About Me

My photo
Professor of English, Tribhuwan University, Kirtipur, Kathmandu, Nepal

Friday, March 4, 2011

नया युगका आख्यानकारलाई सम्बोधन


फिदिमबजारको एउटा हलुवाई पसलमा ‘कवि कुनो’ भन्ने ससानो विमर्शकेन्द्र खोलेका थिए । त्यसको ‘बोर्ड’ लेखाउन मैले पनि रु. एक तिरेको थिएँ प्रेमलाई । आज तीनवर्षपछि फेसबुकको भित्तामा देख्छु त्यहाँ ‘यात्रा स्पर्श’ खोलेका छन्, यात्रा साहित्यको कुरा गर्न । अझ महङ्खवपूर्ण ता मलाई त्यहाँ खुलेको ‘उपन्यास कुनो’ लाग्दछ । फिदिमको जस्तो ‘लोकल’ नभएर एक युनिभर्सल कुनोमा बसेर नन्प्लेसेजबाट उपन्यासको ग्लोबल संवाद सुरु गरेका छन् । त्यहाँ राजेश विद्रोहीले टाल्स्टायको अन्नाकेरिना र उनका अमर कथा पढेको लेखे; विजय सापकोटाले अफ्रिकी पृष्ठभूमिका उपन्यासहरू— मार्क बेहरको ‘स्मेल अप्m एपल्ज’ र नादिया मोहमदको ‘ब्लाक माम्बा व्वाइ’ पढेको लेखे, सुबास अधिकारीले अल्बेयर कामुको ‘द स्ट्रेन्जर’ पढेको लेखे, कतिले अफगानी उपन्यासको । कर्णाली ब्लूज, छापामार युवतीको डायरी लगायतका नेपाली कृतिपाठक पनि भित्तामा आउँदै–जाँदै छन् । कविहरू अघिदेखि नै थिए, यतिखेर नेपाली यात्रालेखक र आख्यानस्रष्टाहरू पनि त्यो भर्चुअल भित्तामा दिनदिनै थपिँदै छन् । यसरी नेपाली स्रष्टा–पाठक विश्वसंवादमा सहभागी हुन थालेको देखेर हर्ष लागेको छ । त्यसमाथि पनि आख्यान विषयक चर्चा गर्नैपर्ने बेला आएको छ । विषयवस्तुको गहिराई छुन नसकेर, सिर्जनामा विविधता ल्याउन नसकेर, व्यापकता समेट्न नसकेर, शैलीशिल्पको नवीनता सिर्जन नसकेर नेपाली आख्यान कठाङ्ग्रिएको छ । अझ नयाँ आख्यानकारको लागि उचित प्रेरणा र मार्गनिर्देशको अभाव छ । यहाँ कतिपय स्रष्टा प्रोपागन्डा सार्नुलाई सिर्जना ठान्छन् । कतिपय झोले प्राध्यापकहरू दलीय टाँचाले नसके रुढीगत ढाँचाले कृति मूल्याङ्कन गर्दछन् । त्यसैले नेपाली आख्यान बाटो नपाएर निसास्एिको छ । यस्तो समयमा म विश्वआख्यानका एक महान् व्यक्तित्वको लेखनपथबारे अलिकति चर्चा गर्न चाहन्छु । म नयाँ समयका स्रष्टालाई निर्बन्ध भएर नयाँ कुरा सिर्जने आग्रह गर्दछु ।


सन् २०१० को नोबेल साहित्य पुरस्कार पेरुले प्राप्त ग¥यो । पाँच अरब मानिसमा एकजना चुनिएको, ती एकजनाको भाग्य सम्झिँदा स्रष्टाहरूलाई कत्रो लोभ लाग्छ । दक्षिण अमेरिकाको एक अति प्राचीन सभ्यताको केन्द्र पेरुले प्राप्त ग¥यो । ईशापूर्व हजारौँ वर्षदेखिको सभ्यता बोक्ने पेरुका अनेक गिर्खेनी डाँडा र बादल ओढेर बस्ने फस्के पर्वत र माचुपिचु जस्तो एउटा स्वप्नभूमि, उता घना जङ्गल, बोलिभिया, ब्राजिल र कोलम्बियाको पूर्वी सीमाना, सारा पश्चिमी भूभाग समुद्रमा चोविएको पेटी । स्पेनिस लगायतका ४८ भाषा बोलिने सुदूर पश्चिमान्तको त्यो देश अनेकौँ कष्टहरू खेप्तै आएको छ । लामो समयसम्म साइनिङ पाथले चलाएको गुरिल्ला युद्धले मात्र कति सल्कायो, त्यो कथा डरलाग्दो छ । त्यसबाट देशलाई मुक्ति दिन जापानी मूलका नेता फुजिमोरी राष्ट्रपति भए, तर कालान्तरमा आफैँ एक खुङ्खार डिक्टेटरमा परिणत भए । उनको जीवन, कर्म र कालावधि अत्यन्तै विवादास्प भयो । अत्यन्तै ठूलो राजनीतिक उथलपुथलले भरिएको पेरुले साहित्यतर्फको नोबेल पुरस्कार पाउँदा यो सुदूरपूर्वको नेपाललाई पनि कताकता आशा पलाउन थालेको छ । 


 तर के त्यो पुरस्कार पेरु देशले प्राप्त गरेको हो त ? होइन । त्यो ता एकजना व्यक्तिले, उनको त्याग र समर्पणले, उनको सिर्जनाको सिद्धान्तले, कुसमयविरुद्धको प्रतिज्ञा र त्यसलाई कलाले प्रस्तुत गर्ने शिल्प र अठोटले त्यो प्राप्त गरेको हो । ती पेरु देशलाई प्रथम नोबेलसाहित्य पुरस्कार प्राप्त गराउने व्यक्तिको पूरा नाम जोर्गे मारियो भार्गास लोसा हो । पचहत्तर वर्षे लोसाले आफ्ना अमर कृति (उपन्यास) मा ल्याटिन अमेरिकाले भोगेको युद्धजन्य विनाश र अकल्पनीय भ्रष्टाचार अर्थात मानव मूल्यको पतनबारे लेखे । उनले १९५९ मा प्रथम उपन्यास ‘द सिटि एन्ड द डग्स’ प्रकाशित गरेका थिए । त्यस यताका पचास वर्षमा उनका २६ वटा उपन्यास प्रकाशित भएका छन् । सबै कृति मातृभाषा स्पेनिसमा आए । सुरुको कृति नौ वर्षपश्चात अङ्ग्रेजीमा आयो भने त्यसपछिका कृति दुईतीन वर्षभित्रै अङ्ग्रेजी अुनवाद भएका छन् । तिनै अनूदित कृतिले उनलाई विश्वसमक्ष चिनायो र नोबेल पुरस्कारमा पु¥यायो । उनको निष्पक्ष लेखनले शक्ति–संरचनाको स्वार्थी बाटो पत्ता लगायो ।  अत्याचार र भ्रष्टाचारको तीव्र प्रतिरोध, विद्रोह र पराजयको कथा लेख्न प्रेरित ग¥यो । उनले पेरु मात्र होइन ब्राजिल, कोलम्बिया लगायतका दक्षिण अमेरिकी मुलुकको समयव्यथा लेखे, सत्ता र शक्तिमा चढेकाहरूबाट भएको उन्माद र मानवव्यथाका उपन्यास लेखे । आज पनि प्रिन्सटन युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर पदमा कार्यरत यी महान स्रष्टाले भ्रमण र अवलोकनबाटै इतिहासले मानवमाथि गरेको बलात्कार देखे । दक्षिण अमेरिकाका धेरै देश सैन्य साशन, विद्रोह, र अधिनायकवादी सपनाले बारम्बार मूर्छा पारेको भूगोल हो । उनले त्यस कष्टबाट मुक्ति दिलाउन निर्भिक र स्वतन्त्र भएर लेखे । 


स्पेनिस भाषाभाषी विश्वमा नै भार्गाेस लोसा सबैभन्दा सम्मानित लेखक हुन् । उनी सर्वापरी सर्वसत्तावादविरोधी बौद्धिक हुन् । उनका साहित्यिक कर्मले मानवीय अनुभूतिका विविधपक्षलाई छुन्छ । उनको नाम १९८२ का अर्का नोबेलसाहित्य पुरस्कार विजेता छिमेकी मुलुक कोलम्बियाका ग्याब्रिअल गार्सिआ मार्केजसँग बारम्बार जोडिन्छ । भार्गासभन्दा एघार वर्ष जेठा मार्केज अझै सक्रियतापूर्वक उपन्यास लेखिरहेका छन् । तर मार्केजले सो पुरस्कार प्राप्त गरेको तीन दशक  पछिमात्र भार्गासको पालो आयो । ल्याटिन अमेरिकी देशबाट नोबेल पुरस्कार प्राप्त गर्ने अर्का एकजना स्रष्टा छन्— मेक्सिकन अक्टाभिओ पाज (महान कवि) । उनले १९९० को नोबेल पुरस्कार प्राप्त गरे; त्यसको दुईदशकपछि पेरुभिअन भार्गासको पालो आएको थियो । पुरस्कार प्राप्त गर्ने घडीमा भार्गासले भने— मेरो स्पेनिश भाषाले आज एकप्रकारले विश्व–नागरिकता प्राप्त गरेको छ । देशको लागि कत्रो गौरब, जातिको, उसको भूगोल र भाषाको लागि । सम्पूर्ण दक्षिण अमेरिकामै एक ऐतिहासिक सफलता व्याप्त भयो । हाम्रोमा त्यस्तो दिन कहिले आउला— त्यसरी नेपालीले विश्व–नागरिकता पाएको, देशलाई विश्वमै चिनाएको । युवाकालमा युरोप भ्रमणमा गएको बेला त्यहाँको सभ्यता र त्यसबाट प्रभावित लेखन देखेर उनले टिप्पणी गरेका थिए— ल्याटिन अमेरिकाले डिक्टेटर, क्रान्तिकारी, महाविपत्ति— तीन कुरामात्र जन्माउन सक्छ; कलाकार, सङ्गीतकार, चिन्तक, उपन्यासकार होइन । नेपालको स्थिति अझै त्यस्तै छ, कसरी हाम्रो आख्यानले विश्व ताक्न सक्छ ?


जुलिअस भर्नेको ‘जर्नी टु द सेन्टर अफ दि अर्थ’, ‘अराउन्ड द वल्र्ड इन एइटी डेज’ जस्ता अमर कृतिका शैलीले छोएर उनी लेखनतिर लागेका थिए । पछि उनलाई मार्केजले छोए । त्यसो त उनले डक्टरल डिजर्टेसन नै मार्केजमाथि गरेका थिए । हाम्रा लैनसिंह वाङ्देल झैँ उनी पनि गुस्ताफ फ्लुबेरबाट अर्थात् उनको म्याडम बोभारीबाट झन् प्रभावित भए । वास्तवमा भार्गासको द व्याड गर्ल (उपन्यास) म्याडाम बोभारीमा आधारित प्रतिखेलन हो । यहाँ एउटी टिनेजरसितको प्रेमले घुमाइरहने पात्रको कथा छ । त्यतिमात्र होइन, उनी अमेरिकी उपन्यासकार विलियम फौकनरका ठूला प्रशंसक थिए । उनले मार्केजका अतिरिक्त अल्बेयर कामु, अर्नेस्ट हेमिङवे, जाँ पौल सात्र्रको साहित्यिक टेक्निकको बारेमा समालोचना लेखे । उपन्यासमा म्याजिक रियालिजमको प्रयोगभूमी दक्षिण अमेरिकाबाट पनि उनले त्यस्तै प्रेरणा प्राप्त गरे— परिणामस्वरूप उनी विश्वसाहित्यमा उच्च आख्यानकारमा पुजिए, यद्यपि उनका नाटक र समालोचना पनि प्रशंसित छन् । 


 उनको सुरुको ‘द टाइम अव् दि हिरो’ पेरुको मिलिटरी एकेडेमीका कर्ममा आधारित उपन्यासले धेरै नाम कमायो । उनका ‘कन्भर्सेसन’ ‘गृन हाउस’ ‘आन्ट जुलिया एन्ड द स्कृप्ट राइटर’ जस्ता कृति बेस्ट सेलिङमा गनिएका छन् । उनका अधिकांश उपन्यास पेरुकै पृष्ठभूमिमा छन्, यद्यपि उनले ल्याटिन अमेरिकी समग्रतालाई छोएका छन् । उनले उपन्यास लेखनमा अनेक नयाँ टेक्निकको प्रयोग गरे र आधुनिक पेरुभिअन साहित्यलाई उत्तरआधुनिक मोडमा पु¥याए । भार्गासले ऐतिहासिक विषयवस्तु बढी लिए र व्यक्तिगत अनुभूति मिसाए । उनको ‘द वार अव् दि इन्ड अव् दि वल्र्ड’ प्रथम र शक्तिशाली ऐतिहासिक उपन्यास हो जुन उनको मास्टरपिसमा गनिन्छ । त्यसपछिको अत्यन्तै महत्वकाङ्क्षी ‘पोलिटिकल थ्रिलर’ उपन्यासमा ‘द फिस्ट अफ गोट’ गनिन्छ ।


सुरुमा उनले फिडेल क्यास्ट्रो र क्युबाली क्रान्तिको समर्थन गरे; पछि लाग्यो त्यसमा मुक्ति र स्वतन्त्रताको लागि कुनै ठाउँ छैन । त्यसपछि उनले सबै प्रकारका उग्र पन्थको बहिस्कार गरे, निन्दा र आलोचना गरे । उनी वर्तमान विश्वकै स्वतन्त्र चिन्तक लेखक र महान् बौद्धिकमा गनिन्छन् । उनको लागि साहित्यभन्दा माथि केही छैन, कहिल्यै केही हुनु पनि हुँदैन ।


सबैभन्दा ठूलो शक्ति लेखन हो । उनी न प्रोपागन्डा लेखेर त्यहाँ पुगे न राजनीतिक आकाङ्क्षाले । उनले हालैको एक अन्तर्वार्तामा भनेका छन्— मैले युवा अवस्थादेखि नै राजनीतिक सम्वादहरूमा  भाग लिएको साँच्चो हो । (उनी एकपल्ट राष्ट्रपतिका उम्मेदवार भएर हारे) तर साहित्यलाई राजनीति बचाउने साधनको रूपमा प्रयोग गर्नु अत्यन्तै खतरापूर्ण खेल हो । किनभने त्यसो गर्दा साहित्य प्रोपागन्डामा परिणत हुनसक्छ, अनि साहित्य र प्रोपागन्डा जहिल्यै पनि असङ्गत कुरा हुन् । साहित्यले राजनीतिको प्रयोग गर्न सक्छ तर राजनीतिले साहित्यको कदापि प्रयोग गर्नु हुँदैन । यदि त्यसो गरियो भने यसले साहित्यलाई ध्वस्त पार्दछ । साहित्य भनेको जीवनबारे लामो अनुभूति हो । यसले जीवन जे छ त्यसलाई र जीवनका आयामलाई अभिव्यक्ति दिन्छ । अनि राजनीति यसको केवल एउटा अङ्ग हो । जो हृदयले लेख्छ, ऊ स्वतन्त्र हुन्छ । नेपाली आख्यानलाई राजनीतिले र सरकारले समाप्त पारेको यो घरीमा म चाहन्छु— नेपाली साहित्यले पनि भार्गास जस्तो कोही जन्माओस् ।

शब्द : १२५०

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. 'नन् युनिक कोड फन्ट' जस्तै Kantipur Font, Preeti Font, Kanchan Font (निम्न फन्ट INSTALL नगरिएको Computer मा पढ्न नसकिने हुनाले) लाइ 'युनिक कोर्ड फन्ट'मा कन्भर्ट गरी ब्लगमा राखी दिनु भएमा हामी पाठकलाइ सजिलो हुने थियो भट्टराइ सर ! जस्तै तलको लिंक पनि प्रयोग गर्न सक्नुहुनेछ:

    http://blog.xnepali.com/tools/nepali-symbol-font-preeti-to-unicode-converter/

    -----------------------------------------
    (फिदिमबजारको एउटा हलुवाई पसलमा ‘कवि कुनो’ भन्ने ससानो विमर्शकेन्द्र खोलेका थिए । त्यसको ‘बोर्ड’ लेखाउन मैले पनि रु. एक तिरेको थिएँ प्रेमलाई । आज तीनवर्षपछि फेसबुकको भित्तामा देख्छु त्यहाँ ‘यात्रा स्पर्श’ खोलेका छन्, यात्रा साहित्यको कुरा गर्न ।.....)

    -Parihas Subba
    www.dobato.webs.com

    ReplyDelete