्छु । (तर यो पनि कति पुग्छ कसले भन्न सक्छ र ?)
तपाई कसको लागि लेख्नुहुन्छ, आफ्नो लागि कि पाठकका लागि ?
सर्वप्रथम ता लेखन भन्नु नै आत्मप्रकाशन हो । त्यसको पाठक पनि आफैँभित्र हुन्छ । त्यसकारणले सिर्जनाको गर्भमै आफैभित्र लेखक÷पाठक अथवा सर्जक÷समालोचक दुवै सँगसँगै हुन्छन् । लेखक ता एक प्रकारले अर्धनारीश्वर जस्तै हो । त्यो प्रकट भै सकेपछि अथवा प्रकाशित भै सकेपछि पनि पाठककै लागि गरिएको जस्तो कर्म लाग्दछ, हो पनि किनभने पाठकले मलाई भेटेर भन्ने गर्दछन्— तपाईंको फलानो रचना÷कृति पढेँ र मलाई यस्तो भयो । लेखक सधैँ पाठककै तिर्खामा, पाठककै प्रेममा हुन्छ र पाठकले नै बाँचेको हुन्छ । तिनैबाट प्राप्त हुने उर्जाका लागि ऊ लेखिरहेको हुन्छ ।
तपाईको लेखनमा ‘हृदय’ हाबी हुन्छ कि ‘दिमाग’ ?
यसरी एउटा लेखकको ‘भावना’ बाट ‘मस्तिष्क’ लाई अलग्याउनु असम्भवजस्तो लाग्दछ किनभने सबै लेखन मूलतः हृदयको आग्रह नै हो तर त्यसलाई सुसङ्त बनाउने, तार्किक बनाउने, शिल्पयुक्त बनाउने शक्तिको आर्जन भएको छैनभने त्यो पठनीय हुन सक्तैन । हृदयले लेखन उत्प्रेरित गर्छ मसिष्कले उर्जा र मार्ग । त्यहाँ दुवै पक्षको सन्तुलन आवश्यक हुन्छ जस्तो लाग्छ र म पनि त्यसैमा पर्दछु ।
तर कहिलेकाँही हृदयले नै अथवा भावनाले नै ज्यादा उद्वेलित क्षणमा सिर्जना हुँदो रहेछ । जस्तो गौरी र सुलोचना । मलाई अनुभव भएको छ एउटा लेखकको परिवेश अध्ययन, शिक्षा, चिन्तन आदि बढ्दै जाँदा उसको लेखन ज्यादा मस्तिष्क—संचालित हुँदो रहेछ । म ठान्छु मेरो मुगलान (२०३१) भावनाले अधिक संचालित क्षणमा वा उमेरमा लेखेको रहेछु त्यो हृदय अहिलेका सुकरातका पाइला अथवा सुकरातको डायरी लेखनको कुरा होइन पठनमात्र पनि असमर्थ हुन्छ होला ।
मिडियामा सधैँ छाइरहनु हुन्छ, मिडियामा ‘प्राध्यापक गोविन्दराज भट्टराई छाएको हो कि, ‘साहित्यकार प्राध्यापक गोबिन्दराज भट्राई ?
मिडियासँग सधैँ कुनै जिज्ञासा हुन्छ, कोही नवीनताको खोजी हुन्छ त्यसकारणले नै मलाई तपाईंहरूले त्यहाँ स्पेस दिनुभएको होला । तर त्यो मेरै तृष्णाको परिणाम होइन । अर्काे कुरा प्राध्यापक र साहित्यकार बीचमा म फरक देख्तछु । प्राध्यापक भनेको विश्वविद्यालय सेवामा काम गर्दै जाँदा केही फारमहरू भरेपछि आफैँ हुँदै जाने प्रक्रिया हो तर त्यसरी साहित्यकार हुन सकिँदैन । कुनै विश्वविद्यालयमा “साहित्यकार” जन्माउने पाठ्यक्रम आजसम्म बनेको छैन । नेपालमा प्राध्यापक पद प्राप्त गर्ने व्यक्तिको सङ्ख्या पाँच सय नाघेको छ तर ती मध्ये पच्चीस जना पनि साहित्यकार छैनन् होला । साहित्यको क्षेत्रमा मेरो नामको अघि कसैले पनि ‘प्राध्यापक‘ वा ‘डाक्टर’ नलेखिदिए हुन्थ्यो जस्तो मान्दछु । म केवल साहित्यकार गोविन्दराज भट्टराई हुन पाऊँ । यहाँ प्राध्यापक पसेर आफ्नो विद्वताको आडम्बरी भारी नबिसाओस् । कुनै पदले अलङ्कारले, विभूषणले साहित्यकार हुँइदैन ।
तपाई आफैलाई ‘प्राध्यापक गोबिन्दराज भट्राई’ बेजोड लाग्छ, की ‘साहित्यकार गोबिन्दराज भट्टराई’ बेजोड लाग्छ ?
बेजोड त मलाई दुवै लाग्दैन किनभने मेरो उमेरमा कति प्राध्यापक विश्वप्रसिद्ध भएका छन्; कति साहित्यकार विश्वप्रसिद्ध भएका छन् । आफ्नो सानो परिवेशमा आफैँलाई मात्र बेजोड ठान्ने अहङ्कार ईश्वरले मलाई नदिउन् भन्ने ठान्दछु । दिएको छ भने पनि त्यो फिर्ता गरुन भन्ने प्रार्थना गर्दछु । प्रध्यापक, विश्वविद्यालयले उपहार गरेको एक अलङ्कार मात्र हो । साहित्यकार कसैको कृपाले हुन सक्तैन त्यहाँभित्र ईश्वरकै बास हुनुपर्छ जस्ता लाग्छ ।
तपाईंलाई अंग्रेजीमा लेख्न सजिलो हुन्छ कि नेपालीमा ?
मलाई दुवैमा उस्तै लाग्छ । तर २०६३ साल भदौको गरिमामा प्रकाशित अन्तवार्तर्तामा मैले भनेको छु— ‘म अरूका बैसाखी टेकेर धेरै हिँडे, कुदेँ तर अहिले मलाई थाहा भएको छ एउटा सगरमाथा चढ्नलाई बैसाखीले नहुँदो हरेछ मेरा आफ्नै पाइताला उपयुक्त छन्, पर्याप्त छन्’ । वास्तवमा मैले त्योबेलासम्म अङ्ग्रेजीमै ज्यादा लेखेँ होला । त्यसपछि अघिकांसरूपले म नेपालीमै लेख्न मनपराउँछु । मलाई यही वाङ्मयको सगरमाथा चढ्ने रहर छ ।
तपार्इं नेपालीमा सोच्नुहुन्छ कि, अङ्ग्रेजीमा ?
मैले नेपालीमै जानुपर्छ भनी धेरै अघि निर्णय गरेको रहेछु । मेरो मुगलान को तेस्रो संस्करण (२०४५ मा मैले भनेको छु “दिनभरि अङ्ग्रेजी मै बरबराए पनि अङ्ग्रेजीमै खोके पनि, म रातको सपना कहिल्यै अङ्ग्रेजीमा देख्दिनँ सारा सपना नेपालीमै देख्छु ।”
यसका दुईवटा अर्थ हुन सक्छन्— मेरो नेपाली भाषाप्रेम (एकप्रकारको कट्टरता) र अङ्ग्रेजीबाट यता आउने मेरो अकाङ्क्षा । तर त्यति मात्र होइन मेरो पालाको अङ्ग्रेजी मुश्किलले, रहरल,े बल गरेर, ठूलो प्रयत्नले पेशाको लागि सिकेको कुरा मात्र थियो ममा पूर्ण द्वैभाषिकताको अभाव छ, पूर्ण द्वैसांस्कृतिकताको अभाव छ । शायद केही दशक व्यवसायले आह्वान गर्दा अङ्ग्रेजी विषयको शिक्षक भएको नाताले, जान्ने भई टोपलेर मैले अङ्ग्रेजीमा ज्यादा बल गरेँ होला, त्यसपछि मैले स्वाभाविक र सहज हुन चाहेँ । त्यसैले म सधैँ नेपालीमा छु । तर मेरो पठन चाहिँ अधिकांश अङ्ग्रेजीमै हुन्छ । किनभने उताको ज्ञानरसले म नेपाली खेत भिजाउन चाहन्छु ।
नेपालका बौद्धिकहरूको बौद्धिकता बढी कक्षाकोठा र होटलका सेमिनारमा मात्रै सीमित भयो, लेखनमा आएन भनिन्छ नी, ठिकै हो ?
म यसमा तपाईंसँग पूर्णरूपले सहमत छु वास्तवमा संसार नै यस्तै छ । गम्भीर स्रष्टाको तुलनामा बौद्धिकता प्रदर्शन गर्ने प्राध्यापक वा अन्य व्यक्ति–पहलमानहरूको सङ्ख्या धेरै ठूलो छ । म ठान्छु यी दुईलाई मिसाउनु हुँदैन किनभने बौद्धिकता एक प्रकारको मलिलो व्यवशाय हो; सिर्जना व्यवसाय होइन, केवल मनोग्रस्ति अथवा अब्सेशन हो ।
सधैँ विदेशका साहित्यिक कार्यक्रममा गईरहनुहुन्छ, त्यस्तो आकर्षण के छ तपाईसँग ?
हो, म वर्षमा तीनचार पल्ट विदेशका साहित्यिक कार्यक्रममा गइरहन्छु तर त्यो गमन मसँग कुनै आकर्षण भएको कारणलेभन्दा पनि बाह्य मुलुकमा पुगेर, अनेक डायास्पोरामा छरिएका नेपाली बन्धु बान्धवहरूको प्रेमले हो । मेरो प्रमुख लक्ष चाहिँ डायास्पोरिक नेपाली साहित्य, नेपाली संस्कृतिको अध्ययन गरी उनीहरूको कर्मको मूल्याङ्कन गर्नु, ती कर्मलाई नेपाली वाङ्मयको मूलधारसँग जोड्नु नै हो । किनभने अहिले सम्पूर्ण विश्व नै डायास्पोरा स्टडिज् अन्तर्गत अनेक विषयको अध्ययन र अनुसन्धानमा समर्पित छ । नेपालीको ध्यान त्यसतर्फ पुगेको छैन । नेपाली समालोचनामा, नेपाली साहित्यको इतिहासमा तिनीहरूलाई आवश्यक स्पेस दिलाउने चिन्तामा म समर्पित छु । मेरा केही विदेश यात्रा अन्य विषयका बौद्धिक र प्राज्ञिक प्रस्तुति पनि रहेका छन्
तपाईंले नलेख्दा तपाईंलाई बढी घाटा हुन्छ कि पाठकलाई ?
अघि भनेँ, लेखक र पाठक दुई अन्तरङ्गी भएकाले गर्दा दुवैलाई ठूलो नोक्सान हुन्छ । त्यसमाथि समर्पित लेखक ता एक क्षण पनि नलेखिरहन सक्तैन । दिवंगत हुनुभन्दा सात दिन अघि कृष्णचन्द्रसिंह प्रधानले लेख्नुभएको एउटा निबन्ध प्रकाशित भएको छ ।
विश्वविद्यालयको कक्षाकोठामा प्रोफेसर भएर पस्दा या विद्याार्थी भएर बस्दा कुन चाहि बढी आनन्दमयी लाग्यो तपाईलाई ?
प्राध्यापन पेसाको उत्कर्स नै प्रोफेसर पद हो । राम्रो अध्ययन गरेर कक्षा कोठामा पस्न पाउनु अथवा सक्नु अतुलनीय भाग्यको, आनन्दको कुरा हो ।
यतिखेर देशमा अशान्ति छ, केही भनु लागेको छ ?
म आफ्नै कर्मको चिन्तामा छु, देशको शान्तिको जिम्मा सधैँ अन्य मित्रहरूलाई दिएको छु । उदारताको लागि, स्वतन्त्रताको लागि नेपाली जाति लडेको पचास वर्ष नाघ्यो । बल्ल यतिखेर शान्ति–अशान्तिको अन्तिम बिन्दुमा पुग्दै छौँ । शान्ति स्थापित हुन्छ तर यो संक्रमण काल भोग्न अझै धेरै बाँकी छ । मैले यस कुराको चिन्तामा जीवन अर्पेँ भने मेरो लेखन समाप्त हुन्छ । यो उहाँहरूकै जिम्मामा छ ।
तपाई आफूलाई उत्तरआधुनिकताको उत्तराधिकारी ठान्नुहुन्छ रे नि ? आरोप सत्य हो ?
सत्य चाहिँ के हो भने उत्तरआधुनिकताको स्थापना र संस्थागत विकाशमा मैले २०४८ सालदेखि प्रवेश गरेको हुँ । यो २१ वर्षमा उत्तरआधुनिकता भित्र पर्ने साइबर संस्कृति, डायास्पोरा लेखन, इको लेखन, अभिघात सिद्धान्त, एथ्निक लेखन, अनुवाद र बहुलतावादी लेखन जस्ता विश्व लेखन, चिन्तन र समालोचनाका उदारतावादी स्कुलहरूलाई नेपाली जगत्मा स्थापना र प्रयोगतर्फ उन्मुख गराएँ । यसमा अन्य अनेकौँ विचारकहरूको पनि सहयोग छ । यस्तो ठानिदिएकोमा म त खुसी मान्छु मेरो कर्मको मूल्याङ्कन हुने रहेछ भन्ने ठान्छु ।
‘उत्तरआधुनिक ऐन’ाबाट अहिलेको समाज कस्तो देखीरहनुभएको छ ?
मेरो उत्तरआधुनिक ऐना (२०६२) ले नै उत्तरआधुनिकता सम्बन्धी अनेक सिद्धान्त र दृष्टिकोणलाई, सिद्धान्त र समालोचनालाई नेपालीमा सर्वप्रथम चिनाएको थियो । त्यसपछि नै हाम्रा स्रष्टा समालोचकहरू नवीन र उदारताको पथ सोच्न र अभ्यास गर्न लागेका हुन् । नत्र भने हाम्रोमा ज्यादा एकलतावादी कट्टरता थियो । राजनीतिलाई नै साहित्य भन्ने समूहले प्रयत्न गरिरहेको थियो र चिन्तन र समालोचनामा पनि रूढ भइसकेको संरचनावादले ढाकिरहेको थियो । उत्तरआधुनिक ऐनालाई अनेसासले सर्वाेत्कृष्ट कृतिको रूपमा पुस्कृत ग¥यो । त्यसपछि रूढताहरू मलिन हुँदै गएका हुन् । पछि उत्तरआधुनिक विमर्श (२०६४) ले यस्तो बहुलवादी सोचलाई अझै व्यापक बनायो भने मेरो प्रकाशोन्मुख उत्तरआधुनिकता र समयबोधले यो विषयको सामयिक स्वरूप प्रस्तुत गर्दछ ।
तपाईं बढी भूमिका लेखनमा रमाउँनहुन्छ भन्छन्, तपाईंलाई भुमिकाराज सर भन्नेहरूलाई तपाईको उत्तर के छ ?
हेर्नाेस्, नयाँ लेखनमा डायास्पोरा, एथ्निसिटी, साइबर संस्कृति, लैङ्गिक चेतना, अनुवाद जस्ता विश्वप्रभाव देखिन थालेको निकै भयो । ती विषयको व्याख्या गर्ने, विश्लेषण गर्ने, समालोचकको अभाव छ । कि रूढ छ कि शास्त्रीय वा संरचनावादी, त्यसो त सबै रूढ हुन् । लेखनमा, समालोचना सिद्धान्तमा प्रतिमान परिवर्तित भैसकेको छ भन्ने कुरा हाम्रा स्रष्टालाई पनि अवगत छ । त्यसका साथै अहिले नेपाली साहित्य सिर्जना अनेक भूगोलबाट, अनेक जाति र संस्कृतिबाट अकल्पनीय रूपले फैलिएर आएको छ यसलाई संरक्षण गर्ने प्रेमले पनि म भूमिकातिर लागेको हुँ । त्यो लेखन पनि मेरो भूमिका नभएर नवीन समालोचकीय दृष्टिकोण नै हो । कहाँकहाँदेखि सम्झेर आउँछन् उनीहरूलाई प्रोत्साहित गर्नु मेरो प्रथम कर्तव्य हो । मैले अस्वीकार गरेँ भने उनीहरूलाई कसले बुझिदेला जस्तो लाग्छ । तर यस्तो लेखन मेरो निमित्त बाध्यात्मक पनि हो म केवल सिर्जनामा रमाउने व्यक्ति हुँ । नयाँ समयले पालो दिन थालेपछि म सिर्जनामै हुनेछु ।
प्रस्तुति ः राजेश राई
सौर्य दैनिक
२०६९ असार ९ मा प्रकाशित
No comments:
Post a Comment