About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Wednesday, August 17, 2011

ए मास्टर नानी ! ९० सालका भुइँचालाको किताप



साउनको उर्लंदो भेलमा भिनाजु साथी लिएर आसामको पल्लो छेउसम्म हेलिनुपर्ने भयो । विचरा बूढा भिनाजु काँकरभिट्टा कटेर मेची पुल पुग्नासाथ भित्र भास्सिएका आँखालाई उँभो मिरिकको पहाडदेखि उँधो भद्रपुरको पूर्वी बगरतिर सन्देहले भरेर डुलाउँछन् । भिनाजुले शिरको टोपी झिकेर कमेजका गोजीमा राखे र उनको टुप्पी मात्र हल्लिन थाल्यो रिक्सामा हुरुरु...! यसरी मुगलान पसेदेखि मेरो पनि मन सिरिङ्ग हुन गो ।

बल्ल–बल्ल तेस्रो दिन बिहान मात्र डिम्मापुर काटेर उत्तर लाग्यौँ हामी । निकै ठाउँमा ठग र चोरसितको च्यालेञ्जमा परियो । छट्टुले थाहा पाएछ क्यारे मेरो भित्रि गोजी समेत कैचीमारको फेला पर्न गयो । आसामको पल्लो छेउ दुमदुमा स्टेशन पुगेपछि मात्रै हामी ससानो रेललाई छाडेर अर्काे बाटो लाग्यौँ ।

दुमदुमा स्टेशन ओर्लंदादेखि पानी पर्न लाग्यो । पानी सितिमिति होइन, मुसलधारे थियो । आसामको ‘चेरापुञ्जी’ पढेको थिएँ, त्यसैको सम्झना आउन थाल्यो । हामीसँग छाता पनि थिएन । शिर थापेका छौँ  मुसलधारा वर्षेको छ दररर.... आरीले घोप्ट्याएको जस्तो । डोंग्री पुग्दा बल्ल एउटा ट्याक्सी भेटियो र चढेर धवला बजारसम्म पुग्न सकियो । धवला बजारदेखि उता ब्रह्मपुत्रको बाढीको लेदोले गाडी नचल्ने भएको थियो र अब हिँड्नु पर्ने भयो । काँधमा ससानो पोको भिरेको छु । ठूलो छ त्यो पनि भिजेर मुसोजस्तै भयो ।

त्यसभित्रका चिउरा पनि ढाडिएर पोको झन् फुल्न थाल्यो । भिरेका छौँ; कुदेका छौँ । म पनि पोकोजस्तै हुन गएँ । चिसोले ढाडिएर भुँडी फुल्न थाल्यो । गर्मिका फ्याङ्ले लुगा भिजेर च्याप्पै जिउमा टाँसिए । ‘फेरि’ ‘फेरि’ ...’ ‘छुट्नै आँट्यो फेरि  ...’ भन्दै मान्छेको हुल अघि सर्छ । हामी केही नबुझेरै पनि हूलको पछि कुद्दा छौँ, पानीले गोद्दो छ । मसिना गिर्खे ढुङ्गा आए, माटो आयो, लेदो आयो अनि बाटाको दुवैतिर हिलो मात्रै । पानीका दह र लेदाका आहालमा चोबलिँदै, निस्कँदै, गाडिँदै फेरि हूलको पछि कुद्दै । बाटाको उत्तर–दक्षिण दुवैतिर प.....र परसम्म हावापानीसँग लरबराउने काँसका हरिया बुट्टैबुट्टा थिए, पट्टेरका घारी थिए, कति ठाउँमा बाढीले पट्टेरलाई लपक्कै लिपेको थियो । लेदो र पानीका दह थिए । मान्छेले छाडेर गएका विराना, एकतले फुुस र टाटीका झुप्राहरू थिए । का...लो पाकेको माटोको लिस्याइलो लेदो तीन–चार दिन अघिको बाढीले ल्याएको जस्तो लाग्यो, त्यसबाट ह्वास्स बाढी र पतपत ध्वाँउने खोलाको गन्ध आउँथ्यो ।

घोप्टिएर कुद्दा कुद्दै बालुवै बालुवा मात्र भएको बगरमा पुगियो । झट्ट शिर ठड्याएर हेरेँ, हूल रेकिएको छ र अगाडि बगिरहेछ विशाल नदी ब्रह्मपुत्र । एशियाको प्रशिद्ध नदीमध्ये एउटा । गौहाटीदेखि नै ब्रह्मपुत्रले ल्याएको विनाशकारी बाढीको चर्चा सुन्दै गएको थिएँ । सदिया छेउ पुगी आफ्नो आँखाले हेर्दा त म आत्तिएँ पनि । पारि हेर्छु— पारि नै छैन, पानी पानी मात्र छ । उँधो र उँभो पनि पानी मात्र । उत्तरबाट ठूल्ठूला पानीका काला मुस्लासँग लुँडिएर बग्दो ब्रह्मपुत्रको किनारमा मिशीनले चल्ने दुईवटा जहाज राखिएका छन् । आकाशबाट पानीका छाँगा झन् कस्सिएर झर्न लागे, बादल झन् कालो भो, गड्याङ्ग–गुडुङ्ग र बिजुली झन् डरलाग्दो भो ।

‘गोर्मेण्टिमा चढ्ने’ भन्दै सबै मान्छे किनारको ठूलो चाहिँ जहाजमा चढ्न लागे । सरकारी ठेक्काबाट चल्ने त्यो जहाजको भाडा सस्तो हुने बुझेकाले हामी पनि त्यतै धकेलियौँ । पछाडिबाट हेरेँ— भुक्के चप्पलले हिलो पड्काएर भिनाजुको ढाड हिलो आली गरेको खेतको गह्रोझैँ भएछ । ६०–७० जना मानिसले त्यो जहाज भरियो । नेपालीको सङ्ख्या सबभन्दा बढी थियो, बाँकी थिए आसामे र सरकारी मिल्टेरीहरू । नदीमा  बाढी नाचिरहेथ्यो । ठुटा बग्थे, मूढा बग्थे, हाँगा बग्थे, जरा बग्थे अनि बूट्यान र सिङ्गा रुख–रुखै पानीमा तैरिन्थे । नदीको वारपार केही देखिँदैनथ्यो । पानी पानीको अनन्त फैलावट मात्र । नदीको छाल उफ्रेर पर्वतझैँ उचालिन्थ्यो । टाढा टाढा पानीमा देखिने जहाज र ढुङ्गाहरू चुर्लुम्मै डुबेजस्तो लाग्थ्यो । फेरि किमिलाको आकृतिमा तैरिन्थे ती । हामी पानीको भुल्कोलाई बीचैमा चिर्दै छालसँग लाप्पा खेल्दै सीधै उत्तर लाग्यौँ । जति अघि बढ्यो त्यति हाम्रो दृष्टिबाट किनारा अदृश्य हुँदै जान्थ्यो । नदीको त्यो प्रलयकारी भीषण रूप देखेर मेरो मन धेरैपल्ट कहालियो जहाज डुब्ला कि भनेर ।

तीन घण्टापछि हाम्रो जहाज पानीको कमीले अघि बढ्न नसक्ने ठाउँमा पुगेर रोकियो । त्यहीँनेरी ससाना डुङ्गाहरू आइपुगे । जहाजका सारा यात्री ती साना खाले डुङ्गा पक्रेर ब्रह्मपुत्र पार गरी सदिया बजारतिर लाग्यौँ । तर आफ्नो डुङ्गावाल सबभन्दा लुम्जडी परिदिएकाले गर्दा सदिया बजार पुग्ने सबभन्दा अन्तिम प्राणी हामी नै भयौँ । सारा बस छुटिसकेछन् । डुङ्गावालको नामर्द्यार्इंलाई सराप्तै आउने बसलाई पर्खिबस्यौँ । एक घण्टापछि ‘रोईङ्ग’ जाने ‘लाल बस’ ले हामीलाई टिपेर लग्यो र चापाखुवा बजार नजिकै उता¥यो । गन्तव्यको पत्तो नभएकोले मेलाबाट फिरेकी एउटी रोपाहार (नेपाली) लाई सोधेँ— ‘दिदी ! दुई नम्बर बडगरा नेपाली बस्ती यहाँबाट कति टाढा पर्छ ?’ उनले सहज उत्तर दिइन्— ‘धेरै टाढा छैन भाइ । यो आली पक्रेर सरासर जानू । छ माइल पुगेपछि एउटा दोकान आउँछ— राधेश्यामको दोकान । त्यस परतिरको ठाडो आली गए पुगिन्छ ।’

मरुमारुको खबर लिएर मावली काकाको घर पुग्दा झमक्कै भाले साँझले छोप्यो । तर बेलुकी यो खबर भनिएन । खानापछि सुतियो बिहानको पार्खाइमा । भोलिपल्ट देखेँ— चारैतिर, ढोडैढोड, मकै भाँचिसकेको ठाउँ, इलामे घारी, कताकति धानबारी, ठुटाबुटा र झ्यासले घेरेको ठाउँ, थुम्काथुम्की पर्दै दक्षिणतिर दम्स्याइलो परेर ढलेको विरक्तिलो ठाउँ । त्यसमा स–साना खाले झ्याप्से भुइँघर बनाएर नेपाली बस्तीले ढाकेको देखिन्छ । लुला, लङ्गडा, पहेँलिएका मानिसहरू फुत्त फुत्त एउटा घारिबाट निस्केर अर्काे घारिभित्र पस्छन् । नेपाल अशिक्षाको कालो गुफा हुँदै बाहिरिएका नेपाली अझ सदाको औँसीमा डुबुल्किएका छन् त्यहाँ । गर्मी असाध्यै बढेर आउँछ । घाम चर्केपछि झन् उखुम हुन्छ । दिनभरि हावा चल्दैन, खालि गुम्साइ र छटपटी मात्रै ।

क्रियाकाज शुरु हुन्छ । मान्छेको आइजाई बढ्दै जान्छ । म नौलो बन्छु । बूढाहरू सोध्छन्— ‘के छ त नानी ! हाम्रो मुलुकको हालखबर ? हामीलाई पनि लानुपर्ला है अब त  !’

‘किन र बा ?’ म सोध्छु ।

यहाँदेखि धपाउँछ अरे । आएर फडानी ग¥यौँ । जङ्गल आवाद ग¥यौँ । लेखापढी छैन । पास छैन । नेपालीको मुड्के बल भन्थे सोहीताक । पञ्चानब्बे सालका ब्रह्मपुत्रका बाढी पीडित भनेर दरखास्त गरेका छौँ । तर जग्गा दिने चाल छैन ।

बजारमा आसामे भाषाको माध्यमले पढाइ हुने दुइटा हाईस्कूल थिए । त्यत्रो गाउँका नेपालीका सन्तानले पढेको देखिएन । सोधेँ सहज उत्तर आउँछ— ‘त्यो पढाइ काम लाग्दैन हाम्रो लाइनमा ।’

काकाले भनेको सुनिरहन्छु— ‘पश्चिमतिर, ए नानीहो ! पश्चिमतिर जानुप¥यो । माझुली, नहरबारी, देउपानी, खनिउबारी र नेफासम्म आफन्तहरू छन् ।’ उनी भन्दै जान्छन्, ‘अहिले अरू सिभिल पब्लिकले त्यो चेकपोष्ट काटेर गेटपार जानु मनाही छ । उत्तरतिर शान्तिपुरमा समेत मनाही छ । शान्तिपुरदेखि चेकपोष्ट, फारम बस्ती, बौका पत्थर, गर्दै नेफा (अरुणाचल प्रदेशको सिमान्त सुरक्षित क्षेत्र) ।’

म उत्तरतिर फर्केर हेर्छु— विशाल गगन चुम्ने पर्वतहरू चुलिएका छन् । पूर्वदेखि पश्चिमोत्तर कोणलाई पूरै घेरेर ठडिएका छन् । तिनै पहाडमाथि मोटर बाटाका धर्काधर्की टल्किन्छन् । नेफा उसपार सम्झँदा मानिस जानै नसक्ने राक्षस राज्य फैलेकोजस्तो कल्पना आउँछ । पूर्वतिर डुल्छु— नसाई आउँछ माझ गाउँ, स्याङसाप, नौसुके, धनियाँ, नेताई, तोरीबारी गर्दै १६ माइल पुगेपछि गेट आउँछ अनि उही नेफा । दक्षिणको दम्स्याइलो पाखो झाडीझाडी, मलिलो खेत, सम्म ठाउँ र बाँसघारीले घेरिएर झर्छ । एउटा मुसलमानी नाम आउँछ इश्लामपुर । त्यसपछि आउँछन् पालुङ्ग, कुण्डिल, ८ माइल, ७ माइल, बासा गाउँ अनि डुम पत्थर । काका भन्छन्— ‘नानी मेरो पत्थर त्यही डुम पत्थरमा पर्छ ।’ स–साना खोलाहरू पनि म हेर्न जाँदा, बौलाएर छुनै नसकिने भएका छन् । कुण्डिल भरिएर बग्छ । झिँगा नदी टिल्पिलाउँछ । कञ्चनजङ्घा डिलडिल भरिएर पोखिँदैछ । त्यसैगरी उत्तरबाट दक्षिणतिर हानिएर बग्ने नदीहरू छन्— झिया, देउपानी, मरादेउपानी, किरिम, सोलुङ्ग, डिबाङ्, तेली खोलो, बालिज्यान, डिगारु अनि हाजू । गौशाला पानीपानी छ । सदिया जाइसक्नु छैन, बेसिनी उस्तै छ ।  सदियाबाट रोईङ्ग जाने बाटो पीच हुँदैछ । चापाखुवा हस्पिटलका पहेँला घर टल्किन्छन् । त्यहाँ हाट लाग्छ । नेपाली भेला हुन्छन्, अरू पनि मिसिन्छन् अनि दिन ढल्केपछि फिर्छन् ।

‘यो साल त वर्षा राम्रै छ । गए साल वर्षा नभएर सारा पत्थरहरू बाँझै बसे नानी । बाममा केही बाली अनाज फलेन । त्यसैले यो सालको झरीमा मान्छेको बस्न, खानको ठेगान छैन । सास फेर्न फुर्सद छैन । ६–७ माइल टाढाको पत्थरमा पुगी कोठिया तुल्नु त्यसलाई रोप्नु, जोरजार गोरु जोत्नु अनि रिमरिमैमा घर छोडी त्यस्तै बेला फिर्नुको धावा छ । नदी बढेको छ । होलो बढेको छ । पानीले बिल भरिएकाले कुन आलि कता पुग्छ केही देखिन्न । पत्थर पत्थरमा पोचो फुस्फुसाएर धुवाउँछ । त्यहाँ चा पाक्छ । पत्थर निस्कनु पूर्वै बाबुले छोरालाई अह्राएको सुन्छु, ‘भोलि गाई नदी पारी नलानू । गेर्जिङ्गमा चराउनू । गाखीर घटेर खत्तम भो गेर्जिङ्मा नचराउनाले । चा रङ्गाउन पनि नपुग्ने भो । शिविल बेल्ट नाघ्लान् ।’ त्यसपछि एउटा छोरो गाईवस्तु फुकाउँछ, अर्काे पत्थर धाउँछ, अर्काे बामतिर, घरबूढी र एउटी छोरी मिलेर पोचो धुवाउँछन्, चा उमाल्छन्, बुढो कुनै  कामसँग एकाकार भएको हुन्छ ।

बेलुका गाउँभरिका मान्छे भेला हुन्छन् म नेपालका गफ सुनाउँछु । चाख मानेर सुन्छन् । नेपाली उपन्यास पढेर सुनाउँछु, चाख मानेर सुन्छन् । विष्णुलाल उपाध्यायको आसामे नेपालीहरू पढेर सुनाउँछु— दिल खोलेर हाँस्छन् । एउटा बाबैले भनेको सुन्छु, ‘ए मास्टर नानी ! यस्ताखाले किताप मलाई पठाइदेऊ न नेपालबाट ।’ अर्का बृद्धको पुकार सुन्छु— ‘मैले सबै किताप पाएँ, त्यो ९० सालको भैँचालोको किताब चैँ पाइनँ । त्यो उतातिर पाइएदेखि मलाई पठाइदेऊ है, मास्टर नानी !’ म स्वीकारको शिर हल्लाउँछु ।

त्यहाँ साक्षर नेपालीहरू प्रत्येक दिन घट्दै देख्छु । एक पेटको रहरमा विदेशै टाँसिने करमा गाँसिएका छन् र प्रत्येक दिन झन् अन्धकारमा भासिएका छन् । बेलुका गफैगफमा आफ्नो नानीलाई ढाप मारेर प्यारो गरी बोले बाबैले— ‘हेर् केटा, एक अच्छेर नपढेको तेरो बूढो बाबु मै हुँ । गरिखानलाई के पढ्नुपर्छ ?’ म पनि सही लाइदिन्छु ‘हो बा हो, खान र सुत्न बल ग¥यो भने कहिल्यै जिउ बिगँ्रदैन ।’ सिकुवामा मान्छेको भीड गड्गडाएर हाँस्छ । अनि म बिदा हुन्छु ।

म बिदा हुन्छु । मनमा केले केले छोप्छ । म झण्डै आफ्नो भैसकेको थिएँ त्यहाँ । बड्गरा, नेफा, चापाखुवा, सदिया, ब्रह्मपुत्र मबाट टाढाटाढा हुन्छन् । भिनाजु र म तिनीहरूबाट अझ टाढिंदै जान्छौँ । तीनसुकिया आएर आसाम मेलमा चढी नेपालतिर लाग्छौँ छक्क... छक्क... सुईय्यँ छक् छक् गर्दै । भिनाजुको टुप्पी त्यसैगरी हल्लिन्छ पानी ट्याङ्की नकटुन्जेल र मेरो मनभरि एउटा विचित्रको रित्तो र अँध्यारोले ढाक्छ त्यो ब्रह्मपुत्रको बाढी जस्तै ।

मेची पुल तरेर काँकरभिट्टाको डिलमा पुगेपछि गोजीको टोपी झिकेर शिरमा लगाउँदै भिनाजु बोले, ‘बल्ल बाँचेर फिरियो मास्टर नानी ।’

(टिप्पणी ः यो २०३४ सालको मेरो आसाम यात्रा संस्मरणको अंश हो । आज धेरै परिस्थिति बदलिइसक्यो होला तर पनि आसामे नेपाली भाषिकाभित्र कति स्थानीय र अन्य भाषाबाट अनेक शब्दहरू पचिसकेका छन् जस्तै—

आली  —  बाटो
पत्थर —धान खेत
तुल्नु — बिऊ उखेल्नु
जोरजोर — हल (गोरु)
नेफा — नर्थ, इष्ट, फ्रन्टियर एरिया, पूर्वाेत्तर सीमान्त क्षेत्र
गोर्मेन्टी— सरकारी ठेक्काले चल्ने पानी जहाज
फेरी— डुङ्गा, जहाज, तारघाटको साधन
गेर्जिङ— ग्रेजिङ्ग, खुल्ला सरकारी गौचरण
कोठिया— (धानको) विऊ, वियाड
पोचो— याक्सा, डिही, गोठ
होलो— होली, धाप
बिल— दह
चा— चिया
गाखीर— गाईको दूध)

No comments:

Post a Comment